२००९, अप्रिल २७
नागरिक दैनिक पत्रिकामा प्रकाशित
वाल्यकालका केही अस्पष्ट सम्झनाहरु आज मगजमा सल्वलाइरहेका छन्। कहिलेकहीं आफू भन्दा ठूलाहरुका पुच्छर लागेर सिनेमा हेर्न जान पाइन्थ्यो। सिनेमा सुरु हुनु अघि त्यसबेलाको राष्ट्रिय गान बज्ने गर्थ्यो। अनि कसैले केही भन्दै नभनी सबैजना जुरुक्क उठेर त्यो बजुन्जेल मौन भएर सम्मान प्रकट गर्थे। त्यो सकिएपछि मात्र सबैजना बस्थे। राष्ट्रिय गान बज्दा नउठ्नेलाई प्रहरीले पक्डेर लैजान्छ रे भनेको पनि कताकता सुने जस्तो लाग्छ। त्यतिबेला अहिलेको उन्मुक्तता थिएन। एउटा डर थियो। तर पनि मलाई लाग्छ त्यतिबेला मान्छेहरु डरले होइन श्रद्धाले उठ्ने गर्थे। त्यो श्रद्धा त्यतिबेलाको राष्ट्रिय गानमा भएका शव्द वा ती शव्दहरुले गरेका स्तुतिका लागि नभै आफ्नो देशप्रतिको आदरले अभिप्रेरित हुन्थ्यो भन्ने मलाई भान हुन्छ। कमसे कम म र मेरा पुस्तामा त्यसै पनि ती शव्दका अर्थहरु केलाउन सक्ने ज्ञान वा चेतना थिएन तर पनि त्यो धुनमात्र बज्नासाथ स्वतः हामी उठ्थ्यौं। अरु त के सोच्थे कुन्नि तर मलाई त्यतिबेला म नेपाली भएकोमा एक किसिमको गर्व लाग्थ्यो, मेरो त्यतिबेलाको ढुक्कुरे छाति अलिकति तनक्क परेको हुन्थ्यो। मलाई लाग्थ्यो, म मेरो देशप्रति नतमस्तक भएको छु, म मेरो मातृभूमि प्रति आदर व्यक्त गर्दैछु। संस्कृतको अरु केही नबुझे पनि जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने श्लोकको अर्थसम्म चाहिँ मैले बुझेको हुन्थें। मलाई अझै पनि लाग्छ, जननी बरु सबै सन्तानका लागि स्वर्ग सरी नहुन सक्छिन्, जननीका बरु स्वार्थ हुन सक्छन् तर जन्मभूमि स्वर्ग हुन् भन्ने कुरामा कुनै पनि शंका कहिले पनि हुन सक्दैन।