Translate

Sunday, May 31, 2009

चमत्कारको आश

नेपाल पत्रिकाको मेरो स्तम्भ "बायाँ फन्को" बाट, जेष्ठ १७, २०६६ प्रकाशित


एकजना पुराना परिचित हुन् तिनी। एक ताका दिनहुँ भने जस्तो भेट हुन्थे। केहीदिन भेट नभए पनि फोनमा कुरा हुन्थ्यो। त्यतिबेलाको कामको प्रवृत्तिले गर्दा पनि तिनीसंग सहकार्य भइरहने भएकोले तिनको आन्द्रा भुँडी नै थाहा थियो भन्दा पनि फरक पर्दैन। त्यसपछि विस्तारै विस्तारै भेटघाट र सम्पर्कको क्रम कम हुँदै गयो। अचानक केही समय अघि भेट हुँदा पुराना कुराहरु खोतलिने क्रममा थाहा भयो, तिनको त दिनचर्या, जीवनशैली, काम, घुलमिल गर्ने ईष्टमित्रहरुको मण्डली सबै कुरा अमूल परिवर्तन भइसकेको रहेछ। त्यसको कारण रहेछन् एकजना मान्छे, जसलाई उनी कलियुगमा देउताको रुप भनेर श्रद्धा गर्न थालेका रहेछन्।

Wednesday, May 20, 2009

धरहरा

उँचाइकै कुरा गर्ने हो भने
कति अल्गो छ धरहरा
उमेर कै कुरा गर्ने हो भने
कति पाको छ धरहरा

भोगाई, बुझाई र अनुभवमा
सबैलाई जित्छ धरहरा
तर जति जे देखे पनि
मूक बस्ने, तमाशा मात्र हेरेर
न चिन्तन, न मनन
कुनदिन ढल्ने हो भनी
निश्चल प्रतीक्षारत
त्यसैत्यसै ठाडो
निरर्थक उभिएको छ धरहरा

यसको अनुभव,
न कसैसंग साटिन्छ
यसको भोगाई,
न कसैसंग बाँडिन्छ
कुनै अर्थ नभएको भोगाई
अरुको काम नआउने बुझाई
आफैभित्र गुम्स्याएर
उभिरहेको यो धरहरा

जताबाट हेरे पनि तर
ठिग्रिंङ्ग - ठाडो - एक्लो
देख्न त देखिन्छ नि धरहरा


२०६६ जेष्ठ ३ गते

Sunday, May 17, 2009

संस्कार-सुन्ने र पढ्ने

जेष्ठ ३, २०६६, नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित


tuwanlo


एक जना परिचितको पुर्ख्यौली घरमा गएको बेला अचानक धेरै पुरानो एउटा साहित्यिक पत्रिका फेला पर्न गयो। २०२१ सालमा निस्किएको तुवाँलो नामक त्यो मासिक पत्रिका प्रेम कोइराला र चैतन्य देवकोटको सहसम्पादनमा प्रकाशित भएको रहेछ। त्यो तुवाँलोको चौथो अंक रहेछ। त्यति पुरानो साहित्यिक पत्रिका देख्दा उत्पन्न भएको स्वाभाविक कौतुहलताले गर्दा सर्र पानाहरु पल्टाउँदा त्यसमा डा. परशु प्रधानको धारावाहिक उपन्यास, माधव घिमिरे र पारिजातको कविता जस्ता केही कृतिहरु रहेछन्। ती नामका कारण अद्योपान्त त्यो पत्रिका पढ्न मन लाग्यो, पढियो। हुन त त्यसका कतिपय पानाहरु धमिराले पनि खान भ्याइसकेका थिए उबेलाको छपाइमा अहिलेको जस्तो निखार त कसरी हुनु र, तर पनि माथि उल्लिखित श्रष्टाहरु र अन्य सामाग्रीहरुका कारण आफू जन्मनुअघिको त्यति स्तरिय साहित्यिक पत्रिका एउटा सुखद आश्चर्य थियो। ती सबैभन्दा पनि अर्को एउटा कुराले गर्दा त्यसको चर्चा गर्नु अहिले सान्दर्भिक हुन्छ भन्ने लाग्यो।

Tuesday, May 12, 2009

आँखाहरू

जस पाउँछन् अलिकति
तन्किएकै भरमा ओठहरू
मुस्काउने त वास्तवमा
आँखाहरू गर्दछन्

सम्वाहक भावनाका
भनिन्छन् बोलीहरू
तरङ्गहरू त मनका
आँखाहरू नै बोल्दछन्

Monday, May 11, 2009

ज्वालामुखी

छरपष्ट हुन उद्यत
सानो छिद्रा पाए पनि
उष्ण आवेगहरुसंग
उम्लिरहेका आगोका मूलहरु
च्यातचुत अनि
छताछुल्ल बनाउन
वरिपरिका सारा कुराहरु
भत्काउन - विनाश गर्न
तातिरहेका
अग्नि समुन्द्रका ज्वारभाटाहरु
लाभाहरु ज्वालामुखीका

म,
ज्वालामुखीको टुप्पोलाई
आफ्नो अस्तित्वले छोपेर
थुन्ने प्रयास गर्दै

डढेलोहरु म भित्रै पनि
सल्किरहेका छन् - फैलिरहेका छन्
म भित्रै पालिएर
मलाई नै पोलिरहेका छन्
अलिअलि गर्दै
मलाई नै आहार बनाउँदैछन्
यी परजीविहरु

म,
आफूभित्रको दनदन खप्दै
ज्वालामुखीको चिरालाई
थुन्दैछु - छेक्दैछु - रोक्दैछु

लाभाहरु म भित्रै पनि
उम्लिरहेका छन् दनदनी

Monday, May 4, 2009

PM quits

The prime minister resigned few minutes back. God only knows what is happening in this country. The ego tussle has resulted in a political crisis. I doubt that the Maoists will retreat such easily. This might lead to unforeseen grave scenario in this country. Everything has taken a back seat as such. The dream of permanent peace might become harder to achieve. The making of constitution is already suffering. People are bewildered. If we can not predict what is going to happen in next few hours, how can we think about long term plans. Without them, we will be pushed further back in the race of the world.


I am worried about the future of my daughters. I am worried about what type of country we are giving for the next generation. I am worried about the direction this country is moving. I am worried about the motives of the leaders. I am worried about un countable things.

प्लान्कटनहरू मेरो मुटुका

मरेका छैनन् अझै पनि
प्लान्कटनहरू मेरो मुटुका
जमेका होलान् चीसोले
कठांग्रिएर बरू ती
अलिकति ऊर्जा पाए
तिम्रो मायाको न्यानोका
व्यूंतिनेछन् फेरि
सल्बलाउनेछन् अनि
प्लान्कटनहरू मेरो मुटुका

Sunday, May 3, 2009

डढेलो - वनको र मनको

नेपाल पत्रिकाको मेरो स्तम्भ "बायाँ फन्को" बाट
२०६६ बैशाख २० गते प्रकाशित
ठूला कुराहरुका वीच साना कुराहरु हराउने गर्छन्। बढी जटिल समस्याका सामु अन्य समस्याहरु गौण हुन्छन् अनि ज्यादा दुख्ने पीडाका तुलनामा साना घाउहरु कम चहरुयाउने गर्छन्। तर कहिलेकहीं मानिसले कुन ठूलो, कुन जटिल र कुन ज्यादा दुख्ने भन्ने खुट्याउन सक्दैन। त्यस्तो बेलामा उसको मानवीय समवेदना क्षीण भइदिन्छ।

अघिल्लो हप्ता रामेछापको श्रीखण्ड डाँडामा लागेको भीषण आगो निभाउन गएका प्रहरी र सेनाका जवानहरु मध्ये १३ जना सैनिक त्यही आगोको अंगालोमा डढेर भष्म भए। आगो असपताल र वस्तीतिर फैलिन थालेकोले त्यसलाई नियन्त्रण गर्नु जरुरी भएको थियो। कुनै पनि विकराल प्रवृत्तिको आगोसंग जुध्नका लागि अन्ततिर विशेष तालीम प्राप्त मान्छेहरु हुने गर्छन्। उनीहरुसंग अत्यन्त सुविधासम्पन्न अग्नि निरोधक उपकरण र रसायनहरु हुने गर्छन्। किनभने आगोसंग पौंठेजोरी खेल्नु भनेको चानचुने कुरा होइन। तर हाम्रा यी वीर जवानहरु नितान्त मनोवल र निस्वार्थ भावनाले त्यहाँ होम्मिएका थिए। त्यहाँको अस्पताल र वस्तीलाई हुने हानिबाट बचाउनका लागि, धेरै अरु मान्छेका लागि आफ्नो ज्यानको आहुति दिने ती १३ जनालाई हामीले राम्रोसंग आभार पनि प्रकट गर्न पाएनौं। उनीहरुको त्यो बहादुरीले पाउनु पर्ने ठाउँ र महत्व समाचार र संचारमाध्यमहरुमा पनि पाएन। सरकारी स्तरबाट पनि ती मान्छेहरुको वलिदान ओझेलमा नै पर्न गयो। किनभने राष्ट्रमा त्यतिबेला आवश्यकताभन्दा बढी महत्व पाइरहेको अर्को समाचार थियो।