Translate

Sunday, September 20, 2015

समवेदनशीलता

बायाँ फन्को १६५ 

इस्तानबुलमा ओर्लेर सहरतिर जाँदा बाटोमा मैले हेक्का गरेको एउटा कुरा थियो, कुकुर र बिरालाहरु । यति धेरै कुकुर र बिरालाहरु बाटोमा देखिए, मलाई अचम्म लाग्यो । बिसौनीमा बस कुरिरहेको बेला कुनै बाटोमा भएको कुकुरलाई खुवाइरहेको वा सुमसुमाइरहेको मानिस देख्दा कुनै अचम्म मान्नु नपर्ने रहेछ । आफू बस्ने उचकसवार सितेसी भन्ने ठूलो आवासीय क्षेत्रमा पुग्दा त्यहाँ पनि प्रशस्तै संख्यामा भेटिए ती प्राणीहरु । टर्कीमा मानिसहरु कुकुर बिरालालाई असाध्यै प्रेम गर्दारहेछन् । तिनीहरुलाई आफ्नो साथी हुन् भनेर मान्दा रहेछन् । घरपालुवाको त कुरै भएन, त्यत्तिकै बरालिने कुकुर र बिरालाहरुलाई पनि ठाउँठाउँमा खाना र पानीका लागि व्यवस्थित भाँडाहरु राखिएका हुँदारहेछन् । मानिसहरुले आफ्नो खाना र पानी तिनीहरुसंग बाँड्दा रहेछन् । आफ्नो गाडीमा पनि कुकुर वा बिरालाको खाना बोकेरै हिंड्दारहेछन् यहाँका मानिसहरु । कति ठाउँमा र रित्तो पानीको शीशी हालिदिएपछि तिनीहरुको खाना झर्ने “मेशिन” नै पनि राखिदिएको हुँदोरहेछ प्रशासनले । हरेक कुकुरहरुलाई आवश्यक खोपहरु दिएर तिनको कानमा एउटा टपजस्तो चिप लगाइएको हुँदोरहेछ । अनि ती कुकुर र बिरालाहरु मानिसहरुसंग लुटुपुटु गर्न आइहाल्दारहेछन् । त्यो देखेर मलाई निकै रमाइलो लाग्यो ।

आफ्नो देशमा भने केही वीर मानिसहरुसंग बेलाबेला मैले नचाहेर पनि लाप्पा खेल्नुपरिरहेको हुन्छ । ती यस्ता शूरवीरहरु हुन्छन्, जो बाटोमा आफ्नै सुरमा हिंडिरहेका वा चुप लागेर सुतिरहेका कुकुरहरुलाई भुक्क लात्ताले बजाउँछन् । त्यो निर्दोष र अवोध प्राणी कुइँकुइँ गरेर कराउँदै भाग्दा ती शुरवीरहरु एउटा कानदेखि अर्को कानसम्म तन्किने गरी हाँस्छन् र कुनै निकै ठूलो पुरुषार्थ गरेजसरी छाती फुलाउँदै, चारैतिर हेर्छन् । त्यस किसिमको परपीडाले उनीहरुलाई कस्तो खुसी प्रदान गर्छ भन्ने कुरा मैले कहिले पनि बुझेको छैन । धेरै कम मैले त्यस्ता मानिसहरु भेटेको छु, जसले बाटोमा भेटिने ती प्राणीहरुप्रति सदाशयता वा सद्भाव राखून् । त्यस्ता कमहरु मध्ये केही यस्ता पनि छन् जसले अलपत्र परेको कुकुरको छाउरालाई उद्धार गरेर घरमा ल्याएर पालेका पनि हुन्छन् । उनीहरु त्यस्ता बोल्न नसक्ने अवोध प्राणीहरुलाई पनि आफूसरह नै प्रेम गर्छन् । तर हामी मध्ये अधिकांश तिनलाई भुस्याहा कुकुर भन्छौं, लखेट्छौं र पिट्छौं । यो हाम्रो समग्र मानसिकताको द्योतक हो भने हामीले एकपटक सोच्नुपर्छ, हामी किन त्यस्ता भएका छौं । 

कुकुर सम्भवतः मानिसभन्दा बढी गुनिलो प्राणी हो । उसलाई तपाईँ मायाले एकदुइ पटक मुसारिदिनुस्, जूठो वा पूरा नै किन नहोस् दुई छाक खान मात्र दिनुस्, उसले तपाईँबाट अरु कुनै पनि अपेक्षा राख्दैन । ऊ त्यतिमै आजन्म तपाईँहामी प्रति प्रतिवद्ध हुन्छ । हेक्का गर्नुभएको छ कहिले ? त्यस्तो प्राणीलाई किन हामी गर्न सक्ने जति माया गर्दैनौं ? उल्टै हामी त कसैलाई गाली गर्न, हेप्न, हियाउन र अपमानित गर्नका लागि कुकुर भन्ने शव्दको प्रयोग गर्छौं । कसैलाई कुकुर भन्नु त सम्मानको कुरा हुनुपर्ने हो, हैन र ? हामी कहाँ कुकुर जस्तो हुन सक्छौं र ? त्यति निस्वार्थ र प्रतिवद्ध त हामी मानिस हुनै सक्दैनौं । 

कहिले घोरिएर सोच्नुभएको छ, हामी मानिस मानिसको बीचका सम्बन्धहरुलाई प्रगाढ बनाउन वा टिकाएर राख्नका लागि हामीले कति धेरै लगानी गर्नुपर्छ ? हाम्रा हरेक सम्बन्धहरु कति धेरै आशामा टिकेका हुन्छन् ? लगानी हुन्छन् हाम्रा सम्बन्धहरु जसले प्रतिफल खोजिरहेको हुन्छ, हरेक पाइलामा । साथीसाथी वा हरेक प्रकारका नातागोताका सम्बन्धका लगानीहरु डुब्लान् भन्ने डरले हामीले पाइलापाइलामा कति सतर्कता अपनाइरहेका हुन्छौं । एकआर्कासंग हाम्रो जति धेरै आशाहरु गाँसिएका हुन्छन्, हामीले चाहेर वा नचाहेर नै किन नहोस्, ती हजारैं चाहना वा आशामा सानो मात्र पनि चूक ग¥यौं भने ती सम्बन्धहरुमा धाँजा पर्न थाल्छन् । बाबुआमा र सन्तानका बीचमा, प्रेमीप्रेमिका वा श्रीमानश्रीमतीका बीचमा, मित्रहरुका बीचमा, हाकिम र कर्मचारीको बीचमा, नेता र कार्यकर्ताको बीचमा, शाषक र नागरिकको बीचमा, गुरु र चेलाको बीचमा मनमुटावहरु उत्पन्न हुने पनि यिनै अपूरा चाहनाहरुका कारण हो । जब कि हामीसंग भाषा हुन्छ एकआर्कालाई बुझाउन । संचारमा सबैभन्दा उत्कृष्ट जाति हौं हामी मानिस । तर पनि मानिस मानिसको बीचमा नै जहिल्यै यति धेरै मनमुटाव हुन्छ ? 

हामी कख नै नचिनी विद्यावारिधि गर्ने प्रयास त गरिरहेका छैनौं ? निर्दोष र बोल्न नसक्ने जनावरहरु प्रति सम्वेदनशील हुन सिक्नु भनेको अक्षरारम्भ हो । यसैले हामीलाई मनको राम्रो मान्छे बन्ने बाटोमा हालिदिन्छ । त्यसो भयो भने स्वयं अर्को मानिसप्रति अझ बढी सदाशयता देखाउन सिक्नेछौं हामीले । जात, वर्ग, वाद, धर्म वा अरु कुनै पनि कुराले मानिसमानिसलाई छुट्याउँदैन भन्ने कुरा बुझ्नेछौं हामीले । हाम्रा अरु धेरै समस्याहरु नजानिंदो गरी आफै समाधान हुन थाल्छन् । 

तर दुखको कुरो, आजकल त हामी मानिस मानिसको बीचमै फाटो ल्याइरहेका छौं । हामीलाई कति ठूलाठूला समस्याहरु सुल्झाउनुछ, कुकुर बिराला वा अरु जनावरको कुरा गरेर बस्ने फुर्सद कहाँ छ र ? 

Sunday, September 6, 2015

शव्दहीन.......

बायाँ फन्को १६४

सामान्यतया पहिलो पटक केही लेख्दा जुन उत्साह अनुभव भएको थियो, हरेक पटक त्यही उत्साहको केही अंश अहिले पनि लेख्दा अनुभव भैरहेको हुन्छ । अनि आफूले लेखेको कुरा प्रकाशित हुने दिन एकाबिहानै त्यो छापिएको पत्रिका खोज्न हान्निने उत्साह सामान्यतया अझै पनि उस्तै नै हुन्छ । तर यसपटक लेख्न बस्दा लेख्न नपरे हुन्थ्यो भन्ने लागिरहेको छ । एउटा लेखकको जीवनमा लेख्न बस्दा यसरी हात लूलो हुने सम्भवतः धेरै कम अवसरहरु हुन्छन् होला जस्तो लाग्छ । लेख्नै नपरे हुन्थ्यो जस्तो लाग्ने त अझ दुर्लभ हुन्छ होला ।

अघिल्लो हप्ता कैलालीको टीकापुरमा भएको अकल्पनीय दुर्घटनाको समाचार सुनेको बेलादेखि नै मथिंगल हल्लिएको छ । हुन त विगत केही समयदेखि हामीले राम्रा भन्दा नराम्रा कुराहरु मात्र धेरै सुन्न परिरहेको छ । नराम्रा समाचारहरु र तिनले मगजमा पार्ने प्रभाव पनि लौ त भनौं भने अभ्यस्त हुँदै जाने कुरा हुँदो रहेछ । असर नपर्ने होइन, असरको पीडा कम हुने वा त्यसलाई सहने क्षमता बढ्दै जाने मानिसको शक्ति उसको लागि वरदान नै होला । अनि रात जति कालो र गाढा हुँदै गयो, बिहानी त्यति नै नजीक छ भनेर आशावादी मानिसहरु आफूलाई संयमित बनाउने गर्छन् । तर पनि टीकापुरको त्यो घटनाले खराब समाचार सहने शक्तिका अग्ला मोटा पहाडहरुलाई ग्वार्लाम्गुर्लुम्मै पारेर धराशायी बनाइदिएको छ । आहत भएका छौं हामी सबै, मर्माहत भएका छौं । बोल्नका लागि शव्दहरु अचानक कम भएका छन् । 

हुनै नहुने कुरा भएको छ । किन यस्तो भयो ? मार्ने र मारिने दुबै आफ्नै थिए । हामीमा विरोधाभाषहरु होलान्, हाम्रा आआफ्नै मूल्य र मान्यता होलान् । हाम्रा आआफ्ना असन्तुष्टिहरु हुन सक्छन् । तर ती कुनै पनि त्यति हिंश्रक र अमानवीय रुपमा प्रकट हुनुपर्ने खालका चाहिँ छैनन् । तर अब हामीले जे भइसक्यो त्यसलाई जति चाहेर पनि फेर्न कहाँ सक्छौं र ? केही घाउ यस्ता हुन्छन्, जसको खत आजन्म रहिरहन्छ । यसको पनि रहन्छ । पक्ष विपक्ष, कारण, एकार्कामाथि दोषारोपणका श्रृँखलाहरु त शुरु हुने नै भए । तर जे जसो भए पनि त्यहाँ भएको घटनालाई जष्टिफाइ गर्ने कुनै पनि कुरा हुनै सक्दैन । ओशोले पनि गीतादर्शनमा भनेका छन्, हिंसा खराब हो तर कुनै कारणले जष्टिफाइ गर्न खोजिने हिंसा त झन् सबैभन्न्दा खराब हो । त्यसैले पनि टीकापुरमा भएको त्यो अमानवीय कार्यलाई कसैले कुनै हिसाबले पनि जष्टिफाइ गर्न सक्दैन, गर्ने प्रयास पनि गर्नु हुँदैन । तर हिंसाको समाधान प्रतिहिंसाले कहिले पनि गर्न सक्दैन । तसर्थ केही मानिसहरु अमानव भएको दोष कुनै वर्ग वा समुदायलाई लगाउने काम पनि हुनुहुँदैन । त्यसो भयो भने विभिन्न कुत्सित मनाशय साध्नेहरुको जीत हुन सक्छ ।

यहाँ नेर गम्भीर प्रश्न एउटै हो, मानिस किन त्यति हिंश्रक हुनसक्छ ? कसैको पनि ज्यान लिने अधिकार कुनै अर्को मानिसलाई छैन । विवादको समाधानका लागि अरु धेरै बाटाहरु पहिल्याउन सक्ने भएर न हामी मानिस भएका हौं । बलको आधारमा, हिंसाको आधारमा र अरुलाई मारेर आफूले जितेको ठान्ने स्वभाव मानिसको हुँदै होइन । त्यसैले हामीले आफू मानिस हौं भन्ने कुरालाई कहिले पनि भुल्नु हुँदैन । मानिस सृष्टिको सर्वोत्तम सिर्जना हो । त्यसैले त विवेक  भन्ने कुरा प्रकृतिले हामीमा मात्र भरिदिएको गुण हो । यसको अवमूल्यन गर्ने वा यसलाई बिसैने कार्य कुनै पनि मानिसले गर्नु हुँदैन । तर पनि सबै कुरा थाहा भएको यो उच्चकोटिको प्राणीले बेलाबेला आफूलाई नसुहाउने यस्ता कार्यहरु गरेको बेला आफू पनि मानिस हूँ भन्ने सम्झन पनि दिक्दार लाग्छ ।

अहिलेको आवश्यकता भनेको यस्तो फेरि कुनै पनि बहानामा वा कुनै पनि कारणले नहोस् भन्ने बातावरण बनोस् भन्ने हो । कुनै पनि जाती वा समुदायलाई उद्वेलित बनाएर, हामीलाई एकआपसमा लडाएर आफ्नो अभीष्ट पूरा गर्न चाहनेहरुलाई असफल बनाउनु हामी सबैको एउटै मात्र ध्येय हुनुपर्छ । भएको घटनालाई अतिरञ्जित बनाउने र अझै बढी आक्रामक बनाउने सोच, अभिव्यक्ति वा क्रियापलापहरु हुन दिनु हुँदैन । यस तर्फ सबै सचेत हुनु आवश्यक छ । हामी सबै एकै आमाका छोराछोरी हौं भन्ने सानो कुरा मात्र हामीले नबिर्सिदिए पुग्छ, नबिर्सौं ।