Translate

Tuesday, July 31, 2018

म्याकाफूइँ

फाफुरा २२

माकाफुइँ भन्या त तपाईँहरुलाई थाहै छ । म्याकाफुइँ भनेको चाहिँ त्यसभन्दा उपल्लो स्तरको र केही विशिष्ट व्यक्तिहरुले लगाउने फुइँ हो । त्यो लगाउनका लागि तपाईँसँग एउटा कसैले टोकेर छोडेको जुठो स्याउ हुनुपर्छ । त्यत्ति हो ।
फाफुरी त्यस दिन किन हो कुन्नि, हाजिर जवाफ खेल्ने मुडमा थिई । उसले बिना कुनै सन्दर्भ र चेतावनी फाफुरालाई प्रश्न गरी,
“ल भन अहिले यो देशमा सबैका लागि सबैभन्दा आवश्यक कुरा के हो ?”

हुन त अचानक असान्दर्भिक कुरामा आउने झटारे प्रश्नको फ्याट्टै उत्तर दिनु अधि ओशो र सदगुरुजस्ता विद्वान्हरुले पनि केही बेर सोच्छन् । तर, फाफुरा त फाफुरा भैहाल्यो, उसले आँखा पनि झिम्म नगरी भन्यो,
“स्थायित्व, विकास, योजना, एकता र भाइचारा ।”
फाफुरी हाँसी र भनी –
“तिमी कहिले देखि राजनीतिज्ञहरुले गर्ने जस्तो स्वैरकाल्पनिक कुरा गर्न थाल्यौ ? मैले अलमल्याउने बहलाउने फुस्लाउने कुरा गरेकी होइन । भौतिक अस्तित्व भएको एउटा कुनै वस्तु भन जुन हुनासाथ नेपालीको हरेक समस्या असारको अन्त्यमा बजेट गायब भए जसरी गायब हुन्छ ।”

Wednesday, July 25, 2018

चतुर्मुखी ब्रम्हा (हराएको मानिस २)


बिहान राम्ररी हुन पनि पाएको थिएन । एउटा केटा आफ्नो साइकलमा थरिथरि पत्रिका बोकेर आफ्नो नियमित काममा कुदिरहेको थियो । ऊ साइकल चलाउँदाचलाउँदै बडो दक्षताका साथ चाङबाट चाहिने पत्रिका छानेर निकाल्दै, मुठो बनाउँदै घरघरमा हु¥याइरहेको थियो । ऊ त्यसै गरी एउटा पत्रिका कुनै सानो र साधारण टिनले बारेको चिया पसल अघि फ्यालेर अघि बढ्यो ।
थापासरको चिया पसल ।

चिया पसलको साहुलाई टोलभरिका मान्छेले थापासर भन्छन् । सर भन्ने उपाधि पाउँदा ऊ पनि दंग पर्छ । भनिन्छ, उसको हातमा अनौठो जादू छ । उसले जस्तो मीठो चिया अरु कसैले बनाउनै सक्दैन । त्यसैले उसको चिया पसलमा बिहान देखि बेलुकासम्म मानिसहरु नभएको दिनै हुँदैन । उसले दिनभरिमा कति कप चिया बनाउँछ भन्ने गनेरै साध्य हुँदैन । थापासर सँधै मुस्काइरहन्छ, बोल्दैन । उसको भागको बोल्ने काम चाहिँ उसकी श्रीमतीले गर्छे । उसलाई चाहिँ कसैले म्याडम भन्दैनन् । ठाडै थपिनी भन्छन् । चियापसलमा आउने ग्राहकहरु हरेक विषयका ज्ञाता हुन्छन् । संसारभरका कुराहरुमा त्यहाँ छलफल हुन्छ । थपिनी ती सबैलाई निरुत्तर बनाउन सक्छे । उसको ज्ञानको भण्डार त्यही चिया पसल हो । ऊ बिहान पसल खोलेका बेलादेखि बेलुका बन्द नहुन्जेलसम्म निरन्तर बोलिरहन सक्छे । उसको गलामा भगवानले लाउडस्पीकर हालेर पठाएको छ । तर धेरै कम मानिसले मात्र उसको अनुहार देख्न पाउँछन् । ऊ अधिकांश समय चिया पसलको टिनले बारेको भित्री कोठामै हुन्छे । त्यहीँ बसेर ऊ लोग्नेलाई सघाउँछे । आलू र अण्डा उसिन्ने, छोडाउने, सेल पकाउने, चना तार्ने लगायतका सबै काम उसैले गर्छे । तर त्यहाँ आउनेहरुका लागि सबैभन्दा ठूलो आकर्षण थापासरको चिया नै हुने गर्छ ।

करको करकर

फाफुरा जहिले पनि फाईँफुट्टीमात्रै हाँक्छ भन्ने तपाईहरुलाई लागेको होला । कहिलेकहीँ त यसो गतिलो कुरा पनि गरे हुन्थ्यो भन्ने सोच्नु भएको होला ।  खासमा उसलाई पनि कहिलेकहीँ त्यस्तो नलाग्ने होइन । अघिल्लो साता मनसुनको कारण पानीले रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुत्ने वातावरण बनेन । त्यसो भएपछि अब फाईँफुट्टी हाँक्न पनि नपाइने भयो भनेर ऊ चिन्तित थियो । अचानक उसको हातमा एउटा गज्जबको खुराक आइलाग्यो । सरकारले विभिन्न थरी नयाँ करहरु लगाउने तयारी गरिरहेको मस्यौदा फाफुराले भेटेको छ । पूर्वतयारी गर्न सजिलो होस् भनेर आज फाफुरा त्यही मस्यौदा तपाईँहरुसँग बाँड्दै छ । ध्यान दिएर पढ्नुहोला है ! 

१. बोली कर
आजकल वाक स्वतन्त्रताको नाममा मानिसहरु बढी बोल्न थालेका छन् । हरेक मानिसले हरेक कुरामा हल्ला गरेर देशलाई समृृद्धितिर लैजाने गहन अभिभारा बोकेका सरकारमा भएका मानिसहरुलाई एकाग्र हुनै दिएनन् । त्यसैले यस्ता हुट्टिट्याउँ जसरी रातदिन ट्याउँट्याउँँ गर्ने स्याउँस्याउँ उम्रिएका झ्याउँझ्याउँ आवाजलाई नियन्त्रण गर्नु आजको उच्च प्राथमिकतामा परेको छ । तसर्थ विरोध गर्न पाउने प्रजातान्त्रिक अधिकारको उच्च सम्मान गर्दै त्यस्ता बोलीमा केही कर चाहिँ लगाउने निर्णय गरिएको छ । आइन्दा साथीभाइका बीच, परिवारमा, बाटोघाटो तथा सार्वजनिक स्थलहरुमा बोलेका साधारण कुराहरुमा प्रति शव्द रु १ का दरले कर लाग्नेछ । 
धेरै मानिसहरुलाई प्रभावित पार्ने रेडियो, टिभी तथा आमसभाहरुमा सरकारको आलोचना वा विरोधका लागि खर्च गरिएका शब्दहरुको हकमा भने यो दर प्रति शव्द रु १०० हुनेछ । गच्छेअनुसार जति सक्नुहुन्छ विरोध गर्न स्वतन्त्र हुनुहुन्छ । कर नतिरी विरोध गर्नेहरुका जिब्रो थुत्ने वा मुखै सिइदिनेसम्म जरिवानाको व्यवस्था गरिएको छ । 
एकतर्फी अधिनायकवादी नियमका रुपमा यसको अपव्याख्या नहोस् भन्दै बोलिने केही शब्दहरुमा भने उल्टो पुरस्कार प्वाइन्टहरुको व्यवस्था गरिएको छ । सरकारको भजन र स्तुति, मन्त्रीहरुको हरेक कार्यको समर्थनमा बोलिने प्रत्येक शब्दका लागि १० प्वाइन्ट प्रदान गरिनेछ । जसले जति धेरै प्वाइन्ट आर्जन गर्न सक्यो उसका लागि त्यति नै लाभकारी हुनेछ । आफूले बटुलेका प्वाइन्ट संख्याको आधारमा कुनै पनि व्यक्तिले सोहीअनुसारको प्रतिफल उपहारका रुपमा पाउनेछ । आफूले आर्जेको प्वाइन्टअनुसार, नगद पुरस्कार, तक्मा तथा विभूषण, जागीरेको हकमा पदोन्नति, विदेश भ्रमणको बेला जम्बो टोलीमा सहभागिता, विभिन्न संघसंस्थामा प्वाइन्टअनुसारको पदमा राजनीतिक नियुक्ति र बम्पर उपहारमा राजदूतसम्म पर्न सक्नेछ । अब बोलीबाट फाइदा उठाउने कि कर तिर्ने भन्ने कुरा विवेकशील नागरिकहरुले आफैँ निर्णय गरुन् । 
२. खोकी करः
खोकी भन्नाले यहाँ फेरि नेताहरुले भाषणमा गर्ने बगम्फुसे र हावादारी कुराहरुलाई बुझ्नुहोला नि फेरि है । यहाँ त्यो खोकीको हैन, साँच्चै खोकीको कुरा हुँदैछ । मेलम्ची तथा सडक विस्तारका नाममा काठमाडौंलाई एउटा ठूलो ग्यास च्याम्बरको रुप दिइसकिएको हुनाले यहाँ पूर्णरुपले स्वस्थ्य मानिस कोही पनि बाँकी छैन । अधिकांशलाई श्वासप्रश्वासको रोग लागेको छ । जनताको यस्तो अवस्थामा पनि शोकलाई शक्तिमा बदल्ने मूलमन्त्र अनुसार त्यसको सक्नेजति फाइदा उठाउनका लागि खोकी कर लागु गरिएको हो । यसअन्तर्गत हरेकपटक खोक्दा रु. ५ का दरले सरकारलाई कर तिर्नुपर्नेछ । हाच्छिउँ गर्दा भने कीटाणुहरु पनि फैलिने हुनाले त्यसमा अतिरिक्त १० प्रतिशत कर लाग्नेछ ।  
३. प्रेमी तथा प्रेमिका करः
अबदेखि कर नतिरी प्रेमी वा प्रेमिका बनाउन पाइनेछैन । प्रेमी वा प्रेमिकाको पनि प्रकारअनुसार कर निर्धारण हुनेछ । गफगाफमात्र गर्ने युगलका लागि वार्षिक रु १ हजार बेलाबेला हात पनि समातेर घुम्नेहरुका लागि वार्षिक रु २ हजार, मौका परेको बेला यताउति हेरेर चुम्बन गर्न चाहनेहरुले वार्षिक रु ५ पाँच हजार र शारीरिक सम्पर्क पनि राख्न चाहनेहरुले वार्षिक रु १० हजार कर तिर्नु पर्नेछ । अग्रिम कर तिरेर लाइसेन्स नलिई कसैले पनि प्रेमी वा प्रेमिका राख्न पाइनेछैन । यस्ता युगललाई कर तिरेको वर्ष दिनभित्रै एउटा स्मार्ट लाइसेन्स प्रदान गरिनेछ । सो स्मार्ट लाइसेन्स देखाएपछि चाहिँ होटल तथा लजमा छापा मारिँदा प्रहरीले गिरफ्तार गर्नेछैन । 
४. सन्तानोत्पादन करः
बढ्दो जनसंख्या नियन्त्रण गर्न सन्तानमा पनि कर लगाइने भएको छ । हरेक दम्पतीले पहिलो सन्तान जन्माए वापत रु १० हजार कर तिर्नुपर्नेछ र त्यसपछिका हरेक थप सन्तान हकमा रु ५ हजार थपिँदै जानेछ । कर नतिरी कसैले सन्तान जन्माएको थाहा भएमा त्यस्ता सन्तानलाई जफत गरिनेछ । आफ्ना सन्तान छुटाउनका लागि तिनलाई तीन महिनाको अवधि प्रदान गरिनेछ । त्यसको छ महीनासम्म थप ५० प्रतिशत र एक वर्षसम्म शतप्रतिशत थप जरिवाना तिरेर ट्राफिकबाट लाइसेन्स छुटाए जसरी आफ्ना सन्तान छुटाउन सकिनेछ । एक वर्षभित्र छुटाउन नसकेको सन्तानहरुलाई स्वतः जफत गरिनेछ र धर्मपुत्र वा पुत्रीको रुपमा विदेश निर्यात गर्न सकिनेछ ।
५. घरपालुवा जनावर तथा पशुपंक्षी करः
तपाईँ हामी सबैले आआफ्नो घरमा पालेका कुकुर तथा बिरालोको पनि कर तिर्नु पर्नेछ । बिरालाहरुले म्याउँ गर्दा र कुकुरहरुले भुक्दा हरेक पटक सरकारलाई रु ५० का दरले कर तिर्नुपर्नेछ । कर तिर्न नसक्ने वा छल्ने बेइमान नागरिकका कुकुरहरुलाई गैँडाको साटो उपहारका रुपमा चीन पठाइनेछ । यसरी छिमेकी मुलुकसँगको दौत्य सम्बन्ध प्रगाढ बनाउन यसले सघाउ पु¥याउनेछ । गाई, भैंसी, कुखुरा, बाख्री, सुगालगायतका अन्य जनावर तथा पशुपंक्षी पाल्नेहरु पनि करको मारबाट उम्कौँला भनेर नसोचे हुन्छ ।
६. अध्ययन करः
आजकल पठन संस्कृतिको आवश्यकभन्दा बढी विकास भएको छ भन्ने हामीले थाहा पाएका छौँ । चेतना पनि चाहिनेभन्दा बढी भयो भने त्यो हानिकारक हुन्छ भन्ने हाम्रो ठम्याइ हो । पढेरमात्र मानिस ठूलो हुने हैन भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । हाम्रा सांसद तथा मन्त्रीहरुलाई हेर्यो भने पनि यो कुरा छर्लङ्गै हुन्छ । हात्ती पढेर ठूलो भएको होइन । हाम्रा मन्त्रीभन्दा ठूलो को हुन्छ ? त्यसैले पढ्ने कुलतबाट देशका नागरिकलाई निरुत्साहित गर्न अध्ययन करको व्यवस्था गरिएको छ । कम्युनिस्ट म्यानिफेस्टो र प्रगतिशील रचनाहरु बाहेक अरु कुनै पनि कुरा पढ्दा प्रति पुस्तक रु ५ हजार कर लाग्नेछ । 
७. पैदल यात्रु करः
सरकारी पैसामा बन्ने सडक तथा पेटीहरुमा निःशुल्क हिँड्न निषेध गरिएको छ । आइन्दा तपार्इँ हामीले दैनिकरुपमा हिँडेबापत हरेक पाइलाको दस पैसाको हिसाबले कर बुझाउनु पर्नेछ । हिँडेर धेरै भन्दा धेरै नागरिक स्वस्थ्य हुनु सरकारको लागि कालान्तरमा प्रत्युत्पादक हुन जाने विश्लेषण गरिएको छ । स्वस्थ्य मानिस आन्दोलन, विरोध, धर्ना, हुलदंगामा सहभागी हुने देखिएकोले हिँडाइलाई निरुत्साहित गर्न यो कर उपयोगी हुने विश्वास लिइएको छ । तसर्थ कर नतिरी हिँड्नेहरुलाई चेतावनीस्वरुप तिनको खुट्टा भाँच्न सकिनेछ । 
८. आन्दोलन करः
अबदेखि सरकारको कुनै पनि विरोध कार्यक्रम वा जुलुसमा आयोजकहरुले सहभागीहरुको संख्याको आधारमा ‘पर हेड’का हिसाबले कर छेर्नुपर्नेछ । जसअनुसार, आन्दोलका लागि करको दरभाउ यसप्रकार निर्धारण गरिने छः
२० जनासम्मको मानव सागरः                      प्रतिटाउका ५० रुपैयाँ, 
५० जनासम्मको अपार भिडः                        प्रतिटाउका २० रुपैयाँ
१०० देखि ५०० को भिडः                             प्रतिटाउका १० रुपैयाँ
५०० देखि १००० सम्मको भेलाः                     प्रति टाउका ५ रुपैयाँ
१००० भन्दामाथि जतिसुकैको सानो समूहः        प्रतिटाउका १ रुपैयाँ
आन्दोलनमा हिर्काइने हरेक ढुङ्गा पनि कर तिरेरमात्रै हिर्काउन पाइनेछ । निसानामा नलागेको ढुङ्गाको हकमा प्रतिटुक्रा रु ५० र प्रहरीको टाउकामा लागेको अवस्थामा त्यसको रु १०० का दरले कर तिर्नुपर्नेछ । 
द्रष्टव्यः लाठी चार्ज भएको अवस्थामा प्रहरीको कठबाँसले फुटेका टाउकाहरुको कर मिनाहा गरिनेछ ।
 
९. अनशन करः
आजकल आन्दोलनभन्दा पनि अनशन बढी प्रभावकारी देखिएको छ । तसर्थ भविष्यमा अरु धेरै अनशनहरु हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी पूर्व सावधानीका रुपमा अबदेखि अनशनमा कर ठटाइनेछ । अनशनका पनि  प्रकार हेरेर कर निर्धारण गरिएको छ । रिले अनशनका लागि कति घन्टामा सिफ्ट परिवर्तन हुने हो त्यो हेरेर प्रति सिफ्ट रु १ हजारदेखि रु ५ हजारसम्म कर लाग्नेछ । आमरण अनशनको हकमा भने त्यसको दर अझ बढी हुनेछ । पहिलो पाँच दिनका लागि दैनिक १० हजार र त्यसपछिका हरेक दिनमा थप रु ५ हजार कर लाग्नेछ । कथंकदाचित् आमरण अनशनमा बसेको मानिसको मरण भएमा निजको जायजेथाबाट त्यसको असुली गरिनेछ । निजकी पत्नी, छोराछोरी, नातिनातिना वा अरु वारेस त्यो करको दायित्वबाट मुक्त हुनेछैनन् । यीमध्ये कोही पनि नभएको अवस्थामा निजलाई अनशन गर्न उकास्ने र ऐक्यबद्धता प्रकट गर्न जाने मानिसहरुबाट सो करको असूली गरिनेछ । 
१०. सोलार करः
अब घाम पनि सित्तैँमा ताप्न पाइने छैन, कर तिर्नु पर्नेछ । किनभने सूर्य हाम्रो चिन्ह हो । हाम्रो चिन्हबाट उपलब्ध ऊर्जामा अहिलेसम्म भएको चुहावटलाई नियन्त्रण गरिनेछ । हरेक मानिसको घर भएको स्थान, वरिपरिका अरु संरचनाका आधारमा दैनिक कति घन्टा घाम घरमा लाग्ने गरेको छ त्यसैको आधारमा प्रतिघन्टा रु २०० सौर्य कर लाग्नेछ । 
११. कर तिरेको करः 
यो सबैभन्दा महत्त्वपूर्ण कर हुनेछ । कर नतिरी केही पनि गर्न नपाइने नियमअनुसार यसअन्तर्गत हाल लागु भइरहेका र शीघ्र लागु हुने माथि उल्लिखित सबै किसिमका करहरु तिर्दा हुन आउने कुल रकमको १० प्रतिशत कर फस्र्योट कर पनि तिर्नुपर्नेछ । 
यसरी विभिन्न नयाँ करहरु लगाएर उठेको राजस्वबाट एउटा अक्षय कोष खडा गरिनेछ । त्यसमा जम्मा भएको रकम पूर्ण पारदर्शी ढंगले खर्च गरिनेछ । कुनै पनि बहालवाला सांसद वा मन्त्रीलाई गाथमा आराम नभएको अवस्थामा उनीहरुलाई तीर्थयात्राको लागि पताया वा फुकेत पठाइनेछ । त्यहाँबाट चित्त शुद्ध भएर फर्किएपछि उनीहरुले अझ बढी दत्तचित्त भएर देश र जनताको भलाइका लागि काम गर्नेछन् भन्ने विश्वास लिइएको छ । 
माथि उल्लेख भएकाबाहेक पनि अरु थप कर आउँदा दिनहरुमा लागु हुँदै जान सक्नेछन् । हामीलाई विश्वास छ, जिम्मेवार नागरिकको दायित्व निर्वाह गर्दै तपाईँहरु सबैले खुरुखुरु यी अतिरिक्त करहरु तिर्नुहुने छ । श्री पशुपतिनाथले तपाईँहरु सबैको कल्याण गरुन् । (किनभने त्यो गर्न अब उनैले बाहेक अरु कसैले सक्नेछैन ।)

Friday, July 20, 2018

हराएको मानिस भाग १

आषाढ ३०, २०७५ देखि दैनिक 'नयाँ पत्रिका'को शनिवार अंकका लागि धारावाहिक आख्यान शुरु गरेको छु, 'हराएको मानिस'



बिहानको १० बज्ने वेलाको समय 

थापाथलीको पुलको ट्राफिकमा असंख्य गाडीहरूको बीचमा एउटा महँगो, ठूलो चिल्लो गाडी पनि अड्किएको प्रचलित बजारभाउअनुसार त्यसको मोल पौने तीन करोडको हाराहारीमा पर्छ क्यारे पौने तीन करोडको गाडीभित्र पछाडिको सिटमा भव्य व्यक्तित्व भएको एकजना अधबैँसे मानिस बसेको

गाडीको झ्यालढोका टम्म लागेको तैपनि बाहिरको कर्कश ध्वनि कतैबाट छिरेकै सबै हर्न बजाइरहेका छन् पुलमा अलि ठूलो बस प्रवेश गर्नासाथ त्यो थोत्रो पुल भुइँचालो आएजसरी थर्थर काम्छ पूर्णतया वातानुकूलित गाडीमा पनि त्यो मानिसको निधारमा खै कसरी हो कुन्नि, केही थोपा पसिना आइरहेको देख्न सकिन्छ
उसको मन बेचैन भन्ने कुरा उसको अनुहारले नै स्पष्ट देखाइरहेको जतिसुकै महँगो गाडीभित्र बसे पनि मानिस तनावमुक्त खुसी हुन सक्छ भन्ने कुनै ग्यारेन्टी कहाँ हुँदो रहेछ  ! अगाडिपछाडि, दायाँबायाँ आँखाले भ्याउन्जेल चारपांग्रे दुईपांग्रे सवारीसाधनहरूले घेरिएको गाडीभित्र बसेको त्यो मानिस तीभन्दा कति हो कति गुना बढी चिन्ताले घेरिएको थियो

बेठेगान बल र बोली

हामी आम नेपालीहरुलाई भकुण्डोसंग अगाध स्नेह छ । किनभने सदियौं देखि हामी आफै पनि भकुण्डो नै बनिरहेका छौं । नयाँ नयाँ खेलाडीहरु आउँछन् । टिमको नाम फेरिन्छ । उनीहरुले लगाउने जर्सी पनि समयसमयमा परिवर्तन हुन्छ । तर हाम्रो नियति कहिले पनि फेरिंदैन । हामीलाई उनीहरु यताबाट उता गुडाउँछन्, न्वारान देखिको बल लगाएर लात्ताले उडाउँछन्, थचार्छन्, थिच्छन् अनि हामीलाई जाली भित्र छिराएर खुसी हुन्छन्,
“गो..........ल ।”
रमितेहरु दंग पर्छन् । थपडी बजाएर उफ्रिन्छन् । हामी आफ्नो चोटबाट तब्ग्रिन पाएका हुन्नौं, टप्प टिपेर मैदानको बीचमा लगिन्छौं । फुटबलमा रेफ्री कहिले कुन देशको हुन्छ, कहिले कुन देशको । उसले पिर्र पारेर सिठ्ठी फुक्छ । हामी फेरि मैदानभरि गुडाइन थाल्छौं । भूपिले पनि भन्थे, “हामी क्यारेमका गोटी हौं ।” फाफुरा भन्छ, “हो कविज्यू । हामी क्यारेमका गोटीजस्तै फुटबलको भकुण्डो पनि हौं ।”
हाम्रो आफ्नो पनि त्यही नियति भएको हुनाले होला भकुण्डो हामीलाई प्रिय छ । त्यसैले अरुबेला फुटबल नहेर्नेहरु पनि विश्वकप भनेपछि त्यसलाई छुटाउँदैनौं । भलै गोलकिपरको एल बी डब्ल्यू भएको पनि अम्पायरले दिएन भनेर उफ्रिंदै भए पनि हामी रात–बिरात निन्द्रा बिगारेर भकुण्डो हेर्छौं ।
विश्वकप चलुन्जेल केही हप्तादेखि टोलको चिया पसलमा लात्ते भकुण्डाको सानोतिनो सत्ता बजार चल्ने गरेको थियो । एक कप चिया, चिया र डोनट, फुल चिया सेट(जसमा चनाको तरकारी समेत हुन्छ) देखि लिएर नगदमा पचास देखि एक हजारसम्मको बाजी त्यहाँ लाग्ने गथ्र्यो । फाफुरा पनि मौकामा चौका हान्दै आफ्नो गच्छे अनुसारको बाजी लगाउन पल्केको थियो । तर, यसपटक उसको ग्रहदशा खराब भएर हुनुपर्छ, उसले जसजसको पक्षमा बाजी लगायो, ती सबै चुनावको काँग्रेस हुन थाले । हुँदाहुँदा क्वार्टर फाइनलसम्म आइपुग्दा त फाफुरा अरु सत्ताखोरहरुको लागि वरदान बन्न पुग्यो । चलाख खेलाडीहरु फाफुराले जुन टिम छान्यो, त्यसको विपक्षीमा बाजी थाप्न र जित्न थाले । एक जना उदारमना महापुरुषले त फाफुरालाई यतिसम्म भने,
“तिमी मैले छानेको टिमको विरोधी टिम छानेर त्यसलाई बिछुक लगाऊ फाफुरा । म विश्वकप चलुन्जेल हरेक बिहान तिमीलाई सित्तैमा चिया र डोनट खुवाउँछु ।”
फाफुराले उसको त्यो प्रस्ताव सहर्ष स्वीकार ग¥यो । ढाँटेको होइन, फाफुराको यो गौरवशाली परम्परा अस्ति रातिको फाइनल खेलसम्म पनि टुटेन । त्यही खुसीमा हिजो बिहान त त्यो मानिसले फाफुरालाई चिया र डोनटसंगै बोनस भनेर आलुको तरकारी पनि खुवायो । यसरी प्राकृतिक विपत्ति आइपरेको बेला पनि सक्नेहरुले त्यसैलाई ।।।भजाएरग्́ आफ्नो दूनो सोझ्याए जसरी फाफुराले पनि आफ्नो बिछुकको फाइदा उठाएको थियो । हुन त खासमा भन्ने हो भने यसपटकको विश्वकपमा फफुरालाई विपरित लाग्छ भन्ने कुराको संकेत त शुरु देखि नै देखिएको थियो ।
विश्वकप शुरु हुनु अघि फाफुराले टोलका खम्बाहरुमा निकै दिनदेखि एउटा आकर्षक विज्ञापन टाँसिएको देखेको थियो । ।।।मात्र सय रुपैंयामा घरघरमै आएर कलर टिभी बनाइन्छ ।ग्́ विश्वकप लात्ती भकुण्डो शुरु हुन लागेको बेला त्यो विज्ञापनले फाफुराको आँखा तानेको थियो । यस्तो बेलामा मानिसहरु ऋण गरीगरी विश्वकपका लागि नयाँ टिभी किन्छन् भन्ने पनि उसले सुनेको
थियो । फाफुरालाई पनि त्यसको रहर त नलागेको कहाँ हो र ? रहर लाग्दैमा कहाँ हुन्छ र ? नेपाल वायुसेवा निगमले स्थूल शरीर भएको चीलगाडी किनेजस्तो फाफुराले नयाँ टिभी किन्न सक्ने कुरा भएन । तर टोलको खम्बामा टाँसिएको विज्ञापनले फाफुरालाई आशावादी बनाइदियो । उसले त्यसमा दिइएको नम्बरमा लगातार पाँच पटक मिस् कल ग¥यो । आजित भएर त्यो मानिसले कल ब्याक गरेर हका¥यो,
“यो कहाँ प¥यो ?”
मोबाइलमा फोन गरेर कहाँ प¥यो भनेर सोध्ने पनि हामी नेपालीहरुको विशिष्ट पहिचान मध्येको एक हो । अरुबेला त यस्तो प्रश्नको उत्तरमा फाफुरासंग अर धेरै उरण्ठेउला उत्तरहरु हुन्थे । तर यो त आफैले मिस् कलको जाल हानेर पारेको माछो थियो । त्यसैले उसले मीठो स्वरमा भन्यो,
“माफ गर्नुहोला, काटिया काटियै गर्छ भन्या । अहिले बल्ल तपाईको बोली सुनियो ।”
“किन तारन्तार मिस् कल हानिरा ?”
“घरमै आएर कलर टिभी बनाइदिने भने विज्ञापन तपाईँले टाँस्नुभा हो ?”
उताबाट हो भन्ने जानकारी प्राप्त भएपछि फाफुराले त्यस मानिससंग कुरा मिलायो । त्यही अनुसार ऊ साँझ चार बजे टोलको माइक्रो बसपार्कमा आउने भयो । आजकल विदेश भ्रमणमा जाने हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिज्यूहरुलाई त्यहाँका फाफुराकै औकातका प्यूसा मन्त्रीहरुले गर्ने जस्तै भव्य स्वागत गर्दै फाफुराले कलर टिभी बनाउने मानिसको सवारी आफ्नो डेरासम्म चलायो । अलिकति पर मेलम्ची निर्मित सानोतिनो समुन्द्र तर्न पर्ने थियो । त्यो मानिसले भन्यो,
“तपाईको कोठा पुग्न त ।।।नाम लियो भने कारवाही हुनेग्́ वस्तु पो चाहिने रहेछ त ।”
फाफुरा खिस्स हाँस्यो । वाधा अड्चन पार गरेर कोठामा पुग्नासाथ उसले सोध्यो, “खोई तपाईको टिभी ?”
फाफुराले कुनै नयाँ भवनको उद्घाटन गरेजसरी आफ्नो जीउ पुछ्ने मैलो रुमालले छोपेको टिभीको अनावरण ग¥यो । त्यो मानिसले जिल्ल परेर हालका टेलिभिजनहरुको रामापिथेकसलाई हे¥यो । अनि सोध्यो,
“के बिग्रेको छ ?”
फाफुराले हाँस्दै गर्वका साथ भन्यो,
“सतको धनले किनेको टिभी हो । यसको खरीदमा कुनै अनियमितता वा छ्याकनको प्रावधान थिएन । वायु सेवा निगमको जहाज वा सडकको पिच हो र किन्न नपाइ वा बन्न नपाइ बिग्रिनलाई ? किनेको बेलादेखि अहिलेसम्म केही दुख दिएको छैन यसले भाई ।”
त्यो मानिसले खाउँलाजस्तो आँखाले हेर्दै सोध्यो,
“बिग्रेको छैन भने मलाई किन बोलाएको त ?”
”सय रुप्याँमा घरैमा आएर कलर टिभी बनाइन्छ भन्या हैन त ?”
अझ जिल्ल पर्दै उसले भन्यो,
“त्यो त हो नि । तर .....”
फाफुराले उसको कुरा काट्दै भन्यो,
“बनाइदिनुस् न त कलर टिभी । यो ब्ल्याक एण्ड ह्वाइट टिभी हो । नत्र वल्र्ड कप हेर्दा कहिलेकहीं दुइटा टिमै छुट्याउन सकिँदैन ।”
हेर्नुस्, त्यसपछि त्यो मानिसले उल्टै फाफुरालाई यति गाली गरेर गयो, जति गाली त विपक्षमा बसेको पार्टीले सरकारमा भएकाहरुलाई पनि गर्दैन होला । फाफुरा सोच्न थाल्यो, नसक्ने भए किन विज्ञापन गरेको होला ?
कुनै बेला थियो, जब मान्छे भन्ने गर्थे, सबैभन्दा ठूलो कुरा मान्छेको बोली हो । नसक्ने कुरा बोल्नै हुँदैन, बोलेको कुरा नसक्नै हुँदैन । तर त्यसपछि नेता र राजनीतिज्ञहरु भन्ने प्राणीहरुको उत्पत्ति भयो । उनीहरुले यो प्रथालाई ठ्याक्कै उल्ट्याइदिए । अब हुँदाहुँदा आजकल यस्तो अवस्था आइसक्यो, सबै मानिसहरु गफैले मात्र बम्बै कलकत्ता हाँक्ने भए । कसैको बोलीलाई कसैले गम्भीरतापूर्वक नलिने भइसक्यो । बोलेको कुरा पु¥याउन नपर्ने भएपछि मानिसहरु ठूलाभन्दा ठूला गफहरु ठोक्न थाले । त्यसैले आजकल कसैको पनि बोलीको ठेगान हुन छाड्यो हेर्नुस् । भन्ने बेला एक थोक भन्छन् तर गर्ने बेला केही नि गर्दैनन् । अथवा अर्कै थोक गर्छन् । अगुवाहरु नै ठगुवा अनि बाटो हगुवा हुन थालेपछि त्यसैको सिको गरेर माथिदेखि तलसम्मकाहरु घैंटे हान्न ओस्ताद हुन थाले । सय रुप्याँमा घरमै आएर कलर टिभी बनाइदिन्छु भन्ने गफाडी पनि यही कडीको पछिल्लो उदाहरण हो । हामीहरेक ठाउँमा यस्तै भ्रामक नारा, वाचा र विज्ञापनले ठगिएका छौं । एउटा सवारी चालकको अनुमतिपत्र नवीकरण गर्न एक वर्ष लाग्ने देशमा सय दिनको समयसीमा राखेर गँजडीले पनि गर्न नसक्ने गफ गरेर चुनाप जित्न सकिने देश हो यो ।
अब विश्वकप सकिएको छ । फाफुरालाई पीर परेको छ । परिवार र साथीभाइ त भै हाले, सामाजिक सञ्जालमा समेत नचिनेका मानिसहरुसंग बाझाबाझ गर्दै हामी भकुण्डोको आनन्द लिइरहेका थियौं । अब नियाश्रो लाग्ने भयो हामीलाई । अब हामी कोसंग निहुँ खोज्ने ? के कुरामा खण्डित हुने होला लौ ? यो कुराको उत्तर पाइएला कि भनेर फाफुरा उही भरपर्दो रत्नपार्कमा पुग्यो र टोपीले मुख छोपेर सुत्यो । नभन्दै एकै छिनमा उसको मगजमा झिलिक्क आयो, हामीलाई जुट्ने कारण खाज्े न पो गाह्रो हो त । किनभने त्यो आफैले खोज्नुपर्छ । फुट्ने कारण त नाथे जति पनि पाइन्छ । किनभने त्यो त अरुले खोजीखोजी हाम्रो अगाडि ल्याइदिन्छन् । दुखै गर्नु पर्दैन ।

Thursday, July 12, 2018

भिखारी भत्ता

यो देशमा रत्नपार्कमा टोपीले मुख छोपेर सुत्ने त वातावरण नै छैन । 
यत्तिका लामो समयसम्म फाइँफुट्टीराजको फाइँफुट्टी पढिसकेपछि त तपाईँहरुलाई फाफुरा र रत्नपार्कको सम्बन्ध भनेको डन र नेताहरुको सम्बन्धजस्तै हो भन्ने थाहा भइसकेको हुनुपर्छ । हाम्रा देशका जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी, इमानदार र भ्रष्टाचार विरोधी छन् भन्ने कुरामा जस्तै यो कुरामा पनि तपार्इँहरु शतप्रतिशत आश्वस्त हुनुहुन्छ । त्यसैले यहाँहरुलाई भनिरहनै परेन – रत्नपार्कमा टोपीले मुख छोपेर नसुतुन्जेल फाफुरालाई कुनै फाईँफुट्टी फुर्दैन । 

आजकल मनसुनले गर्दा दिनदिनभर पानी पर्छ । रत्नपार्कको घाँस भिजेको र त्यहाँको भूइँ हिलाम्य हुन्छ । त्यही भएर उसलाई कतै यो साता मौनव्रत लिनुपर्ने त हैन भन्ने पीर परिसकेको थियो । तर, मनसुनको बीचमा एक दिन बिदो भैदियो । आजकल फाफुरीको सल्लाहमा फाफुराले ट्विटर खेल्न सिकेको छ । त्यहाँ एकजना चर्चित मौसमविद्को जगजगी हुन्छ । बिहान उनको ट्विट भविष्यवाणी हेरेर त्यहीअनुसार दिनको योजना बनाउँदा फरकै पर्दैन । उनले पानी पर्छ भनेको दिन छाता घरमा छोडेर हिँड्ने र घाम लाग्छ भनेको दिन नबिर्सी छाता रेनकोट बोक्ने गरे हुन्छ । त्यति भरपर्दो त कुनै सरकारी निकाय, नासा अथवा फेसबुक पनि हुँदैन । त्यसदिन उनले आज दिनभर पानी पर्छ भनेको हुँदा फाफुरा रत्नपार्कमा सुत्न पाइने भो भनेर विश्वस्त भएर गयो । नभन्दै झलमल्ल घाम लागिसकेको थियो र ऊ त्यहाँ पुग्दा चौर पनि सुकिसकेका थियो । आधा चौथाइ बदामको नियमित खुराक लिएर फाफुरा आफ्नो प्रिय कुनामा गयो । अखबार च्यातेर बनाएको सोली फिँजाएर ऊ कुहिएका बदामहरु छुट्याउँदै थियो । अचानक उसका आँखा च्यातिएको अखवारमा छापिएको एउटा मानिसको फोटोमा पर्यो । त्यो मानिस त उसले चिनेको थियो ।

अघोरीको नाग बाबा

अघिल्लो साता फाफुराले फाफुरीसँगको शीतयुद्ध समाप्त गर्न निकै मेहेनत गर्नुपर्‍यो । उत्तर कोरियाको स्थूल काका र अमेरिकाको सुन्तला बाजेको मिलनको उदाहरणका सामु अन्ततः फाफुरीले समर्पण गरी । त्यसैले भोलिपल्ट दिनभर रत्नपार्कमा टोपीले मुख छोपेर सुतेपछि बेलुका कमलादी गणेशथान निरबाट उसैले टिप्ने र सँगै घर जाने भद्र सहमति भएको थियो । फाफुराले आकाशे पुललाई बहिष्कार गरेर सडकैबाट बाटो काट्ने राष्ट्रिय चरित्रको प्रदर्शन गर्दै बाटो काट्यो र सवारी चालकहरुलाई आाग्नेय नेत्रले हेर्दै गन्तव्यतिर पाइला बढायो । गणेशथाननिर फेरि बाटो काट्ने बेला उतापट्टिबाट गलत साइडबाट लेन मिचेर, अनियन्त्रित र वायुवेगमा एउटा ट्रिपर आउँदै थियो । हुन त गलत साइड, लेन मिचेर, अनियन्त्रित र वायु वेग भनिसकेपछि ट्रिपर भनिरहनु पर्दैन । एउटै अर्थ लाग्ने धेरै उपमा किन चाहियो भनेर बाह्रखरीका सम्पादकले यसलाई छाँट्न पनि सक्छन् । त्यो ट्रिपरको गति हेर्दा फाफुराको हंसले ठाउँ छोड्यो । 

तै त्यसका चालक ठ्याक्कै माननीय सञ्चारमन्त्रीजस्तै कुशल रहेछन् । उनले चलिरहेको गाडीलाई ठाउँको ठाउँमै झ्याप्पै रोकिदिए । नत्र केही महीनापछि दुर्घटना सहिदकी पत्नीका रुपमा फाफुरीले दसबीस लाखको रकम हात पार्थी । फाफुराले लामो लामो सास फेरेर आफूलाई नियन्त्रित गर्‍यो । ऊ सारसले जसरी घिच्रो तन्काइतन्काई परपरसम्म हेर्न थाल्यो । फाफुरीको अत्तोपत्तो थिएन । त्यही बेला उसको छेवैमा आएर कोही ठूलो स्वरमा करायो,
“हरहर महादेव !”