Translate

Thursday, September 27, 2018

सहनशील सुशील र सुशीलाहरु



दशैं आउन लागेको छ । दशैं चाहिँ पक्कै आउँछ । भनेको समयमै आउँछ अब । हो मेलम्चीको पानी, स्याटेलाइटको बिजुली, चुच्चे रेल, स्वदेशमै खनिएको इन्धन र सम्बृद्धिजस्तो अनिश्चिततामा मात्र नभएर वास्तविकतामै पनि आउँछ दशैं । सोह्रश्राद्ध शुरु भएसंगै वर्षा पनि अब प्रतियोगिता खेल्न विदेश गएको खेलाडि र साँस्कृतिक कार्यक्रमको लागि गएको कलाकारजस्तो हुन थालेको छ । फाफुरा पनि पर्वोल्लासले आल्हादित भएर, दंग परेर रत्नपार्कको चौरमा टोपीले मुख छोपेर ‘सनवाथ’ लिइरहेको छ । वातावरण चाडमय छ । आज फाफुराको मगजमा एउटा प्रश्न फुरेको छ जुन तपाईंहरुलाई पनि सोधौं कि भन्ने लागिरहेको छ । तपाईंहरु सोच्नुहोला, यो कुनै खेल हो । सही उत्तर दियो भने पुरस्कार पाइएला । किनभने आजकल मानिसहरु बिना कुनै फाइदा केही पनि नगर्ने भइसकेका छन् । फाफुराको एक मित्र भन्छ,
“बुझिस् फाफुरे, आजकल म त पैसा आउँदैन भने कसैलाई गाली पनि गर्दिनँ ।”
के भन्नु भो ? हैन हैन, त्यो मित्र पत्रकार हैन । हैन, राजनीतिसंग पनि कुनै सम्बन्ध नै छैन उसको । उसो भए समीक्षक होला रे ? त्यो पनि हैन । खासमा भन्ने हो भने ऊ बैंकर हो । ऊ भन्छ, “खुसी हुनुभन्दा रिसाउन कति गाह्रो छ । शरीरका अनेकौं रसायनहरु सकृय हुन्छन् । मगजमा बल पर्छ । मांशपेशीहरु तन्किन्छन्, फुल्छन्, खुम्चिन्छन् । रक्तचाप बढ्छ, घाँटीमा जोड लाग्छ, आवाज ठूलो भएपछि त्यसको कम्पनले शरीरका सबै कुराहरुलाई असर पार्छ । एकछिन कसैलाई गाली गर्दा सारा कुराहरु क्षय हुन्छन् । त्यसैले आफूलाई नोक्सान हुने काम त गर्नै हुन्न । त्यो पनि फोकटलालमा ? सबै कुरा डेविट र क्रेडिट हो बुझिस् ?”
अनि त्यो सब बुझेको फाफुराजस्तो मानिसले सोधेको प्रश्नको सित्तैंमा उत्तर किन दिनू भन्ने तपाईंहरुलाई लागेको हो भने त्यो सोचको फाफुरा उच्चतम कदर गर्छ । तर हैन, तपाईंहरुसंग पनि फाफुराकोजस्तै खेर फाल्नलाई समय नै समय छ भने एकैछिन यो प्रश्नमा घोत्लिनुभए हुन्छ । फाफुराको यक्ष प्रश्न सुन्नुहोस्,
“जे भए पनि असर नपर्ने यो संसारको सबैभन्दा बढी ‘बालै फरर’ मानिस को होे ?”
तपाईंहरुले यस प्रश्नको उत्तर सोचुन्जेलमा फाफुराचाहिँ रत्नपार्कको यो पारिलो घाममा एक ‘पावर न्याप्’ लिन भ्याउँछ है त ?
ààà
पावर न्यापपछि स्वागत छ यहाँहरुलाई फेरि एकपटक फाइँफुट्टीराजको फाईंफुट्टीमा । ब्रेकभन्दा पहिले फाफुराले यहाँहरुलाई एउटा प्रश्न सोधेको थियो, जे भए पनि असर नपर्ने यो संसारको सबैभन्दा बढी ‘बालै फरर’ मानिस को होे ? तपाईंहरुमध्ये धेरैको मगजमा यसको फरक फरक उत्तर आएको होला । कसैलाई लागेको हुनुपर्छ, काठमाण्डौका मेयर, कसैलाई लागेको हुनुपर्छ दुई तिहाइको सरकार, कसैलाई लागेको होला प्रहरी प्रशासन । स्थानीय निकायका पदाधिकारीहरु, बिभिन्न योजना परियोजनासंग सम्बद्ध टाउकेहरु, देशभर छ्याप्छप्ती पलाएका थरिथरिका सिण्डिकेटका ठालूहरु, निर्माण व्यवसायी लगायतका अरु पनि तपाईंको मगजमा आएका होलान् । ती सबै त भइ नै हाले, तर सबैभन्दा बढी बालै फरर चाहिँ हामी आम नागरिक नै हौं ।
भीमनीधि तिवारीले उही जमानामा एउटा नाटक लेखेका थिए, सहनशीला सुशीला । अब हामी सबैको राष्ट्रिय पहिचान बनेको छ यो नाम । आज हाम्रो देश सहनशील सुशील र सहनशीला सुशीलाहरुको देश बनेको छ । हामी सबै कुरा सहन अभ्यस्त भएका छौं । दिनदिनै बलात्कारका घटनाहरु भइरहेका छन् । कुनै बेला कृषिप्रधान देश भनेर चिनिने देश अब बिस्तारै बलात्कारप्रधान देशको चिनारी पाउँदैछ । सरकार अपराधी लुकाउने र पोर्न साइट बन्द गर्नेमै सीमित छ । सरकारले भंग गरिएका भनेको सिण्डिकेटसंग वार्ता गरेर चाडको मुखमा मूल्यवृद्धिको दशैं बम्पर उपहार दिएको छ जनतालाई । संस्कृतिको सहरमा सँधै कुनै जात्रा हुन्छ । त्यस्ता जात्रा तथा गौरवशाली र राष्ट्रिय महत्वका कार्यहरुका लागि राष्ट्रपतिज्यूका सवारीका कारण काठमाण्डौको आवागमन ठप्प हुन्छ । मनमनै कुलर््िन्छौं, र सामाजिक संजालमा एक दुई गहन वाक्य लेखेर हामी सहिरहन्छौं । उपभोक्ता, अभिभावक, बिरामीलाई चारैतिरबाट चारपाटे बनाएर मुड्दा पनि हामी सहनशील सुशील र सहनशीला सुशीलाहरु सन्तुष्ट भएर बस्छौं ।
खासमा भन्ने हो भने विवेकशील साझाको साटो यदि बुद्धि पु¥याएर सहनशील साझा भन्ने पार्टी खोलेर चुनाव लडेको भए अरु सबैको जमानत जफत हुन्थ्यो । यही सोच्दासोच्दै कुनबेला फाफुरा रत्नपार्कमा भुसभुस निदायो भन्ने थाहै पाएन । उसले एउटा अचम्मको सपना देख्यो ।
ààà
फाफुरा त कुनै एउटा देशको राष्ट्रपति पो भएको रहेछ र कुनै अर्को देशको भ्रमणमा गएको रहेछ । फाफुरी पनि ‘फस्र्ट लेडी’ भएकोले पुच्छर लागेर जाने नै भई । त्यो कुनै एउटा तानाशाहको देश रहेछ । तानाशाहले आफ्नो देशका जनताहरु कतिसम्म सहनशील र जाती छन् भन्ने देखाउन उनीहरुलाई एउटा ठूलो सरकारी कारखानामा लिएर गयो । त्यहाँ काम गरिरहेका सयौंको संख्यामा भएका मानिसहरुलाई उसले भन्यो,
“भोलिदेखि तिमीहरु सबैको जागीर चट् । बुझ्यौ ?”
बिना कुनै कारण अचानक त्यसरी गरिएको घोषणा सुनेर पनि सबै मौन रहे । उनीहरु आआफ्नो काम गरिरहे । तानाशाह दंग प¥यो । उत्साहित भएर उसले महामहिम फाफुरा र फस्र्ट लेडी फाफुरीलाई एउटा आमसभामा लिएर गयो । विशाल चौरमा गन्नै नसकिने संख्यामा मानिसहरु भेला भएका थिए । तानाशाहले त्यहाँबाट उद्घोष ग¥यो,
“भोलि बिहान झिसमिसेमै तिमीहरु सबैलाई फाँसी दिइनेछ ।”
कसैले चुइँक्क पनि गरेन । त्यो फाफुरा र फाफुरी जिल्ल परे । फाफुराले खप्न नसकेर ती मानिसहरुलाई सम्बोधन गर्दै भन्यो,
“तपाईँहरुले राम्ररी नसुनेका कि नबुझेको ? बिना कारण, बिना कसूर तपाईंहरु सबैलाई भोलि बिहान फाँसी दिइन्छ भनेको बुझ्नुभएन ?”
एउटा मान्छेले भन्यो,
“बुझ्यौं । राम्ररी बुझ्यौं ।”
“तपाईंहरुलाई केही भन्नु छैन ?”
“छैन, केही भन्नु छैन । हाम्रा प्रधानमन्त्रीज्यूले जे भन्नुभएको छ, त्यो हाम्रो र देशको भलाइको लागि नै हुनुपर्छ ।”
फाफुरालाई असह्य भयो । उसले फेरि एकपटक प्रयास ग¥यो,
“कुनै डर वा त्रासले त्यसो भन्नुभएको हो भने, पीर नमान्नुस् । म अन्तर्राष्ट्रिय समुदायमा तपाईंहरुको कुरा पु¥याउँछु । यस्तो पनि हुन्छ ? कोही केही त बोल्नुस् । प्रश्न सोध्न पाउने तपाईंहरुको मौलिक अधिकार हो ।”
निकै बेरपछि भीडको पछाडिबाट एउटा बूढो मानिसले हात उठायो । सबैले फर्केर हेरे । उसले बिस्तारै भन्यो,
“मलाई प्रश्न गर्नु छ ।”
फाफुरा उत्साहित भयो । कमसे कम एक जनाले त हिम्मत ग¥यो । झिल्का सानै भए पनि त्यसलाई फुक्न सक्यो भने त्यसले लप्कोको रुप लिन्छ । उसले हौस्याउँदै भन्यो,
“निर्धक्क भएर सोध्नुहोस् । के हो तपाईंको प्रश्न ?”
बूढो मानिसले सोध्यो,
“हामीलाई भोलि बिहान फाँसी दिन डोरी चाहिँ सरकारले उपलव्ध गराउँछ कि हामीले घरबाटै ल्याउनु पर्ने हो ?”
फाफुराले स्तव्ध भएर त्यो मानिसलाई हे¥यो । उसलाई त्यसको अनुहार कताकता परिचित लाग्यो । फाफुरा त्यस मानिसको नजीक गयो । अनि उसले थाहा पायो, त्यस मानिसको अनुहार त काटीकुटी फाफुराको आफ्नै भविष्य र वृद्धाअवस्थाको पो रहेछ ।
ààà
फाफुरा झसंग भएर ब्यूँझियो र चारैतिर हे¥यो । रत्नपार्क वरिपरि सबै आआफ्नै सुरमा थिए । ऊ बाहिर निस्क्यो र भीडमा सबैलाई नियाल्दै भौंतारिन थाल्यो ।
लापरवाह, निस्फिक्री र सन्तुष्ट भावमा देखिन्थे सबै सहनशील सुशील र सुशीलाहरु ।

Thursday, September 20, 2018

“जस्ट चिल् चिल् चिल् जस्ट चिल्...”

फाइँफुट्टीराज भाग २९

फाफुरा राम्ररी सुत्न नपाएको धेरै भएको थियो । यो कुरा त तपाईँलाई पनि थाहा हुनैपर्छ । रातभर उल्लुजस्तो ननिदाउने फाफुरालाई रत्नपार्कको पारिलो घाममा टोपीले मुख छोपेर लमतन्नासानको मुद्रामा योग साधना गरेपछिमात्र निन्द्रा लाग्छ । अनि निन्द्रामै उसलाई फाइँफुट्टी फुर्छ । नयाँ पाठकहरुलाई अचम्म लाग्नसक्छ तर यो देश नै निन्द्रामा चलिरहेको छ । यसलाई हाँक्नेहरु सबैले निन्द्रामै चलाइरहेका छन् । सपनामै बर्बराउँछन्, सपनाकै योजना बन्छन् र सपनामै पूरा हुन्छन् । हामी कसैलाई विपनासँग कुनै मतलबै छैन । हाम्रा लागि विपना भनेको थापा थरकी एउटी नायिका थिइन् । ती पनि पलायन भइसकिन् । अब हाम्रा लागि सबै कुरा सपनामात्रै हुन् । 
बल्लबल्ल सुर्जेनारान् उदाएको बेला मौकाको फाइदा उठाएर फाफुरा रत्नपार्कमा निदाएकोमात्र के थियो कानै छेउबाट भुँ.....गर्ने आवाज निकालेर केही उड्यो । आँखा खोलेर हेरेको त एउटा अरिंगाल उडेर कतै जाँदै रहेछ । फाफुरालाई त्यो अरिंगाल देख्नासाथ एउटा आइडिया आयो । उसलाई केही दिनदेखि एउटा समस्याले सताइरहेको थियो । अरिंगाल त्यसको अचूक औषधि हुन सक्थ्यो । पख्नुस्...पख्नुस्....साँझ टिन्चु पानी लगाउने बेला भुटेर खाने भन्ने हिंश्रक आइडिया आएको हो भने त्यसलाई आफ्नो मनमै राख्नुस् । फाफुरा शाकाहारी प्राणी हो । समस्या के भने हरेक बिहान उसको डेराको ढोकै अगाडि कुनै एक चेतनशील छिमेकीको कुकुर आउँछ र दीर्घशंका निवारण गरेर जान्छ । गुलेलीले हानौ भने पशुअधिकारकर्मीले छाड्ने छैनन् भन्ने उसलाई थाहा थियो । पेट्रोल छरे कुकुर आउँदैन रे भन्ने कसैले सुझाएका थिए । तर, हरेक रात भाउ बढेर महँगो भइरहेको पेट्रोल किनेर छर्ने औकात फाफुराको कहाँ हुनु ? कसैले अर्को साह्रै सजिलो उपाय सुझाएका थिए बाघको मुत ल्याएर ढोका अघि छरिदियो भने पनि कुकुर आउन छोड्छ रे ! यसमा पनि समस्या थियो । संसारभर बाघको संख्या घटेकोमा लियोनार्दो डि क्याप्रियोसमेत चिन्तित भइरहेको बेला फाफुरा कहाँ बाघ खोज्न जानू ? भेटिएछ नै भने पनि बाघ देखेर फाफुराले पहिले मुत्छ । बाघले किन मुत्नु ? कहाँबाट ल्याउनु बाघको मूत ? त्यही पीरले आधामासु भएको बेला फ्याट्ट अरिंगाल देखियो । 
अरिंगाल अलि पर पुगिसकेको थियो । फाफुराले हत्त न पत्त ठूलो स्वरमा उसलाई बोलायो, “अरिंगाल भाइ.....”
अरिंगाल भुँ... गर्दै फर्केर आयो । ऊ फाफुराको नजीकै घाँसमा बस्यो र सोध्यो, “भन, काममा हिँडेको अरिंगाललाई किन बोलाएको ?”
फाफुराले सतर्क आँखाले उसलाई हेर्दै नम्र स्वरमा भन्यो, “मैले पनि एउटा कामको लागि नै तिमीलाई सम्झेर बोलाएको हूँ अरिंगाल भाइ ।”
उसले अगाडिका दुई खुट्टा रगड्दै भन्यो, “कस्तो काम ?”
फाफुराले अरिंगाललाई आफ्नो समस्या सुनायो । अरिंगाल गम्भीर भएर सुनिरह्यो । अन्त्यमा उसले सोध्यो, “यसमा मैले के गर्न सक्छु र ?”
फाफुराले आफ्नो स्वरमा भोट माग्नेबेलाको नेताको जस्तै मिठास घोल्दै भन्यो, “दुईचार दिन बिहान बिहान आएर त्यो कुुकुरलाई च्वास्स च्वास्स चिलिदियौ भने त्यसपछि आउन छोड्ला कि भनेर तिम्रो सहयोग मागेको हो ।”
अरिंगाल फाफुराको कुरा सुनेर रिसायो । आँखा राताराता पारेर नाकबाट कलंकी एयरपोर्ट रेलको जस्तो धूँवा निकाल्दै ऊ बम्क्यो, “तिमीले हामीलाई के भन्ठान्या ए फाफुरा ? ‘अन्डरएस्टिमेट’ गर्ने पनि एउटा सीमा हुन्छ नि यार । के हामीलाई तिमीले कांग्रेस पार्टी भन्ठान्या जसको कुनै कामै छैन ? तिमी बञ्चरोले कागज काट्ने कुरा गर्दैछौ । हामी अरिंगाललाई के ठानेका छौ ? हामी फाफुरा हो र दिनभर रत्नपार्कमा सुतेर समय बिताउने ? हामीसँग यस्ता च्याँखे काम गरेर बस्ने फुर्सद छ ?”
फाफुराले उसलाई नम्र स्वरमा नै फकाउँदै भन्यो, “आवेशमा नआऊ न अरिंगाल भाइ । मैले त थाहा नपाएको कुरा सोधेको मात्र हो । संविधानले प्रश्न सोध्ने अधिकार दिएको छ । उत्तर दिने नदिने तिम्रो अधिकार हो ।”
अरिंगाल अलिकति मत्थर भयो । अनि उसले भन्यो, “ठीक भन्यौ । म उत्तर नदिन सक्छु । तर, एकजना ट्विटे भाइले हरेक दिन एउटै प्रश्न सोधिरहँदा पनि पर्यटन मन्त्रीज्यूले त्यसको उत्तर नदिएकोजस्तो होला भनेरमात्र म तिम्रो प्रश्नको सम्बोधन गर्दैछु । आजकल हामी महान् कार्यमा लागेका छौं । हामीलाई फुर्सद छैन ।”
फाफुराले आँट गरेर कुरा कोट्यायो, “महान् कार्य रे ? कस्तो महान् कार्य ? केही प्रकाश पारिदिन्छौ कि अरिंगाल भाइ ?”
अरिंगाल गजक्क फुल्यो र भन्यो, “यो देशको भविष्य आजकल हाम्रो काँधमा आइपुगेको छ । दुई तिहाइ बहुमतको सरकारलाई थेग्ने जिम्मेवारी हाम्रो चौडा काँधमा आएको छ । राष्ट्रले हामीबाट ठूलो अपेक्षा गरेको छ । भलै हामीलाई नागरिकता दिइँदैन तर हामी अरिंगालहरु पनि यो देशको जिम्मेवार नागरिक हौँं । स्थायित्व भएन भनेर हल्ला गर्ने अनि हुन लागेको स्थायित्वलाई धमिरा लगाउन खोज्ने राष्ट्रघाती तत्त्वलाई परास्त गर्न हाम्रो सहयोग मागिएको छ । अचानक हाम्रो दिन आएको छ ।”
फाफुराको मगजको स्टार्टर कमजोर भएर अघिदेखि धिपधिप गरिरहेको ट्युबलाइट अचानक झिलिक्क गरेर बल्यो । हो त नि, यो अरिंगाल त हर समस्याको अचूक औषधि पो हो । तर, हामी मूर्खले भने यति गुनकारी कीरोको महत्त्व आजसम्म बुझ्न सकेका रहेनछौँ । यति सानो र स्पष्ट कुरा पनि हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले त्यसको नाम नलिउन्जेल नेपालीहरुले भेउ पाएनन् । अरिंगाल भन्दै थियो, “यो गहन जिम्मेवारी पाउनासाथ मानिसहरुले बल्ल हाम्रो महत्त्व बुझेका छन् । विभिन्न अरु स्थानहरुबाट पनि हाम्रो दक्ष सेवाको माग हुनथालेको छ । मेडिकल माफिया, शैक्षिक माफिया, बालुवा सिन्डिकेट, यातनयात नेक्सस लगायतका अरु थुप्रै महान् र राष्ट्रवादी संगठनहरुले विरोधीहरुको चिलाई मार्नका लागि हामीसँग सम्पर्क गरिसकेका छन् । त्यसैले हामीले अच्छ्युँ, बच्छ्युँ र झुसे बारुलाहरुलाई पनि ‘आउट सोर्सिंङ’ गरिसकेको छौं । उनीहरु सबै पनि हाम्रो छातामुनि ऐक्यवद्धता देखाउन सहमत भइसकेका छन् । त्यसैले हामी चिल्ने जातलाई अहिले फुर्सद छैन । तिम्रो समस्याको समाधानका लागि झिंगा र भुसुनाहरुसँग सम्पर्क गरेर हेर । तिम्रो औकातका कीराहरु तिनै हुन् ।”
उसको कुरा सुनेर ट्वाँ परेको फाफुरा छोडेर अरिंगाल प्रसन्न मुद्रामा गीत गाउँदै उडेर गयो, “जस्ट चिल् चिल् चिल् जस्ट चिल्...”

Monday, September 17, 2018

मात्र चार घन्टा

नयाँ पत्रिकाबाट,  धाराबाहिक आख्यान 'हराएको मनिस'को भाग १०

सर्वेश्वरले ट्वाँ परेर आफ्नो अगाडि बसेर बुङबुङ चुरोटको धुँवा उडाइरहेको भीमकाय प्रहरीलाई हेर्‍यो, जसले भर्खर मात्र उससँग १० लाख युरोको माग गरेको थियो। हुन त सर्वेश्वरका लागि त्यो सुनेरै आत्तिनुपर्ने रकम त थिएन। तर, पनि लातभियाको स्टेट प्रहरीको एउटा जुनियर लेफ्टिनेन्टले उससँग ढुक्कै त्यत्रो रकम माग गर्नुचाहिँ अनौठो कुरा थियो। ऊ आफ्नो छोरा राजेशको ड्रग्ससँगको आबद्धताको कुरा सुनेर नराम्ररी हल्लिएको थियो।
तर, सर्वेश्वर एउटा चतुर व्यापारी पनि थियो। पश्चिम नेपालको दुर्गम पहाडबाट शून्यदेखि जिन्दगीसुरु गरेर भारत र रुस हुँदै लाटभिया पुगेर अर्बपति बन्ने क्रममा उसले कठिनभन्दा कठिन परिस्थितिको सामना गरेको थियो। त्यसैले भित्रभित्र जति नै हल्लिए पनि बाहिर नदेखाउन उसलाई जिन्दगीले सिकाइसकेको थियो। अहिले पनि ऊ त्यही कलाको दक्षतापूर्वक प्रदर्शन गर्दै थियो। रिङमा आफू कमजोर भएको छनक मात्र पायो भने पनि प्रतिद्वन्द्वी दोहोरो आत्मबल र गतिले आक्रमण गर्न थाल्छ भन्ने कुरा उसलाई राम्ररी थाहा थियो। उसले भन्यो, 
‘त्यो रकम भनेको सानो होइन अफिसर।’


Tuesday, September 11, 2018

फाइँफुट्टी ब्लूज

फाफुरा २८

यत्रो लामो समयसम्म फाफुराको संगत गरेपछि तपाईंलाई लागेको हुनुपर्छ, अब त यो बजियाको एकएक कुरासंग परिचति भइयो । तर अझै पनि फाफुराका केही यस्ता गुणहरु (त्यसमा अगाडि ‘अव’ प्रत्यय लगाएर पढ्ने स्वतन्त्रता तपाइंर््लाई सम्विधानले दिएको छ है) छन्, जसका बारे तपाईं अझै पनि अनभिज्ञ हुनुहुन्छ । त्यसमध्ये एक, फाफुरा गीतसङ्गीतको पारखी पनि हो । पारखीमात्र किन, कुनै बेला ऊ निकै मिठो गीत कराउन पनि सक्थ्यो । मोबाइलका टावरहरुलाई त बेक्कारमा दोष लगाइयो । खासमा भन्ने हो भने भंगेराहरु पलायन भएको फाफुराको गायनले गर्दा हो । भंगेरा बाहेक पनि कोइली, मैना लगायतका केही फाफुरीजस्ता सुर तालको महत्व नबुझ्ने चराहरु पनि फाफुराको स्वरकै कारण पलायन भएका हुन् । तर काग, सारुङ्ग र लाटोकोसेरोजस्ता सङ्गीतका पारखी चराहरु भने फाफुराको वरिपरि झुम्मिन्थे र मस्त हुन्थे ।

राम्रा गायकहरुले गीत गाउँदा आँखा टम्म चिम्लेको त तपाईंहरुले देख्नुभएकै होला नि । फाफुरा पनि टम्मै आँखा चिम्लेर गाउँथ्यो । किनभने कलाकार भनेको त जन्मजात समवेदनशील हुन्छ । ऊ अरु कसैको पीडा देख्न सक्दैन । फाफुरा पनि आफ्ना श्रोताहरुको पीडा देख्न कसरी सक्थ्यो र ? त्यसैले ऊ आँखा चिम्लेर गीत कराउँथ्यो, कन्थ्यो, रुन्थ्यो । त्यति हुँदाहुँदै पनि अन्ततः आफ्नो घाँटीको कारण कालान्तरमा फाफुराले गाउन छोड्नै प¥यो । सुन्नेहरुले ‘अबदेखि गाइस् भने निमोठिदिन्छौं’ भनेर अन्तिम चेतावनी दिएका थिए । यसरी राष्ट्रले एउटा अत्यन्तै विलक्षण प्रतिभा गुमाएको थियो । नत्र भने फाफुरा आजसम्म भीम निरौलाभन्दा ठूलो गायक भइसक्थ्यो ।
तर के गर्नू, यो देशमा कला र गलाको कदर भनेको भाषण गर्ने र पूरा नहुने सपना देखाउनेहरुको मात्र हुनेरहेछ त । यो कुराको फाफुरालाई सँधै दुःख लाग्थ्यो । त्यसैले फाफुरी आफ्नो जीवनमा आएपछि फाफुराले एकपटक फेरि आफूभित्रको तानसेनलाई व्यूँताउने भरमग्दूर प्रयास गरेको थियो । त्यसको परिणम के भयो भन्ने कुरा म आज तपाईलाई सुनाउँछु ।
हामी नेपालीहरु चाहे जुनबेला जेजस्ता कारणले थरिथरि कित्तामा बिभाजित भए पनि धन्य दुईचारवटा यस्ता कुराहरु छन्, जसले हमीलाई सँधै एकताको सूत्रमा बाँधेर राख्छ । राजनीति र त्यससंग सम्बन्धित बगम्फूसे समाचारहरुको रुचि बाहेक अरु सबै भनेजस्तो कला र साहित्यसंगै सम्बन्धित कुराहरु हुन् । हामी अधिकांश नेपाली कवि हौं । लेखक हौं । अनि गायक हौं । अझ स्पष्टसंग भनौं भने हरेक नेपाली जन्मजात गायक राजनीतिज्ञ र साहित्यकार हुन्छ । हामीभित्रको गायक त आमाको गर्भबाट यो धरतीमा अवतरण हुनासाथ पहिलोपटक च्याँ...को आवाज निकाल्नासाथै जागृत भैहाल्छ । राजनीतिज्ञ चाहिँ आठ कक्षा पढ्न थालेका बेलादेखि जुर्मराएर क्रान्ति गर्न थाल्छ । बरो साहित्यकार अलि ज्याद्रो हुन्छ बज्या । त्यसैले बाहिर निस्कन निकै लामो समय लिन्छ । तर निस्कन चाहिँ कुनै न कुनै बेला निस्किएरै छाड्छ । त्यसमा शंकै नगरे हुन्छ । धेरैजसो मानिसहरुको चाहिँ सरकारी सेवा, प्रहरी वा सेनाको उच्च पद, चिकित्सा तथा अन्य पेशामा अत्याधिक सफल भएपछि फुत्त बाहिर निस्कन्छ र धडाधड सिर्जनाहरु गर्न थाल्छ । अवकाश पाएपछि केही कामै भएन, के गरौं केगरौं भयो, अनि लेख्न थालें भन्नेहरु तपाईंले पनि भेट्नुभएकै होला ।
फाफुरा भित्रका अरु कुनै कलाकार बाहिर ननिस्केपनि गायक त स्वतः हुर्किसकेको थियो । त्यस साँझ बाहिर झमझम पानी परिरहेको थियो, त्यसैले ऊ बडो साङ्गिीतिक मूडमा थियो । गीत गाउने भनेपछि पनि हरेक नेपालीहरुको एउटा विशिष्ट शैली हुन्छ । तपाईंले कत्तिको हेक्का गर्नुभएको छ कुन्नि । त्यो गौरवशाली परम्परालाई कायम राख्दै अधिकांश नेपालीले जसरी नै फाफुराले आफ्नो गर्धन कक्रक्क हुने गरी अह्ररो बनायो । अनि उसले घोक्रोबाट निस्कने आफ्नो आवाजलाई सकेजति च्यापेर गीत कन्न सुरु ग¥यो । हामी नेपालीलाई यसरी गीत कराउने, कन्ने वा रुने शैली अपनाएपछि आफ्नो स्वर दुरुस्तै नारायणगोपालको जस्तो भएको भ्रम हुन्छ र हामी त्यही आत्मरतिमा रमाउँछौं । त्यसैले फाफुरालाई पनि लाग्यो, अब बिनको आवाज सुनेर लठ्ठिएकी नागिन जसरी फाफुरी त्यो स्वरको माधुर्यमा झुम्दै उसको छेउमा आएर लुटुपुटु गर्न थाल्छे । तर फाफुरी त लुसुक्क बाहिर गएर बरण्डामा पो उभिई । फाफुरा भित्रको नारायणगोपाल टक्क रोकियो । सिलिण्डर युग अन्त्यको शंखनाद सहित उद्घाटन भएको गोबरग्यास प्लान्ट अचानक जसरी नै उसको गायन पनि राम्ररी शुरु नहुँदै बन्द भयो । यति मिठो तान र आलापको महत्व नबुझ्ने फाफुरी कस्ती होली भनेर उसलाई झनक्क रिस पनि उठ्यो । ऊ ठेक्का नपाएको पप्पुझैं मुद्रामा बाहिर गयो र फाफुरीलाई त्यसको कारण सोध्यो । उसले मायालु पारामा भनी,
‘हेर फ्याफ्स । आजकल अवस्था पहिलेजस्तो छैन । अब पुरुष हिंसाको विरोधमा पनि कडा कानूनहरु बन्दैछन् रे भन्ने सुनेकी छु । तिमीले गाएको सुन्दा बेकारमा छिमेकीहरुलाई मैले तिमीलाई कुट्छु र तिमी रुन्छौ भन्ने भ्रम पर्ला । कसैले पुलीसमा रिपोर्ट गर्देला भनेर तिमी गीत कराउन्जेल म बाहिर गएर उभिएकी हूँ ।’
फाफुरा भित्रको नारायणगोपाल थचक्कै बस्योे ।
त्यही तोडमा फाफुरा डेराबाट निस्क्यो । रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुत्यो र ऊ आफ्नै सुरमा गाउन थाल्यो । उसको गीत सुनेर एकजना दयालु मानिसले वीर अस्पतालसम्म डो¥याएर लगिदिन्छु भन्न समेत आयो । उसलाई लागेछ, फाफुराको एपेन्डिक्स फुटेको हुनुपर्छ । मानवताको नाताले त्यो प्रस्ताव लिएर आएको मानिसलाई आफूले गीत गाइरहेको हो भन्ने बुझाउन फाफुरालाई निकै समिय लागेको थियो । अर्को एकजनाले त स्वीकृति नै नलिई आफ्नो मोबाइलमा फाफुराको गीत रेकर्ड गर्न पनि भ्याए । बल्ल कुनै गीतसङ्गीत बुझ्ने पारखी भेट भयो भनेर फाफुराले उसलाई आधा मानो बदाम पनि खुवायो । ऊ बदाम छोडाउँदै फाफुरालाई भन्न थाल्यो,
‘अरु एक दुईवटा यस्तै आवाज निकालिदिनुस् न ।’
फाफुराले मच्चीमच्ची बच्चुकैलाश र फत्तेमानको हुर्मत लियो । त्यो मानिस फाफुरालाई आभार प्रकट गरेर जान लाग्दा फाफुराले सोध्यो,
‘यो केका लागि रेकर्ड गर्नुभएको हो, कमसे कम त्यति त बताइदिनुस् ।’
उसले भन्यो,
‘म सिनेमा बनाउने मान्छे हूँ । अहिले एउटा हरर फिल्म बनाएको छु । त्यसमा भूत आउने बेला मान्छेलाई तर्साउन मलाई पाश्र्वमा के आवाज प्रयोग गर्ने भनेर चिन्ता भइरहेको थियो । आजकल चोरचार गरेर पाश्र्वसंगीत हाल्न समल्दैन । मसंग नयाँ बाउनेल बजेट थिएन । भाग्यले मलाई तपाईंसंग भेटाइदियो । अब हेर्नुस्, हलमा यो सिनेमा लाग्दा दर्शकहरुले सिटैमा सुसु गरेनन् भने मेरो कान काटिदिनुहोला ।’
त्यो मानिस दंग पर्दै गयो । फाफुरालाई वैराग लाग्यो । उसको प्रतिभाको कदर गर्ने मानिस के यो देशमा नभएको नै हो त ? यही पिरले घोत्लँदा घोत्लँदै अचानक उसको मगजमा एउटा कुरा झिलिक्क चम्क्यो । केही दिन अघि उसले कतै पढेको थियो, आजकल हाम्रो देशमा बडेबडेमानका गायन प्रतियोगिता हुन थालेका छन् । त्यसमा भाग लियो भने एकैपटक देश विदेशमा फाफुराको सुरिलो गायन गुञ्जिनेछ । किन रत्नपार्कमा कराएर आफ्नो प्रतिभा खेर फ्यालिरहनू ? उसको जस्तो आवाजलाई त पूरै देशले सुन्नुपर्छ । ती प्रतियोगिताको अडिसन हुने ठाउँ पत्ता लागउनुप¥यो भन्ने जोशले फाफुरा रत्नपार्कबाट काहिर निस्क्यो  । हो, त्यहाँ सुनाउनलाई जति दुःखदायी कथा भयो, त्यति नै अघि बढ्ने मौका हुन्छ भन्ने पनि उसलाई थाहा थियो । त्यसैले ऊ ढुक्क थियो ।
किनभने, तपाईंहरुलाई थाहा छ फाफुराभन्दा दुःखी मानिस त अहिले नेपाली काँग्रेसको पार्टीभित्र खोजे पनि पाइँदैन ।

दश लाख यूरो

हराएको मानिस (भाग ९)


कसैले बाहिरबाट ढोका ढक्ढकायो । सर्वेश्वरराज कोइराला र इन्सपेक्टर बिनोद खड्काको कुराकानी एकछिनको लागि रोकियो । बिनोदले ढोकातिर हेरेर ठूलो स्वरमा भन्यो,
‘कम इन ।’
अस्पतालको एकजना कर्मचारी भित्र छि¥यो । उसको हातमा एउटा ट्रे थियो । त्यसमा दुई कप कफी । उसले त्यो ल्याएर उनीहरुको बीचमा राखिदियो र भन्यो,
‘डाक्टर धितालले पठाइदिनुभएको । अनि तपाईंहरुलाई अरु केही चाहिन्छ भने त्यो पनि सोध्नु भन्नुभएको छ ।’
बिनोदले अलि कमै मात्र प्रयोग गर्ने आफ्नो नम्र स्वरमा भन्यो,
‘डाक्टर साहबलाई धन्यवाद भनिदिनू । हामलिाई केही चाहियो भने भनौंला । अहिलेलाई यो कफी काफी छ । धन्यवाद भाइ ।’
कर्मचारी गयो । कोठामा बाँकी दुबैजना केही नबोली कफीको चुस्की लगाउन थाले । हिमालयन बिन्जको अमेरिकानोले उनीहरुलाई अलि स्फूर्ति प्रदान ग¥यो । खड्का उठ्यो र खुट्टा तन्काउँदै झ्यालतिर गएर बाहिरको कोलाहल हेर्न थाल्यो । सर्वेश्वरले बसेकै ठाउँमा अलि लमतन्न परेर जीउ तन्क्यायो । खड्काले पछाडि नफर्कीकनै सोध्यो,
‘अनि के भयो ?’
सर्वेश्वर कहाँबाट सुरु गरुँ भनेर सोच्न थाल्यो । केही बेर मौन रहेर उसले भन्यो,
‘त्यसदिन म सम्भवतः जीवनमा पहिलो पटक आफ्नो छोरा कुन बेला घर आउँछ भनेर पर्खिरहेको थिएँ । रातको दुई बजिसकेको थियो । तर राजेशको अत्तोपत्तो थिएन । मैले आफ्ना स्टाफहरुसंग कुरा गरेर ऊ जहिले पनि ढीला आउँछ भन्ने थाहा पाइसकेको थिएँ । कहिले एक बजे, कहिले तीन बजे, कहिले बिहान हुनेबेला र कहिलेकहीं त ऊ दुइतीन दिन पनि घर आउँदैन भन्ने थाहा पाएर म आफूलाई आजसम्म कु–पिता भएकोमा धिक्कारिरहेको थिएँ ।’

ààà

Tuesday, September 4, 2018

बाइमिस्टेक र वैरागाटाइटिस

केही हप्तादेखि फाफुरी चुनाव जितेपछिको मेयरजसरी गायब भएकी हुँदा कतिपय पाठकहरुले उसको खोजीनीति गर्न थाल्नुभएछ । एक–दुईजनाले त फाफुरी नहुने हो भने फाइँफुट्टी नै नपढ्ने भनेर घुर्की पनि लगाउनुभयो । उहाँहरुलाई बिना फाफुरीको फाइँफुट्टी भनेको ‘पानी नहालेको सिंगल माल्ट ह्स्किी’जस्तै खल्लो भयो रे । अब कानमा तेल हालेर विज्ञ पाठकहरुको गुनासो नसुनेर यो देशको सरकारजस्तो थेत्तर भएर बस्न फाफुराको नैतिकताले कहाँ दिन्छ र? त्यसैले यसपटक फाफुरीको शानदार ‘रि–इन्ट्री’ भएको छ । तर त्यो भन्दा पहिले फाफुरी किन हराएकी थिई भन्ने कुरा पनि फाफुरा यहाँहरुलाई बताउन चाहन्छ । डलरखेतको जागिरका कारण तालुमा आलु फलेर ऊ विदेश भ्रमणमा गएकी थिई । 
यता देशमा उसको अनुपस्थितिमा एउटा अद्भूत र ऐतिहासिक कुरा भयो । बाइमिस्टेक 

मस्को–लातभिया– दुब्रोभ्निख

नयाँ पत्रिकामा मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को भाग ८


क्रोएसियाको दुब्रोभ्निख विमानस्थलतिर त्यो जहाज उडिरहेको थियो। एक हजार माइलभन्दा बढीको यात्रा सकिसकेको विमान केहीबेरमै अवतरण हुँदै छ भनेर एकैछिनअघि उद्घोषण भएको थियो। बिजनेस क्लासको आरामदायी सिटमा बसेको त्यस मानिसले झ्यालबाट पुलुक्क बाहिर हे-यो। मेडिटेरानियन समुन्द्रको नीलो पानीको बीच–बीचमा विभिन्न आकारका सानासाना जमिनका हरिया टुक्रा तैरिरहेका जस्ता देखिन्थे। दायाँपट्टिको एउटा टुक्रा कुनै जनावरको आँ गरेको मुखजस्तो देखिन्थ्यो र बायाँपट्टिको एउटा सानो गोलाकार टुक्रालाई निल्न गइरहेको जस्तो लाग्थ्यो। हवाईजहाज तलतल ओर्लंदै थियो। जमिन ठुल्ठूलो हुँदै थियो।
यो दृश्य उसका लागि नौलो थिएन। पन्ध्र महिनाअघि पनि ऊ यहाँ आएको थियो। तर, त्यतिवेला दुब्रोभ्निखको सुन्दरता उसले देखेको थिएन। मानिसको मन प्रसन्न नरहे कुनै पनि कुरा सुन्दर लाग्दैन। मन प्रसन्न भए रौरव नर्क पनि इन्द्र–वाटिकासरह हुन्छ। यसपटक ऊ एक्लै छ, तर प्रसन्न छ। पहिलोपटक एक्लै थिएन, उसको छोरा र उसका केही अत्यन्त विश्वासपात्र मानिस पनि थिए। एकजना डाक्टर, दुईजना अंगरक्षक। तर, ऊ दुःखी थियो।

Monday, September 3, 2018

सक्किगोन्त (फाफुरा २६)

यो पालि पानी धेरै पर्‍यो । फाफुराको निन्द्रा पुगेको छैन । किनभने उसको आरामगृह रत्नपार्कका घाँसहरु सुक्नै पाउँदैनन् । बीचबीचमा कुनबेला घाम लाग्ला र टोपीले मुख छोपेर लमतन्न परौंला भनेर मौका कुर्नुपर्छ । केही दिन अघि त्यसै गरी पाएको अमूल्य समयमा फाफुरा निदाउन मात्र लागेको थियो, कसैले छेउमै बसेर ठूलो स्वरमा गीत गाउन थाल्यो ।
फाफुरा आलोचना सुनेको कम्निस्जस्तो आवेगमा आउनु कुनै नौलो कुरो भएन । उसले त्यो मानिसलाई हकार्‍यो,
‘ए भाइ । गीतै गाउने भए नेपाल आइडल वा भ्वाइस अफ नेपालमा जाऊ न । किन यहाँ बसेर कराइरहेको ? को हौ तिमी ?’
उसले अचम्म मान्दै सोध्यो,
‘तिमीले मलाई चिनेनौ ? म झिल्के हूँ ।’
‘को झिल्के ?’
उसले गर्वले छाति फुलाउँदै भन्यो,
‘यस्सै राम्रो, उस्सै राम्रो ।’
फाफुराले अचानक आफू सानो हुनेबेलादेखि सुनेको एउटा गीत झलक्क सम्झ्यो । उसले फेरि सोध्यो,
‘तिमी त्यही झिल्के नेपाली हौ ? यस्सै राम्रो उस्सै राम्रो ?’