Translate

Showing posts with label यायावर. Show all posts
Showing posts with label यायावर. Show all posts

Wednesday, June 19, 2019

एक यायावरको बयान/ममचा पसलमा जोधमल

सौर्य अनलाइनमा २०६९ फागुन २५ गते २३:५२ मा प्रकाशित


BRAJESH-copyब्रजेश फिल्म लेखनमा चिनिएको नाम हो । पत्रपत्रिकामा पनि उनका लेख बिकिरहेकै छन् । उनको पहिलो उपन्यास ‘यायावर’ शुक्रबार विमोचन भएको छ । लेखनलाई साधना एवं तपस्या मान्ने ब्रजेशले एउटा फिरन्ते वा गन्तव्यहीन यात्रामा रूमल्लीने मान्छेलाई मूल पात्र बनाएर लेखिएको ‘यायावर’बारे गरिएको वार्ता–
‘यायावर’ उपन्यासले यस शब्दको विराट अर्थ बोकेको छ ? यो कसरी लेखियो ?
यसको खाका मगजमा खेलिरहेको केही वर्ष भैसकेको थियो । तर, आफ्नै पारामा अल्छी मान्दै लेखिरहेको थिएँ । र, अघिल्लो वर्ष अर्किड बुक्सका साथीहरूले एउटा उपन्यास प्रकाशन गर्नुपर्‍यो भनेर प्रस्ताव राखेपछि मात्र लेखाइले तीव्रता लियो । केही दिन पोखरा गएर गुप्तवास बसेपछि मात्र यसको प्रारम्भिक पाण्डुलिपि तयार भयो ।
पत्रपत्रिकामा त तपाईंका लेखहरू बिकिरहेकै देखिन्छन् । र, नेपाली साहित्यको बजार बढिजसो फिक्सन शैलीका सामग्रीले पिटिरहेका छन् । फिल्म लेख्ने मान्छेको उपन्यासमा कतै फिल्मी फिक्सन हाबी भएको छ कि ?
फिल्म लेख्ने भनेको अरूका लागि हो । त्यो धेरै कुराले बाँधिएको, निर्देशित गरेको र धेरै हदसम्म प्राविधिक कार्य हो भने उपन्यास लेख्ने बेला लेखक स्वतन्त्र हुन्छ । चलचित्र लेखनको सीमा हुन्छ, निश्चित लम्बाइलाई ध्यानमा राखेर कथानक बुन्नुपर्छ । आफूलाई मन परेको भाषामा लेख्न पाइँदैन । तर, उपन्यास लेख्ने भनेको त्योभन्दा नितान्त फरक कुरा हो । असीमित स्वतन्त्रता पाइन्छ । त्यसैले यसमा र चलचित्र लेखनमा कुनै तुलना हुनै सक्दैन ।
‘लेखकले जे लेखे पनि वास्तवमा आफ्ना मनका कुण्ठा, भावना नै लेखेको हुन्छ’ भनिन्छ । कतै ‘यायावर’ पनि तपाईंको निजी भावना र भोगाइको पेटारो मात्रै बनेको त छैन ?
त्यस्तो हुने हो भने त आत्मकथा लेखे भैहाल्यो नि । तर, उपन्यासका लागि लेखिएको कथानक पनि वास्तविकताभन्दा पृथक् र कसैले नदेखेको नभोगेको कुरा त हुन सक्दैन । लेखकले पात्र र घटनाहरू वास्तविक जीवनबाट नै टिप्ने हो । तर, त्यसो भन्दैमा उपन्यासमा आफ्नै भोगाइ र भावना मात्रै त कुनै पनि लेखकले लेख्दैन जस्तो लाग्छ । त्यसलाई आफ्नो कल्पनाको ठेकीमा हालेर मथेर परिमार्जन गर्ने हुनाले यायावर पनि मेरो मात्र नभै मैले देखेका अरू मानिसहरूका पनि टुक्राटाक्री बटुलेर तयार पारिएको यथार्थमा आधारित काल्पनिक कथानक हो भन्नुपर्छ ।
‘यायावर’ तयार पार्न सामाजिक र राजनीतिक पाटोमाथि कत्तिको अध्ययन–अनुसन्धान गर्नुभयो ?
मैले पहिले लेख्दा मेरो मूल पात्रको उमेर ६० को हाराहारीमा थियो र उसले आफ्नो विगतलाई कसरी केलाउछ र सम्झिन्छ भन्ने प्रारुप थियो । तर, लेख्दै जाँदा मलाई के लाग्यो भने मभन्दा पाको मानिसले के सोच्छ, कसरी सोच्छ, के देखेको थियो, के भोगेको थियो भन्ने कुरामा म वास्तविकताभन्दा पर हुन सक्छु । तसर्थ मैले उसको उमेर घटाएर ५० को हाराहारीमा ल्याएँ । त्यतिसम्म उमेरका मान्छेहरू मैले नजिकबाट देखेको, चिनेको र संगत गरेको पनि हुनाले मलाई सजिलो भयो । मैले आफैँले पनि तीस वर्षअघि देखेको समाज यसमा चित्रण गरेको छु । राजनीतिक कुरा यसमा खासै छैनन् । तर, मेरो पात्र काठमाडांै आइपुग्दा ३६ सालको सेरोफेरो पर्ने भएकोले त्यसबेलाको राजनीतिक परिवर्तनका लागि भएको गतिविधिबाट उसलाई अलग राख्न नसकेर केही प्रसंगहरू जोडेको छु । त्यसका लागि भने अध्ययन गर्नु परेको थियो । त्यसबाहेक त्यतिबेलाको काठमाडांका केही अरू सामाजिक पक्षहरू छन्, जुन पढ्दा रमाइलो हुन्छ । यहाँ धेरै नभनौँ कि ?
लेखनका लागि प्रेरणा कहाँबाट पाउनुहुन्छ ?
अवलोकन । प्रेरणा कुनै एउटा निश्चित कुराबाट मात्र पाइन्छ भन्ने छैन । कहिले बाटोमा हिंड्दा हिंड्दै देखिएका कुराले, घटनाले, कतै पढेको कुराले, सुनेको प्रसंगले, बादलले, हुरीले र कुनै पनि कुराले प्रेरणा दिन सक्छ ।
तपाईंको लेखन तरिका कस्तो छ ? सुरु गर्ने कुुुनै विषेश रीत छ कि ?
त्यस्तो खासै यही भन्ने कुरा त छैन तर मेरा अधिकांश लेखनचाहिँ डायनिंग टेबलमा हुन्छ । मलाई त्यहाँमाथि ल्यापटप राखेर लेख्न सजिलो लाग्छ । समयको कुरा गर्दा चाहिँ रातको समयमा सबै जना सुतिसकेपछिको निस्तव्धता र चकमन्न मेरो लागि उत्पादक समय भएको मैले पाएको छु । आ चिया र कफीचाहिँ खुबै चाहिन्छ मलाई लेख्नका लागि ।
आफूले लेखेको कुरा कत्तिको परिमार्जन गर्नुहुन्छ ?
परिमार्जन त गर्नैपर्छ । किनभने मानिस हरेक पल हरेक क्षण परिपक्व हुँदै गैरहेको हुन्छ भन्ने मेरो मान्यता छ । आफूले एक दिनअघि लेखेका कुरा अर्को दिन पढ्दा नै त्यसमा थपघट र परिमार्जन गर्ने ठाउँ भेटिन्छ । जति सक्यो पुनर्लेखन गरेको राम्रो हुन्छ । साहित्यको कुनै फर्मूला हुँदैन । हिसाबमा जस्तो दुई र दुई सधैँ चार नै हुन्छ भन्ने छैन । साहित्यको जोडघटाउ कहिले कति हुन्छ कहिले । अनि योभन्दा राम्रो लेख्न सकिन्न भन्ने सीमा पनि हुँदैन । तर, कुनै न कुनै ठाउँमा चित्त नबुझाइ सुख्खै छैन । झन् बृहत् आख्यानको कुरा गर्ने हो भने त एउटा लेखकले जीवनभर एउटै उपन्यासलाई नै पटकपटक लेखिरहे पनि परिमार्जन र पुनर्लेखन सकिँदैन ।
तपाईंलाई अन्तर्वार्ता दिन कस्तो लाग्छ ?
नढाँटी भन्ने हो भने त्यो प्रश्नहरूमा भर पर्ने कुरा हो । यदि प्रश्नहरूले मलाई मेरा सोच, मान्यता र विचार व्यक्त गर्ने ठाउँ दिए भने बडो रमाइलो हुन्छ । तर, उत्तर पहिले नै तोकिएका, नकारात्मक अथवा भन्नका लागि केही बाटो नै नछोडिएका, प्रश्नकर्ताको पूर्वाग्रह भएका अनि त्यसलाई कबुल मात्रै गराउन खोजिएका प्रश्नहरू भए भने चाहिँ दिक्दार लाग्छ ।
प्रस्तुति : दीपक
ममचा पसलमा जोधमल 
हामीले काम गर्ने ममचा पसलमा न्युरोडतिरको जोधमल नाम गरेको एउटा व्यापारी लुकेर ममचा र रक्सी खान आउँथ्यो । उनीहरूको जातले बर्जित कुरा थियो माछामासु र रक्सी । जोधमल त्यतिबेलाको एउटा नयाँ फस्टाएको व्यापारमा लागेको थियो । यहाँबाट बैंकक गएर लुगाफाटा, घडी र सुन ल्याउने काम गथ्र्यो ऊ । एउटा मान्छेले एउटा निश्चित संख्यामा ती सामानहरू भन्सार नतिरी ल्याउन पाउँथ्यो । व्यापारीहरूले त्यसको फाइदा उठाउने तरीका निकालेका थिए । उनीहरू आफूसँग थुप्रै मान्छेहरू लिएर जान्थे । भरिया भनिन्थ्यो त्यस्ता मान्छेहरूलाई । ती सबैले सुविधामा ल्याएको सामानहरू व्यापारीहरूले काठमाडांै आएपछि आफँै लिन्थे र बजारमा महँगोमा बेच्थे । गरिबी र अभावले ग्रस्त मजस्ता मान्छेहरूको कमी थिएन काठमाडांैमा । म साहूको आँखा छलेर जोधमललाई बेलाबेला सित्तैँमा ममचा खुवाइदिन्थेँ । चार पेग रक्सी खायो भने एक पेगको मात्र हिसाब साहूलाई बताइदिन्थेँ । जोधमल खुसी भएर मलाई अलिअलि टिप्स दिन्थ्यो ।
एकदिन जोधमलले मलाई सोध्यो, ‘बैंकक जान्छस् ?’
मैले त सोच्दै नसोचेको कुरा थियो त्यो । एकैपटक केही भन्नै आएन । मलाई कताकता डर पनि लाग्यो । ममचा पसलमा ग्राहकहरूले बेलाबेला गरेका कुराहरू याद आयो । कति मान्छेले भरियाहरूको गुदद्वारमा चरेस अफीमका डल्लाहरू कोचेर लैजान्छन् रे । उता कानुन कडा छ र त्यस्तो फेला पर्‍यो भने सोझै लगेर झुन्ड्याउँछ रे भन्ने पनि सुनिन्थ्यो । मलाई पनि जोधमलले त्यस्तै गर्न खोज्या त हैन होला नि । मैले केही भन्न सकिनँ । मैले त्यस रात भैरेसँग जोधमलको प्रस्तावको बारेमा सल्लाह गरँे । भैरे उत्साहित भयो ।
‘बरु मलाई पनि मिलाइदे न †’ अर्को दिन जोधमललाई सित्तैँको ममचा खुवाउने बेला मैले भनेँ, ‘लैजान नहुने कुरा लिएर जाने त हैन नि ?’
जोधमल हाँस्यो । तातो ममचा मुखमा हालेर स्यूस्यू गर्दै चपायो र भन्यो, ‘तैँले मलाई इस्मगलर भन्ठानिस् ? म त चोखो वेपारी मान्छे । चोखो काम मात्र गर्छु । लत्ता कपडा, घडीवडी, अलिअलि सोना, टेपरेकर्डर ल्याउने हो । लैजाने, घुमाउने, खुवाउनेको इलावा एक सेट लगाएको कपडा पनि तैँले पाउँछस् ।’
म सोच्न थालँे । जोधमलले अर्को ममचा चपाउँदै भन्यो, ‘फरेन कन्ट्री जाने भनेको किस्मतको कुरा हो । जो पायो त्यही कहाँ जान पाउँछ रे बुरबक ? तैँले त मेरो दिल जितेकोले भनेको । नत्र मलाई लैजा भन्नेहरूको कमी छ के काटमाडौंमा ?”
अनि उसले बैंककको वर्णन यसरी सुनायो, म लालायित भएँ ।
‘मेरो साथी भैरेलाई पनि लग्नुस् न हुन्छ ?’
जोधमलले हामीलाई पासपोर्ट बनाएर भेट्न भन्यो । हामीले पैसा बचायौँ । पासपोर्ट बनाउनका लागि गाउँ पञ्चायतको सिफारिस जस्ता कामका लागि भैरे र म एकपटक फेरि गाउँ फर्कियौँ ।
दण्डपाणि काकाले उसलाई खुबै खोर्‍याइखोर्‍याइ सोधे । किन, के, कसरी भन्ने हजारौं प्रश्नहरू गरे । मलाई त सोधीखोजी गर्ने पनि कोही थिएन । जुनेलीले मसँग केही सोध्ने कुरै भएन । म गाउँ आएको थाहा पाएर उसका बा भेट्न आएका थिए । उनले चाहिँ सोधेका थिए, ‘ज्वाइँनारान काठमाडांैमा के गर्नुहुन्छ ?’
‘काम गर्छु । पढ्छु ।’ मैले संक्षिप्त जवाफ दिएँ ।
उनी गर्वले फुले ।
भैरै र मेरो पासपोर्ट बन्यो । जोधमलले आफ्नो वाचा पूरा गर्‍यो । हामी दुई भाइ फरेन टूरका लागि उड्यौँ । गाउँमा हँुदा आकाशमा उडेको हवाइजहाज देख्दा कुनै दिन म त्यहाँभित्र बसेर मीठा कुराहरू खाइरहेको हुन्छु भन्ने कल्पना गर्न पनि मुस्किल थियो ।
सानासाना देखिएका डाँडाहरूलाई हेर्दै मैले सोचेँ, ‘हाम्रो गाउँ कहाँनिर पर्छ होला ? जुनेलीले अहिले यो हवाइजहाज हेरिरहेकी होली ? हेरिरहेकी भए तेल्लाई यहाँभित्र म छु भन्ने कुरा के थाहा ?’
पुतलीजस्ती केटीले ल्याएर भनेभनेको कुरा खान दिने रहिछ । जोधमलले भन्यो, ‘फिरीमा हो । पैसा लाग्दैन । सब कुरा टिकटमै छ ।’
भैरे र मैले पहिलोपटक बेलायती रक्सी चाख्यौँ ।
‘क्या काइदाको हुँदो र’छ ।’ उसले जिब्रो पड्काउँदै भन्यो । हामीले थपेर तीनपटक खायौँ । जोधमलले त्योभन्दा बढी खान दिएन र मात्र । उससँग हामी जस्ता भरियाहरू अरू आठ जना थिए । त्यहाँ पुगेको बेलादेखि यताउति नगर्नू, खुरुखुरु उसको पछि लाग्नु भनेर उसले काठमाडांंैमा नै सिकाएको थियो ।
‘तिमीहरूको सप्पैको पासपोर्ट मसँगै हुन्छ । इधरउधर भयो भने र बिना पासपोर्ट पुलिसले पक्ड्यो भने जेलमा डालिदिन्छ ।’ उसले तर्साएको थियो ।
त्यसैले उता एयरपोर्टमा ओर्लेदेखि हामी माउको पछि चल्ला लागे जसरी उसकै पछिपछि मात्र हिँड्यौँ । त्यसै पनि त्यहाँको एयरपोर्ट देखेर हाम्रो सातो गैसकेको थियो । न भाषा बुझिने कसैको । एयरपोर्टबाट सहर पुग्न पनि कति हो कति टाढा । कत्राकत्रा चौडा बाटा, कति सफा, कत्राकत्रा घरहरू ।
मैले सोचेँ, ‘हाम्रो धरहरालाई त मात खुवाउने रहेछ ।’
हामी बस्ने होटल पनि कति चिल्लो थियो । बैंकक मेरा लागि दन्त्यकथाको देशजस्तो भयो । जोधमलले लगेर किनमेल गरायो । बाहिर हिँड्दा मेरा लागि सबै कुरा सपना जस्ता थिए । केटीहरू यति छोटाछोटा र साना लुगा लगाएर हिँडेका हुन्थे, म मात्र हैन हामी सबै टक्क अडेर ट्वाँ परेर हेथ्र्यौं । जोधमलले आएर हामीलाई तान्नुपथ्र्यो । हामी सबैलाई आफूलाई ठीक हुने लुगाबाहेक त्योभन्दा एक साइज ठूलो, त्योभन्दा अझ एक साइज ठूलो र अझै एक साइज ठूलो लुगाहरू पनि उसले किनायो । घडी, सुनको सिक्री, सुनको बाला, टेपरेकर्डर, रेडियो, क्यामरा र अत्तर जस्ता कुराहरू पनि किनायो र ठूल्ठूला सूटकेसमा हाल्न लगायो । फर्कने बेला हामीले आफ्नो साइजको लुगामाथि त्योभन्दा ठुलोठूलो गर्दै सबै लुगा लगायौँ । हामीलाई त हिँड्डुल गर्न पनि गाह्रो हुने भयो । मैले पुस्तकालयको कुनै पत्रिकामा देखेको अन्तरिक्ष यात्री जस्तो भएको थिएँ म । टाउकोमा घ्वाप्प छोप्ने सिसाको टोपी मात्र थिएन । सुनका बाला, सिक्री, घडी लगाएको बेला आफूलाई आफैँ कुनै करोडपतिजस्तो लाग्यो मलाई । त्यहाँको उखर्माउलो गर्मीमा त्यत्रो लुगा लगाएका हाम्रो दललाई मानिसहरू अचम्म मानेर हेर्थे । नेपाल आउनासाथ हामी सबैलाई जोधमलले गाडीमा हालेर एकठाममा लग्यो । दुर्योधनले चीरहरण गर्दा द्रौपदीका लुगाहरू फुकाले जसरी जोधमलले हामीलाई खोल्यो । फोकटमा फरेन ट्रिप बाहेक हामीले एकएक वटा पाइन्ट र पातलो टिसर्ट इनाम पायौँ । म दङ्ग परँे ।
मैले आइए को जाँच दिइसकेको थिएँ । तर, त्योभन्दा बढी मैले पढ्न सकिनँ । जोधमलसँग म र भैरे पटकपटक बैंकक गयाँै । हामीलाई अब एक्लै यताउति घुम्न अलि आँट आउन थालेको थियो । एकपटक बैंकक गएको बेला भैरे र अर्को एकजना भरिया राती मोज गर्न जाने भए । भैरेले त्यसबेलाका लागि भनेर पेट काटेर पैसा जम्मा गरेको थियो । मलाई आँट आएन, म होटलमै बसेँ । उनीहरूले खोजेका दुइटी केटीहरूले उनीहरूलाई कतातिर गल्ली भित्रको घरमा लगेछन् । केटीहरू चिटिक्क परेका थिए रे । अनि कोठाभित्र तिनीहरूले लुगा खोलेर उनीहरूलाई आफ्नो पुरुषको अंग पो देखाइदिए छन् । भैरेहरूको सातो उडेछ । दुरुस्तै केटीजस्ता देखिने ती केटाहरूले उनीहरूसँग भएको जति पैसा लुटेर दुई/चार थप्पड हानेर भगाइदिए छन् । धेरैपछि एक दिन भैरेले रक्सी लागेको बेलामा मात्र यो कुराको पोल खोलेको थियो ।
‘माकस्सम बैकुन्ठे, तँैले नि तिनीहरूलाई देख्या भए मुजीहरू केटा होलान् भनेर चिताउन पनि सक्दैनथिइस् ।’
(लेखक ब्रजेशको शुक्रबार सार्वजनिक पहिलो उपन्यास ‘यायावर’ को एउटा अंश)

Friday, April 19, 2013

यायावर : पुस्तक समीक्षा


akhijhyal.com बाट तानिएको

‘बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस, यी हातले संधै-संधै नेपाल लेख्न पाइयोस।’ अजङ्गको कपाल, चस्मेलु हेराइ, हातमा पेन्ट ब्रस, नाम थाहा नभएपनि यी म्युजिक भिडियोका पेन्टरलाइ मैले दशक पहिलेनै याद गरिसकेको थिएँ। समयको क्रमसंगै यिनलाई टेलिभिजनको पर्दामा देखिने क्रम निरन्तर रह्यो, घरि गीतको भिडियोमा नाचिरहेका, घरि कुनै कार्यक्रममा उद्घोषण गरिरहेका। विस्तारै फिल्म क्षेत्रसंग सम्बन्धित  खबरमा पनि यिनी देखिन थाले। राष्ट्रिय साप्ताहिकमा फन्को मारिरहेको अवस्थामा पनि यिनलाई धेरै भेटियो। विभिन्न रुपमार्फत समाजको गहिराइ नाप्न सफल यिनै बहुमुखी प्रतिभाका धनिले हालै आफ्नो अलग रुपको दर्शन गराए, ब्रजेश खनाल – याज अ नोभलिस्ट।
“पैसा त जसले जसरि पनि कमाउन सक्छ, धनि त त्यो हो जसले सम्बन्धहरु कमाउन सक्छ।” यायावरलाइ यिनै सम्बन्धका पाटा केलाइएको अभिव्यक्तिका रुपमा चित्रण गर्न सकिन्छ। उपन्यासको मुलपात्र वैकुण्ठ र उसकी श्रीमती जुनेलीबिच वैचारिक अभिव्यक्ति विहिन सम्बन्ध रहेको छ। किशोरावस्था देखिनै परिचित रहेता पनि घटना र परिस्थितिले उनीहरुलाई एकआपसमा अन्जान बनाएको छ। जीवनकालमा भोगेको एक बज्रपातबाट माथि उठ्न नसकेका यी दुइलाइ दशवर्षे द्वन्दका क्रममा हिंशा भोगेका वा परिवारजन गुमाएको शोकमा अझै मानसिक रुपमा छट्पटाइरहेका नेपालीहरुको प्रतिनिधि पात्रका रुपमा लिन सकिन्छ।
कालो राम पात्र समाजमा रहेका खबर चलन, व्यवहार र कुसंस्कारको उपज हो। हाम्रो समाजका ‘गब्बर सिंह’ वर्गको प्रतिनिधिका रुपमा उसलाई उभ्याइएको छ। विशेषत: अशिक्षा र अज्ञानतामा पिल्सिएको ग्रामिण समाजमा उ र उजस्तै पात्रहरुले आफ्नो धाक धक्कु प्रयोग गरेर निमुखा गाउँलेको नाजायज फाइदा उठाउने गरेका छन्। वैकुण्ठ-कालो राम भिडन्तलाइ अन्यायको पराकाष्ठा सहन नसकी प्रतिकारमा होमिएका शोषित वर्गहरुको आक्रोसको उपजका रुपमा चित्रण गरिएको छ।

Tuesday, April 16, 2013

कहिले हीरो-कहिले भिलेन

A review by Janak Raj Sapkota published in Nepal New Magazine of April 14, 2013


रुसी साहित्यकार भ्लादिमिर नाभेकोभको उपन्यास लोलितामा प्रमुख पात्र छ, हम्बर्ट। अधबैँसे हम्बर्ट हरदम बचेखुचेको बैँस अनि ताकत यौन सन्तुष्टिमा खर्चिन्छ। तैपनि, उसको तिर्सना कहिल्यै मेटिँदैन। ब्रजेशको उपन्यास यायावरमा प्रमुख पात्र छ, बैकुण्ठे। उसको केटौले, जवानी र अधबैँसै उमेर यौनको अतृप्त कुण्ठामा बित्छ। चरम मनोरोगको सिकार भएको मुख्य पात्र बैकुण्ठेका अनुभूति, संवेग र आवेगहरू नै उपन्यासको कथा हो। मुख्य पात्रसँग फिल्मका कथामा झैँ अनेकन् पात्रहरू ठोक्किन आइपुग्छन्। हँुइकिरहेको बसको झ्यालबाट स्वाट्ट देखिने र हराई जाने दृश्यजस्तै पात्रहरू पनि उपन्यासमा देखा पर्छन्। उपन्यासको धागो भने बैकुण्ठेको मनभित्र गुम्सिएको अतृप्त यौन कुण्ठासँगै अगाडि बढेको छ। हम्बर्ट र बैकुण्ठे विपरीत धु्रवका पात्र हुन्। एउटा यौनका निम्ति मरमिेट्ने, अर्को यौनबाट पलायन हुने।

Sunday, March 24, 2013

यायावरको यात्रा


मेरो उपन्यास यायावरको एक अपरिचित पाठक नरेन्द्र पराशरको समीक्षा

मुग्लिङदेखि नौबिसेबीचको कुनै स्थानमा रहेको प्रहरी कार्यालयको इन्स्पेक्टर प्रताप उपन्यास यायावरको पहिलो पात्र हो । पहिलो पात्रको पहिलो वाक्य नै अपशब्दसहित उपन्यास अगाडि बढ्छ । राजमार्गमा बेफिक्री गुडिरहेका अनेक प्रकारका गाडीहरू, तिनको हर्न र इन्जिनको कर्कश आवाजले प्रताडित भइरहने प्रतापले राति कार्यालय परिसर छेउछाउ भयानक आवाज सुन्छ र बस खसेको ठहर गर्छ । अनि ऊ उद्धारका लागि आफ्ना मातहतका जवानहरू लिएर पिचमा टायर घस्रिएको संकेत हेर्दै त्रिशूली नदीतिर लाग्छ । अँध्यारोमा छामछुम गर्दै निकै दुःख गरेर वीभत्सरूपले बस पल्टिएको ठाउँसम्म पुग्ने क्रममा उसले एउटा झोला भेटाउँछ र यसो खोलेर हेर्छ । त्यसमा नोटका बिटा दखेर ऊ त्यस झोलालाई राम्ररी काँधमा भिर्छ र जवानहरूलाई राम्ररी खट्ने आदेश गरेर स्वयं ऊ भने निवासतिर उकालो लाग्छ । उसले निकै सजग र सतर्क भएर उक्त झोला खोल्छ । त्यसमा वैकुण्ठ नामको नागरिकता, तीन लाख रूपैयाँका अतिरिक्त एउटा पेन ड्राइभ पनि फेला पर्छ । कम्प्युटरमा खासै ज्ञान नभएको प्रताप स.इ राजारामको सहयोगले पेन ड्राइभ खोल्छ । जम्मा जम्मी दुईवटा फोल्डर भएको पेन ड्राइभमा एउटामा बच्चुकैलाशका गीतहरूको सङ्कलन हुन्छ भने अर्कोमा ‘गोप्य’ लेखिएको हुन्छ । यही ‘गोप्य’ लेखिएको फायल फन्टको समस्याका कारण आफैँ खोल्न नसकेकोले प्रतापले फायल खोल्न स.इ. राजारामको सहयोग लिन पुगेको हुन्छ । अब प्रताप त्यही गोप्य फायल गोप्य तरिकाले पढ्न थाल्छ र सुरू हुन्छ उपन्यास यायावरको मूल यात्रा ।