Translate

Showing posts with label प्रकाशित. Show all posts
Showing posts with label प्रकाशित. Show all posts

Saturday, April 5, 2025

दल, दल र दल्-दल्

 हाम्रा देशका मन्त्री तथा प्रधानमन्त्रीहरु भारत भ्रमणमा गएको बेला उताका माइबापहरुका सामु लम्पसार परेजसरी फाफुरा आफ्नो प्रिय रत्नपार्कमा लम्पसार परेको थियो । भनिरहनु नपर्ला, टोपीले मुख छोपेर ऊ कुनै फाइँफुट्टी फुर्ला, हाँकौँला, कतै छपाउँला र पन्ध्रबीस दिनपछि आउने पारिश्रमिकले केही दिन ब्रोइलर कुखुरासँग चुस्स सोमरस घुट्क्याउँला भनेर घुटुघुटु थुक निल्दैथियो । तर हाम्रा दर्शनाभिलाषीहरुले दिल्लीमा भेट नपाएजस्तै फाफुराले पनि फाइँफुट्टी हाँक्ने केही विषय पाइरहेको थिएन । हाम्रा देश हाँक्नेहरुलाई सुशासन र विकास भनेको के हो भन्ने थाहा नभएजस्तै उसलाई पनि यो याम जाडो हो कि गर्मी भनेर थाहा भइरहेको थिएन । यस्तो मौसममा अक्सर अलि कडै फाइँफुट्टी फुर्ने उसको अनुभव छ । तर यसपटकको फाइँफुट्टी भने ग्वार्कोको आकाशे पुलजस्तो भइरहेको थियो । आकार लेला लेला जस्तो हुने अनि फेरि ख्वाल्र्याम्म । यसरी पटकपटक निर्माण र विनिर्माण गर्दागर्दै उसको दिन सँसदको अधिवेशन जसरी बिना कुनै उपलव्धि समाप्त भयो । लोप्रेकान लगाएर फाफुरा आफ्नो डेराको कोठा पुग्यो । उसको अनुहार देखेरै फाफुरीले कुरो बुझिहाली ।

‘केही फुरेन हैन त ?’ उसले कर्के आँखाले हेर्दै सोधी । फाफुरा केही बोलेन । उसले लामो सास फेरेर भनी, 

‘हेर फाफ्स, कहिलेसम्म यसरी आकाशेखेतीको भरमा बाँच्छौ ? लेखेर केही हुँदैन । तिमी डलर आउने लेख लेख्नसक्ने ह्याउ भएको मानिस पनि परेनौ । कहिलेसम्म आफू पनि दुःख पाउँछौ, मलाई पनि दुःख भोगाउँछौ ? त्यसैले मैले भनेको मान, थिंक बिग ।’

फाफुराले भन्यो, ‘कुरो त तिम्रो ठिकै हो फाफुरी । तर के गर्ने ?’

उसले भनी, ‘पोलिटिक्स । राजनीति गर फाफुरा राजनीति । चामलको बोरामा घुन पसेजसरी कुनै राजनैतिक दलमा लुसुक्क छिर । राजावादीमा छिर्ने भए म सोर्सफोर्स लगाइदिन्छु क्यारे ।’

फाफुरा उसको कुरामा गम्भीरतापूर्वक मनन गर्न थाल्यो । हुन पनि हो, विद्यार्थी, साहित्यकार, कर्मचारी, अभिनेता, गीतकार, सङ्गीतकार, गायक, वेरोजगार, जग्गादलाल, पुरेत, व्यापारी, उद्योगपति, प्राज्ञ, शिक्षक, साहित्यकार, पत्रकार, पाकेटमार, चोर, डाँका र स्वघोषित नागरिक हगुवा लगायत जोसुकै हुन्– कुनै न कुनै राजनैतिक पार्टीमा आवद्ध नभइ कसैले केही गरौँला भनेर नसोचे हुने भइसकेको छ । आफ्नो दुहुनो सोझ्याउन, कुनै पनि ठाउँमा नियुक्ति वा बढुवा पाउन आजकल कुनै न कुनै पार्टीसँग नजोडिइ सुखै छैन । प्रधान ‘अन्यायाधीश’, पुलीसको ‘खाइजी’, आर्मीको ‘सेनाखति’, विदेश जाने ‘लाजदूत’, कुनै पनि संस्थाको ‘महाबन्धक’ तथा ‘अदक्ष’, अख्तियारको ‘खायुक्त’, बर्खेच्याउ जसरी उम्रिएका अनेकौं किसिमका प्रज्ञाप्रतिष्ठानका ‘नामाकूलपति’ र सदस्से लगायत अरु कुनै पनि नियुक्ति वा पदोन्नतिका लागि कि त पावरमा भएको वा आलोपालोमा पावरमा आउने रोलक्रममा रहेको पार्टीको ठप्पा शरीरको देखाउन हुने नहुने कुनै पनि भागमा लगाउनैपर्छ । व्यापारी तथा उद्योगपतिहरुले आफू सुहाउँदो आर्थिक नीति र बजेट ल्याउन, आफूले छलेका अरबौंका कर लुकाउन र पचाउन नेताहरुलाई छुस्स चन्दारुपी गंगाजल छर्किदिए पुग्ने भइसकेको छ । सबैभन्दा ठूलो कुरो, यिनको इमानको कुनै भाउ छैन । पाएसम्म अरबौं ज्यूनार गर्नेहरु नपाएको बेला चुत्थोे दाम पनि छोड्न चाहिँ छोड्दैनन् । यिनको इमान जति सस्तोमा बिक्यो व्यापारी र बिचौैलियाहरुलाई त्यति नै धेरै फाइदा हुन्छ । बाठा व्यापारी र उद्योगपतिहरु त हरामको कमाइबाट जोहो गरेको अकूत रकमको खोलो बगाएर कतैको टिकटै किनेर, चुनाव जितेर साँसद नै बन्न थालेका छन् । त्यति भएपछि कर छल्न पनि पाइयो, आफ्नो लागि पोसाउने नीति नियम बनाउन पनि पाइयो । सबैभन्दा डरलाग्दो कुरा नै राजनैतिक संरक्षण भएको छ । त्यो प्राप्त भएको मानिस महादेवको वरदान पाएको भष्माषुर सरह हुन्छ । उसले प्रहरी न्याय, कानून अदालत कसैसँग पनि डराउनु पर्दैन ।  त्यसैले अब मान्छेका त नकुरा गरम्, पानीमा पौडिने माछा, आकाशमा उड्ने चराचुरुङ्गी, घाँसपातमा घिस्रिने कीराफट्याङ्ग्रा, जंगली तथा घरपालुवा लगायत चिडियाखानाका जनावर, हावाका भाइरस तथा व्याक्टेरिया, पशुपति र स्वयम्भूका बाँदर र बाटाका भुस्याहा कुकुर र बिरालाहरु पनि कुनै न कुनै पार्टीमा घुस्न थालिसकेका छन् । त्यसले गर्दा एमालेको स्यालले कुखुरा लग्दा पनि पार्टीमा नलागेका गाउँलेले लखेट्न पाउँदैनन् । काँग्रेसकोे बाख्रासँग अपर्झट जम्काभेट हुँदा पार्टीमा नलागेको बाघले समेत म्याउँ गरेर सलाम ठोक्नुपर्छ । माओवादी छिरेको मुर्रालाई खेत जोताउन पाइँदैन । त्यो थारो भइसकेपछि पनि त्यसको ममचा बनाउन पाइँदैन । स्वतन्त्र पार्टीमा छिरेको लामखुट्टेले टोक्न आउँदा पनि घरमा झूल हाल्न, कछुवा वा अलआउट बालेर उसको टोक्ने र चुस्ने स्वतन्त्रता खोस्न पाइँदैन । समाजवादी, असमाजवादी लगायतका कुनै पनि दलसँग आवद्ध बहुला कुकुरले टोकेको मान्छेलाई टेकू अस्पतालमा रेवजको सूई लगाउन दिइँदैन । 

त्यसैले फाफुरीले भनेको कुरा एकदमै समयसापेक्ष हो भन्ने कुरामा फाफुरा आश्वस्त भयो । उसले भन्यो,

‘तर फाफुरी, मजस्तो प्रखर वुद्धिटिबी मान्छे (अहिलेको कम्प्यूटरको जमानामा जीबीको महत्व छैन, त्यसैले बुद्धिजीवि नभनेर आफूलाई फाफुराले बुद्धिटिबी भनेको हो) अर्थ न वर्थको कार्यकर्ता भएर त कुनै पार्टीमा छिरेर कामै छैन । कम्तीमा पनि कुनै पार्टीको प्रवक्ता, केन्द्रिय सदस्य वा उपसभापतिसम्म नभइ त जात फाल्नु पार्टीको खोलमा भनेजस्तो हुन्छ ।’ 

फाफुरीले लामखुट्टे मारेको भन्दा ठूलो आवाज निक्लने गरेर आफ्नो थाप्लो ठटाउँदै भनी,

‘तिमी कहिले अलि ठूलो कुरा सोच्छौ फाफुरा ? कमसेकम ८४  को चुनाप् जितेर उपप्रधानमन्त्री वा उस्तै परे प्रधानमन्त्री नै बन्ने सोच राख न । हर्क, दुर्गा र बालेनजति पनि ह्याउ छैन तिम्रो ?’

फाफुराले आँखा चम्काउँदै तर अलि संशयपूर्ण स्वरमा सोध्यो,

‘एकैपटकमा प्रधानमन्त्री ताक्ने र भन्या ? सकिएला ?’

फाफुरीले सम्झाउने पाराले भनी, ‘ढुक्कै फाफुरा, ढुक्कै । हेर यो देशाँ प्रधानमन्त्री अथवा उपप्रधानमन्त्री बन्ने कुराको मापदण्ड चुत्थोभन्दा चुत्थो कायम भइसकेको छ । कस्ताकस्ता फुङ्गी र नालायकहरुले ती पद पड्काएर देखाइसकेको छन् । ती हेरिकन त तिमी धेरै कम चुत्था छौ । मलाई तिम्रो नालायकीमा पूरा विश्वास छ । त्यसैले कसैको पुच्छर लाग्ने होइन फाफुरा, आफ्नै दल खोल्ने हो । अनि त्यसलाई राष्ट्रिय दल पनि बनाएर देखाउने हो बुझ्यौ ?’

भ्यागुताले भुँडी फुलाएजसरी गमक्क परेर फाफुराले भन्यो,  

‘तिमीले ठीक भन्यौ फाफुरी । लौ गम्भीरतापूर्वक लागौँ । हुन पनि हो । कस्ताकस्ताले पार्टी खोलिसकेका छन् । तिमीहामी त जे भए पनि गुदी र गिदी दुबै भएका मानिस हौँ ।’ 

फाफुरा दम्पत्ति आफ्नो उज्जवल भविष्यको खाका कोर्दै निदाए । भोलिपल्ट बिहान फाफुरा जोश र जाँगरले ओतप्रोत भएर पार्टी खोल्न उठ्यो । तर अघिल्लो दिन बेलुकीसम्म फस्र्ट लेडी बन्ने कल्पनाले उज्यालिएकी फाफुरी त बिजुलीको तारबाट करेण्ट लागेर भुईँमा पछारिएको सारुङजस्तो भएर कुनै अनलाइन पोर्टलमा एउटा समाचार पढिरहेकी थिई ।

‘खोल्यौ पार्टी फाफुरा । गरेको ग¥यै भयौ तिमीले राजनीति । तिमीहामीलाई गरिखान नदिने भए । हाम्रो योजनामाथि कुठाराघात भयो फाफुरा ।’ 

उसले आफ्नो फोन फाफुरातिर हु¥याइदिई । फाफुरा अलमल्ल पर्दै त्यो समाचार पढ्न थाल्यो । दल खोल्न, चुनाव लड्न, साँसद हुन, मन्त्री तथा प्रधानमन्त्री बन्न केही मापदण्ड नतोकी नहुने भएको भन्दै सरकारले नयाँ कानूनको मस्यौदा प्रस्तावित गरेको रहेछ ।


१. कुनै पनि नयाँ दल खोल्न चाहनेहरुले निम्न बमोजिमको लिखित प्रतिवद्धता गर्नु पर्ने छ । 

वर्षमा कम्तीमा ६ वटा आन्दोलन, जुलुस र धर्नाजस्ता प्रजातान्त्रिक आचरणका साथ जनजीवन अस्तव्स्त गर्नसक्ने ग्यारेण्टी             दिनुपर्नेछ । 

निकालिने जुलुसमा फकाएर, धम्क्याएर, अलमल्याएर, रक्सी वा मासु खुवाएर, खल्तीमा गैंडा, बाघ वा हात्तीजस्ता जनावरहरु         खुसुक्क हालिदिएर, राँगा खाँदेजसरी ट्रकमा हालेर वा कुनै पनि तरिकाले कम्तीमा बीस हजार मानिस उतार्नुपर्नेछ । थोरै                 मान्छेलाई ल्याएर ढाँटौँला भन्ने नसोचे हुन्छ किनभने सरकारले भीडमा भएका मानिसहरुको ठ्याक्कै संख्या पत्ता लगाउने उच्च         र विकसित प्रविधि आयात गरेको छ । यस प्रविधिले पहिले जुलुसमा भएका सबैको हात र खुट्टाको संख्या गणना गर्नेछ ।             त्यसपछि त्यो संख्यालाई चारले भाग गरिनेछ । यसरी प्राप्त भएको योगफल सटीक र निर्विवाद हुनेछ । 

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्न दल सदैव तयार हुनुपर्नेछ ।  त्यस अन्तर्गत एक वर्षमा सरकारी वा नीजि साना                     सवारीसाधन एक दर्जन, मझ्यौला सवारीसाधन आधा दर्जन र कम्तीमा दुईवटा बस वा ट्रक आगजनि गर्न सक्षम हुनुपर्नेछ । 

यी मापदण्ड पूरा गर्नेलाई राष्ट्रिय दलको मान्यता दिइनेछ भने अरू स्वतः अराष्ट्रिय दल प्रमाणित हुनेछन् ।


२. समानुपातिक वा प्रत्यक्ष निर्वाचित साँसद बन्नका लागि न्यूनतम योग्यताः

ईच्छुक र प्रस्तावित उम्मेदवारको अधिकतम शिक्षा तीन कक्षा उत्तीर्ण हुनुपर्नेछ । त्यो पनि एकै पटकमा कक्षा चढेको हुनु हुँदैन,         कम्तीमा चार वा पाँच वर्ष लगाएर परिपक्व भएको हुनुपर्नेछ । चार कक्षा चढेकाहरुको नाम स्वतः रद्द मानिनेछ । उम्मेदवार             निरक्षर भए सबैभन्दा बढी ग्राह्यता दिइनेछ । 

ट्याक्सीटेम्पो चलाउनेलाई त अनुमतिपत्र दिँदा शुरुमा परिक्षणमा राखिन्छ भने देश चलाउनेलाई चाहिँ नाथे चुनाव जितेको             भरमा एकैपटक स्थायी सांसद मानिने छैन । हरेक निर्वाचित सांसदहरुलाई एक वर्ष परिक्षणकालमा राखिनेछ र निम्न                     क्षमताहरु प्रदर्शन गरेपछि मात्र स्थायी मानिनेछ । 

मुसाको भाषामा राम्रो दखल भएको । ताकि परिआएको बेला सिहंदरवारका सिसिटिभी क्यामराका तारहरु काट्न  त्यहाँका             मुसाहरुसँग प्रभावकारी सम्वाद गर्न सक्ने । हार्ड डिस्कहरु रिकभर नहुने गरी बिगार्नका लागि कम्प्युटरका भाइरसहरुसँग प्रगाढ         मित्रता भएको हुनुपर्नेछ । 

सदन वा बाहिर कुनै पनि सार्वजनिक समारोहहरुमा बेलाबेला नाक कोट्याउन पछि पर्नु हुँदैन । आफ्नै अनुहारमा भएको नाकको         त्यति सानो पोरा सफा राख्न नसक्नेबाट देशका समस्यारुपी विकराल फोहोरहरु सफा गर्ने अपेक्षा गर्न सकिँदैन । 

सदन चलेको कुल दिनमा कम्तीमा ७० प्रतिशत अनुपस्थित हुनुपर्ने छ । उपस्थित दिनमा पनि कुल समयमध्ये कम्तीमा ५०                 प्रतिशत निदाएको हुनु पर्नेछ । निदाएका मध्ये पनि उँघ्नेकोे, त्यो भन्दा फ्वाँफ्वाँ हुनेको, फ्वाँफ्वाँ हुनेभन्दा भन्दा ¥याल चुहाउँदै         घुर्नेको बढी मुल्याङ्कन हुनेछ । 

प्रतिनिधि सभाका कुर्सीलाई उचालेर पछार्दा अधिकतम तीनपटकमा भाँच्न सक्नुपर्छ । 

एक अधिवेशन अवधिमा कम्तीमा पन्ध्रदिन संसद अवरोध गर्नेमा सकृय भूमिका हुनैपर्छ ।

यी बूँदाहरुमा खरो उत्रन नसकेकाहरुको पद स्वतः खारेज हुनेछ । यसरी रिक्त भएको निर्वाचन क्षेत्रमा पटकपटक उपनिर्वाचन             गरिनेछ । यसरी पटकपटक गरिएका उपनिर्वाचनबाट राज्यको ढुकुटीमा भ्वाङ् नपरोस् भन्नका लागि विशेष व्यवस्था गरिनेछ ।         सित्तैँमा भोट हाल्न पाउँदा जनताले त्यसको महत्व नबुझी चोर फटाहा र नालायकहरुलाई मात्र जिताएका हुनाले भोटको महत्व         बुझाउनका लागि अब उप्रान्त फोकटलालमा भोट हाल्न पाइने छैन । 

भोट हाल्न जाने हरेक नागरिकले एकपटक भोट हालेको रू १००० शुल्क तिर्नुपर्नेछ । आफ्नो रगतपसीनाको कमाइ खर्च भएपछि         जनता जिम्मेवार भएर मतदान गर्न वाध्य हुनेछन् । एक भन्दा बढी भोट हाल्न चाहेमा हरेक थप भोटको थप रू पाँच सयका दरले         थप्दै जानुपर्नेछ । मरेको बाबुआमा, दाजुभाई, साथीको नाममा भोट हाल्न पन्ध्र सय रूप्याँ शुल्क लाग्नेछ । ज्यूँदै तर विदेशमा             रहेकाहरूको प्रोक्सी भोट रू २००० तिरेर हाल्न पाइनेछ । हाल विद्यमान निःशुल्क भोट गर्न पाइने व्यवस्थामा पनि मानिसहरुले         यसै पनि एकभन्दा बढी भोट हालेकै छन् । तसर्थ सित्तैँमा हाल्ने गरिएका एकभन्दा बढी भोटका कारण भइरहेको राजस्व चुहावट         रोकिनेछ । यसरी सशुल्क मतदानबाट राज्यको ढुकुटीमा जम्मा हुने विपुल धनराशि देश र जनताका लागि पटकपटक अनिष्ट             प्रमाणित भइसकेका तर भन्ने बेला तथाकथित विशिष्ट र पूर्व विशिष्ट भनिने अशिष्टहरुको आजीवन भत्ता तथा सुविधामा                 समयसापेक्ष वृद्धि गर्नका लागि खर्च गरिनेछ । 

सशुल्क सबैभन्दा बढी भोट हाल्नेलाई उत्कृष्ट मतदाता घोषणा गरिनेछ र निजलाई गणतन्त्र दिवसका दिन खुलामञ्चमा राष्ट्रिय            सम्मान तथा पदकले सुशोभित गरि २१ तोपको सलामी पनि अर्पण गरिनेछ । 




३. मन्त्री बन्नका लागि आवश्यक न्यूनतम योग्यताः

जुन मन्त्रालयको कार्यभार लिन चाहेको हो, त्यो सम्बन्धी विषयमा कुनै शिक्षा, अनुभव वा ज्ञान पटक्कै नभएको । 

व्यक्तिगत पिर्का र कैंची साथमा लिएर हिंड्न सक्नेलाई प्राथमिकता ।

व्यापारी, उद्योगपति, जग्गादलाल, राजनैतिक पावरब्रोकर तथा ठेकेदारहरु बलिया भया प्रजा बलिया हुन्छन् भन्ने दिव्यज्ञानलाई         शिरोधार्य गरि तिनका हक र हितका लागि दत्तचित्त भएर कार्य गर्न सक्ने उच्च क्षमता हुनुपर्नेछ । 

   

  ४. प्रधानमन्त्री बन्नका लागि आवश्यक न्यूनतम योग्यताः

शरीरको कम्तीमा पनि कुनै एक अंग प्रत्यारोपण भएको हुनुपर्छ । 

गम्भीरता, जिम्मेवारी, परिपक्वता र जवाफदेहिता भन्ने कुरासँग जुगल भुर्तेल र कुशल भुर्तेलको जति नै नजीकको नाता हुनुपर्छ । 

चुट्किला भन्न र हँसाउन जानेको हुनुपर्छ । 

देश र जनताको जिम्मेवारी उचाल्न नसकेपनि हरेक वाक्य बोल्दा एकपटक कुम उचाल्न सक्ने हुनुपर्छ । 

बोलेको कुरामध्ये ९० प्रतिशत अस्पष्ट हुनुपर्नेछ ।

चोरीचकारी, लुटपाट, कुटपीट, आशय करणी, यौन दुव्र्यवहार, ब्ल्याकमेलिङ्ग वा अन्य कुनै फौजदारी कसूरको आरोप लागेको         हुनुपर्नेछ । प्रमाणितै भएर मामाघर बसेको अनुभवीलाई विशेष ग्राह्यता ।

राजको पालामा प्रधानमन्त्री बन्न पाउँ भनेर कमसेकम एकपटक मोहोर दाम चढाएको हुनुपर्नेछ ।

कम्तीमा पाँचवटा पार्टी फेरेको अनुभव हुनुपर्नेछ । 

  

५.   राष्ट्रपति पदका लागि आवश्यक न्यूनतम योग्यता 

‘झिङ्गा हेर भित्तामा लड्दैपड्दै चढ्दैछ’ भन्ने हामी सबैले बाल्यकालदेखि सुनिआएको गीतको मर्मलाई आत्मसात गरी प्रमाणित         गर्नसक्ने । पटकपटकको हारबाट पनि पटक्कै हतोत्साहित नभइ दत्तचित्त भइ लागेपछि लागेको लाग्यै गर्नसक्ने । 

भिटामिन सीले भरिपूर्ण अम्लीय रसले भरिएकोे, पहेंलो र हरियो रङ्ग मिश्रित गोलोगोलो सानोसानो फलको गुण र सोको                 व्यापारको बारेमा विशेष जानकारी भएकोलाई ग्राह्यता । 

यी सब आवश्यकताहरु सहित सरकारले ल्याएको प्रस्तावको खाका पढेर फाफुराको आशा बाँसवारी र बाल मन्दिरको जग्गा फिर्ता आउला भन्नेहरुको आशाजसरी नै फुस्स भयो । ती सबै मापदण्ड पूरा गरौँला भन्ने त फाफुराजस्ता मानिसहरुले सातजुनिमा कल्पना नगरे भयो । राजनीति गरेर वरत्रपरत्र सुधारौँला, दल खोलौँला, दल्नपर्ने ठाउँमा दल्नपर्ने मानिसहरुका दल्नपर्ने अंगमा दल्नपर्ने कुरा दलौँला भन्ने आशा पनि दलदलमा भासिएपछि फाफुराले लामो सास फेर्दै भन्यो, 

‘अब अरु केही विकल्प नभएपछि तिमीले भनेजस्तै म पनि राजावादी नै पो हुनुपर्छ कि क्या हो फाफुरी ?’


फाफुरा, प्याक र प्याक्-प्याक्

एकतर्फी मायामा परेको प्रेमीले रातभरि फेरेभन्दा बढी कोल्टे समयले फेरिसक्यो, तर यो फाइँफुट्टीराज र तपाईँहरुको भेट नरेन्द्र मोदी र केपी ओलीको भेट जस्तै सम्भव भइरहेको थिएन । के गर्नु, फाइँफुट्टी हाँक्ने गतिलो विषय नै फुरिरहेको थिएन । कामचलाऊ फाइँफुट्टी हाँकेर भएको अलिअलि इमेज किन बिगार्नू भनेर फाफुरा चुप बसेको थियो । ‘देशमा कत्राकत्रा परिवर्तनहरु भइसके, तैँले कुनै विषय पाइनस् फलान्थोक् फाफुरा ?’ भनेर तपाईँहरुले मृदुभाषा प्रयोग गर्नुहोेला । हुन त आम जनमानसको सोच चाहिँ वास्तवमै परिवर्तन भइरहेकै हो । ‘गनतन्त्र’ले नेपालीको भलो हुने दिन कहिले आउला भनेर गन्दागन्दा पेटभित्रबाट कन्दाकन्दा पनि ननिखारिएको कस्सिलो गोटाजस्तो भइसकेको छ नेपालीको ‘अच्छे दिन’को चाहना । तर त्यो दिन भने ज्यान गए भित्रबाट बाहिर नआउने । आउला कि भन्दैै जनताले टनका टन आश्वासनर हावादारी गफका इसबगोल पनि खाइसके तर त्यो ज्याद्रो समुन्नति ज्यानजाला निस्कने हैन । त्यसैले डुब्न लागेकोलाई सिन्कोे पनि जहाज बराबर लागेर होला, पाँच जना हुन् कि पाँचसय जना मानिस राजतन्त्रको पुनस्र्थापनाका लागि सडकमा ओर्लन बाध्य भए । पख्नुस् पख्नुस्–राजावादी साथीहरु, तपाईँहरुले पाखुरा सुर्केर ‘कमसेकम सरकारले समेत दश हजार देख्याथ्यो । त्यत्रा मानिसलाई पाँच कि पाँच सयमात्र देख्ने तेरा आँखा हुन् कि ठ्वाटः भइसकेको गुच्चा फाफुरे?’ भनेर फाफुरालाई सत्तोसराप गर्नुअघि एउटा कुरा बुझिहाल्नुस्, यो सँख्या त फाफुराले पहाडतिरका एकजना किस्नले लेखेको लेखबाट साभार गरेको हो । त्यति ठूला र नाम चलेका मानिसले लेखेकोे कुरा साँचो नैै होला भनेर आधिकारिक मानेको हो । नपत्याए कुनै अनलाइन पोर्टलमा खोतल्नु भयो भने अझै पनि त्यो लेख पढ्न पाउनुहुनेछ । 

जे होस्, कुरा हुँदै थियो फाफुरालाई फाइँफुट्टी नफुरेको । त्यसैले फाफुरा आफ्नो पुरानो फर्मुला प्रयोग गर्दै रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुत्यो । तर दिनभर कुम्भकर्णको निन्द्रा सापटि मागेर बुढानीलकण्ठ लडेजस्तो लड्दा पनि यसपटक केही फाइँफुट्टी पनि फुरेन । आफ्नो दिमाग पनि अब हाम्रा देशका होनहार र महान नेताहरुकोजस्तै पत्रु र निकम्मा भइसकेको त हैन भनेर उसलाई हुनसम्म पीर प¥यो । त्यही तोडमा उसले झलक्क एउटा कुरा सम्झियो । ठूलाठूला लेखकहरु आइडिया फुराउन टिन्चुपानी दिने गर्छन् भन्ने उसले कतैै सुनेकोे थियो । नाम चलेका कनकहरु पनि चुस्स दिएपछि सुरमा गीत कन्छन् रे भन्ने पनि उसले कतै पढेको थियो । (आजकल गाउने भन्दा कन्ने बढी प्रचलन भएकाले तिनलाई गायक नभनेर कनक भनिएको हो) 

फाफुराले पनि एकपटक त्यही उपाय अवलम्वन गर्ने विचार ग¥यो । ऊ ठेलमठेल गर्दै माइक्रोमा चढेर आफ्नो डेरातिर लाग्यो । बाटोभरि उसको आँखामा एकवर्ष अघि एउटा साथीले विदेशबाट आउँदा ल्याइदिएको मदिराको बोतल नाचिरहेको थियो । कहिलेकहीं फाफुरीले उसको मूड राम्रो भएको बेलामा आचमनीले अड्कलेर छर्किदिने गरेकी त्यो बोतलमा अलिअलि त कसो बाँकी नहोला । यही कल्पना गर्दै फाफुरा डेराको कोठामा पुग्दा फाफुरी एउटा चिर्कटो छोडेर कतै गएकी रहिछ । आफू राजाको स्वागत हुलुशमा भाग लिनका लागि विमानस्थलतिर गएकी हुनाले आउने समयको ठेगान नभएकोे कुरा उसले लेखेकी रहिछ । यूएसएडको सहयोग बन्द हुने हल्ला चलेर आफू काम गर्ने आइएनजीओले तलब खुवाउन नसक्या दिनदेखि फाफुरी उग्र राजावादी भएर निस्केकी थिई । ‘हेर न, राजा त जसरी पनि फर्किन्छन्’ भन्दै कुर्लन्थी । त्यसदिन बिहान फाफुराले उसलाई सोध्या थियो, ‘किन कुर्लन्छ्यौ फाफुरी ? राजा आए पनि नआए पनि तिमी हामीलाई के फरक पर्ने हो र ?’ फाफुरीले नाकको पोहरा फुलाउँदै भनेकी थिई, ‘तिमी पो आगेपिछे कोही नभएको मानिस फाफुरा । मेरो त ठाउँसम्मै पहुँच छ ।’ निकैबेर सोच्दा पनि त्यस्तो पहुँच को रहेछ भन्ने उसले सोच्न सकेको थिएन ।  उसको भाव पढेर फाफुरीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको फ्लडलाइट भन्दा चर्को आँखा चम्काउँदै भनेकी थिई, ‘पोहोर साल एउटा कार्यक्रममा मेरो रविन्द्र मिश्रसँग चिनापर्ची भएको बिस्र्यौ ? उनी र मेरा एकजना टाढाका नाता पर्ने दाइ आरआरमा एउटै ब्याचमा पढेका हुन् । राजा आउन त देऊ, रविन्द्र मिश्रलाई कमसेकम उपप्रधानमन्त्री त बन्न देऊ, कहीं न कहींको राजदूत अवश्य बनाउँछन् मलाई ।’ 

पकाउन मन लागे पकाउनू नभए हिजोको बासी भात र इस्कुसको झोल तरकारी खाएर सुत्नु भन्ने उर्दी पनि त्यही चिर्कटोेमा जारी गरेर ऊ विमानस्थलतिर गएकी रहिछ । फाफुरीको चिर्कटो पढ्दै उसले सोेच्यो, एक हिसाबले त राम्रै भयो । दारु हान्दा किचकिच गर्ने मान्छे पनि नभएपछि त आइडिया नफुरुन्जेल पिउन पाइने भयोे । तर ‘म ताक्छु लोकतन्त्र, सरकार दिन्छ ठोकतन्त्र’ भनेजस्तैै बोतलमा भएको प्रेरणाको खानी त देशको अर्थतन्त्रजस्तै धराशायी भइसकको रहेछ । त्यो बोतलमा हो कि होइन भनेजस्तो गिलाँसमा खन्याउँदा आधा औंलाजति पनि नहुने प्रेरणा मात्र बाँकी रहेछ । भाग्ने भूतको लँगौटी नै सही भन्दै त्यही भएपनि फाफुराले कुच्चेको स्टीलको गिलाँसमा खन्यायो । अनि इस्कुसको झोलमा निकै बेर डुबुल्की लगाएर केही टुक्राहरुलाई स्न्याक्सको रुपमा छुट्यायो । देशका नेताहरुको उत्तरदायित्व भन्दा पनि कम त्यस तरल पदार्थलाई उसले एकै घुट्कोमा सकायो । तर किल्किलेसम्म पनि पुग्न नभ्याइ मुखैमा वाष्पीकरण भएर उडेको त्यो चुत्थो तरल पदार्थले न फाफुरालाई रमरम भयो न त कुनै आइडिया नै फु¥यो । थप्नको लागि किन्न जाऊँ भने फाफुराको गोजीमा सुक्कोदाम थिएन । उसले सोच्यो, फाफुरीको कुरोे सही सावित भएको छ । नभन्दै राजा फर्किएका छन् । 

पोखराबाट । 

त्यही खुशीमा फाफुरीले उसका लागि एक क्वाटर त कसो नल्याइदेली र ? आशावादी भएर फाफुराले फाफुरीलाई फोन लगायो । घण्टी जान थाल्यो । अचेल फोन कम्पनीहरुले तपाईँलाई मन लागे पनि नलागे पनि घण्टी जाउन्जेल नानाभाँतिका सन्देश र विज्ञापन सुनाउने गर्छन् । तपाईँले मेहेनत गरेर कमाएको पैसो तिरीतिरी प्रयोग गरेको सेवामा यसरी जवर्जस्ती विज्ञापन सुनाउन पाइन्छ कि पाइँदैन भन्ने एउटा अलग्गै छलफलको विषय हुनसक्छ । तर प्रेरणाको अभावमा काकाकुल भइरहेको फाफुरालाई यसपटक भने फोन कम्पनीले गज्जबको कुरा सुनायो । एउटी महिला भन्दै थिइन्, 

‘के तपाईँलाई प्याक सकिएको याद हुँदैन ? र प्याक लिन बिर्सनुहुन्छ ? यदि छ भने अहिले नै एस्टरिक्स फलानो फलानो नम्बर र ह्याश थिचेर आफै पुनः सुचारु हुने प्याक सुविधा भएको प्याक लिनुहोेस् र रहनुहोस् सँधै ढुक्क ।’

फाफुरा दंगदास भयो । प्रविधिले क्या गज्जबको विकास गरिसक्यो । आफ्ना ग्राहकहरुको प्याक सकिएको कुरा फोन कम्पनीले कसरी थाहा पाउँदो रहेछ ? त्यतिमात्र नभइ आफै पनि र पुनः पनि सुचारु हुने प्याक सुविधा पनि प्रदान गर्दो रहेछ भाइ । उसलाई त के खोज्छस् नेतो–कुर्सी भनेझैं भइहाल्यो । 

फाफुराले हतारहतार ती महिलाले भनेको एस्टरिक्स, नम्बर र ह्याश थिच्यो । फोनबाट प्याक सुचारु भएको उदेकलाग्दो घटनाको साक्षी हुन पाउने भएकोमा ऊ उत्साहित थियो । तर फोनबाट प्याक कसरी झर्ला भनेर उसले कर्मचारीको इमानजस्तै सस्तो आफ्नो फोनलाई उल्ट्याइपल्ट्याइ हे¥यो । त्यहाँबाट प्याक झर्नको लागि चार्जर जोड्ने प्वालबाहेक उसले अरु केही देखेन । फाफुराले त्यो प्वाललाई गिलाँसको मुखमा पर्ने गरी फोनलाई घोप्ट्यायो । अनि घुटुक्क थुक निल्दै, मुख मिठ्याउँदै र अअिलि ¥याल पनि चुहाउँदैै प्याक कुन बेला आफै र पुनः सुचारु होला अनि चट्ट ग्याम्बे गरौंला भनेर कुर्न थाल्यो । तर निकै बेर रित्तो गिलाँसलाई नियालेर बस्दा पनि एक थोपा केही झरेन । फोन कम्पनीले भनेजस्तो प्याक आफै र पुनः सुचारु भएन । फाफुरालाई लाग्यो, कतै आफूले अघिल्लोपटक थिच्दा भने अनुसार नभएर केही तलमाथि भयो कि त ? उसले फेरि एकपटक फाफुरीको नम्बर डायल ग¥यो । फोन कम्पनीकी महिला फेरि बोल्न थालिन् । फाफुराले यसपटक हतारहतार कलमले कागजमा भनेको कुरा टिप्न भ्यायो । यसपटक त केही फरक नपरोस् भनेर ध्यानपूर्वक फेरि एकपटक ती महिलाले भनेको भनेको अनुसार थिच्यो र गिलाँसमा ध्यान दियो । अब त कसो नहोला । तर यसपटक पनि गिलाँस प्रतिनिधि सभाको सदनजस्तो भयो, ज्यान गए भरिएन । अब फाफुराको धैर्यले साथ दिएन । एकपटक त्यो फोन कम्पनीमै बुझ्नुपर्ला भनेर फाफुराले त्यहाँको ग्राहक सेवा केन्द्रको नम्बर थिच्यो । अघिकैै महिलाले फेरि प्याक पुनः आफै सुचारु हुने वाला सन्देश दिँदादिँदै उताबाट अर्की महिलाको मधुरो आवाज सुनियो, 

‘नमस्कार, नेटफेल कम्पनीको ग्राहक सेवा केन्द्रमा यहाँलाई स्वागत छ । म यहाँको के सेवा गर्न सक्छु ?’ 

फाफुराले पनि आफ्नो स्वरमा सख्खर घोल्दै भन्यो, 

‘प्याक आफै पुनः सुचारु गर्न मैले तपाईहरुले भनेजस्तो नम्बरहरु दुईपटक थिचिसकेँ । तर मेरो प्याक न आफै न पुनः ज्यान गए सुचारु भएन ।’

उसले अचम्म मान्दै भनी,  ‘त्यस्तो त नहुनुपर्ने हो सर ।’

‘हेर्नुस् यो देशमा नहुनुपर्ने धेरै कुराहरु भइरहेका छन् ।’

‘हजुरले अहिले कुन प्याक लिइरहनुभएको  थियो ?’

फाफुराले गिलाँसमा औंला हालेर घुमाएर बाँकी भएको एक थोपा पनि सोहोरेर निकालेर चाट्दै भन्यो,

‘अहिले त मैले अलि महँगै विदेशी प्याक चलाइरहेको थिएँ । त्यो सकियो । अलिकति डोज पुगेन । त्यसैले तपाईँहरुले भनेको प्याक लिन खोजेको हूँ । तपाईँहरुसँग जुनको प्याक छ त्यही पुनः आफै सुचारु गरिदिनुभए हुन्छ ।’

उताबाट अझै अलमलिएको स्वरमा उसले भनी, ‘सर म यहाँ सिस्टमबाट मिलाइदिन्छु । हजुरलाई कतिको प्याक चाहिएको ?’

‘कतिसम्म पाइन्छ ?’

‘सर हजुरको आवश्यकता अनुसार जतिको पनि पाइन्छ ।’

फाफुराले घुटुक्क थुक निल्दै भन्यो, 

‘त्यसो भए अहिले तुरुन्तलाई नाइन्टी एमएल गरिदिनुस् । त्यसपछि आधा घण्टामा अर्को नाइन्टी एमएलको प्याक चाहिएला ।’

उताबाट बोल्ने महिलाको विस्मयपूर्ण स्वर आयो, 

‘सर के भन्नुभा ? नेटवर्क अलि राम्रो छैन । मैले राम्ररी बुझिनँ । कतिको प्याक भन्नु भयो ?’

‘नाइन्टी नाइन्टी एमएलकोे दुईटा प्याक भनेको ।’

‘एमएल रे ? सर हजुरले एमबी भन्न खोज्नुभएको होला । कि हजुरलाई जीबी चाहिएको सर ?’

फाफुराले अधैर्य हुँदै भन्यो, ‘हेर्नुस् बहिनी, म एउटा नेरुमा पारिश्रमिक लिएर बल्लबल्ल हातमुख जोर्न भ्याउने लेखक हूँ । वचत गर्न पुग्ने मेरो आम्दानी भए पो ? मजस्तो बबूरो लेखकलाई जीबीको के काम ? जीबी त सहकारीमा पैसा जम्मा गरेर डुबेकाहरुलाई चाहिएला । मलाई त एमएल मात्रै हो चाहिने । नब्बेनब्बे एमएलको दुई प्याक । उसै पनि एक क्वाटरभन्दा बढी मेरो कलेजोले सित्तैंमा दिए पनि पचाउन सक्दैन ।’

ती महिलाले जिल्ल पर्दै भनिन्, ‘सर प्याक भनेको हजुरले अर्थोकै बुझ्नुभयो जस्तो छ ।’

फाफुराले सम्झाउने भावले भन्यो, ‘नानी । मैले सही नै बुझेको छु । व्यर्थको विवाद नगर, मलाई फाइँफुट्टी फुराउन हतार भइसक्यो । तिम्रो आफै सुचारु हुने प्याकलाई कुर्दाकुर्दा घाँटी नै प्याकप्याक भइसक्यो ।’

अब भने उताकी महिला केपीबाको चुट्किला सुनेर एमालेका कार्यकर्ताहरु हाँसेजसरी गललल्ल हाँसिन् र भनिन् ‘सर हामीले त इन्टरनेट चलाउने डेटाको प्याक भनेको हौँ । तपाईँले भन्न खोज्नुभएको कुरालाई त प्याक हैन, पेग भनिन्छ ।’

त्यसपछि भने फाफुराका कन्सिरिका रौंहरु रिसले बिस्तारै ठाडा हुन थाले । फाफुराको भित्रको जनावर पनि जाग्यो र ठूलै स्वरमा चींचीं गर्न थाल्यो । उसले बल्लबल्ल त्यो क्रुद्ध जनावरलाई बलजफ्ती त्यसको सानो खोरमा थुन्यो । हामी नेपालीलाई कसैले केही सिकाएको सह्य हुँदैन भन्ने कुरा ती महिलालाई थाहा छैन कि क्या हो ? हामीले जे सोच्छौँ, जे बुझ्छौँ र जे भन्छौँ, त्यो गलत भएपनि सही हो । हामी बगलामुखीलाई बंगलामुखी भन्न चाहन्छौँ भने त्यो बंगलामुखी नै हो । अल्गो मान्छेलाई हाइटी भन्छौैँ भने त्यो हाइटी नै हो । प्रतिभाशाली मान्छेलाई हामी ट्यालेण्टेड नभनेर ट्यालेण्ट भन्छौँ भने त्यो हामीलाई सम्विधानले दिएको स्वतन्त्रता हो । हामीलाई कसैले सुधार्न पाउँदैन । किनभने हामी नेपाली होँ, हामीलाई त्यसको आवश्यकता छैन । म त झिल्के यस्सै राम्रो, यस्सै राम्रो उस्सै राम्रो नेपाली हुनाले भन्ने गीत ती नानीले सुनेकी छैनन् ? नामको त कुरै छाडौँ ठामलाई नै पनि हामी ध्वस्त बनाउन सक्छौँ । देशमात्र नभइ विदेश गयौँ भने पनि त्यहाँ हाम्रै पारा कायम गर्छौँ । अष्ट्रेलियालाई समेत हामी आठौँ प्रदेश भनेर मजाक गरेर आत्मरतिमा रमाउनसक्ने दुर्लभ प्रजाति पो हौँ त । त्यसैले हामी भिक्टोरियालाई भिखकटोरिया बनाउन पछि पर्दैनौँ । न्यूयोर्कलाई सन्धीखर्क सरह बनाउन हामी स्वतन्त्र छौँ । कतारलाई कटारी, दुबइलाई दुबही र मलेशियालाई मालेपाटन सरह बनाउन सक्छौँ हामी । अनि यस्तो कर्मठ, स्वाभिमानी देशको फाफुराजस्तोे नागरिकलाई प्याक र पेगको अन्तर सिकाउन खोजेको कसरी सह्य हुनु ? उसले कठोर स्वरमा भन्यो, ‘स्पष्ट कुरा नभन्नू तिमीहरुको गल्ती हो । प्याक  भनेपछि मैले त आम नेपालीले जे बुझ्नु पर्ने हो, मैले त्यही बुझेको हूँ । त्यसैले खुरुक्क ह्विस्की, भोड्का, जिन, ब्राण्डी अथवा लोकल जेको भएपनि प्याक तुरुन्तै सुचारु गराइदिई हाल ।’ 

‘क्या तालतालका मान्छेहरु फोन गर्छन्’ भन्दै ती महिलाले फोनको सम्पर्क विच्छेद गरिदिइन् । 

फाफुरा भित्रको जनावर फेरि चींचीं गर्न थाल्यो । त्यहीबेला फाफुरी पिन थुतेको ग्रेनेडजस्तो भएर आइपुगी । कुनै बेला पनि पड्किन सक्ने । राजावादीहरुको हुलुशमा कुन चाहिँ बगलीमारले उसको  खल्तीमा राखेको पर्स नै उडाइदिएछ । त्यसैले माराजगन्जादेखि लुखुरलुखुर हिंडेर ऊ लगनखेलको डेरासम्म आइपुगेकी रहिछ । उसले आदेश जारी गरिहाली, ‘खुट्टा करकर दुःखेर मर्नमात्र बाँकी छ म । फटाफट तेल तताएर म ननिदाउन्जेल पैंतालमा मालिस गर्देऊ त फाफुरा ।’ 

प्याक सुचारु नभएर प्याकप्याक भएको बिचरो फाफुरा फाफुरीले ग्यास्केट बिग्रेको प्रेसर कुकर जस्तो आवाज निकालेर घुर्दै ननिदाउन्जेल उसको पैंताला मालिस गरिरह्यो । प्याक सुचारु होला, प्रेरणा पाइएला, फाइँफुट्टी फुर्ला, लेखौंला र तपाईँहरुसँग फेरि भेटौैँला भनेर गरेको आश पनि फोन कम्पनीले त्यत्तिकै तुर्या‌इदियो । तै पनि आशावादी फाफुरा सोच्दै थियो, ‘राजतन्त्र फर्केला त ? रविन्द्र मिश्रले फाफुरीलाई गतिलो देश नभएपनि बुर्किना फासोको सम्म राजदूत कस्सो नबनाउलान् त ?’ 

के थाहा, यो मुलुकमा जे पनि हुनसक्छ ।


Wednesday, March 27, 2024

कविता आरोहणको चौथो शिविर

इलामबाट फोन गरेर एक दिन कवि विमल वैैद्यले उर्दी जारी गरे,

‘फलानो दिन, फलानोे स्थान, ढिस्कानो समयमा मेरो चौथो कविता सङ्ग्रह विमोचन हुँदैैछ । एउटा कविता तपाईँले वाचन गर्नुपर्छ । पुस्तक आजभोलि नै तपाईँको हात पर्छ, आफूले पढ्ने कविता आफै छान्नू ।’ मलाई यो मिठो आदेशले पुलकित बनायो । किनभने विमल वैद्यका पहिलेका कविताहरु पनि मैले पढेको छु । । उनका कविताहरु अत्यन्त साह्रै हिस्सी परेका हुन्छन् । ती मध्ये कुनै एक विमोचनको दिनमा वाचन गर्न पाउनु मेरा लागि अवसर नै थियो । पुस्तक हात पर‌्‌यो, पटकपटक त्यसमा भएका कविताहरु पढें । अब पर्‌यो फसाद । तिनमध्ये एक छान्नु त मेरा लागि फलामको च्यूरा चपाएभन्दा गाह्रो पो भयो । हुनेभए हरेक कविता नैै वाचन गरौं जस्ता थिए ।

कुनै पनि कविको चौथो कविता सङ्ग्रह प्रकाशित हुनु आफैले नै लाखौं शव्द बोल्छ । किनभने त्यसले बताइरहेको हुन्छ, कवि आफ्नो कर्ममा कति दत्तचित्त छन्, अनुशासित छन् र निरन्तर छन् । हिमालको उँचाइबाट न्यानोसङ्गै पग्लेर कञ्चन पानी जसरी ओरालो झर्दै आफ्नो शीतलताले उष्ण र जर्जर जमीनहरुलाई सिंच्दै, असंख्य खोलानालाहरुसंग मिस्सिँदै, आफूलाई तिनमा समाहित गर्ने क्रममा सिक्दै–सिकाउँदै, भावना र अनुभूतिहरु साटासाट गर्दै महासागरमा समाहित हुँदै फेरि वाफ बनेर उँचाइहरु छुँदै, अनन्त नभमा बिस्तारित भएर त्यहाँबाट विहंगम दृष्टिगोचर गर्दै परपर–कुनाकुनासम्मका मिहिनभन्दा मिहिन कुराहरुलाई देखेर, वादल जस्तो आवारा बनेर बरालिँदै पुनः कहिले वर्षका थोपा र कहिले हिउँका कणहरु हुँदै फेरि अल्गा पहाडहरुमा तिनलाई छर्दै स्थापित हुने पानीको जस्तो निरन्तर यात्रा गर्न सक्ने थोरै यायावरहरु हुन्छन् । तिनैमध्ये एक यायावर कवि हुन् कवि विमल वैद्य । सही अर्थमा भन्ने हो भने कविताका साधक, कविताका प्रेमी । कविताप्रति असाध्य धेरै अनुशासन, आशक्ति र अनुराग नभइ उनले लेख्नेजस्ता सुन्दर कविताहरु लेख्न सकिँदैन । 

कतिपय साधकहरु यस्ता हुन्छन् जसले आफ्नो साधनालाई अरु जिम्मेवारी र भूमिकाहरुबाट उम्किनका लागि प्रयोग गरेका हुन्छन् । एकलकाँटे र एकलव्यजस्त एकसुरे साधकहरु पनि प्रशस्तै हुन्छन् । यस अर्थमा साधक भनेको एकप्रकारको एकोहोरो जोगी हो भन्ने पनि मान्यता स्थापित भएको हुन्छ । तर आफ्ना दायित्व र भिन्न सामाजिक भूमिकामा खरो हुँदाहुँदै पनि साहित्यको निरन्तर साधना गर्न सकिन्छ भन्ने कुराको उदाहरण चाहिँ विमल वैद्य हुन् । विमल आफ्नो कर्मक्षेत्रमा भिन्नभिन्न भूमिकाहरुमा उत्तिकै सफल व्यक्तित्व हुन् । त्यति हुँदाहुँदै पनि कवितालाई प्रेम गर्न नछोडी कविता आरोहणको क्रममा उनले चौथो शिविरमा क्याम्प गाडेका छन् । र, ‘युगको तटमा उभिएर’ त्यो क्याम्प हो । यो आलेख विमलको कविता सङ्ग्रहको समीक्षा होइन । कवितालाई प्रेम गर्ने एउटा साहित्य अनुरागीको मनमा उक्त सङ्ग्रहले ल्याएको छालहरुको आवाजलाई लिपिवद्ध गर्ने सानो प्रयास मात्रै हो । 

विमलको यस सङ्ग्रहको प्रमुख विशेषता भनेको एक कविका रुपमा उनको आफ्नै आरोहको स्पष्टता हो– उनको विकासक्रम हो । अघिल्ला तीन कविता सङ्ग्रहमा उनले पाठकहरुलाई प्रभावित पारेका थिए भने चौथो सङ्ग्रमा उनले पाठकहरुलाई अचम्भित बनाएका छन्–मन्त्रमुग्ध बनाएका छन् । यसैले उनको अनुशासनलाई स्पष्ट्याएको छ । ‘युगको तटमा उभिएर’ विमलले कविताहरुको पुस्तक लेखेका होइनन्– ‘तस्बीह’ उनेका हुन् । ‘तस्बीह’– अर्थात् प्रार्थना गर्नेबेला प्रयोग गरिने माला । त्यसैले त यसमा समावेश भएका हरेक कविता पढ्नेहरुका लागि प्रार्थनाजस्तै पवित्र र गहिरा लाग्छन् । यसका लागि विमलले भावनाको समुन्द्रको मरियाना ट्रेन्चसम्मै डुबुल्की लगाएका छन् र बटुलेर ल्याएका छन् अठतीसवटा अनमोल मोती । अनि तिनैलाई उनेका छन् शैलीको धागोमा । त्यसरी तयार भएको छ, ‘युगको तटमा उभिएर’ । प्रार्थनाको सबैभन्दा ठूलो विशेषता नै के हो भने दोहो¥याइ–तेहे¥र्याइ गर्दा पनि त्यो पुरानो लाग्दैन । झनै नयाँ लाग्छ, झनै गहिरो लाग्छ । विमलका कविताहरु पनि त्यस्तै लाग्छन् मलाई । एउटा खोलाको तटमा उभिँदा भन्दा समुद्रको तटमा उभिँदा देखिने क्षितिज निकै फराकिलो हुन्छ । एउटा थुम्कोमा उभिँदा भन्दा अल्गो पहाड वा हिमालमा उभिँदा देखिने क्षितिज अझै विशाल हुँदो हो । अब आफै कल्पना गर्नुस्, युगकै तटमा उभिँदा कति बिशाल र फराकिलो क्षितिज देखिन्छ होला ? युगको तटमा उभिँदा दृष्टिभित्र कति कुराहरु अटाउँछन् होला ? एउटा कविले युगको तटमा उभिँदा कस्तो अनुभूति गर्छ होला ? अझ हाम्रो पुस्ताको कुरा गर्ने हो भने विश्वविकासको तीव्रता पनि यो पुस्ताले जति अरुले कहाँ देखेको होला ? अनि एउटा सिङ्गो युग नै अग्रगमनको नाममा खेर फ्यालेर देश नै पछि परेको पुस्ता पनि यही होला । त्यतिमात्र नभै आर्थिक, प्राकृतिक, राजनीतिक र सामाजिक परिवर्तन अनि विचलन, यति बृहत भोगाइ र देखाइ अरु पुस्ताले देखेको थिएन । त्यो देखाइ, त्यो भोगाइका अंशहरुलाई विमलले आफ्ना कविताहरुमा समाहित गरेका छन् । त्यसको ज्वलन्त उदाहरण सङ्ग्रहको पहिलो कवितामै पाउन सकिन्छ–‘आगो बर्सिरहेको समयछेउ’ । त्यसको पनि पहिलो हरफमै, 

‘चुहिने भाँडोमा बोकेर विचार

उनीहरु

क्षितिजमा सुनौलो घाम देखाइरहेछन् ।’

यो सशक्त र प्रतीकात्मक उद्घाटनले पाठकहरुलाई पाना पल्टाउँदै जाँदा पाइने खुराकका लागि तयार पारिदिन्छ । आठ राउण्डसम्म खेल्न पाइने मुक्केबाजीको खेलमा कुनै मुक्केबाजले पहिलो राउण्डमै ‘सकर–पन्च’ प्रहार गरेजसरी विमलले आफ्नो अभिव्यक्तिको शक्ति देखाएका छन् । मलाई थाहा छैन यो जानेर–बुझेर, छानेर–सोचेर राखिएको क्रमको परिणाम हो वा कुनै निर्दोष र उदेकलाग्दो संयोग । जसै तपाईँ अरु कविताहरु पढ्न थाल्नुहनेछ, तिनले तपाईँलाई आफूमा यसरी चर्लुम्मै डुबाइदिन्छन् मानौं त्यही नै पल प्रणय दिवस हो र यी कविताहरु तपाईँका प्रेमी वा प्रेमिका हुन् । कुनै सिर्जनासङ्ग प्रेम हुनका लागि ती आफैमा प्रेम विधाकैै हुनुपछै भन्ने छैन । कुशल कविले तपाईँलाई पीडासँग पनि प्रेम हुने बनाइदिन सक्छ, मृत्युलाई पनि प्यारो बनाइदिन सक्छ । घाट कविता त्यसैको एउटा उदाहरण हो । कवि लेख्छन्, 

पर्खिरहेको हुन्छ घाटले सधैँ

मान्छेको अन्त्य

त्यसै दिनदेखि

जुन दिन

ऊ बाबुको पौरुषबाट सिञ्चित भएर

आमाको गर्भमा बास बसेको थियो ।

उनको शैली सरल र स्पष्ट छ । उनका कविताहरुमा विम्व, भाव र लक्षणहरु यति सहज रुपमा आउँछन्, तिनका प्रभाव कहिलेकहीं त तपाईँलाई कविता पढेको धेरै बेर वा धेर्रै दिनपछि पनि अनुभूत हुन सक्छ । त्यसको अर्थ के हो भने कहीं पनि, कतै पनि, कुनै पनि कुरा लादिएका छैैनन्, कोचिएका छैनन् र नचाहिने मात्रामा तिनको अत्याधिकता पनि छैन । क्लिष्टतालाई कविताको मानक नमान्ने विमलका कविताहरुमा पाइने अर्को रोचक पक्ष के हो भने, कविताका विषय हुनै नसक्ने भन्ने कुराहरुमा पनि उनले दिमाग हल्लिने कविताहरु कोरिदिएका छन् । ‘शिव ठाकुरःएक पोट्रेट’, ‘म उही विष्णु नवीन हूँ’, ‘दाहिने खल्तीको पर्स’ र ‘खाली शीशी पुराना कागज’ त्यसका उदाहरणहरु हुन् । उनका कविताहरुमा अनुरागका कुराहरु छन्, समर्पणका कुराहरु छन्, अनि विछोडका पीडा पनि त्यति नै सशक्त छन्, 

‘छोडिजानेहरुका रहर बढी हुँदो हो,

छोडिजानेहरुको सहर अर्कै हुँदो हो ।’ 

समग्रमा विमलका कविताहरु अनुशासित छन् । तिनले कविताको मर्म र गरिमालाई कहीं कतै पनि आँच आउन दिएका छैनन् । आफ्नै परिवेश र समयको वरिपरि रहेर खोजिएका विषयहरु कविता बनेका छन् । युगको तटमा उभिँदा अलि परपरका कुराहरु पनि देखिएका होलान् तर कविले बडो चतु¥याइँका साथ टाढाका कुराहरुलाई पन्छाएर नजीकका कुराहरु लेखेका छन् । त्यसैले तिनले पाठकलाई छुन्छन् । शैलीको त कुरा गर्नै परेन, अहिलेका पुस्ताका सशक्त कविका रुपमा आफूलाई  विमल वैद्यले त्यसै उभ्याएका हैनन् । मलाई अलिकति कमी खट्किएको चाहिँ दुइटा कवितामा मात्र हो । ‘तिमी नहुँदा’ । आफ्नी जीवनसङ्गिनीसँगको क्षणिक वियोगमा व्यक्त अभावका पीडाहरुमा अलिकति पितृसत्तात्मक सोच हावी भएको हो कि भन्ने लाग्छ । उनको अभाव खट्किने जुनजुन कुराहरुलाई विमलले जोड दिएका छन्, ती सबै एक पुरुषले आफै गर्न नसक्ने थिएन । जीवनसङ्गिनीको महत्व र अभाव तीभन्दा बढी महत्वपूर्ण कारणहरुका लागि बुझिदिएको भए अझ गज्जव हुन्थ्यो कि ? व्यक्तिगत रुपमा उनलाई चिन्ने भएकाले होेला, अर्को कविता ‘स्कूल जाने छोरालाई’ पढ्दा पनि मनमा लागिरहन्छ, एक छोरी र एक छोेराका कवि पिताले स्कूल जाने छोरीका लागि पनि एउटा कविता लेखिदिएको भए क्या खास्सा हुन्थ्यो होला ।

जे होस्, समग्रमा भन्दा ‘युगको तटमा उभिएर’ नेपाली कविताको एउटा कोसेढुङ्गा हो भन्न चाहिँ कञ्जूस्याइँ गर्नुपर्दैन । विमल वैद्यका कविताहरु सशक्त हुनुको कारण ती हाम्रै वरिपरिका कुराहरुबाट उम्रिएका छन् । स्वैरकल्पनाको नाममा अलमलिएर सम्राटको नयाँ लुगा खोज्नुपर्ने साहित्यको गुण्टा उनले बाँधेका छैनन् । अनि सिर्जनात्मक छुटका नाममा खाँदिएका बोझिला शव्दका ठेलीहरु पनि उनले  कसेका छैनन् । तै पनि तिनले थोरै र स्पष्ट अभिव्यक्ति मार्फत् बोल्नपर्ने जति प्रशस्तै बोलेका हुन्छन्,

‘गोप्य कोेठामा

मुसाले बिरालो व्याउँछ

आलुको बिउमा अम्रिसो फल्छ ।’


चैत्र १०, २०८० अन्नपूर्ण पोष्टमा प्रकाशित


Thursday, March 21, 2024

मेरा दक्षिण भारतीय मातापिता 

 सन् २०१८ । बैंग्लुरु माथिको आकाश, नेपाल एयरलाइन्सको जहाज । 

बैंग्लुरुको क्याम्पेगोडा विमानस्थलमा अबको केही बेरमा हामी अवतरण गर्दै छौं भन्ने परिचालिकाको यान्त्रिक स्वरले यात्रुहरू जुर्मुराउन थाले । मैले पनि आङ र गोडा इकोनोमी सिटको परिधिले अनुमति दिनेसम्म तन्क्याएँ । विमानको उडानको उचाइ घट्दै थियो । म यसभन्दा अघि नआएको बैंग्लुरु सहर देखिन थाल्यो ।मलाई नजन्माएका बा-आमा

नयाँ ठाउँमा हवाईजहाज ओर्लनुअघि झ्यालबाट बाहिर हेर्नु रमाइलो हुन्छ । म तलको क्रमशः ठूलो हुँदै गएको विशाल सहरलाई हेर्दै सोच्न थालें, यति ठूलो सहरमा कहाँ होला मेरो अम्मा अप्पाको घर ?

अम्मा अप्पा । दक्षिण भारतीयहरूले आफ्ना आमा–बाबुलाई अम्मा अप्पा भन्ने गर्छन् । म मेरा अम्मा–अप्पालाई भेट्न बैंग्लुरु आएको छु । मेरा दक्षिण भारतीय मातापिता । तपाईंहरूलाई अचम्म लाग्यो होला, मातापिता पनि कसरी दक्षिण भारतीय, उत्तर भारतीय, नेपाली वा अरू केही हुन्छन् भनेर । तर, हुँदा रहेछन् ।

मेरा तिनै अप्पालाई केही दिनअघि अचानक हृदयाघात भएको थियो । उनीहरू अमेरिकामा भएका आफ्ना केही नातेदार भेट्न जान सबै तयारी गरिसकेको अवस्थामा थिए । कति धेरै उत्साहित हुँदै उनीहरूले आफ्नो योजना सुनाएका थिए भिडियोकलमा । यस्तो अवस्थामा अम्मा–अप्पा अचानक आइपरेको विपत्तिले थलिएका थिए । अप्पाको बाइपास शल्यक्रिया गरियो । अब निकै लामो समय उनी यात्रा गर्न नसक्ने भए । म ताक्छु मूढो– बञ्चरो ताक्छ घुँडो भन्ने उखान त्यसै बनेको होइन । हामी भोलि, पर्सि, अर्को हप्ता, महिना वा कैयौं वर्षको योजना बनाउँछौं । तर, हामीलाई अर्को पलमा के हुन्छ भन्ने पनि थाहा हुँदैन । अप्पा केही दिन अस्पताल बसेर घर फर्किसकेका छन् । त्यसैले म उनलाई हेर्न बैंग्लुरु आएको छु ।

कसरी म रिटायर्ड कर्नल विश्वेशरण गणपति र प्रोफेसर लक्ष्मी गणपतिले नजन्माएको छोरा बनें भन्ने कुरा बुझ्न एक वर्षअघि पुग्नुपर्छ । आउनुस् न त, टाइम मेसिनमा बसेर केही पछाडि यात्रा गरौं मसँग । फुर्सद छ नि हैन ? यसै पनि आज त शनिबारै हो ।

सन् २०१७ । अमृतसर शताब्दी रेलको वातानूकुलित २ टियर ।

तपाईंहरूलाई पत्यार लाग्छ कि लाग्दैन कुन्नि, मलाई आजसम्म तीनवटा स्थानमा पुग्दा मनमा चरम शान्तिको अनुभव भएको छ । ती तीनवटा स्थानबाट मलाई फर्किनै मन लागेको थिएन । यस्तो लागेको थियो, यो जुनिको स्थायित्व भनेको नै यही ठाउँ हो । म सबै कुरा छोडेर, बिर्सेर अब यहीं नै बसूँ । बाँकी जिन्दगी यही ठाउँमा त्यो परमशक्तिको साधना वा आराधना गरेर बिताऊँ, जसलाई मानिसहरू आ–आफ्नो धार्मिक आस्था अनुसार थरीथरी रूपमा मान्छन् । पहिलो स्थान सिक्किमको गान्तोकपारि डाँडामा रहेको रुम्तेक गुम्बा थियो । त्यहाँको चिसो सिंगमरमरको चिसो भुइँमा स्वतःस्फूर्त रूपमा लमतन्न परेर लड्दा मैले अपूर्व आनन्द र शान्ति अनुभव गरेको थिएँ । दोस्रो स्थान काठमाडौंको जामे मस्जिद थियो । एक दिन लहडै लहडमा म त्यहाँ नमाज पढ्न गएको थिएँ । मलाई त्यहाँ पनि परम शान्तिको अनुभूति भएको थियो । तेस्रो स्थान अमृतसरको स्वर्ण मन्दिर । त्यहाँभित्र छिर्नासाथ त्यहाँको भव्यता, अलौकिक वातावरण, माइकमा कसैले सुरिलो स्वरमा गाइरहेको अमृतवाणीको आवाजले मलाई एकाएक अर्कै संसारमा पुर्‍याइदिएको थियो । तर, ती तीनै स्थानबाट मेरो नियतिले मलाई डोर्‍याएर बाहिर निकाल्यो । डोर्‍याएर ? या गलहत्ती लगाएर ?

जे होस्, स्वर्ण मन्दिर मेरा लागि एक अविस्मरणीय अनुभव बनेको थियो । त्यहाँ रहुन्जेल मेरो मगजमा सन् ८२ को कुख्यात अपरेसन ब्लू स्टार पनि फन्फनी घुमेको थियो । यति पवित्र र शान्त स्थानमा त्यतिबेला भारतीय सेनाले खालिस्तान स्वतन्त्र आन्दोलनका नेता जर्नेल सिंह भिन्द्रावाले र उनका समर्थकहरूलाई कब्जा गर्न ठूलो सैन्य कारबाही गरेका थिए । सेना, आन्दोलनकारी र आम तीर्थ यात्रीहरू सयौंको संख्यामा हताहत भएका थिए । राज्यका लागि आतंककारी ती आन्दोलनकारी सिखहरूका लागि सहानुभूतिका पात्र थिए । हुन पनि हो, सही र गलत भन्ने कुरा आफू कुन ठाउँमा बसेर हेरिन्छ त्यसमा भर पर्छ । आफैंमा केही सही वा गलत हुँदैन । एउटाका लागि सही कुरा अर्कोका लागि गलत हुन्छ । सिखहरू आफ्नो श्रद्धाको केन्द्रमा भएको बर्बरतापूर्ण आक्रमणबाट आहत भएका थिए ।

फलतः ब्लू स्टारको पाँच महिनापछि त्यस अपरेसनलाई आदेश दिने तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको उनकै दुई सिख अंगरक्षक सतवन्त सिंह र बियन्त सिंहले हत्या गरिदिए । त्यसबाट भड्किएको दंगामा भनिन्छ १७ हजारको हाराहारीमा सिखहरूको हत्या भयो । भारतीय इतिहासको यो कालो पाटो थियो । म एकातिर स्वर्ण मन्दिरको अहिलेको वातावरणबाट मुग्ध भइरहेको थिएँ भने अर्कोतिर अपरेसन ब्लू स्टारको भयावह गोलाबारीको कल्पनाले मात्रै पनि उद्वेलित भइरहेको थिएँ । एकैपटक यी दुई चरमविपरीत भावहरूको ज्वारभाटाको रोटेपिङमा मच्चिनु आफैंमा अनौठो अनुभव हुँदो रहेछ । सिखहरूको ठूलो तीर्थ थलो त्यही हरमन्दिर साहेब अर्थात् स्वर्ण मन्दिर पुग्ने मेरो पुरानो रहर थियो । त्यही पुरानो रहर पूरा गरेर म अमृतसरबाट दिल्ली फर्किन लागेको थिएँ ।

अपरिचित स्थानहरूमा यात्रा गर्दा म जहिले पनि समयभन्दा पहिले नै रेलवे स्टेसन वा विमानस्थल पुग्न रुचाउँछु । त्यसको दुई वटा फाइदा हुन्छ । कुनै किसिमको समस्या वा अलमल भयो भने मसँग समय हुन्छ । केही भएन भने वरिपरिको वातावरण, जीवन र मानिसहरू हेर्दै कल्पना गर्नुको रमाइलो एउटा लेखकले मात्रै बुझ्दछ होला । कहिले नयाँ पात्र भेटिन्छन्, कहिले नयाँ कथा । यस पटक त नयाँ सम्बन्ध भेटिने रहेछ । त्यति बेलासम्म के थाहा ! त्यस दिन पनि म पहिले नै आफ्नो डिब्बा र सिट पहिल्याएर बसिसकेको थिएँ अनि झ्यालबाट बाहिर स्टेसनको गतिविधि नियाल्दै थिएँ । त्यही बेला केही बर्दीधारी सैनिक जवान पोकापुन्तुरा बोकेर मेरो अगाडिको सिटमा आए र थन्कोमन्को गर्न थाले । उनीहरूको हाकिम जस्तो एउटा युवा उनीहरूलाई सामान यता र उता राख्न आदेश दिँदै थियो । मलाई लाग्यो, यस पटक भारतीय सैनिकहरूसँग यात्रा हुने भयो ।

हाकिम बाहिरतिर गयो र केही क्षणमा ७० वर्षको हाराहारीका एक दम्पतीलाई साथ लिएर आयो । जवानहरू सामान थन्क्याएर बाहिर गइसकेका थिए । ठूलो अफिसर मात्रै बाँकी थियो । उसले त्यो दम्पतीलाई आदरसाथ सिटमा विराजमान गरायो । उनीहरू बीचबीचमा केही अंग्रेजी मिसाए पनि एकापसमा मूलतः मद्रासीमा कुरा गरिरहेका थिए । तमिल, तेलगु, कन्नड वा मलयालम जेसुकै किन नहोस्, दक्षिण भारतीय भनेपछि हाम्रा लागि सबै मद्रासी । भाषा पनि– मानिस पनि । अरू केही नबुझे पनि मैले लख काढें, ती दम्पती पक्कै उसका आमा–बाबु हुनुपर्छ । उसका अम्मा–अप्पा । मलाई त्यतिखेर थाहा थिएन, दिल्ली ओर्लने बेलासम्म उनीहरू मेरा पनि अम्मा–अप्पा बन्नेछन्, जो केही समयपछि मलाई भेट्न काठमाडौं आउनेछन् । अनि अप्पालाई हृदयाघात भयो भनेर आत्तिँदै म बैंग्लुरु पुग्नेछु ।

रेलले हिँड्ने बेला भएको संकेत दियो । भारतीय रेलको समयबारे धेरै व्यंग्य लेखिएका छन् । तर, अचेल त्यसमा बिस्तारै सुधार आउन थालेको रहेछ । भनेकै समयमा रेल हिँड्न लागेको थियो । सैनिक अफिसर आफ्ना अम्मा–अप्पालाई ढोगेर बाहिर निस्क्यो । रेल एउटा लामो चिप्लेकीरा जसरी घिस्रिन थालेको थियो । सैनिक प्लेटफर्मबाट रेलको झ्यालनिर आयो । उनीहरू अझै रहलपहल कुरा गर्दै थिए । रेलले बिस्तारै गति लिन थाल्यो । त्यसैको अनुपातमा ऊ प्लेटफर्ममा केहीबेर सँगसँगै हिँड्यो, केहीबेर लम्कियो र अन्त्यमा रेलको गतिसँग हार मानेर अडिएर हात हल्लाउन थाल्यो । उसका बाबु–आमाले पनि उसलाई देखुन्जेल हात हल्लाए ।

केहीबेर पछि सारा कुरा पछाडि छुटे । म आफ्नै धुनमा थिएँ । बूढा आँखा चिम्लेर सिटमा टाउको अड्याइरहेका थिए । बूढी भने यताउति हेर्न थालेकी थिइन् । बल्ल उनको आँखा आफ्नो सहयात्रीमा पर्‍यो । उनले स्नेहिल मुस्कानसहित मलाई हेरिन् । म पनि मुसुक्क हाँसें । बूढाले आँखा खोले र आफ्नी श्रीमतीलाई केही भने । उनीहरू खड्याङखुडुङ आफ्नै भाषामा कुरा गर्न थाले । म पनि झ्यालबाट बाहिर हेर्न थालें ।

रेलको यात्राको रमाइलो भनेकै एउटै डिब्बामा लामो यात्रा गर्दा कुराकानी नगरुँ भने पनि आफैं कताकताबाट सुरु हुन्छ । अप्पा त्यति वाचाल थिएनन् । घुप्प परेर बसिरहेका थिए । तर, बूढी भने हेर्दै ममतमयी देखिन्थिन् । निधारमा ठूलो रातो टीकाले उनलाई उज्यालो बनाएको थियो । कुराकानी साधारण तरिकाले नै अघि बढ्यो । अम्मा मसँग अंग्रेजीमा बोल्न थालिन् । म कहाँ जान लागेको ? म कहाँको मान्छे ? म के गर्छु ? अम्माका प्रारम्भिक प्रश्न बर्सिन थाले । मैले पनि छोटोमीठो उत्तर दिन थालें । म नेपाली हुँ भन्ने थाहा पाएर उनी अझ बढी उत्सुक भइन् र भारतको यात्रामा मलाई सबैले भन्ने कुरा नै भनिन्, ‘बेटा, यू डन्ट लुक लाइक अ नेपाली ।’

भारत र बाहिर अन्य मुलुकका मानिसका लागि नेपालीको एउटा विशेष छवि छ । नेपाली मानिस कस्तो हुनुपर्छ भन्ने उनीहरूको आफ्नै मान्यता छ । त्यससँग नमिल्दो अनुहार नेपालीभन्दा उनीहरूलाई अचम्म लाग्छ । अप्पा सुरुमा खासै बोलेनन्, मुसुमुसु औपचारिक मुस्कान मात्र दिइरहे । तर, अम्माको बोलीको गतिले रेललाई उहिले नै जितिसकेको थियो । अम्मामा एउटा अचम्मको आकर्षण थियो । यति धेरै र बढी बोल्थिन् उनी, तर पनि त्यो झिँजोलाग्दो पटक्कै थिएन । म उनीसँगको वार्तालापमा रमाइलो मान्न थालें । अम्मा अंग्रेजी पढाउने प्रोफेसर रहिछन् । केही समयअघि मात्र अवकाश लिएकी । उनलाई पुर्‍याउन आउने सैनिक अधिकारी कर्नेल रहेछन्, उनीहरूका सुपुत्र । अनि अप्पा पनि भारतीय सेनाको अवकाश प्राप्त कर्नेल नै रहेछन् । मैले हाँस्दै भनें, ‘तपाईं त पटक्कै रिटायर्ड कर्नेल जस्तो लाग्नुभएन मलाई ।’ उनले अलि उत्सुक भएर सोधे, ‘किन र ? कस्तो हुनुपर्छ रिटायर्ड कर्नेल ?’

मैले भनें, ‘न त अहिलेसम्म तपाईं ठूलो स्वरमा बोल्नुभएको छ, न एक पटक ब्लडी हेल् भन्नुभएको छ । तपाईं रिटायर्ड कर्नेल भनेर म कसरी पत्याऊँ ?’ यस पटक भने उनी मज्जाले नै हाँसे र भने, ‘यो उत्तर भारतीय सिनेमाले हाम्रो हुँदै नभएको छवि बनाइदिएको छ ।’

हुन पनि हो, हामीले हिन्दी सिनेमाहरूमा जहिले पनि रिटायर्ड कर्नेलको एउटा विशेष चरित्र चित्रण देखेका हुन्छौं । मनको सच्चा भए पनि बोलीवचन कडा, ठूलो स्वरमा बोल्ने, झनक्क रिसाउने, पिकक्याप लगाउने, बातबातमा बन्दुक निकालेर ताक्ने र सबैभन्दा ठूलो कुरा त ब्लडी हेल् भनिहाल्ने । सात–आठ घण्टाको यात्रामा मैले उनको सैनिक जीवनका विभिन्न रोचक कुरा लगायत कारगिल लडाइँको अनुभव सुनें । उनकी श्रीमतीबाट त उनीहरूको वंश, खानदान, साथीभाइ लगायत सबैबारे जानकारी पाउन भ्याएँ होला । हामी नयाँदिल्ली स्टेसनमा आइपुग्ने बेलासम्ममा निकै घनिष्ट भइसकेको थियौं ।

‘हामीलाई अम्मा–अप्पा भन तिमी । हाम्रो छोरा कार्तिक र तिम्रो उमेरमा खासै फरक पनि रहेनछ,’ यति स्नेहले दिएको आदेश कसरी पालना नगर्नू । इमेल साटासाट भयो । रेल दिल्ली पुग्यो । अम्मा–अप्पा अब सम्पर्कमा रहने वाचा गर्दै एकातिर लागे, म अर्कोतिर ।

काठमाडौं–नियमित जिन्दगी

यात्रामा यस्ता घटनाहरू भई नै रहन्छन् । यस्ता झुक्किएर भेट भएका यात्रुहरू केही छिन वा केही सम्झनाका पर्दामा चल्मलाउँछन् । मानिस आफ्नो जीवनको भागदौडमा व्यस्त हुन्छ, प्राथमिकतामा पर्ने अरू कुराहरूको खातमा ती यात्रुहरूले एकअर्कालाई बिर्संदै जान्छन् । तर, यस पटक त्यस्तो भएन । तेस्रो दिन नै अप्पाको इमेल आयो । मैले पनि तुरुन्तै जवाफ पठाएँ । अनि हाम्रो बीचमा स्काइपको आईडी पनि आदानप्रदान भयो । परिस्थितिले अलग्याएर दुई फरक सहरमा बसेका परिवारका सदस्य जसरी हामी केही दिनको अन्तरालमा भिडियोमा कुराकानी गर्न थाल्यौं । हामीबीच अनौठो आत्मीयता झनै प्रगाढ हुँदै गयो । उनीहरू कहिले पनि नेपाल आएका थिएनन् । नेपालसँग उनीहरूको अरू कुनै पनि साइनो थिएन । मैले उनीहरूलाई नेपाल आउने निम्तो दिएँ । एक दिन नभन्दै अप्पाले भने, ‘ल है त अर्को महिनाको २२ गतेको टिकट काटेका छौं ।’

नभन्दै अम्मा–अप्पा काठमाडौं आए । म एयरपोर्टमा उनीहरूलाई लिन गएँ । उनीहरू हाम्रो परिवारसँगै घुलमिल भएर बसे । उनीहरू हाँस्दै सुनाउँथे, ‘जब हामीले रेलमा भेटेर छोरा बनाएको मान्छेले बोलाएर नेपाल जान लागेको खबर सुनायौं, हाम्रा छोराछोरी, नातागोता र साथीहरूले हामीलाई पागल भन्ठानेका थिए ।’ दस–बाह्र दिन आफूले नजन्माएको छोराको घरमा बसेर अम्मा–अप्पा बैंग्लुरु फर्किएका थिए । ‘हामी त आयौं, अब तिमीहरूको पालो,’ उनीहरू करकर गरिरहन्थे । जाउँला भन्दाभन्दै मिलिरहेको थिएन । अम्मा–अप्पा अमेरिकाबाट फर्केपछि चाहिँ जसरी पनि जाने योजना बन्दै थियो । अप्पालाई हृदयाघात भइदियो ।

बैंग्लुरु

एयरपोर्टबाट मैले लिएको उबर बैंग्लुरु सहरका सडकहरू छिचोल्दै अम्मा–अप्पाको घर भएको ह्वाइटफिल्ड भन्ने इलाकातिर बढिरहेको थियो । म सोच्दै थिएँ, सम्बन्धहरू सधैं रगतले वा जन्मले मात्र बन्छन् भन्ने कहाँ हुँदोरहेछ र ? सोच्दै नसोचेको ठाउँमा, सोच्दै नसोचेको बेला रगतभन्दा बलियो र गाढा नाताहरू जोडिँदा रहेछन् । त्यसैको ज्वलन्त उदाहरण अम्मा–अप्पा हुन् । उबर फोयर इन्फिनिटी नामको अपार्टमेन्ट भवनको कम्पाउन्डभित्र छिरेर रोकियो । आफ्नो सुटकेश गुडाउँदै म भित्रतिर लागें । टावर बीको दोस्रो तल्लाको अपार्टमेन्ट २०५ मा अम्मा–अप्पा बस्छन्– मेरा दक्षिण भारतीय मातापिता ।

प्रकाशित : फाल्गुन २६, २०८० ०९:३७

साइकल पुराण

हामी दुवै जना बेस्मारी थाकिसकेका थियौं । शरीरमा बल नै बाँकी थिएन । सम्भवतः अक्सिजनको पनि कमी भएको हुनुपर्छ । स्याँस्याँ गरेर लामोलामो सास फेर्दै हामीले एकअर्कालाई हेर्‍यौं । दुवैको आँखामा मौन प्रश्न पौडी खेलिरहेको थियो, ‘के गर्ने ? परित्याग गरेर फर्कने वा निरन्तरता दिने प्रयत्न ?’ साइकलमा त्यो लङ टुर’

खुइय्य गर्दै सञ्जयले बिस्तारै भन्यो, ‘अब त सकिन्न होला । फर्किनु नै पर्ला कि ?’ उसले मेरो मनकै कुरा बोलेको थियो । म पनि त्यही भन्न चाहन्थें, तर आफ्नो मुखबाट पहिले किन त्यो निकाल्नु भनेर नबोली बसेको थिएँ । मैले हतारहतार उसको सुरमा सुर मिलाएँ, ‘लौ त नि । तँलाई साह्रै गाह्रो भएको भए फर्कौं ।’

यति पढ्दा तपाईंहरूलाई लागेको होला, सगरमाथै नभए पनि मेरापिकजस्ता कुनै सानोतिनो पहाड आरोहणको कुरा भइरहेको होला । होइन नि । आउनुस् अलि अगाडिबाट यसको भूमिका बाँधेर कुरा गरौं ।

...

७ कक्षा पढ्ने वर्षको अन्त्यतिर करिब दुई महिनाका लागि म आफ्नो कक्षाको हिरो थिएँ । त्यो बन्न कति मिहिनेत गर्नुपर्‍यो भन्ने मलाई मात्र थाहा छ । कक्षाको सबैभन्दा ख्याउटे, लुरे र पुड्के केटोलाई हिरो बन्न के के मात्र गर्नुपरेन होला ? खासमा भन्ने हो भने मलाई एकबाट दुई कक्षामा अनि तीनबाट चार कक्षामा जाने बेला फड्का मारिदिने स्कुल र ‘हुन्छ’ भन्ने मेरा बा–आमाका कारण मैले ठूलो दुःख पाएँ ।

किनभने मभन्दा नियमले कम्तीमा दुई वर्ष ठूलाहरूसँग मैले भिडन्त गर्नुपर्थ्यो । जीवनमा पछि गएर यो दुई वर्षको खासै अन्तर नभए पनि स्कुल पढ्ने बेला त्यसको ठूलो महत्त्व हुन्छ । आफूलाई अरू साथीबराबर प्रमाणित गर्न, त्यो झुन्डमा घुलमिल गर्न र उनीहरूको स्वीकारोक्ति पनि पाउन मैले कति उटुंग्याइँ र उपद्रोहरू गरें भन्ने कुराको कुनै लेखाजोखा नै छैन । सात कक्षामा मलाई हिरो बनाउने वस्तु पनि थियो– हिरो । हिरो साइकल ।

त्यतिबेला हामी कसैसँग पनि आफ्नै साइकल हुनु भनेको अहिले राजनीतिज्ञहरूसँग नैतिकता हुनु भनेको जस्तै दुर्लभ विषय थियो । हाम्रो घरनजिकै त्रिपुरेश्वरको मूल सडकमा बालीदाइको साइकल मर्मत पसल थियो । त्यहाँ तीन/चारवटा साइकलहरू भाडामा पनि पाइन्थेे । हिरो र एटलस कम्पनीका ती साइकलको भाडा घण्टाको दुई रुपैयाँ थियो । हामी भुराभुरीहरूले त्यहींको साइकल भाडामा लिईलिई चलाउन सिकेका थियौं । बेलाबेला तीन/चार जना साथीहरू मिलेर पेट काटेर जम्मा गरेको दुई रुपैयाँले हामी एक घण्टाका लागि साइकल भाडामा लिन्थ्यौं । घर नजिकको चौरमा यति राउन्ड, उति राउन्ड भन्दै भाग लगाएर चलाउँथ्यौं ।

त्यतिबेला भर्खरभर्खर भनेजस्तो उपत्यकामा नयाँ रिङरोड बनेको थियो र त्यो चर्चाको विषय थियो । मानिसहरूसँग अहिलेको जस्तो लामखुट्टे र झिँगासरह भटभटे हुँदैनथ्यो । भएका केही मानिसहरू त्यसमा रिङरोड परिक्रमा गरेर साथीभाइहरूसँग ठूलै पराक्रम गरेजसरी कुरा गर्ने गर्थे । हाम्रै पिताश्रीले पनि गुठी संस्थानको लीलामीमा किनेको एउटा थोत्रो भटभटेमा त्यो यात्रा गरेका थिए । त्यो भटभटे घरमा भन्दा बढी बागबजारतिरका बद्रीदाइ नाम गरेका मिस्त्रीको वर्कसपमा बस्थ्यो । पिताश्रीले बडो गर्वका साथ घरमा आएका साथीहरूसँग त्यसका बारेमा कुरा गरेका थिए, ‘मलाई त यसले बाटोमा धोका देला भन्ने पीर लागेको थियो । तर, धन्य कहीं पनि दुःख दिएन ।’

पिताश्रीको गौरवगाथा सुन्दासुन्दा मलाई पनि एक पटक रिङरोड घुम्न मन लाग्यो । तर, कसरी ? त्यो बाटोमा अहिलेजस्तो चक्रपथ परिक्रमा भन्ने सार्वजनिक यातायात थिएनन् । निजी सवारी भनेको त कसैकसैसँग मात्र हुन्थ्यो । मेरो दिमागमा बालीदाइका भाडाका साइकलहरू नाचे । साइकलमा चक्रपथ घुम्ने कल्पना नै रोमाञ्चक थियो । अनि पूर्वतयारीका रूपमा मैले निकै दिन लगाएर दुःखसुख गरेर पन्ध्र रुपैयाँ जोगाएँ । तीन घण्टामा त नाथे रिङरोड कसो नघुमिएला र ? बाटोमा थकान मार्न काम लाग्छ भनेर भान्साबाट उठाएको एउटा सिंगो कागती खल्तीमा हालें । अनि बालीदाइको पसलबाट हिरो साइकल लिएर सुरु भयो मेरो साहसिक यात्रा ।

तर, त्यो भाडामा लगाएर खटारा भइसकेको साइकलमा त्रिपुरेश्वरबाट कालीमाटी, सोल्टीमोड हुँदै रविभवनको उकालो पुग्दा नै मेरा नौनाडी गलिसकेका थिए । साइकलको चेन बेलाबेला फुस्कने । त्यो मिलाउँदामिलाउँदा हातै कालो भइसकेको थियो । त्यसको घण्टीबाहेक अरू सबै कुरा बज्थ्यो । ब्रेक रेलको जस्तो थियो । तीन सय मिटर पहिले नै अन्दाज गरेर थिच्न सक्यो भने मात्रै भनेको ठाउँमा रोकिने । अहिले जस्तो ट्राफिक नहुने भएकाले मात्र हो । नत्र त्यहाँसम्म पुग्दा च्यापुले माटो खाइसकेको हुन्थ्यो होला । तैपनि म जोस कायमै राखेर पाउदान चालिरहेको थिएँ । सगरमाथा चढ्दा तेन्जिङ शेर्पा कम थाकेका थिए होलान् र ? हिलारीले कम चुनौतीहरूका सामना गर्नुपर्‍यो होला ? त्यसो भनेर उनीहरूले बीचमा छोडेको भए आज उनीहरूको त्यत्रो नाम हुन्थ्यो ? त्यसैगरी आफूलाई अभिप्रेरित गर्दै म कलंकी चोक पुगें । अब दायाँ लाग्ने कि बायाँ, एकछिन दोमन भयो । अँ...कुरो एउटै त हो नि भन्दै म देब्रेतिर हान्निएँ ।

सुनसान बाटो, चारैतिर खेतैखेत अनि नयाँ बनेको रिङरोड । दुवै छेउमा रूखहरू । शीतल हावा चलिरहेको थियो । एकैछिन त सुसेलीमा गीतहरू पनि बजे । तर, बल्खुचोक पुग्ने बेलासम्म मलाई थाहा भइसकेको थियो, त्यो थोत्रो साइकलमा चक्रपथ परिक्रमा भनेको सोचेजस्तो सजिलो होइन । असम्भव कार्य हो । मैले आफ्नो आँखाले भ्याउन्जेल अजिंगरजसरी मडारिएर अगाडि लमतन्न परेर गएको चक्रपथलाई हेरेर खुइय्य लामो सास फेरें । अनि निराश भएर बल्खुबाट कालीमाटी हुँदै त्रिपुरेश्वरतिर बाँकटे हानें । मैले समयमै उचित निर्णय लिएको रहेछु किनभने नेसनल ट्रेडिङनिर आएपछि त साइकलको चेन पूरै छिनेर तुर्लुङ्ग झुन्डियो । म त्यसलाई सम्हालेर मरिमरि साइकल घिच्याउँदै त्रिपुरेश्वर पुगें । चक्रपथ घुम्न नसकेको एउटै राम्रो पक्ष भनेको चाहिँ डेढ घण्टा साइकल भाडाको पैसो बच्यो ।

तर मैले भनिहालें, आफूलाई हिरो बनाउनुपर्ने बाध्यता भएकाले पाएको मौकामा चौका हान्दै भोलिपल्ट स्कुलमा मैले दौंतरीहरूलाई आफूले पूरै रिङरोड साइकलमा घुमेको गफ लगाइदिएँ । ‘कति टाइम लाग्दो रहेछ ?’ कुनै एक साथीले आँखा चम्काउँदै सोध्यो । अब मलाई के थाहा र कति टाइम लाग्दो हो । ‘लाग्यो नि झन्डै दिनभरि जस्तो,’ मैले अर्को गफ थपिदिएँ । पिताश्रीले भटभटेमा घुम्दा सुनाएका कुराहरू र ठाउँका वर्णनहरू अझै ताजै थियो । त्यसैलाई मैले अझै सिंगारपटार गरेर फुलबुट्टा भरेर सुनाइदिएँ । त्यति हुनु के थियो, म साथीहरूको आँखामा हिरो भइहालें । ‘त्यति लामो नयाँ चक्रपथ साइकलमा घुम्ने मान्छे’ भनेर मेरो सानै बेग्लै भयो । तर, त्यो हिरोगिरी लामो समय चल्न पाएन । आठौं कक्षामा जाँदा मलाई अरू कसैले साइड हिरो बनाइदियो । त्यतिबेला हरेक शैक्षिक सत्रपछि मीनपचासको लामो बिदा हुने गर्थ्यो । अरू बेला हामीलाई त्यो बिदा नसकिए हुन्थ्यो जस्तो लागे पनि त्यो सालको बिदा चाहिँ कहिले सकिएला भनेजस्तो भइरहेको थियो ।

किनभने, अब हामी निम्न माध्यमिक तह सकिएर माध्यमिक तहको विद्यार्थी हुने भएका थियौं । अर्थात् ‘सिनियर लट ।’ व्यग्र प्रतीक्षापछि स्कुल खुल्ने दिन आयो । तर, पहिलो दिन नै हाम्रो कक्षाको एक जना साथी सञ्जयले एउटा यस्तो चिज लिएर स्कुल आयो, हामी त सबै ट्वाँ । सुकेको जंगलमा लागेको डढेलोजसरी स्कुलभरि हल्ला फैलियो । त्यो आगमन हेर्न नपाएका हाम्रा अरू साथीहरू कतिबेला दुई पिरियड सकिएपछि हुने पन्ध्र मिनेटको ब्रेकको पालो आउला र उसले ल्याएको वस्तु हेर्न जाउँला भनेर छटपटिएका थिए । नभन्दै ब्रेकको घण्टी बज्नासाथ सबै जना दस कक्षा जाने भर्‍याङको मुन्तिर गुटुटु कुदिहाले, जहाँ सञ्जयले त्यो मायावी जिनिसलाई सिक्रीले बाँधेर ठूलो ताल्चा मारेर राखेको थियो । ठेलम्ठेल गर्दै सबैले हेरिरहेको त्यो वस्तु थियो, एउटा साइकल । निम्न माध्यमिकबाट माध्यमिक कक्षामा पुगेको खुसियालीमा उसका पिताले उसलाई त्यो किनिदिएका रहेछन् ।

त्यतिबेला व्यक्तिगत साइकलको ठूलै रवाफ हुन्थ्यो । अलि हुनेखानेसँग राइले भन्ने कम्पनीको साइकल हुन्थ्यो भने उच्च मध्यम वर्गीयसँग एटलस, हर्क्युलस र हिरो भनिने साधारण साइकल हुन्थे । कसैकसैसँग फोनिक्स भन्ने चाइनिज साइकल पनि हुन्थ्यो । हुन त १० कक्षामा पढ्ने केही दाइहरू पनि साइकल चढेर स्कुल नआउने त होइनन्, तर सञ्जयको साइकलअघि ती सबै निस्तेज थिए । चिटिक्क परेको त्यो रातो रङको साइकल चमचम चम्किरहेको थियो । त्यसको ह्यान्डल अर्ना भैंसीको सिङजस्तो बटारिएको र तलतिर घुम्रिएको थियो । छरितो र पातलो जिउ भएको त्यो साइकल कुनै सौन्दर्य प्रतियोगितामा भाग लिन महिनौंदेखि खानपिनमा नियन्त्रण गरेकी सुन्दर मोडलसरह सर्लक्क परेको थियो । त्यस्तो अद्भुत आफ्नै साइकल आफैं चलाएर स्कुल आउने सञ्जय हाम्रा लागि रकफेलर वा टाटा बिरलाभन्दा के कम भयो र ! ऊ तुरुन्तै सबैको आँखामा हिरो भइहाल्यो । हामी सबै उसको साइकल हेरेर घुटुघुटु थुक निलिरहेका थियौं ।

‘बैंककबाट आएको यो बुझिस्, बैंकक,’ हामी लाइनमा उभिएकाहरूका अगाडि कालिया र शाम्भाहरूको अघि गब्बरसिंह हिँडेजसरी हिँड्दै सञ्जय सबैको आलो घाउमा नुनचुक दल्दै थियो, ‘यसलाई भन्छन् रेसिङ बाइक !’ अर्को कक्षाको घण्टी लाग्ने १० मिनेटसम्म सञ्जय आफ्नो साइकलको बखान गरिरह्यो, हामी आरिसले मरिरह्यौं ।

सञ्जय र उसको साइकलको चर्चा दिन प्रतिदिन झनै चुलिन थाल्यो । किनभने ऊ साइकलमा अनेक करतबहरू पनि देखाउन सक्ने हुँदै गयो । वेगमा कुदाउँदै ल्याएर, अचानक झ्याप्प ब्रेक हानेर, मरक्क ह्यान्डल घुमाउँदै, पछारियो–पछारियो भनेजसरी साइकल ढल्काएर, पछाडिको पाङ्ग्रा मात्रै अर्धचन्द्राकार घुमाएर, जताबाट आएको त्यतै साइकललाई फर्काएर स्वाट्ट रोक्ने कलामा ऊ पारङ्गत भएको थियो । हामी चढेको स्कुलको बस सँगसँगै साइकल कुदाउँदै ऊ फर्किन्थ्यो ।

कुपन्डोलको ओरालोमा कहिलेकाहीं ऊ हाम्रो बसलाई उछिनेर अघि जान्थ्यो र नागबेली चालमा साइकल चलाउँथ्यो । बेलाबेला दुवै हात उठाएर हावामा नचाउँथ्यो । कहिले पाउदानबाट खुट्टा अगाडि तन्क्याएर पछाडितिर लमतन्न ढल्केर देखाउँथ्यो । एक पटक उसले बस सँगसँगै साइकल चलाउँदा कसरी हो अगाडिको पाङ्ग्रा हावामा उठाएर झन्डै पचास फिटसम्म त्यत्तिकै साइकल चलाइदियो । बसभरिका केटी साथीहरूलेे थपडी बजाएर ‘वाह सञ्जय वाह’ भनेका बेला सबै केटाहरूको छातीमा कतिवटा एनाकोन्डा सलबलाए भन्ने कुरा के गर्नू र ! तर, बजिया उनीहरूको आँखामा हिरो भइसकेको थियो । ऊ र उसको साइकलको कुरामा अलि सहज हुन लाग्यो कि ऊ केही न केही नयाँ कुरा गरिहाल्थ्यो । ८ कक्षा सकिने बेलासम्म पनि त्यो क्रम चली नै रह्यो ।

एक दिन सञ्जयका तर्फबाट अप्रत्याशित रूपमा मलाई एउटा प्रस्ताव आयो, ‘ए बर्जिशे.......भोलि हाफ टाइममा स्कुलबाट टाप ठोक्छस् ? तँ र म मेरो साइकलमा गोदावरी घुम्न जाऊँ ।’ केहीबेर त मेरो वाक्यै फुटेन । त्यो प्रस्ताव मलाई नै किन भन्ने थाहा भएन । किनभने म त कक्षाको सोझासाझा गौप्राणीमा गनिन्थें । किन र के कारण त्यत्रा साथीबीचबाट आफ्नो सारथि बन्न उसले मलाई छानेको थियो होला ? मेरो मनको भाव बुझेझैं उसैले थप्यो, ‘जे भए पनि हेर्, तँ साइकलमा ‘लङ टुर’ गरिसक्या मान्छे, अनुभवी छस् । दुई भाइ पालैपालो चलाउँला । के भन्छस् ?’

म अब उसलाई आफूले चक्रपथ परिक्रमा गरेको होइन भनेर भन्न पनि त सक्दैनथें । फेरि उसले कसैलाई छुन पनि नदिएको त्यो सानदार साइकल चलाउन पाउने अवसर मलाई खेर जान दिने मन थिएन । हुन त त्यति बेलासम्म मेरो एक पटक पनि स्कुलबाट भागेको रेकर्ड थिएन । तर, कुनै पनि कुरा कुनै न कुनै बेला पहिलो पटक नै हुन्छ भन्ने सोच्दै मैले सहमति जनाएँ ।

नभन्दै भोलिपल्ट हाफ टाइममा हामी दुई भाइ लुसुक्क स्कुलबाट भाग्यौं । हाम्रो स्कुलबाट भाग्न त्यति सिजलो थिएन र त्यसका लागि हामीले कति तिगडम लगायौं भन्ने कुरा कुनै दिन अर्कै संस्मरण बन्न सक्छ । हामी मानभवनको पछाडिका गल्लीहरूबाट लगनखेल हुँदै सातदोबाटोतिर हान्नियौं । सञ्जय साइकल चलाइरहेको थियो, म अगाडि पातलो डन्डीमा पुठ्ठो अड्याएर बसेको थिएँ । ह्यान्डल घुम्रिएको साइकल घोप्टो परेर चलाउनुपर्ने हुनाले म पनि घोप्टो नै पर्नुपर्थ्यो । एकैछिन रमाइलो भए पनि अलिबेरमा त जिउ नै कक्रक्क पर्न थालिहाल्यो । त्यसमाथि खाल्टाखुल्टीमा साइकल पर्दा त पिताश्रीको शुभविवाह नै देखिन्थ्यो । सातदोबाटोबाट गोदावरीतिर जाने बाटो लागेपछि सञ्जयले साइकल रोक्दै भन्यो, ‘ल अब तँ चला ।’ त्यो सुन्नासाथ मेरा सारा दुखाइ हराए ।

उसलाई अगाडि राखेर म त्यो साइकल चलाउन थालें । कहाँ बालीदाइको भाडाको साइकल, कहाँ सञ्जयको साइकल ! त्यसको कुनै तुलना नै हुन सक्दैनथ्यो । मख्खनजसरी सललल् बग्थ्यो त्यो साइकल । जहाँ ब्रेक लगायो, त्यहीं रोकिन्थ्यो । त्यसको घण्टी पनि तारादेवीको स्वरजस्तो मिठो थियो । हामी पालैपालो साइकल चलाउँदै गयौं । उकालो आयो भने घिच्याउने काम चाहिँ मेरो थियो । मलाई त्यसमा पनि कुनै गुनासो थिएन । बाटोमा आक्कलझुक्कल भेटिने मानिसहरू हामीलाई फर्कीफर्की हेर्थे । तर समस्या चाहिँ के भने, जति गए पनि गोदावरी आउँदै आएन । मध्याह्नको चर्को घाममा हामी असिनपसिन भइसकेका थियौं । बाटो भने उकालोपछि फेरि उकालो मात्रै । भोक र प्यासले आँत पनि सुकिसकेको थियो । बाटोमा कसैलाई कति बाँकी छ भनेर सोध्यो भने दुइटा उत्तर आउँथ्यो, ‘अब आउनै लाग्यो ।’ अथवा, ‘बाँकी छ धेरै ।’ कसको कुरा पत्याउने भन्ने पनि थाहा भएन । एउटा अर्को ठाडो उकालोको मुखसम्म जसरी भए पनि पुगेपछि हामी दुवै रोकियौं ।

हामी दुवैजना बेस्मारी थाकिसकेका थियौं । शरीरमा बल नै बाँकी थिएन । सम्भवतः अक्सिजनको पनि कमी भएको हुनुपर्छ । स्याँस्याँ गरेर लामोलामो सास फेर्दै हामीले एकअर्कालाई हेर्‍यौं । दुवैको आँखामा मौन प्रश्न, ‘के गर्ने ? परित्याग गरेर फर्कने वा निरन्तरता दिने प्रयत्न ?’

खुइय्य गर्दै सञ्जयले बिस्तारै भन्यो, ‘अब सकिन्न होला । फर्किनु नै पर्ला कि ?’ उसले मेरो मनकै कुरा बोलेको थियो । म पनि त्यही भन्न चाहन्थें, तर आफ्नो मुखबाट पहिले किन त्यो निकाल्नु भनेर नबोली बसेको थिएँ । मैले हतारहतार उसको सुरमा सुर मिलाएँ, ‘लौ त नि । तँलाई साह्रै गाह्रो भएको भए फर्कौं ।’

हाम्रो आँखा पारिपट्टि बाटोछेउमा एउटा पुरानो घरमा पर्‍यो । साधारण चिया–बिस्कुट पाइने ‘हुटेल’ थियो त्यो । बाहिर बेन्चीमा बसेर केही मानिस चिया सुर्क्याइरहेका थिए । केही नखाई फर्कन पनि गाह्रो हुन्छ भन्ने हामीलाई थाहा थियो । सञ्जयले मलाई सोध्यो, ‘तँसँग कति पैसा छ ?’ मैले खल्ती टकटक्याएर पाँच रुपैयाँ निकालें । उसले बीस रुपैयाँ निकाल्यो । हामीले त्यति पैसामा तीन पाउन्ड पाउरोटी र अठार कप चिया बुत्यायौं । त्यति मिठो चिया–पाउरोटी मैले आजसम्म कतै खाएको छैन भने हुन्छ । भन्छन् नि, भोक मिठो कि भोजन ?

पेट अघाएर ओरालै ओरालो सररररररर फर्किंदा सञ्जयले मलिन स्वरमा भन्यो, ‘भोलि साथीहरूलाई चाहिँ गोदावरी पुग्न सकिएन भन्ने होइन नि, बेइज्जत हुन्छ ।’ म मनमनै हाँसे, यो कुराको त म पुरानो चोर थिएँ । प्रकटमा गमक्क पर्दै भनें, ‘तँलाई नै गाह्रो भयो । नत्र म त चक्रपथ हानिसक्या मान्छे हो ।’

सञ्जय मौन भयो । भनिरहनु नपर्ला, भोलिपल्ट स्कुलमा साथीहरूको बीचमा फेरि सञ्जय र म हिरो भयौं ।

...

निकै समय बित्यो । कलेज पढ्न थालेपछि आफैं भटभटे चलाउन जान्ने भइयो । एकदिन केही साथीहरूसँग भटभटेमा गोदावरी घुम्न जाने योजना बन्यो । तीनवटा भटभटेमा पाँचजना साथीहरू गोदावरी जाने बेला म स्कुलको त्यो पुरानो यात्रा सम्झिरहेको थिएँ । बाटो धेरै फरक भइसकेका, नयाँ घरहरू बनिसकेका ! तैपनि पुराना केही घरहरू यथावत् रहेछन् । हामीले यात्रा परित्याग गरेको उकालोछेउ पुरानो ‘हुटेल’ अझै रहेछ ।

अनि त्यो ‘हुटेल’ को ठ्याक्कै एक मोड अगाडि गोदावरी रहेछ ।

पुष ७, २०८० कान्तिपुर कोसेलीमा प्रकाशित

Sunday, February 25, 2024

जलदेवता शरणं

 केही दिन अघिको कुरा हो। रात चकमन्न थियो। भूतले खाजा खाने बेला भएको थियो। संसद्कोे अधिवेशन चलिरहेको बेला सांसदज्यूहरू दिउँसै निदाए जसरी मानिसहरू निन्द्रादेवीको अँगालोमा फ्वाँफ्वाँ भइरहेका थिए। अचानक फाफुराको निन्द्रा खल्बलियो। अर्ध निन्द्रामा फाफुराले चाल पायो, फाफुरी उसकोे नौनीजस्तो मुलायम कुहिनाको हाडको चुच्चोले फाफुराका करङहरूमा जलतरंग बजाउँदै रहिछ। फाफुराको निन्द्रा खुलेको थाहा पाएर उसले मोहक स्वरमा साउती गरी, “उठ फाफुरा, पति हुनुको दायित्व पूरा गर।”

फाफुरा उसको आदेश पालना गर्न जर्‍याकजुरुक उठ्यो। अचेल हप्ताको दुई पटक रातिको साढे १२ बजे र एक पटक बिहान ब्रम्हमूहूर्तमा फाफुरीले फाफुरालाई यसैगरी पति हुनुको दायित्व पूरा गर्नका लागि उठाएरै छोड्छे। चाहे जुनसुकै बेला निदाएको होस्, जतिसुकै मिठो निन्द्रामा किन नहोस्, फाफुराले पति हुनुको दायित्व पूरा गर्नका लागि नउठी सुख्खै पाउँदैन। त्यति गरेन भने फाफुरालाई पनि मुगुतिर पठाइदिन्छु भनेर उसले उर्दी जारी गरिसकेकी छे। अब तपाईंहरूको मगजले पक्कै केही खुराफाती कुरा नै सोचेको होला, त्यसैले त आँखा सन्काउँदै तपाईंहरू फाफुरालाई प्रश्न गर्न तयार हुनुभएकोे छ, “आधा रातमा यसरी कुन दायित्व पूरा गर्न तँलाई उठाउँछे हँ फाफुरा?”

गणतन्त्र आएपछि आममानिसको जीवन सहज हुन्छ, देशको कुनाकुनामा सम्वृद्धिको सूर्योदय हुन्छ भन्ने तपाईं–हाम्रो आशामा हिमालको चिसो पानी खन्याए जसरी तपाईंहरूको आशामा पानी खन्याउँदै फाफुरा भन्न चाहन्छ– मोटर चलाउनू, पानी तान्ने प्रयास गर्नू। किनभने हप्ताको दुई दिन राति साढे १२ बजेदेखि र एक पटक बिहान ४ बजेदेखि केही समयका लागि खानेपानी संस्थानले हाम्रो टोलको धाराको लाइनमा पानी छोडिदिने दिन हो। बेला न कुबेला यसरी आउने भनेर यातना दिने पानीका लागि एकैजनाले निन्द्रा खराब गर्न सकिन्न भनेर फाफुरा र फाफुरीले महिनैपिच्छे पालैपालो उठ्ने प्रजातान्त्रिक तालिका बनाएका छन्। त्यसैले त्यो पानी मोटर लगाएर तान्ने पतिको दायित्व पूरा गर्न फाफुरा उठ्ने गर्छ।

अब हेर्नुस्, जलस्रोतको धनी यो देशमा धाराको पानी ‘छोडेको’ बेलामा पनि त्यसलाई मोटर लगाएर नतानिकन पाइपबाट टंकीसम्म पानी आउँदैन भन्ने त तपाईंहरूलाई थाहै होला। हुन त ‘पानी आउने दिन’ भन्नुभन्दा ‘पानी आउने सम्भावना भएको दिन’ अथवा ‘पानी आउने भनिएको दिन’ भन्नु बढी उपयुक्त हुन्छ। किनभने योे मुलुकमा सरकार कति समय टिक्छ, कुन चाहिँ सचिव कुन चाहिँ भ्रष्टाचारको कुरामा कति बेला खोरमा जाकिन्छ भन्ने कुराजस्तै पानी पनि भनेको बेला, भनेको दिन आउँछ भन्ने निश्चित हुन्न। तर पनि ‘तिमी आउँछ्यौ भन्ने आशैआशमा’ भन्ने गीत कन्दै रात बिरात मोटर चलाउन फाफुरा उठ्नै पर्छ। तर संसारमा तीन वटा कुरा कुन बेला आउँछ भन्ने कसैले भन्न सक्दैन। भुईंचालो, मानिसको काल र धारामा पानी। 

भोलि विज्ञानले प्रगति गरेर भुइँचालो र काल ठ्याक्कै कुन बेला आउँछ भन्न सकिएला तर पानी कुन बेला आउँछ भन्ने कसैको बाउबाजेले भन्न सक्दैन। साढे १२ बजे आउने भनिएको पानी कहिले १० बजे नै आउन थालेको हुन्छ, कहिले १ बजेबाट आउन थाल्छ, कहिले २ बजे आउँछ भने कहिले आउँदै–आउँदैन। फेरि हप्ताको दुई दिन भने पनि ठ्याक्कै त्यही दुई दिन भन्ने हुँदैन। कहिले पानी आएको तीन दिनपछि चौँथो दिनमा, कहिले दुई दिनपछि तेस्रो दिनमा त कहिले पाँच दिनपछि छैठौँ दिनमा फेरि पानी आउन सक्छ। अथवा एक हप्ता पूरै नआउन पनि सक्छ। 

धाराको पाइपमा पानी नभनेको बेला आउने र भनेको बेला नआउने किन हुन्छ भन्ने कुराको पछाडि ठूलो रहस्य हुँदोरहेछ जुन फाफुराले निकै हण्डर खाएर पत्ता लगाएको छ। पानीको कुरा सोच्दासोच्दा २४ घण्टा नै छरछिमेकीमा कसैले मोेटर चलाएको हो कि भनेजस्तो आवाज फाफुराको कानमा आउन थालिसकेको छ। केही महिनाअघि फाफुरीले पनि कानमा त्यस्तै आवाज आइरह्यो भनेर गुनासो गरेपछि तीन जना डाक्टरलाई देखाएको कुरा फाफुराले सम्झियो। पहिलोले टन्सिलको, दोस्रोले माइग्रेनको र तेस्रोले यो डिप्रेसनको लक्षण हो भनेर मनोचिकित्सक कहाँ जान सुझाएको थियो। तर पानी तान्न उठ्ने पालो सकिएपछि फाफुरीको त्यो समस्या बन्द भएर आफ्नो शुरू भएपछि फाफुरालाई कारण थाहा भयो। 

अघिल्लो हप्ता पनि तोकिएको कुनै रात कुनै समय पानी आएन। नभनेको अरू रात पनि कुनै छिमेकीको मोटर चलेको जस्तो तर्कनाले बीचबीचमा ब्युँझँदै फाफुरा तल झरेर मोटर चलाउन गइरह्यो। तर पानी त आर्थिक सम्वृद्धि, विकास, पूर्वाधार निर्माण वा १२ कक्षा सकेर पढ्न बाहिर गएका विद्यार्थीजस्तो भयो– ज्यान गए नआउने। यही ताल हो भने कुन दिन फाफुरा ‘पानी बहुला’ भएछ र हातमा कतारोे लिएर ‘पानी आयोे...’ भन्दै टोेलमा नांगैै कुदिरहेको देख्नुभयोे भने पनि अचम्म नमान्नुहोला।

यस हप्ता पनि पानी आएन भने घरमा खाना पाक्दैन, लुगा सफा हुँदैन, शौचालय गन्हाउन सक्छ भनेर फाफुरीले बेलैमा सचेत बनाइसकेकी थिई। त्यसैले त्यस रात त पानी आओस् भनेर पशुपतिनाथ गुहार्दै फाफुरा तल मोटर राखेको ठाउँतिर गयो। मोटर चलाएपछि पनि ढुक्क भएर बस्न कहाँ पाइन्छ र! पानी आएको बेलामा पनि मूत्रनलीमा दीर्घ विकार भएको पिसाबको रोगीले लघुशंका गरे जसरी तुरुक्क आउँदै लुरुक्क लुक्दै, फेरि तुरुक्क आउँदै र तप् तप् गर्दै पाइपबाट झर्ने गर्छ। त्यो हिसाबले त बरु कुनै दिन मेलम्ची आयोजन पूर्ण होला तर ८–१० हजार लिटरको भूमिगत टंकी पूरै भरिँदैन भन्ने फाफुरालाई थाहा छ। 

यसो १००–५० लिटर पानी खसेछ भने पनि कान्छा भनेर सम्बोधन गरिएका रुद्रमणिले अरुणा लामाका लागि आकाशबाट सुनको तारा खसाइदिए बराबर मान्नुपर्छ। फाफुरा त्यस दिन पनि मोटर चलाएर पानीको टंकीको ढक्कन खोलेर पानी झरे नझरेको हेर्न थाल्यो। तर पटकपटक संसद्कोे अधिवेशन जसरी मोटर चलाउँदै र बन्द गर्दै गर्दा पनि जसरी जति संसद् चले पनि अर्थहीन हुन्छ, मोटर चलेको पनि अर्थहीनै भयो। न त्यता केही ठोस कुरा आउँछ, न यता कुनै तरल कुरा आयो। उताजस्तै फुस्सफुस्स हावा मात्रै आइरह्यो। त्यस दिनकोे निन्द्रा पनि फोकटमा खराब भयो भनेर विरक्त मान्दै फाफुराको मुखबाट निस्क्यो, “हे भगवान।”

कुन बेला कसैले बोलाउला भनेर जलदेवता पानीको ट्यांकीमा ढुकेर बसेका रहेछन् क्यार। हातमा तीन वटा बञ्चरोे बोकेर प्रकट भइहाले; सुन, चाँदी र फलामको। ङिच्च हाँस्दै जलदेवताले भने, “ल भन् बालक, यी तीनमा तेरो बञ्चरो कुन हो?” 

पानी नआएर पारा तातिरहेको फाफुराले जलदेवतालाई खाउँला जसरी हेरेर भन्यो, “संसार कहाँबाट कहाँ पुगिसक्यो। तपाईं अझै उही दन्त्यकथाको युगमा हुनुहुन्छ। के जहिले पनि कुनै दाउरेले बञ्चरो हराएर मात्रै तपाईंलाई गुहार्छ?”

फाफुराको रौद्ररूप देखेर जलदेवता एकछिन झस्किए, अनि मीठो स्वरमा सोधे, “त्यसो भए तिमीले यो रातको बेला मलाई किन सम्झिएका हौ त फाफुरा? भन म तिम्रा लागि के गर्न सक्छु?”

कांग्रेसको साधारण सदस्यको अगाडि प्रकट भएर देउवाले के माग्छस् भन्दा उसको जस्तो गति हुन्छ, देउताले प्रकट भएर सोद्धा फाफुरा त्यति नै पुलकित भयो। पानीको संकट टर्ने भयो भनेर ऊ द‌ंग पर्‍योे। उसले हात जोडेर भन्यो, “प्रभु यो सरकारले यसै पनि पञ्चामृत जसरी पानी बाँड्छ। त्यो पनि भनेको बेला र भनेको समयमा आउँदैन। हुनेखानेले त ट्यांकरको पानी मगाउँछन्। तर फाफुराजस्तो श्रमजीविले त २२–२५ सय रुप्याँ पर्ने ट्यांकरको पानी किनेर चलाउन सक्दैन। लौन जनि गरेर पानी आउने दिन र समयको सही जानकारी दिनुपर्‍यो प्रभु।”

जलदेवताले खुइय्य गर्दै लामो सास फेरेर ओठ लेप्य्राए। अनि आफ्नो शिर दायाँबायाँ हल्लाउँदै रुन्चे स्वरमा भने, “यो त मैले पनि ठ्याक्कै यसो हो भनेर भन्न सक्दिनँ फाफुरा।”

जलदेवताले समेत त्यसो भनेपछि फाफुराको रहे–सहेको आश पनि मर्‍यो। उसले सोध्यो, “तपाईं जलदेवतालाई नै थाहा नभए कसलाई थाहा हुन्छ त भगवान?”

जलदेवताले भने, “यो कुरा चाचालाई मात्रै थाहा हुन्छ। उनैले मात्र भन्न सक्छन्।”

चाचा! जलदेवताको पनि चाचा को रहेछ? उसले सोध्यो, “तपाईंको चाचाको नाम चाहिँ के भगवान हो? कहाँ भेटिनुहुन्छ उहाँ? जनि गरेर त्यति पनि बताइदिनु भए हुन्थ्यो।”

जलदेवताले हाँस्दै भने, “तिमीले कुरा बुझेनौ फाफुरा। उनी मेरा चाचा होइनन्। उनी नेपाल जगत्का चाचा हुन्। चाचा भनेको खानेपानी संस्थानको एक कर्मचारीका प्रजाति हुन्। चाचा, अर्थात् चाबी चालक। कुन ठाउँमा कुन बेला र कसरी पानी पठाउने वा नपठाउने भन्ने कुरा उनीहरूकै हातमा हुन्छ। तसर्थ तिमीले आफ्नो एरियाका चाचालाई भेटेर, उनलाई के चढाएर कसरी हुन्छ प्रसन्न बनाएपछि एउटा खुफिया समूहको सदस्यता पाउनेछौ। तिमी खुफिया समूहको सदस्य नहुन्जेल तिम्रा पितृका सात पुस्ताले पनि कुन बेला पानी आउँछ भनेर भन्न सक्दैनन्। खुफिया समूहको सदस्य भइसकेपछि मात्र तिमीलाई ह्वाट्सएप् वा भाइबरको एउटा समूहमार्फत कुन दिन र कुन बेला पानी आउँछ भन्ने जानकारी प्राप्त हुनेछ। अरूले थाहा पाएर फोकटमा तान्लान् भनेर दिन र समय फरकफरक हुने गर्छ। खानेपानी संस्थानले औपचारिक रूपमा निष्काशन गरेको तालिका हात्तीको देखाउने दाँत मात्र हो। तिमीजस्ता मूर्खहरू त्यसको आधारमा निन्द्रा खराब गरीगरी पानी आउला भन्ने आशमा बिरामी पर्छौ। अब कुरा बुझेको हो फाफुरा?”

“यो त गैरकानूनी काम भएन र जलदेवता? आम नागरिकले खानेपानी संस्थानलाई पानीको लागि शुल्क तिरिसकेपछि त भनेको समयमा पानी पाउनुपर्ने होइन र?”

“तिमी नेपालमा बसेर के कानूनी, के गैैरकानूनी, के नियमानुसार हुनुपर्ने र के नहुनुपर्ने भन्ने कुरा गर्दैछौ फाफुरा? यहाँ कुन कुरामा नीति नियम र कानूनअनुसार काम भएको छ र तिमी मेरो पोर्टफोलियोवाला पानीमा मात्र समस्या देख्छौ? हो जसरी पहिले बिजुलीको कृत्रिम अभाव सिर्जना गरेर इन्भर्टर र ब्याट्री व्यवसायीसँग मिलेमतोेमा केही मानिसहरूले कुर्कुस्त कमाए, उद्योेगपतिहरूलाई छुट्टै फिडरबाट बत्ती पोसेर १८–१८ घण्टा तिमीहरूलाई अँध्यारोमा राखे, त्यसै गरी पानीमा पनि कृत्रिम अभाव सिर्जना गरेर ट्यांकर तथा मिनरल भनिने जार तथा बोतलका पानीवालाहरूसँग मिलेर यो शहरलाई काकाकुल बनाइरहेका छन्। तिमी विचार गर त, ठूला कलकारखाना, होटल, रेष्टुराँ, गाडी सर्भिसिङ वालाहरूका लागि चाचाहरूलाई मासिक हजार–पन्ध्र सय रुपियाँ चढाउनु कुन ठूलो कुरा भयो! झन् तिम्रो घर वरिपरि कुनै ठूला हाउजिङहरू छन् भने त तिमीले बुझिहाल, मोटो पाइप जोडेर त्यहाँ पानी लगिएको हुन्छ। अनि अरूले थाहा पाउने समयबाहेकका समयमा त्यहाँ पानी छाडिएको हुन्छ। तिमीहरूजस्ता कीराफट्याङ्ग्राहरूको घरतिर मसिनो पाइपमा कहाँबाट कति पानी जान्छ आफैँ सोच। तिम्रा वरिपरिका टाठाबाठा घरेलु प्रयोगवालाहरूले पनि ट्यांकरलाई २२ सय रुप्याँ तिर्नूभन्दा चाचालाई चारपाँच सय रुप्याँ बुझाउनु फाइदाजनक भयो कि भएन त?”

जलदेवताको कुरा सुनेर फाफुराको तेस्रो आँखा खुल्ने र सातैवटा चक्र जागृत हुने एकैपटक भैहाल्यो। उसले भन्यो, “ओहो, भनेसि त यी चाचा भन्ने कर्मचारी त मालामालै होलान् नि हैन र?”

जलदेवताले भने, “तिम्रो कुरा सही हो। चाचाहरूलाई आफ्नो तलब त भुसुना बराबर। तर तिमीले चाचालाई चढाएको दक्षिणा सबै उसैले मात्र कहाँ खान पाउँछ र? त्यसको भाग माथि कहाँकहाँसम्म बाँडिन्छ तिमी सोच्न पनि सक्दैनौ। हेर फाफुरा, मेरै आँखाअघि यो सब भइरहेको छ। तर के गर्नु! कलियुग भएको हुनाले मैले पनि टुलुटुलु हेरिरहने बाहेक अरू केही उपाय छैन। त्यसैले मैले तिमीलाई दिनसक्ने सल्लाह यही हो। तिम्रो इलाकाको चाचा कोहो पत्ता लगाऊ र उसैैको शरणमा जाऊ। तिम्रा सारा दुःख उनैले हर्नेछन्। योभन्दा बढी म पनि तिमीलाई सहयोग गर्न सक्दिनँ।”

यति भन्दै सोझासाझा जनताको बचत बटुलेका सहकारी सञ्चालक सरह जलदेवता अलप हुँदा भए। 

फाफुराले यही कुराको नालीबेली फाफुरीलाई सुनायो। उसले सोधी, “चाचालाई खोज्न कहिले जाने त?” फाफुराले प्वाक्क भन्यो, “भतिजा।”

फाफुरी वाल्ल परी। फाफुराले हाँस्दै अर्थ्यायो, “भतिजा भनेको भरे तिर जाउँला।”

अनि त्यसपछि फाफुराको मिशन शुरू भयो– चाचाको खोजी। कोलम्बसलाई भारत खोज्ने भनेर अमेरिका पुग्न जति गाह्रो भएथ्यो होला, चाचा खोज्न फाफुरालाई त्योभन्दा बढी गाह्रो भयो। बीचमा त उसले हार मानेर मिशन परित्यागै गर्न लागेको थियो। तर त्यति जाबो पत्ता लगाएर सेटिङ गर्न पनि नसक्ने हुतिहारा भनेर फाफुरीले फाफुराभित्रको पुरुषलाई नै चुनौती दिन थालिसकेकी थिई। 

बल्लबल्ल पाँचसात जनाको पछि लागेर फकाइफुल्याइ गरेर एउटा किराना पसलको साहुजीका माध्यमबाट फाफुरालाई चाचाको फोन नम्बर प्राप्त भयो। त्यसमा सम्पर्क गर्ने चार दिनको अथक प्रयासपछि बल्लबल्ल चाचाले फोन उठाए र भेट्नका लागि भोलिपल्टको एउटा ठाउँ तोकेर समय दिए। उनले बोलाएको ठाउँ भनेको मूल सडकमा उनले चाबी घुमाउने प्वाल भएको ठाउँ थियो। फाफुरा त्यहाँ पुग्दा उनी फलामको एउटा लामो लौरो सडकको प्वालमा घुसारेर घुमाउँदै थिए। आजको २१औँ शताब्दी र आर्टिफिसियल इन्टेलिजेन्सको युगमा पानी वितरण र नियन्त्रण गर्ने त्यो अत्याधुनिक र वैज्ञानिक प्रविधि देखेर फाफुरा चमत्कृत भयो। एक पटक यस देशको नागरिक भएकोमा गर्वले फुलेर उसको ढुक्कुरे छाती २८ बाट ३० इन्चीको भयो। 

नासालाई मात खुवाउने प्रविधिबाट कतैको पानी बन्द गरिसकेपछि चाचाले राणा शासनको बेला जुद्धशमशेरले र अहिले दाइभाउजूले आफ्नो द्वारमा माथा टेक्न आएको ‘फरियादी’लाई हेरे जसरी फाफुरालाई हेर्दै भने, “ल भन्नुस् के भयो?”

फाफुराले पनि पाएको मौकामा तारानाथ स्टाइलमा रटटटटटट धारामा पानी नआएर साह्रै दुःख पाएको गुनासो चाचाको पाउमा पोखिहाल्यो। साथै आफ्नो घर भएको सडकको व्यहोरा पनि। चाचाले दयालु आँखाले फाफुरालाई हेरे, एकछिन गम खाए, दुई पटक जति हुम्...हुम् गर्ने वाणी कण्ठबाट निकाले। फाफुरा तपस्या सफल भएपछि प्रकट भएका महादेव भगवानले कुन बेला तथास्तु भन्लान् भने जसरी प्रतीक्षा गरिरह्यो। 

केही बेर सोचेर ठूलै उपकार गरे जसरी चाचाले भने, “ल ठीक छ। मैले बुझेँ। तालिकाअनुसार त त्यो एरियामा हिसाबले भोलि बिहान ४ बजे पानी आउनुपर्ने हो। तर म त्यो टाइममा खोल्दिनँ। आजै राति ११ बजे खोलिदिन्छु। तपाईं त्यो बेलामा चेक गरेर हेर्नुस्। मजाले पानी तान्नुस्। बाँकी कुरा त्यसपछि गरौँला।”

नभन्दै त्यस रात ११ बजे तालिकामा नभएको बेला फाफुराको मोटरले पानी तान्यो। लगभग तीन घण्टासम्मै मजाले पानी आयो। पानी आउन बन्द भएको एकै छिनमा चाचाको फोन पनि आयो। फाफुराले चाचालाई आभार प्रकट गर्‍यो र फेरि पानी आउने कहिले र कसरी थाहा हुन्छ भन्ने जिज्ञासा प्रकट गर्‍यो। चाचाले भने, “जहाँबाट तपाईंले मेरो नम्बर पाउनुभएको हो, त्यही पसलमा जानुस्। बाँकी कुरा तिनै साहुजीले गर्नेछन्।”

ती साहुजी चाचाका ‘बुकिङ तथा कलेक्सन एजेन्ट’ रहेछन् भन्ने कुरा फाफुरालाई थाहा भइहाल्यो। त्यहाँ गएर चाचाको मासिक सेवा शुल्क बुझाएपछि आफूलाई पनि खुफिया समूहको सदस्यता प्राप्त हुने अनि कुन बेला पानी आउने हो– भाइबरमा खबर आउने हुन्छ भन्ने पनि उसले बुझिहाल्यो। यसरी अन्ततोगत्वा सरकारले खटाइखटाइ दिने धाराको पानीजस्तो साधारण कुरा पनि सहज रूपमा प्राप्त गर्नका लागि लडाउनुपर्ने तिगडम र गर्नुपर्ने जुगाडबारे ढिलै भए पनि पत्ता लगाएरै छोडेकोमा फाफुराले आफ्नो ढाडमा आफैँलाई धाप मार्दै भन्यो, “जय होस् तँ बज्याको।”

अनि त्यसकोे साथै आफू यति महान देशको यति महान नागरिक भएकोमा नाकको छाला खुइलिने गरी आफैँले आफूलाई लोप्पा खुवाउँदै फाफुराले घोक्रो स्वरमा नेपाली हुनुको मूलमन्त्र र गौरवगाथा गायो, “म त झिल्के यस्सै राम्रो–यस्सै राम्रो, उस्सै राम्रो नेपाली हुनाले।”