Translate

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Saturday, April 22, 2017

सरकार

वैशाख ९, २०७४- कान्तिपुर कोसेलीमा प्रकाशित 

उसलाई लाज लाग्दैन, ऊ त सरकार हो
सरकारलाई न घामले पोल्छ,
न पानीले नै भिज्छ ऊ
उसलाई दु:ख लाग्दैन, ऊ सरकार हो
कहाँ लाग्छ र सरकारलाई अन्नको भोक
खानुपर्दैन उसलाई अरुलाई जसरी
चिन्ता हुँदैन उसलाई हातमुख जोर्ने
तै पनि खै कसरी हो कुन्नि
हर बिहान हाम्रो अघि, वरिपरि, चारैतिर
थुप्र्‍याउँछ ऊ थुप्रोथुप्रो विष्टाहरु
चपाइएका छन् जसको लागि, हाम्रा सपना, भविष्य र वर्तमान

सरकार, हामीलाई भूतका कुराहरु सुनाउँछ–चेताउँछ
भविष्यका भयावह परिणामको गर्छ सदृश्य वर्णन–तर्साउँछ
कहिलेकाहीं मृगमरीचिकाजस्तै सुन्दर सपनाहरु देखाउँछ,
कुदाउँछ हामीलाई शीतल भ्रम देखाएर
तबसम्म, जबसम्म
फत्रक्क भएर गोडा हामी, बालुवाको थुप्रोमा पछारिन्नौं
अनि हाम्रो निस्प्राण शरीरमा सरकार झण्डा ओढाउँछ,
कहिले कुनै दलको, कहिले चन्द्रसूर्यको
सरकार गोही हो, सिकार निल्ने बेला ऊ चुहाउँछ
दुई थोपा नुनिलो आँशु

उसका लागि हामी मात्र बूढीऔंला हौं
जसको नङमा बेला–बेला दलिनु पर्छ कालो,
जुन सर्छ हाम्रो निधारमा, पसीना पुछेको बेला
बग्छ पसीनास‍ंगै हाम्रो नाकमा
अनि ढाक्छ हाम्रो भविष्य
हामी फगत मुठ्ठी हौं,
उसलाई साकार बनाउनका लागि कस्सिनुपर्छ
ऊ बन्नका लागि हामी इँटाका टुक्रा भै फुटेर
यताबाट उता हुर्‍याइनुपर्छ
थोत्रा टायरहरु हौं हामी, उसका लागि बेला–बेला बल्नुपर्छ
उसको आँखा पीरो हुँदैन, सरकारको त आँखै हुँदैन
कहाँ निस्सासिन्छ र उसको सास, सरकारको त प्राणै हुँदैन

ऊ हामीलाई उडाउँछ धूलो बनाएर, नारा बनाएर घन्काउँछ
मतपत्र बनाएर छाप्छ ऊ हामीलाई, कुच्च्याएर बाकसमा कोच्छ
फेरि सम्याएर हामीलाई गन्छ
ऊ जित्छ हाम्रा हारहरुमा कुल्चेर, अनि गलामा भिर्छ हार नै बनाएर
हामीसँगै घोचिएर, घाइते हुन्छन् मालामा उनिएका फूलहरु
अलिअलि गरेर मर्छन् हामीसँगै, हामीजस्तै पीडादायी मृत्यु
हाम्रो मृत्यु उसलाई दुख्दैन, सरकारमा समवेदना हुँदैन
उसको चौडा काँध हुन्छ तर, बोकेर हिंड्दैन ऊ हामीलाई

सरकारसंग नखोज अभिभावकत्व
किनकि सरकार अपूतो हो
अपूतो सरकारको कुनै सन्तान हुँदैन
सन्तान नभएको सरकार नपुंसक हो

सरकार पिँध नभएको लोटा हो
कुनै पनि बेला जतासुकै पनि
पुल्टुङ्ग पल्टिन सक्छ
रगत उसको प्रिय पेय पदार्थ हो,
हर दिन लठ्ठ रहन्छ त्यै पिएर
बनेको छैन आजसम्म रगत सुँघ्ने मापसे यन्त्र,
त्यसैले, निस्फिक्री घुम्छ सहरका गल्लीगल्लीहरुमा
मातेको सरकार
मातेको सरकारलाई केही थाहै हुँदैन

Friday, February 1, 2013

मेरो सूट

अझै पनि बाँकी छ मसंग
मेरो त्यही एकजोर सूट
बर्षौं अघि मैले मेरो बिहेमा हालेको

Thursday, May 31, 2012

माटो

म त माटो न हूँ
बोझहरूले थिचिदिए हुन्छ
पैंतालाले किचिदिए हुन्छ
म त माटो न हूँ ।

रापले सेकिन्छु म, तापले सोसिन्छु
चिरिन्छु–चरक्क चर्किन्छु यहाँदेखि त्यहाँसम्म म
तर पनि टुक्रिन्नं, छरिन्नं म
बर्षाको स्नेहका केही छिटाहरू खसे भने म माथि
दंग पर्दै फेरि जोडिन्छु
मगमगाउँछु, व्यूँतिन्छु, हाँस्छु
म त माटो न हूँ ।

मेरो छाती उधिने हुन्छ, मलाई खने पनि हुन्छ
रोपे हुन्छ म मा तिम्रा चाहनाका वीजहरू, तिम्रा आकांक्षाहरु, 
उमारिदिन्छु म तिनको अंकूर मेरै छातीमाथि
हुर्काइदिन्छु त्यसको बोट, फलाइदिन्छु तिम्रा सपनाहरू
लैजाऊ टिपेर, काटेर, थुतेर, लुछेर
म कहिले पो रोएको छु र ?
म त तिमीले खोतलेर छाडेको, 
बञ्जर जमीनको पाटो न हूँ
म त माटो न हूँ ।

मुछे हुन्छ मलाई गजगजी हिलाम्य पारेर
बनाए हुन्छ तिमीले चाहे जस्तै
म बनिदिन्छु तिमीले खोजे जस्तै
उस्तै दुरुस्तै तिमीलाई मन पर्ने आकार
खेलौना बनाएर खेल, सजाऊ मूर्ति बनाएर
रंगाऊ आफूले खोजेका रंगहरूमा
मन नअघाउन्जेल मलाई सुमसुम्याए हुन्छ
मन अघाए मिल्क्याइदिए हुन्छ
टुक्राटुक्रामा फुटाएर
छरिएर के भो र ?
आफ्ना रहरहरू पुर्याएर तिमीले फेरेको साटो न हूँ 
म त माटो न हूँ ।

मलाई ढुंगा बनाए पनि हुन्छ, मलाई देउता बनाए पनि हुन्छ
मट्यांग्रा बनाए हुन्छ मलाई, गुलेलीमा तन्क्याए हुन्छ
अर्कोलाई चोट पु¥याउन मलाई हु¥र्याए हुन्छ
म कराउँदिनँ – म रून्नँ – म दुख्दिनँ
तिमीलाई संक्रमणबाट बचाउन
तिम्रा चोटहरूलाई ढाकिदिने
अनि बिसेक भएपछि तिम्रा घाउ
बिस्तारैबिस्तारै झरेर जाने खाटो न हूँ
म त माटो न हूँ

गाडिदिए हुन्छ ममा चिहान खनेर तिम्रा सपनाका सिनुहरू
वा तिम्रा सम्बन्धका मुर्दाहरू
तिम्रा अवसादहरू छोपिदिए हुन्छ
कोचकाच पारेर म भित्रै पुरिदिए हुन्छ 
तिम्रो भूत, वर्तमान – तिम्रा पाप, गलती र दोषहरू
म कुहिन्छु आफै, गन्हाउँछु मै भित्र, 
आफ्नै सासले निस्सासिन्छु म
तर म मर्दिनँ
मेरो मौनता तिमीले नबुझे पनि
बुझेर बूझ पचाए पनि
म केही पनि बोल्दिनं, लाटो न हूँ
म त माटो न हूँ ।