Translate

Showing posts with label साइड हिरो. Show all posts
Showing posts with label साइड हिरो. Show all posts

Sunday, June 30, 2019

साइड हिरो

प्रकाशनको छोटो समय मै साइड हिरोको दोश्रो संस्करण छापिन लागेको छ। शुभेच्छुक पाठकहरूलाई हृदयको गहिराइबाटै आभार व्यक्त गर्छु। साथै उपन्यास यायावरको पनि नयाँ कलेवरमा तेश्रो संस्करण संगसंगै आउने भएको छ।

Saturday, April 20, 2019

हेटौंडामा साइड हिरो

रेडियो थाहा सञ्चारको आयोजनामा आज हेटौंडामा साईड हिरोे पुस्तक माथि परिचर्चा भएको छ ।

कार्यक्रममा रेडियो थाहा सञ्चारका सञ्चालक तथा व्यवसायी अरुणराज सुमार्गीको प्रमुख आतित्यथता रहेको थियो । ब्रजेश खनालले आफ्नो सञ्चार तथा कला क्षेत्रमा प्रवेश गर्दाका दिनहरुहरुको सम्झना तथा भोगाईहरुलाई पुस्तकमा प्रकाश पारेका छन् ।


लेखक तथा कलाकार ब्रजेश खनालले लेखेका साईड हिरोे पुस्तकमाथि रेडियोका सञ्चालक तथा व्यवसायी सुमार्गी, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, समालोचक घनश्याम घिमिरे र प्रगतिशिल लेखक संघ मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले चर्चा तथा समिक्षा गरेका थिए ।

संस्मरणात्मक पुस्तकले संघर्ष तथा भोगाईलाई शब्दमा चित्रण गरिएको लेखक ब्रजेशले बताए । करिब २ महिना लागेर लेखिएको पुस्तकमा आफुले चलचित्र क्षेत्रमा संघर्ष गर्दाका दिनहरु लेखिएका छन् ।

कार्यक्रममा रेडियो कि निर्देशक अंकिता सुमार्गी, साहित्यकारहरु सुवास खनाल, देवराज खरेललगायतको उपस्थिति रहेको थियो ।

Thursday, March 21, 2019

मितिनी आमाको शहर वीरगञ्जमा साइड हिरो

ब्रजेश खनालका लेख, रचनामा वीरगन्ज र यस वरपरका स्थान, पात्र, परिवेशको चर्चा बढी हुन्छन् । तुलनात्मक रूपमा तराईका अन्य सहरको भन्दा । यसको कारण आख्यानकार ध्रुवचन्द्र गौतमजस्तै उनको पनि पुर्ख्यौली थलो वीरगन्ज भने पक्कै होइन ।

यस पटक खनाल आफैंले यसको कारण बयान गरेका छन् आफ्नो नयाँ पुस्तक ‘साइड हिरो’ मा । मंगलबार साँझ वीरगन्जमा आयोजित विमर्श तथा संवाद कार्यक्रममा उनले भने, ‘थुप्रै टेलिशृंखला र चलचित्रमा अभिनय गर्ने क्रममा पटकपटक वीरगन्ज र यस वरपरका गाउँ आएको छु ।’

वीरगन्जको नजिकको गाउँ नकटुवामा ‘राप’ टेलिशृंखला छायांकन गर्दा भेटिएका स्थानीय बासिन्दा रामखेलावनलाई अझै पनि सम्झिरहेको उनले बताए । ‘यसबाहेक वीरगन्ज सहरमा मेरी मितिनी आमाको घर छ, त्यसैले मलाई वीरगन्ज प्यारो लाग्छ,’ उनले भने । आफ्नो नयाँ कृति ‘साइड हिरो’ मा पनि वीरगन्जको थुप्रै प्रसंग रहेको उनले सुनाए ।

टेलिफिल्म हुँदै फिल्ममा अभिनयको यात्रादेखि फिल्म र पुस्तक लेखनसम्मको यात्रामा आफूले गरेका संघर्षहरूको आफूले पुस्तकमा बयान गरेको उनले बताए । वीरगन्जेली साहित्यकार गणेश लाठले ‘साइड हिरो’ पढदा पाठकले आआफ्नो कथा पढेजस्तै अनुभव गर्ने बताए । ‘निरन्तर असफलताबीच हरेस नखाएर कर्म गरिरहे सफलता अवश्य पनि हात पर्छ भन्ने सकारात्मक सन्देश पनि किताबमा रहेको’ उनले बताए ।

पत्रकार गिरीश गिरीले आफूले बाल्यकालमै वीरगन्जमा पहिलो पटक खनाललाई भेटेको सुनाए । टेलिशृंखला ‘घैंटोमा घाम’ मा छायांकनको क्रममा वीरगन्ज आएका खनाललाई आफूले पहिलो पटक यतै भेटेको र कालान्तरमा खनालसँग आफ्नो मित्रता प्रगाढ भएको गिरीले बताए । खनालबाट फिल्म क्षेत्रका धेरै कुरो सुन्दा र उनका लेख रचना पढदा आफू रोमाञ्चित हुने गरेको पनि उनले दाबी गरे ।

‘साइड हिरो’ मा चर्चा गरिएका वीरगन्जकै अर्का पात्र कुर्बान हवारीले ३५ वर्षअघि खनाललाई आफूले वीरगन्जमा भेटेको स्मरण गरे । खनालको पुस्तकमा आफ्नो गीत फर्माइस गर्ने सोखले चर्चा पाउँदा आफू खुसी भएको पनि उनले बताए । उक्त अवसरमा स्थानीय प्रतिभा अजमत अली लगायतकाले गीत, कविता, गजल प्रस्तुत गरेका थिए ।

Tuesday, February 5, 2019

ब्रजेशको बयान

‘हामी जीवनभर त्यो भूमिकामा अभिनय गरिरहन्छौँ, जुन खासमा अरु कसैको हुनुपर्ने थियो । हामीलाई लागिरहन्छ, अरु कसैले गरिरहेको भूमिका हाम्रो हुनुपथ्र्यो ।’ ब्रजेशको पुस्तक साइड हिरोको सार नै उपशीर्षक ‘कास्टिङ’ मा छ । खासमा साइड हिरो ब्रजेशको निजात्मक अनुभव शृंखला हो । तर उनको बठ्याइँले यो किताब नेपालका रेडियो, टेलिभिजन र समग्र चलचित्र क्षेत्रकै दर्पण बनिदियो । यी क्षेत्रका विकासक्रम र यसभित्रका पात्र र प्रवृत्तिलाई उनले आंशिक रुपमा उन्न खोजेका छन् । तीन दशक यिनै क्षेत्रमा रुमल्लिएका लेखकले आफूले भोगेको संसारबाट मनोरन्जन क्षेत्रलाई चियाउने प्रयास गरेका छन् । किताबमा शब्दहरु जीवित लाग्छन्, फिल्मी दृश्यजस्तै । हास्यचेतले उनलाई पाठकसँग जोड्न मद्दत गरेको छ ।


केही समय बैंकको जागिरे भए पनि रेडियो, टेलिभिजन र चलचित्र क्षेत्रको त्रिवेणीमा बग्नेबाहेक उनको प्राथमिकता अन्य कतै भएन । पछिल्लो समय भने उनी किताब लेखनमा तानिएका छन्, आखिर कुनै बेला टेलिफिल्म तथा फिल्मका चल्तीका लेखक जो परे । मनोरन्जनकै क्षेत्रमा रमाउने किरा उनको मगजमा यति सलबलायो कि जतिसुकै कठिन मोडमा पनि अन्य कुनै विकल्प खोजेनन्रचाहेनन् । त्रिपुरेश्वरको सनातनी ब्राह्मण परिवारसँग तालुक राख्ने लेखकका लागि मनोरन्जन क्षेत्रमा करिअर बनाउन उति सहज अवश्य थिएन । उनका अग्रज घरेलु मठाधीशहरु मनोरन्जनको क्षेत्र भनेको ‘भाँडहरुको कर्मक्षेत्र’ हो भन्थे । तर उनले यही क्षेत्र नै रोजे । उनका बुबा श्रीधर खनाल २० को दशकदेखि नै लेखन, अभिनय, निर्देशनमा सक्रिय थिए । नेपाली मनोरन्जन क्षेत्रको ख्यातनाम नै थिए । सम्भवतस् ब्रजेशमा बुबाको ‘डीएनए’ ले असर पो गर्‍यो कि १ 

नेपालको पहिलो रंगीन फिल्म कुमारीबाट सुरु उनको यो किताब टेलिभिजन रियालिटी सो नेपाली तारामा आएर टुंगिएको छ । यसैले यो किताब नेपाली मनोरन्जन क्षेत्रको चार दशकको कहानी पनि हो । यसलाई ब्रजेशले भाषाको सौन्दर्य कायम राख्दै रोचकरघोचक शैलीमा लेखेका छन् । काँचको पर्दामा उनी हिरो थिए । तर लालसा ठूलो पर्दाको फिल्ममा हिरो हुने थियो । त्यो चाहना पूरा गर्न उनले हरेक मोडमा पाएको धोखालाई नियतिको खेल ठानेका छन् । उनले भोगेका हन्डर खासमा नेपाली फिल्मी क्षेत्रको समग्र चित्र पनि हो । आफैँले लेखेको पटकथामा आफ्नै भागको भूमिका कहिले निर्देशकले अपहरण गर्छन् त कहिले निर्माताले लोप्पा ख्वाइदिन्छन् । संघर्ष जारी रहन्छ । निरन्तर पटकथा लेखिरहन्छन् । तर साइड हिरोमै उनको फिल्मी यात्रा टुंगिन्छ । सपना भत्किन्छ ।

नेपाली फिल्मी क्षेत्रमा खासै अर्थपूर्ण भूमिका नहुनुलाई साइड हिरो भन्ने मान्यता छ अहिले पनि । मुख्य चरित्रबाहेक पनि फिल्ममा कथानक बलियो बनाउन अनेक चरित्रको आफ्नै महत्त्व हुन्छ । मुख्य चरित्रकै हाराहारीको तर कथानकको केन्द्रमा खासै नरहने भूमिकालाई एकताका साइड हिरो वा साइड हिरोइन यस्तै केही नामले बोलाइन्थ्यो । केन्द्रीय पात्रबाहेक अन्य पात्रलाई खासै वास्ता नगरिने कालखण्डमा ब्रजेशले साइड हिरोबाट हिरोमा उक्लन खोज्नु आफैँमा अस्वाभाविक पनि थिएन ।

ब्रजेशले यो संस्मरणमा मलामी गएका आफ्ना सपना र असफलताका कथा बोलेका छन् । उनले आफूलाई हिरोका रुपमा होइन, साइड हिरोकै रुपमा सीमित गरेका छन् । ब्रजेशको यो संस्मरणले तत्कालीन नेपाली समाजको मनोदशा पनि दर्साएको छ । फिल्मी क्षेत्रको अवस्था र यसमा संलग्न धरहरा व्यक्तित्वको मानसिकता पनि उजागर गरेको छ । नेपालको समग्र मनोरन्जन क्षेत्र कस्ता बाटा र घुम्तीमा लडिबुडी गर्दै आजको डिजिटल युगमा आइपुग्यो, ब्रजेशले बयान दिएका छन् ।

यथार्थ त्यस्तो पनि होइन । उनको अभिनय कौशलबाट कायल हुनेको ठूलो संख्या अहिले पनि भेटिन्छ । टेलिफिल्म होस् वा ठूलो पर्दाको फिल्म उनी महँगा र माग भएका लेखक थिए, लामो समय । नेपाली ताराजस्तो मौलिक नेपाली रियालिटी सोलाई जन्म दिने ब्रजेश कसरी साइड हिरो मात्र हुन सक्लान् रु मनोरन्जनको क्षेत्रमा तीन दशक उनले घाम ताप्दै बदाम छोडाएर बसेनन् । ठूला हस्ती भनिएकासँग सहकार्य गरेका छन् । सक्रियतामा निरन्तरता छ । आफूभित्रको लेखन किरालाई उनले अझै पनि निरन्तरता दिएकै छन् । यसअघि यायावर  र जुनेली उपन्यास लेखिसकेका छन्  । तेस्रो पुस्तक साइड हिरो पाठकसमक्ष ल्याउने साहस गरेर हिरोगिरी देखाइछाडेका छन्, ब्रजेशले ।


सन्तोष आचार्य, २ माघ २०७५ नेपाल साप्ताहिक

हिरोको ‘साइड हिरो’ -नयनराज पाण्डे

समाज, राजनीति र जनजीवनमा सम्मानित ठानिएका तमाम वास्तविक हिरोहरू आफ्ना ढुलमुले स्वभाव, आदर्शविमुख चिन्तन र खराब नियतका चरित्रहरूको संगतले लगातार खलनायकमा रूपान्तरित हुँदै गएको यो घडीमा किताबको बजारमा हस्तक्षेप गर्न आइपुगेको छ–साइड हिरो । मुख्य चरित्रबाहेक पनि सिनेमामा कथानकलाई बढाउन अनेक चरित्र आवश्यक पर्छन् ।

तीमध्ये लगभग मुख्य चरित्रकै हाराहारीको तर कथानकको केन्द्रमा खासै नरहने भूमिकालाई एकताका साइड हिरो, साइड हिरोइन, चरित्र अभिनेता, चरित्र अभिनेत्रीजस्ता फुर्का जोडेर सम्बोधन गरिन्थ्यो । सिनेमामा लगभग सबै चरित्रलाई महत्व दिने परिपाटी सुरु भएसँगै अचेल चरित्रहरूको वर्गीकरण गर्ने क्रम केही कम हुँदै गएको देखिन्छ ।

यस्तोमा सिनेमा क्षेत्रकै अनेक विसंगतिको चिरफार गर्ने धारणासहित किताबी संसारमा आइपुगेको हो ब्रजेश खनालको साइड हिरो । शीर्षकबाटै स्पष्ट भइसक्छ, यो किताबका लेखकको आफू क्रियाशील रहेको कालखण्डको नेपाली सिनेमा क्षेत्रसित जोडिएका तीता–मिठा अनुभूतिहरूको अभिलेख हो ।

नेपालको सन्दर्भमा संस्मरण अचेल निकै फस्टाइरहेको विधा हो । किताब बजारका विश्लेषकहरूले संस्मरण, आत्मकथाजस्ता विधाहरू आख्यानपछि बिक्री हुने विधा मान्न थालेका छन् । लेखन क्षेत्रमा भर्खर कलम चलाउन थालेका लेखक पनि धमाधम संस्मरण लेखनमा लाग्न थालेका छन् । यो विधाको उन्नयनका लागि सुखद कुरा अवश्य हो ।

सर्सर्ती हेर्दा यो सजिलो विधा पनि हो । किनभने यसमा लेखकले कल्पनाशील भएर विषयवस्तुको खोजीमा मरिहत्ते गर्नु पर्दैन । कुनै गम्भीर अनुसन्धान पनि गर्नु पर्दैन । बस्, आफ्नो स्मृतिको पिँधमा जोगिएर बसेका घटनाक्रमलाई सम्झियो र सुन्दर भाषाशैलीमा भकाभक लेख्न थालिहाल्यो । त्यसैले बजारमा संस्मरण भनेर छापिने धेरैजसो लेखनीमा बाल्यकालमा पिताको गोजीबाट पैसा चोरेर सिनेमा हेर्न गएको, स्कुलमा साथीहरूसित अनेक छुल्याइँ गरेको, कुनै उटपट्यांग काम गर्दा आफूले दुःख पाएको जस्ता विषयवस्तु भरमार प्रस्तुत हुन थालेका छन् ।

त्यसैले बजारमा संस्मरण भनेर आउने कतिपय लेखनी एकांगी र कलाविहीन अभिव्यक्ति बनेका छन् । त्यो जोखिममा यो पंक्ति लेखिरहेको बबुरो लेखक पनि धेरैपटक फसेको छ । तर, हामीले बुझ्नुपर्ने कुरा के रहेछ भने यो विधाले आफूसँगै अनेक चुनौती पनि सँगै बोकेको छ । त्यसैले अबका संस्मरणले आफ्ना अनुभूतिलाई इमानदार भई प्रस्तुत गरेर मात्र पुग्दैन, ती अनुभूतिले तत्कालीन समाजको मनोदशालाई पनि प्रकट गरेको हुनुपर्छ ।

रचनाको पृष्ठभूमिमा कतै न कतै संस्मरणमा उल्लेख भएको कालखण्डको सामाजिक, आर्थिक, राजनीतिक या सांस्कृतिक पाटा उद्घाटित भएकै हुनुपर्छ । यसले नै संस्मरणलाई साहित्यको कोटीमा उकाल्छ र वाङ्मयमा सम्मानित स्थान उपलब्ध गराउँछ ।

यस मेसोमा ब्रजेश खनालको साइड हिरोले नेपाली सिनेमा क्षेत्रमा उनको उपस्थिति र सपनाको मात्र चर्चा नगरेर त्यस बखतको नेपाली सिनेक्षेत्रको अवस्था, त्यस क्षेत्रमा संलग्न व्यक्तित्वको मानसिकता र हविगत पनि प्रकट गर्दछ । पाठकले साइड हिरो पढेर लेखक ब्रजेशले सिनेमा क्षेत्रमा गरेको संघर्ष मात्र बुझ्दैन, नेपाली सिनेमा कुन बाटो र कस्ता घुम्ती पार गरेर आजको अवस्थासम्म आइपुगेको हो भनेर पनि बुझ्छ ।

यसरी बुझाउन सक्नु लेखक ब्रजेश खनालको सफलता हो । यही कारणले पनि साइड हिरो संस्मरण विधाको उल्लेखनीय कृतिको रूपमा चर्चा पाउन सफल भएको हो । साइड हिरो त्यस्तो चर्चाको हकदार पनि छ ।

करिब ३२० पृष्ठको साइड हिरोमा साना र मझौला काँटीका लगभग सात दर्जन संस्मरण समावेश छन् । यति धेरै अध्याय भएकाले यसमा विषय र अनुभूतिको प्रशस्त विविधता छ भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले सुरु गरेपछि पाठकले अल्छी मानेर किताब बन्द गर्ने स्थिति आउँदैन । ब्रजेश सजिलो भाषामा आफ्ना अनुभूतिलाई लेख्न माहिर छन् ।

समग्र किताबमा उनको हास्य र व्यंग्यचेत मोहक लाग्छ । यी सबै विशेषताले साइड हिरो संस्मरण विधाको एक अब्बल कृतिको रूपमा सम्झन लायक भएको छ ।
साइड हिरो पढिसकेपछि एउटा गजबको कथानक पनि पाठकको दिमागमा निर्माण भइसक्छ । सिनेमामा नायक भएर स्थापित हुने रहर पालेको एउटा युवक (ब्रजेश) आफूलाई स्थापित गराउन सक्ने गजब–गजबका पटकथा आफैँले तयार पार्छ ।


ब्रजेश पटकथा लेखनको क्षेत्रमा सुपर हिट हिरो नै हुन् । त्यसैले साइड हिरो शीर्षकमा हिरोले लेखेको किताब हो यो । यो किताबको समग्र पठनबाट हाम्रो स्मृतिको गहिराइमा निर्माण हुने कथानक यही हो र यो आफैँमा एउटा विशिष्ट कथानक हो ।

तर, आफैँले लेखेको पटकथामा उसको भागको भूमिका कहिले निर्देशकका कारण खोसिन्छ, कहिले निर्माताका कारण काटिन्छ । यति हुँदा पनि हिरो बन्ने सपनालाई छाड्दैन उसले । आफ्नो त्यही मादक सपना पूरा गर्न ऊ निरन्तर पटकथा लेखिरहन्छ । उसको यो हठले उसलाई हिरो नबनाए पनि नेपाली सिनेमाको पटकथा लेखनमा एकछत्र साम्राज्य स्थापित गर्ने एउटा लेखकचाहिँ बनाइदिन्छ ।

ब्रजेश पटकथा लेखनको क्षेत्रमा सुपर हिट हिरो नै हुन् । त्यसैले साइड हिरो शीर्षकमा हिरोले लेखेको किताब हो यो । यो किताबको समग्र पठनबाट हाम्रो स्मृतिको गहिराइमा निर्माण हुने कथानक यही हो र यो आफैँमा एउटा विशिष्ट कथानक हो । साधारणजस्तो लाग्ने लेखनीबाट यति विशिष्ट कथानकलाई आकार दिन सक्ने लेखक ब्रजेशको जादुमय तर स्वाभाविक लेखनीको त्यसैले पनि खुलेर प्रशंसा गर्न कर लाग्छ ।

संसारमा विशिष्ट दरिएका कृतिमा पनि खोजी पस्यो भने अनेक कमजोरी फेला पर्छन् । कुनै पनि किताब निर्विवाद या निर्विकल्प किसिमले विशिष्ट हुन सक्दैन । तर, किताबका कमजोरीले बहस पनि निम्त्याउँछन् र त्यसले लेखन क्षेत्रमा लाग्ने भावी पुस्तालाई निर्देशित पनि गर्छन् । त्यसैले यो संस्मरण कृतिलाई कमजोरी नै नभएको कृति भनेर अतिरञ्जित गर्नु ठीक हुनेछैन ।

यो किताबमा रहेका सबै अध्याय उत्तिकै रोचक अवश्य छन् । तर, कतिपय घटना एउटै किसिमले रिपिट भइरहन्छन् । लेखकले पटकथा तयार गरेको, त्यसमा उसको भूमिका पक्कापक्की भएको, तर विविध कारणले त्यो भूमिकाबाट हटेर अर्को सहायक भूमिकामा आबद्ध हुनुपरेको कुरा किताबका धेरै अध्यायमा दोहरिइरहन्छन् ।

त्यसैले पाठकले किताबको आधाउधी हिस्सा पढिसक्दा लेखकले प्रस्तुत गरेका अनुभूति लगभग एउटै परिधिमा चक्कर काटिरहेको अनुभूत गर्न सक्छन् । धेरै घटनाक्रमको यही खालको पटाक्षेपले पाठकलाई संस्मरणमा अब यस्तो हुनेछ भनेर अनुमान गर्ने बनाइदिन्छ ।

हुन त किताबमा जे लेखिएको छ, त्यहीभित्रै रहेर कृतिको समीक्षा गर्नु उपयुक्त हुन्छ । तर पनि अलिकति छुच्चो भएर भन्नुपर्दा के भन्न सकिन्छ भने, यस कृतिमा लेखकले प्रशस्त इमानदार भएर आफ्ना अनुभूति प्रस्तुत गरेको भए पनि आफ्नो व्यक्तित्वका अरू अँध्यारा वा विसंगत पाटाको उतिसारो चर्चा गरेका छैनन् । हिरो हुन चाहने उनको लडहले के कहिल्यै उनको परिवारमा खटपट भएन ?

के कहिल्यै कुनै नायिकालाई उनले कास्टिंग काउचको सिकार भएको देखेनन् ? के सिनेक्षेत्रमा लागेका थुप्रै लाइटब्वाय, स्पटब्वाय, क्यामेराम्यान, मेकअप आर्टिस्ट र ड्रेसम्यान आदिका कहालीलाग्दा समस्यासित उनको कहिल्यै कुनै जम्काभेट भएन ? नेपाली सिनेमा लामो समयसम्म बम्बैया सूत्रबद्ध लेखनबाट प्रभावित भइरह्यो, त्यसबाट बाहिर निस्कन नेपाली सिनेमा क्षेत्रमा किन बलियो प्रयास भएन ?

हाम्रो सिनेमा हाम्रो भाषामा त बन्यो, तर यसमा हाम्रो मौलिक कथानक किन समावेश भएन ? यी यावत् विषयमा हल्का स्पर्श त ब्रजेशले केही प्रसंगमा गरेका छन्, तर ती प्रश्नको जवाफ भने मुखर रूपमा उल्लेख गरिदिएका छैनन् ।

एउटा थिमभित्र बसेर लेख्दाको समस्या पनि होला यो । त्यसैले यी प्रश्नको जवाफ नदिँदा पनि साइड हिरो अहिलेको समयको महत्वपूर्ण संस्मरणात्मक कृति हो भन्न अप्ठ्यारो मान्नु पर्दैन । यो किताबका सबै अध्याय उत्तिकै महत्वपूर्ण नहुन सक्छन् । तर, किताबभित्रका केही प्रसंगले भने यसको गरिमा र गुणवत्तालाई ह्वात्तै उचालिदिएको छ ।

किताबभित्र उल्लेखित जमानाका विख्यात कलाकार गोपालराज मैनालीसित जोडिएको एउटा संक्षिप्त संस्मरण यस्तै एउटा उदाहरण हो, जसले यो किताबलाई सम्मानित बनाइदिएको छ ।

कुनै वेला म पनि सिनेमाको पटकथा लेखनमा छिपछिपे पाराले लागेको थिएँ । त्यतिवेला सिनेमा लेखनको क्षेत्रमा ब्रजेशको उपस्थितिप्रति ईर्ष्या गर्थेँ म । आज साइड हिरोमा उसले आफूलाई यति सहज, स्वाभाविक र इमानदार किसिमले अभिव्यक्त गरेको पाउँदा ऊप्रति सम्मान प्रकट गर्न मन लागेको छ ।

२०७५ मंसीर २९, नयाँ पत्रिकाबाट