Tuesday, September 8, 2009

सेवामा स्वार्थ

बन्द, हडताल, दबाबको राजनीति आज हाम्रो मूलमन्त्र हुँदै गएको छ । सानादेखि ठूलासम्म, महत्त्वपूर्णदेखि अर्थ न बर्थका, जायजदेखि नाजायज हरेक कुरामा, हरेक क्षेत्रमा अचेल दबाबमूलक मानसिकता प्रभावी भइरहेको देख्दा साह्रै नरमाइलो लाग्छ । केही दिनअघि देशको सबैभन्दा पुरानो स्वास्थ्य सेवा प्रदायक वीर अस्पतालका डाक्टरसाहेबहरूले हडताल गरे । एक-दुई दिन सबै लथालिंग भएपछि अन्ततः उनीहरूका माग पूरा भए । माग पूरा नभएर सुखै छैन भन्ने उनीहरूलाई थाहा भएकै कुरा हो । 

त्यसलगत्तै देशभरका सरकारी, अर्धसरकारी र निजी स्वास्थ्य निकायका नर्सहरू सेवा बन्द गरेर आफ्ना मागहरू पूरा गराउनका लागि कटिबद्ध भए । अघिल्लो हडतालको सफलताको नजिर उनीहरूका सामु ताजा नै थियो । सम्भवतः यी हरफहरू प्रकाशित हुने बेलासम्म सम्बन्धित निकायलाई घुँडा टेकाएर उनीहरूले आफ्नो सेवा पुनः चालू गरसिकेका पनि हुन सक्छन् । तर, डाक्टर र नर्सहरूको हडतालको एक दिनको त कुरै छाडौँ, एक-एक घन्टा, मिनेट, सेकेन्ड, पल वा निमेष कति संवेदनशील हुन्छ भन्ने कुरा बिरामी र तिनका आफन्तलाई मात्रै थाहा हुन्छ ।

देशका कुनाकुनादेखि आफ्नो रोग र व्यथाहरू निदान हुने आशमा आएका बिरामीहरूलाई यो हडतालले कति प्रभाव पारेको होला भन्ने सायद उनीहरूको मतलबको कुरा थिएन । डाक्टरहरूलाई भगवान् वा कुनै चटकीका रूपमा श्रद्धा गर्ने, अस्पताल गएपछि ठीक हुने र नर्सहरूका रेखदेखले तंगि्रने विश्वासले आएका ती बिरामीहरू अस्पतालमा समेत हडताल छ भन्दा कति निराश भए होलान् । त्यो अन्योलले उनीहरूको र उनीहरूका आफन्तहरूको कति सातो गयो होला भन्ने त सायद हडतालकारीहरूले सोच्न पनि सोचेनन् होला । त्यो अवधिमा कति आमाहरू पेटको असह्य पीडाले छटपटाए होलान्, कति बाबु-बाजे दमले स्याँस्याँ भए होलान्, कति पत्नीहरू पतिको छटपटीको मूकदर्शक भएर बसे होलान, कति बाबुआमाको मन आफ्ना सन्तानको पीडा हेर्न नसकेर रोयो होला । तर, त्यस्ता आलुमुले कोरा भावनाका कुराहरू हडतालमा उत्रेकाहरूका लागि गौण भए त्यतिबेला । 

हुन त एकोहोरो भएर सोह्रैआना डाक्टरसाहेब र नर्सहरूको खोइरो खन्न खोजेको होइन । उनीहरूका पनि आफ्नै समस्याहरू होलान्, मागहरू होलान्, कति जायज नै पनि होलान् । बारम्बार तिनका समाधानका लागि सम्बन्धित ठाउँमा ताकेता गर्दा पनि केही नभएको हुनाले नै उनीहरू आफ्नो ब्रह्मास्त्र प्रयोग गर्न बाध्य भएका होलान्, त्यो आफ्नो ठाउँमा छ । तर, चिकित्साजस्तो मानवीय संवेदनाको पेसामा ब्रह्मास्त्र प्रयोग गर्नु कतिसम्म जायज हो भन्ने प्रश्न पनि आफ्नै ठाउँमा नभएको होइन ।

सुविधा, सुख, पैसा जति भए पनि कसैलाई नपुग्ने कुरा हो । मान्छेले पढ्ने-लेख्ने, रोजगार खोज्ने भनेको पनि आफ्नो र आफ्नाहरूका जीवन सरल र सुविधामय बनाउनका लागि नै हो । हरेक मान्छेलाई आफू सुखी र खुसी हुने अधिकार छ तर त्यो खुसीका लागि अरूको आँसु कतिसम्म बगेको छ भन्ने कुरा मान्छेले नै नसोच्ने हो भने कसले सोच्ने ? केही पेसा यस्ता हुन्छन्, जो प्रत्यक्ष सेवामूलक हुन्छन् । तिनमा लाग्नेहरू निःस्वार्थ्ा हुनु जरुरी छ । तर, सबै मान्छेमा त्यो भाव हुनुपर्छ भन्नेचाहिँ छैन । त्यो सम्भव पनि नभएको कुरा हो । त्यसो हुँदो हो त हरेक मान्छे मदर टेरेेसा हुनुपथ्र्यो । तर, त्यस्ता सेवामूलक पेसा अपनाउने मानिसहरू पहिलेदेखि नै त्यससँग आउने कठिनाइका लागि, त्यसले माग्ने समर्पणका लागि आफूलाई मानसिक रूपमा तयार गरेर मात्र त्यसमा लाग्नुपर्छ । यदि आफूमा त्यस किसिमका त्याग, सेवा र समर्पणको भाव छैन भने त्यस्तो माग गर्ने पेसामा लाग्नु नै हुँदैन । 

तर, हाम्रो विडम्बना नै के भने अधिकांश अभिभावकहरूले आफ्ना सन्तानलाई हुर्काउने बेलादेखि नै, उसले बुझ्न थालेदेखि नै 'यो त डाक्टर बन्छ, भोलि धेरै पैसा कमाउँछ' भन्दै हुर्काउँछन् । 'यो डाक्टर बनेर भोलि मान्छेका पीडाहरू कम गर्छ, रोगले च्यापिएका मान्छेहरूलाई आराम दिलाउँछ' भनेर सायदै कसैले आफ्नो सन्तानलाई चिकित्साशास्त्र पढ्न लगाउँछन् । अझ कति वर्षमा यसले लगानी उठाउँछ भनेर हिसाब-किताब गर्नसम्म पछि पर्दैनन्, कतिपय अभिभावकहरू । पैसा कमाउनुपर्छ भन्ने मानसिकता बोकेर बनेका डाक्टरहरूले सेवा र समर्पणको भावनालाई मनको कुनै अँध्यारो कुनामा थन्क्याएर यसलाई पनि पसल खोलेको जस्तो गरी व्यापार गर्न थाले भने त्यो दोष उनीहरूको मात्र पनि होइन । केही समययता ह्वात्तै नर्सिङ् पढ्न चाहनेहरूको लहर आएको छ । तर, तीमध्ये कति जनाले यो जनसेवाको काम हो भन्ने भावनाले अनि कति जनाले बेलायत, अस्ट्रेलिया र क्यानाडा जान सजिलो हुन्छ भनेर नर्सिङ् पढे भन्ने महत्त्वपूर्ण कुरा हो । 

चिकित्साशास्त्रमा मात्र होइन, हरेक क्षेत्रमा यस्ता मानसिकताले काम गररिहेको हामी उदाहरणहरू देख्न सक्छौँ । सञ्चारमाध्यममा लगानी गर्ने भनेको जनतालाई सुसूचित गर्नेभन्दा राजनीतिक र सामाजिक पकड बलियो बनाउने हो भन्ने उद्देश्यले अरू ठाउँबाट कमाएको पैसा खन्याउनेहरू, राजनीति गर्ने भनेको वरत्रपरत्र सुधार्नका लागि, चलचित्र बनाउने भनेको मोजमस्ती गर्नका लागि र नाम चलाउनका लागि हो भनेर होम्मिनेहरू, स्कुल-कलेज चलाउने भनेको रातारात धनी बन्नका लागि सोच्नेहरू, वैदेशिक रोजगारको काम भनेको हेर्दाहेर्दै महल ठड्याउनका लागि भनेर लागिपर्नेहरू, एनजीओ खोलेपछि डलर फल्छ भन्ने विदेशी मुद्रा कृषकहरू, सबै क्षेत्रमा जुन काम हो त्यसभन्दा अरू उद्देश्यले अभिप्रेरति भएर लागेका हुन्छन् । र, त्यस्ता मान्छेहरूका बाढीले आफूसँगै सही काम गर्नेहरूलाई पनि बगाएर लैजान्छ । 

आफ्ना चाहनाहरू पूरा नहुँदैमा सबैले दबाबको राजनीति गर्नु भनेको नैतिक अपराध हो । महँगी बढेको छ भने सबैलाई बढेको छ, प्रतिस्पर्धा सबैका लागि त्यत्ति नै छ, बाँच्न सबैलाई उत्ति नै गाह्रो छ । तलब सबैका लागि कमै छ । हातमुख जोर्न सबैलाई हम्मेहम्मे छ । छोराछोरीको भविष्यको चिन्ता सबैलाई बराबर नै छ । राष्ट्र परविर्तन र संक्रमणको कालमा छ भने त्यसको असर सबैलाई बराबर छ । यो बेलामा हामी सबैको कर्तव्य सक्नेजति कममा सम्झौता गर्ने हो । तर, हामीहरू त ठ्याक्कै त्यसको उल्टो सकेसम्म बढीको अपेक्षा गर्न थालेका छौँ । त्यसका लागि साम, दाम, दण्ड, भेद र जानेजतिको दाउपेच खेल्न थालेका छौँ । अर्कालाई परेको अप्ठ्यारो र बाध्यतामा आफ्नो दूनो कसरी सोझ्याउने भन्नेमा के कर्मचारी, के राजनीतिज्ञ, के व्यापारी, के उद्योगपति, के डाक्टर, के शिक्षक सबै लागिपरेका छौँ । 

साँच्चै नयाँ युगको निर्माण गर्ने नै हो भने त्यसका लागि सबैले आ-आफ्नातर्फबाट त्याग र धैर्य गर्न सक्नुपर्छ । आकर्षक नारा र ठूला कुराले मात्र केही पनि परविर्तन हुँदैन, जबसम्म हाम्रो आफ्नो मानसिकतामा परविर्तन हुँदैन । उपलब्धिका लागि अन्धो दौडमा सहभागी हुनुअघि हामीले मनन गर्नुपर्ने कुरा के हो भने, प्राप्तिको सीमा हुँदैन । सन्तुष्ट मान्छे भनेको त्यो होइन, जोसँग सबैभन्दा बढी छ । सन्तुष्ट मान्छे त्यो हो, जो आफूसँग भएको जतिमा नै खुसी हुनसक्छ, रमाउन सक्छ ।

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...