Monday, January 5, 2009

आफैसंग एउटा प्रश्न

मन खिन्न छ, एक किसिमको नरमाइलो लागिरहेको छ।

पशुपतिनाथको मन्दिरमा भैरहेको राजनीति, मारामार र खिचातानीले सोच्न वाध्य बनाएको छ, कतातिर जाँदैछ यो मुलूक?
के शक्तिकेन्द्रहरू मात्रै परिवर्तन भइरहने हुन् त यो देशमा? परिवर्तनको नाममा  सत्ता परिवर्तन मात्रै हुने भयो त? स्वतन्त्रता भनेको आफुखुशी गर्ने छुटको रूपमा मात्र परिभाषित हुने भयो त अब? चाहे त्यसका लागि अरूको हक, हित, अधिकार, आस्था, मूल्य, मान्यता र बिश्वासलाई कुल्चन किन नपरोस्। शक्ति भनेको मूढेबल नै मात्र प्रमाणित हुने भयो त यो देशमा? बल हुनेका कुरा र कामसंग सहमति नजनाउने सर्वसाधारण, कर्मचारी, प्रहरी, सेना, वा पत्रकार कोही पनि के सुरक्षित हुन नपाउने हुन् त? कहिले कस्को कहिले कस्को स्तुतिगान गर्नु मात्र वाक स्वतन्त्रताको पर्यायवाची हुने भयो त?

म संधै भन्ने गर्दथें, म कहिले पनि यो देश छोडेर कहीं जान नसक्ने मान्छे हुँ। यो देशमा भोलि कोही एकजना मात्र बाँकी रह्यो भने त्यो मान्छे सम्भवत म हुनेछु। सम्पन्न विदेशी मुलुकमा गएर स्थापित भएर बस्न पाउने कम्तीमा तीनवटा मौकालाई मैले मेरो यही हठका कारण लत्याएको पनि छु। त्यति बेला मलाई पटक्कै पनि मैले गलती  गरेको जस्तो लागेको थिएन। स‌क्रमणकालमा यो देश हुँदा पनि मलाई आशा लाग्दथ्यो, एकदिन सबै ठीक हुन्छ। म भन्थें,

खुसीका चम्किला रंगहरुले पोतिनेछन् भोलि
तेरा मनका भित्ताहरु पनि
उमंगका उष्ण उर्जाहरुले भरिनेछन् भोलि
तैंले देखेका सपनाहरु पनि
घामलाई त नउदाइ सुखै छैन
बिहानीलाई त नझुल्की सुखै छैन
आज रातभर कुर्न त कुर् तं
उज्यालो हुनेछ भोलि
तेरो मनको आकाश पनि

हरदिन नेपालीले नेपालीलाई मारेको समाचार सुन्दा, आधा समय अंध्यारोमा बिताउँदा, धारामा पानी नआउँदा, बजारमा सामान नपाउँदा, महँगीले आकाश छुँदा जहिले पनि म यस्ता हरफहरू कोरेर आफ्नो मनलाई सम्झाउने गर्थें,

युग भन्दा लामो पलहरुलाई काटेर त हेर् तं
तैंले नै बिताउनेछस् भोलि पल भन्दा छोटा युगहरु

तर आजकल कताकता मलाई लाग्न थालेको छ, म अति आशावादको रोग पालेर त बसेको हैन? मैले आफ्नो त आधाउधि उमेर बिताइसके‌, तर भर्खर जीवन सुरू भएका मेरा छोरीहरूको भविष्यलाई पनि मेरो आफ्नै नियति थोपरेको त हैन? मेरा थुप्रै साथीभाइ र परिचितहरू झैं पलायन भएर कतै अन्य मुलुकमा बसेर कुनै अनलाइन वेबसाइटमा यो देशको खवर पढेर चुकचुकाएर मात्र बसेको भए कतै म बढी आत्मसन्तुष्ट पो हुन्थें कि?

मलाई यो सोचसम्म पुर्याउन जिम्मेवार मानिसहरूले सोच्ने बेला कहिले आउला?

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...