Translate

Sunday, January 1, 2012

चचहुइया

बायाँ फन्को ७४

आज एउटा पुरानो कथाको सम्झना आइरहेको छ ।

एउटा धूर्त स्याल थियो । जंगलमा उसको धुत्र्याइँ सबैलाई थाहा भैसकेको थियो । उसको वास्तविक औकात के हो भन्ने सबैलाई थाहा भैसकेको थियो । वरिपरिका गाउँमा पनि अब कसैलाई झुक्याउने, छल्ने, ठग्ने वा चोर्ने उसका लागि कठीन भैसकेको थियो ।  स्याल न हो, के गरोस् ? उसले मेहेनत गर्न, सही बाटोमा हिंडेर आफ्नो पेट पाल्न त जानेकै थिएन । यस अवस्थामा अब उसलाई कि त जंगल वा वरिपरिको गाउँ नै छोडेर अन्त कतै जानु पर्ने अथवा भोकभोकै मर्नु पर्ने अवस्था आइलागेको थियो । त्यही क्रममा एक दिन एउटा कुखुरा चोरेर भाग्ने क्रममा स्याललाई गाउँलेहरुले लखेटे । भाग्दै जाँदा स्याल एउटा धोवीले कपडा रंगाउनका लागि घोलेर राखेको नीलो रंगको ठूलो भाँडोमा खस्यो । गाउँलेहरुले देख्लान् भनेर ऊ त्यही रंगको भाँडोमा लुकेर बस्यो । सबै गएपछि पुच्छर लुकाएर लोप्रे कान लगाएर स्याल जंगल तिर पस्यो । जंगलमा सबै उसलाई देखेर जिल्ल परे । किनभने त्यस्तो नीलो रंगको जनावर उनीहरुले पहिले देखेका थिएनन् । त्यो असमञ्जस्यताको स्थितिको धूर्त स्यालले फाइदा उठायो । आफूलाई भगवानले त्यो जंगलको राजा बन्नका लागि पठाएको कुरा उसले बतायो । सबैले उसको कुरा पत्याए र स्याल जंगलमा राज गरेर बस्यो । एक दिन घाम र पानी दुबै संगसंगै लागेको बेला जंगलका बाँकी स्यालहरु खुसी भएर चचहुइइया....... भनेर कराउन थाले । आफूलाई जति नै बाठो भन्ठाने पनि, नीलो रंगको आडम्बरमा लुकेर झुक्याए पनि आखिर स्याल त स्यालै न हो । त्यो स्याल पनि संगसंगै लागेर चचहुइइया..... भनेर कराउन थाल्यो । अनि उसको वास्तविकता सबैको सामु प्रकट भयो । त्यसैले एउटा भनाइ छ, एक जना मान्छेलाई एक दिन उल्लू बनाउन सकिएला, धेरै जना मान्छेलाई धेरै दिन उल्लू बनाउन पनि सकिएला तर सबै मान्छेलाई सँधै उल्लू बनाउन सकिंदैन । मान्छेको सक्कली अनुहार एक न एक दिन देखिन्छ ।

यो कुरालाई केही दिन अघिको नेपाल बन्दले चरितार्थ गरेको छ । अरुले बन्द गर्दा त्यसको विरोधमा ठूलाठूला नैतिकता र आदर्शका कुराहरु गर्ने पार्टीले आफ्नो बेला भएपछि आफूले नीलो रंग ओढेको कुरा बिर्सेर चचहुइइया..... गरेरै छोड्यो । यहाँ नेर बन्द गर्नु पर्ने उनीहरुको मागको कुरा नगरौं । मारिएका व्यक्तिको बारे पनि कुरा नगरौं । उनी निर्दोष थिए भने न्यायिक रुपमा त्यसको पुष्टि हुनुपथ्र्यो । हरेक जागरिक सरह उनको पनि त्यो अधिकार थियो । जुन हिसाबले जेलमा आक्रमण भएर उनको मरण भयो त्यो निश्चय नै पनि हुनु नपर्ने कुरा थियो । जेल प्रशासन र सुरक्षामाथि यसले उठाएको गम्भीर प्रश्न पनि आफ्नै ठाममा छ । तर त्यसो भन्दैमा बिना अर्थको नेपाल बन्द र जनतालाई सास्ती दिनुलाई क्षम्य मान्ने कुनै पनि तर्क हुन सक्दैन । आफूले गर्न नसक्ने कुराका बारे अरुलाई अर्ती दिन सजिलो छ । आदर्श र नैतिकताको कुरा कुर्लनु र आफूले त्यसलाई व्यवहारमा लागू गर्नु फरक कुरा हो । आफ्नो आङ्गको डायनोसर नदेख्ने अर्काको आङ्गको व्याक्टेरिया पनि देख्ने भन्ने उखान एकपटक फेरि चरितार्थ भएको छ ।

शान्तिपूर्ण बन्द भनेर एक दिन अगाडि उनीहरुले निकालेको वक्तव्यलाई भोलिपल्ट उनकै कार्यकर्ताहरुले उल्टो लोप्पा खुवाइदिए । पर्यटकीय वाहन र सञ्चार माध्यमका गाडीहरुको त के कुरा गर्नु एम्बुलेन्सलाई समेत बाँकी राखिएन । आफ्ना कार्यकर्ताहरुलाई नियन्त्रणमा राख्न नसक्नेहरुले शान्तिपूर्ण भनेर बन्द घोषणा गर्न हुन्छ ? यस्ता बेलामा आयोजक पार्टीहरुले प्रयोग गर्ने थोत्रो पुरानो बहाना हुने गर्छ । उच्छृँखल तत्वहरुको प्रवेश भएर हामीलाई बदनाम गर्नका लागि यस्तो भएको हो । त्यसो हो भने त्यस्ता तत्वहरुलाई प्रवेश गर्नका लागि ढोका किन खोल्ने त ? के बन्द र चक्का जामले आजसम्म कुनै कुरा समाधान भएको छ ? भोलिपल्ट एउटा क्षमा याचना माग्दैमा बन्दको बेला भएका अराजक क्रियाकलाप, आम नागरिकको कुण्ठित हक, तिनले पाएका सास्ती र तोडफोडको क्षतिपूर्ति हुन सक्छ होला त ? अस्तिको वन्द भनेको बाटोमा कसैले थुकेको देखेर ‘हेर त्यो निल्र्लज्ज प्राणी, बाटोमा थुक्दैछ, थुइक्क’ भनेर आफैले पनि छेउमा थुके जस्तो हो । आफ्ना मागहरु पूरा गराउनका लागि गलत किसिमका दबाबमूलक राजनीति गर्नु हुँदैन । अनिश्चितकालीन बन्द र हडतालको डर देखाउनु हुँदैन । आज प्रतिपक्षमा बस्नेहरुले वरदान दिलाएका भष्मासुर रुपी यस्ता दबाबका उदाहरणहरुले भोलि आफू सरकारमा बस्दा आफ्नै टाउकामा पनि हात राख्न नलेखट्लान् भन्ने छैन ।

दबाबका कारण कुनै पनि स्वार्थसिद्धि भयो भने दबाबको मानसिकता नजीर बनेर कायम रहन्छ र सबै त्यही बाटो हिंड्न थाल्छन् । त्यस्तो चरित्र हामीमा विकास पनि भैसकेको छ । साधारण कुरा हो, जायज माग छ भने बिना कुनै दबाब तिनको सम्बोधन हुनुपर्छ, नाजायज हो भने कुनै पनि दबाबका कारण पनि सरकारले तिनलाई मान्नुहुँदैन । तर चारवटा खुट्टा भएको कुर्सीलाई चालीसवटा शर्त र सम्झौतामाथि अडाएर बनेको सरकार र त्यसमाथि आफ्नो सन्तुलन मिलाउनका लागि एक्रोव्याटिक्स गरिरहन बाध्य प्रधानमन्त्रीले त्यस्तो अडान कसरी लिन सकून् विचरा । यो कुरा वर्तमान सरकार मात्र हैन, यस अघिका र पछि बन्नेहरुमा पनि लागू हुन्छ । अनि तं कुटे जस्तो गर्, म दुःखेजस्तो गर्छु भनेर जनताको आँखामा छारो नहाले के गरुन् यी निरीह जीवहरुले ? अनि हामी जनता त सहनशीलताका लागि विश्व कीर्तिमान कायम गर्ने महान अभियानमा लागेका छौं । यस महान अभियानबाट हामीलाई कसैले विचलित गर्न सक्दैन । त्यसैले हामी कसैलाई केही कुरामा पनि उत्तरदायी मान्दैनौं, कुनै प्रश्नहरु सोद्धैनौं र उत्तरहरु पनि खोज्दैनौं । हाम्रो यो महानताको फाइदा यिनीहरुले उठाए भने यो हाम्रै दोष हो ।

एकपटक कसैले कसैलाई मूर्ख बनायो भने त्यो बनाउनेको दोष हो । बारम्बार कसैले कसैलाई मूर्ख बनायो भने त्यो बनाउनेको होइन बन्नेको दोष हो । त्यसैले चचहुइइया.... गर्नेहरु चाहे नीलो, रातो वा पहेंलो कुनै पनि रंगका किन नहुन्, स्याल नै हुन् भन्ने कुरा हामीले नै राम्ररी बुझ्नु पर्छ ।
जय नेपाल १

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment