Translate

Sunday, January 6, 2013

नाथे समय न हो

बायाँ फन्को ९८ 

पुरानो बानेश्वर भीमसेनगोलाबाट सिनामंगल हुँदै त्रिभुवन बिमानस्थल जाने बाटोमा एउटा लच्केको पुल छ । सवारी आगमनका लागि अयोग्य त्यो पुललाई बन्द गरेको निकै वर्ष भइसक्यो । त्यसैको छेउमा अर्को पुलको निर्माण आरम्भ भएको पनि थुप्रै वर्ष भयो । त्यसको निकैपछि चीनले ओलम्पिकका लागि बर्ड नेष्ट रंगशाला बनाउन सुरु गरेको हो । त्यो सकिएर वेलायतले अर्को ओलम्पिक पनि आयोजना गरेर उहिले नै सकाइसकेको छ । तर हाम्रो गौरवशाली पुल अझै पनि सकिने छाँट छैन । संसारको सबैभन्दा सुस्त निर्माण कार्यका लागि कुनै पुरस्कार दिने भनियो भने त्यस पुललाई त्यो पुरस्कार जित्नबाट कसैले पनि रोक्न सक्दैन । त्यसैले त्यो पुलको निर्माण प्रकृयालाई अझै केही अरु वर्ष तन्क्याउनुपर्छ । ता कि भोलि अरु कुनै पनि देश वा त्यहाँका निर्माणले यो कीर्तिमानको छेउ पनि भेट्टाउन नसकून् । 

हामी यस किसिमका सुस्त निर्माणका लागि विश्वमै अग्रणी छौं भन्ने कुरा गर्न पाउँदा अरुलाई त कस्तो लाग्छ कुन्नि, मेरो चाहिँ अठ्ठाइस इन्चको ढुक्कुरे छाती गर्वले फुलेर पूरै तीस इन्चको हुन्छ । नपत्याए हेर्नुस् त, हाम्रा वरिपरि कति यस्ता गौरव गाथाहरु छरिएका छन् ? काकाकुल काठमाण्डौंको आशाको त्यान्द्रो मेलम्ची एउटा अर्को ज्वलन्त उदाहरण हो । २०४७ सालको अन्तरिम सरकारको प्रधानमन्त्री भएको बेला भट्टराइ बाजेले त्यहाँको पानी ल्याएर काठमाण्डौंका सडकहरु पखालिदिने वाचा गरेका थिए । आज उनी बितेर गएको पनि कति वर्ष भइसक्यो, त्यसपछि मुलुकले थोकको भाउमा नयाँ प्रधानमन्त्रीहरु फेरिसक्यो । तर मेलम्ची गर्वका साथ अझै पनि अधूरै रहेको छ । यो आफैमा एउटा गौरवशाली कीर्तिमान हो । 

काठमाण्डौलाई तराइसंग जोड्ने वैकल्पिक बिपी राजमार्गलाई हेर्नुस् । त्यसको गति हेर्दा त कछुवाहरु पनि लाजले भुइँमुनि लुक्ने बेला भैसकेको छ । सबैभन्दा ठूलो राष्ट्रिय प्रतिष्ठाको कुरा भनेको त हाम्रो अलौकिक सम्विधान सभाको नै भैहाल्यो । त्यसको चर्चा गरेन भने त हाम्रो गौरवगाथा अधूरो रहन्छ । त्यसका लागि हामीले कतिपटक समय थप्यौं भन्ने कुरा ठ्याक्कै सम्झन पनि दिमागीन भन्ने औषधि खानेहरुले मात्र सक्छन् होला । अब त त्यसको अवसान समेत भैसकेको छ । सम्विधान सभाको अर्को चुनाव गर्नका लागि सुहाउँदो वातावरण, प्याकेजमा सहमति, एउटा प्रधानमन्त्रीको राजीनामा, अर्को प्रधानमन्त्रीको नाममा सहमति र अन्य नयाँनयाँ जटिल शव्दहरुको आविष्कारमा  पनि हामीले निकै समय खर्च गरिसक्यौं । अझै पनि गर्दैछौं । राष्ट्रपति महोदय म्यादमाथि म्याद थपिरहेका छन् । अरुहरु सबै आआफ्नै डम्फू बजाउनमा व्यस्त छन् । अरु सबै कुराहरु गरिरहेका छन्, समयको मोल बुझ्ने बाहेक । किन बुझ्नु पर्छ र यो नाथे समयको मोल। हामीसंग कम छ र त्यसको महत्व हुनुु ?

व्यक्तिगत रुपमा पनि हेर्ने हो भने हामीसंग प्रशस्त समय छ । रत्नपार्कमा बदाम चपाएर दिन बिताउन हामीसंग समयको कमी छैन । बाटोमा कुनै डोजरले एउटा खम्बा उखेल्न वा गाड्न लागेको छ भने हामी घण्टौं त्यो प्रकृयाको सूक्ष्म अवलोकन गरेर उभिन्छौं । कसैको बिहेको जन्ती गइरहेको छ भने हामी सबै कुरा छोडेर दुलाहा वा दुलहीको अनुहार कस्तो रहेछ भनेर हेर्न सारा काम छोडेर उभिन्छौं । छरछिमेकमा कसैको वादविवाद हुन लागेको छ भने त आहा....त्यो जति रमाइलो अरु केमा हुन्छ र हामीलाई ? झन् कसैको मुक्कामुक्की नै भइरहेको छ भने त पर्खालमा चढेर भए पनि हामी त्यसको रसस्वादन गर्नबाट पछि  हट्दैनौं । ट्राफिकले कसैको लाइसेन्स खोस्न लागेको दृश्य हाम्रो लागि छुटाउनै नमिल्ने ऐतिहासिक महत्वको क्षण हो । त्यसको प्रत्यक्षदर्शी बन्न पाउनु हाम्रा लागि गौरवको कुरा हो र त्यसलाई हामी केही गरे पनि गुमाउँदैनौं ।  

हामी बाटोमा हिंड्दा पनि गजराज जसरी लसक्कलसक्क लस्कन्छौं । किन हतार छ र हामीलाई ? के नै बित्दो छ हामीलाई र हतार गर्नुू ? नाथे समय न हो खेर जाने । त्यो त हामीसंग कति छ कति । जलस्रोतमा हामी संसारकै दोश्रो धनी मुलुक भए पनि समयस्रोतको कुरा गर्ने हो भने विश्वमा हामीलाई उछिन्ने ल्याकत अरु कुनै देशको छैन । एक देखि दशसम्म हाम्रै नाम आउँछ भन्ने कुरा म ठोकुवा गरेर भन्न सक्छु । त्यसैले हामीलाई केही कुराको पनि हतारो छैन । किन मरिहत्ते गर्नु केही कुराका लागि ? हामीसंग त कसैसंग भएको भन्दा बढी समय छ । 
 
मलाई विश्वका अरु मुलुकका मान्छेहरु देखेर हाँस्न मन लाग्छ । उनीहरु समय भनेको पैसा हो भन्छन् । समय कम भयो भनेर गुनासो गर्छन् र विकास र प्रविधिको दौडमा अरु मुलुकसंग काँधमा काँध जुधाएर हिंड्न उनीहरुलाई भ्याइनभ्याइ छ रे । दिनको अठार घण्टा काम गर्दा पनि उनीहरुलाई पुगिरहेको छैन भन्छन् । समय नै  छैन रे । 

एकातिर उनीहरु छन्, अर्कातिर हामी । खपत गरेर नभ्याइने समय छ हामीसंग । संसारका अरु मुलुकहरुले आफूसंग धेरै भएका र अरुहरुसंग थोरै भएका कुराहरु निर्यात गरेर प्रशस्त पैसा कमाउने गर्छन् । कसैले तेल निर्यात गर्छ, कसैले सुनचाँदी र हीरामोती जस्ता खनिजपदार्थ, कसैले धानचामल, गहुँ, चिया र कफी जस्ता खाद्य र पेय पदार्थ भने कसैले जनशक्ति निर्यात गरेर पनि आफ्नो अर्थतन्त्र बलियो बनाइरहेका छन् । हामीले यसबाट सिक्नुपर्छ । हामी पनि अब यो हामीलाई कामै नलाग्ने र खेर गइरहेको तर अरुका लागि भने अति नै महत्वपूर्ण यो समय भन्ने जिनिसलाई निर्यात गर्ने तर्फ गम्भीरतापूर्वक सोच्न थाल्नु पर्छ । सोच्नुस् त जुन कुरालाई उनीहरु पैसा बराबर भन्छन्, हामी  नत्र त्यसलाई सित्तैंमा खेर फलिरहेका छौं । अरुलाई काम लाग्ने चीज निर्यात गरेर उनीहरुको भलो पनि हुन्छ । विश्वका लागि हामी महान परोपकारी बन्न सक्छौं । त्यसो हुन सक्यो भने हामी केही वर्षमा नै आर्थिक रुपमा सम्वृद्ध हुनेछौं । हामीलाई अरु केही गर्नु पर्ने आवश्यकता नै छैन । 
समय न हो नाथे, न यसलाई जमीन मुनिबाट निकाल्नुपर्छ, न यसका लागि ठूलाठूला आयोजना वा भौतिक पूर्वाधारहरु नै निर्माण गर्नुपर्छ । कति हाइसञ्चो हैन र ? 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment