Translate

Sunday, January 5, 2014

गाँठाहरु

बायाँ फन्को १२२

कहिलेकहीं अचम्म लाग्छ, हामीलाई गाँठाहरु किन यति प्रिय लाग्छन् ? ध्यान दिएर गहिरिएर सोचौं त, हामी हरेक कुरालाई जटिल बनाउन खप्पीस भैसकेका छौं । हामीलाई कुनै पनि कुरा सजिलोसंग र स्पष्टसंग भयो भने अचम्म लाग्ने बेला भैसकेको छ । अचम्म मात्र पनि किन, विश्वास नै पनि लाग्दैन हामीलाई त्यस्ता कुराहरुमा । लौ त भनौं भने कुनै पनि कुरा वा काम सजिलो र सरल ढंगाबाट हुँदै नै हुँदैन हामीकहाँ । सानातिना देखि लिएर ठूल्ठूला कुरा र कामहरु सबै कठिनता र गाँठाहरुमा नजेलिइकन अघि बढ्दैनन् । त्यसैले त मिनेटमा हुने कामलाई घण्टा, घण्टामा हुने कामलाई दिन, दिनमा हुने कामलाई हप्ता, हप्तामा हुने कामलाई महीना, महीनामा हुने कामलाई वर्ष र वर्षमा हुने कामलाई दशकौं लगाउने र अधिकांश कुरा कहिले पनि नटुंगिने चबmवातमा हाल्न हामी अभ्यस्त भैसकेका छौं । मानौं हामीसंग सबै भन्दा सस्तो र धेरै भएको कुरा भनेको नै समय हो । 

बेलाबेला हामी आफूलाई जलश्रोतमा धनी राष्ट्र भनेर कुर्लने गर्छौं । तर, त्यो भन्दा धनी त हामी समयको कुरामा छौं । सानासाना, झीनामसीना कुराहरुमा नै खर्च गर्न हामीसंग कति धेरै वालछ्याल समय छ भन्ने कुराको सीमा नै छैन । विकास र प्रविधिको गतिसंग हिंड्न समयले पुगेन भनेर विश्वका सबै विकसित मुलुकहरु गुनासो गरिरहेका छन् । त्यो नाथे समय त हामी त्यसै हावामा उडाइरहेका छौं । यदि हाम्रो लागि बिना कुनै मोलको यो समय हामीले निर्यात गर्न सक्ने हो भने त्यसैबाट हामी धनी हुने थियौं, अरु केही गर्ने पर्दैनथ्यो ।  तर हामीलाई यो पनि थाहा छ। यदि त्यस्तो कुनै सम्भावना रह्यो भने समयलाई कसरी बटुल्ने, कसरी निर्यात गर्ने, कहाँ निर्यात गर्ने, त्यका लागि कसलाई जिम्मेवारी दिने, कस्तो समिति बनाउने, त्यसमा कुन राजनीतिक दलको हालीमुहाली हुने भन्ने कुरा निर्धारण गर्नका लागि नै पनि हामी निकै समय खर्च गर्नेछौं, निकै धेरै जटिल र फोउन गाह्रो हुने गाँठाहरु कस्ने छौं । ती गाँठाहरु खोल्न खोज्नेहरु तिनैको जटिलतामा यसरी जेल्लिन थाल्नेछन्, एउटा गाँठो खोल्दाखोल्दै अरु पाँच दशवटा गाँठाहरु बनिसकेको थाहा पनि पाउनेछैनन् । नाथे समयको के मोल छ र हामीलाई ?

सम्विधानसभाको ऐतिहासिक र गौरवशाली असफलतासम्म आइपुग्दा हामीले कति समय खेर फ्याल्यौं ? कति धेरै गाँठाहरु बनायौं भन्ने कुराको लेखाजोखा कसले गर्ने ? त्यसाबाट पनि हामीले कुनै कुरा सिक्न सकेनौं । अनि अर्को सम्विधानसभाको चुनावका नाममा हामीले थप अरु गाँठाहरु कस्यौं । गरीव राज्यको ढुकुटीबाट कुस्त रकम बालुवामा हाल्यौं । अनि हामी त्यहाँ गुलाफको बोट उम्रिन्छ, कोपिला लाग्छन्, गुलाफका फूलहरु फक्रन्छन् र मगमग वास्ना चल्छ भन्ने आश गरेर बसिरह्यौं । तर वालुवामा फल्ने त क्याक्टसै हो र क्याक्टस नै उम्रिरहेको देखिंदैछ । समानुपातिक तर्फको नामावली बुझाउनका लागि नै हाम्रा भाग्य विधाताहरुले पटक पटक म्याद थप गरिसकेका छन्, अझै थप्दैछन् र अझै धेरै गाँठाहरु कसिरहेका छन् । 

ए बाबा, आफूले नै पेश गरेकाहरुबाट भागमा यति परे भने योयो मान्छे, त्यति परे भने त्योत्यो मान्छेलाई पठाउने भन्ने कुराको पूर्व तयारी गरेर बस्न नसकिने कुरा के थियो ? सरल र सीधा हिसाबले काम गर्नका लागि तयार हुनेहरुका लागि यो हदसेहद एक दिनको गृहकार्य हो । यसैबाट के बुझिन्छ भने कोही पनि कुनै पनि कुराको पूर्वतयारी गरेर बसेका थिएनन् । जब सम्विधानसभामा जानेहरु सम्विधान बनाउन भन्दा पनि अरु धेरै गाँठामा जेलिएका कारणहरुले निर्देशित भएका छन् भने यस किसिमको अन्यौल हुनु अस्वाभाविक होइन । अब यिनले कुन मुखले हामीलाई भनेको समयमा सम्विधान बनाएर दिनेछन् भनेर आश्वस्त बनाउने ? हामीले केका आधारमा विश्वास गर्ने ? नखाउँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाको अनुहार भनेको जस्तै भएका छन् उनीहरु हाम्रा लागि ।

चुनावलाई बहिष्कार गर्नेहरुले आआफ्नै किसिमका जटिल गाँठाहरु कसे, चुनावमा गएर आफूले सोचेको जस्तो परिणाम नआएपछि तिनले फेरि अरु गाँठाहरु कसे । धाँदली भयो भने, छानवीन हुनुपर्छ भने, सम्विधान सभामा जान्न भने, जानका लागि शर्तहरु राखे, उच्च स्तरिय संयन्त्रको माग गरे र सम्भव असम्भव हरेक कुराको चाहना राखे । कति धेरै गाँठाहरु हेर्नुस् त । कुन गाँठोबाट सुरु गर्ने ? कतिवटा गाँठाहरुमा केन्द्रित हुने ? प्राथमिकतामा कुनकुन गाँठाहरु छन् ? यो सोच्दासोच्दै समय आफ्नै गतिमा अघि बढिरहन्छ, हामी अरु थप गाँठाहरुमा अल्झिरहन्छौं । हाम्रो केही समयको विगतले यही देखाएको छ, आउने केही समयसम्म पनि यस्तै गाँठाहरु थपिइरहनेछन् भन्ने देखिएको छ ।

गाँठाहरुले कहिले पनि भलो गर्दैनन् । त्यसैले हामीले आफूलाई गाँठाहरु प्रतिको आशक्तिबाट मुक्त गर्नु नै पर्दछ । किचकन्नीको मोहमा परेको मानिस दुब्लाउँदै र सुक्दै गएको किम्दन्ती जस्तै गाँठाहरुको आशक्तिमा परेको देश पनि खिइँदै जान्छ, सुक्दै जान्छ । त्यसैले बेला रहँदै यी गाँठाहरुबाट आफूलाई पन्छाउँदै जानका लागि सबैले सोच्ने बेला भैसकेको छ । नयाँ गाँठाहरु बन्न नदिऔं, अनि बनिसकेको गाँठाहरुलाई फुकाउन थालौं । केही समयको लागि मात्र भए पनि आआफ्ना हठ, अडान, इगो र लिंडेढिपीलाई पर पन्छाएर देशको लागि सोचौं । 

धरातल नै नरहे कहाँ अड्ने र आकाश नै नभए कहाँ उड्ने ? 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment