Thursday, July 12, 2018

अघोरीको नाग बाबा

अघिल्लो साता फाफुराले फाफुरीसँगको शीतयुद्ध समाप्त गर्न निकै मेहेनत गर्नुपर्‍यो । उत्तर कोरियाको स्थूल काका र अमेरिकाको सुन्तला बाजेको मिलनको उदाहरणका सामु अन्ततः फाफुरीले समर्पण गरी । त्यसैले भोलिपल्ट दिनभर रत्नपार्कमा टोपीले मुख छोपेर सुतेपछि बेलुका कमलादी गणेशथान निरबाट उसैले टिप्ने र सँगै घर जाने भद्र सहमति भएको थियो । फाफुराले आकाशे पुललाई बहिष्कार गरेर सडकैबाट बाटो काट्ने राष्ट्रिय चरित्रको प्रदर्शन गर्दै बाटो काट्यो र सवारी चालकहरुलाई आाग्नेय नेत्रले हेर्दै गन्तव्यतिर पाइला बढायो । गणेशथाननिर फेरि बाटो काट्ने बेला उतापट्टिबाट गलत साइडबाट लेन मिचेर, अनियन्त्रित र वायुवेगमा एउटा ट्रिपर आउँदै थियो । हुन त गलत साइड, लेन मिचेर, अनियन्त्रित र वायु वेग भनिसकेपछि ट्रिपर भनिरहनु पर्दैन । एउटै अर्थ लाग्ने धेरै उपमा किन चाहियो भनेर बाह्रखरीका सम्पादकले यसलाई छाँट्न पनि सक्छन् । त्यो ट्रिपरको गति हेर्दा फाफुराको हंसले ठाउँ छोड्यो । 

तै त्यसका चालक ठ्याक्कै माननीय सञ्चारमन्त्रीजस्तै कुशल रहेछन् । उनले चलिरहेको गाडीलाई ठाउँको ठाउँमै झ्याप्पै रोकिदिए । नत्र केही महीनापछि दुर्घटना सहिदकी पत्नीका रुपमा फाफुरीले दसबीस लाखको रकम हात पार्थी । फाफुराले लामो लामो सास फेरेर आफूलाई नियन्त्रित गर्‍यो । ऊ सारसले जसरी घिच्रो तन्काइतन्काई परपरसम्म हेर्न थाल्यो । फाफुरीको अत्तोपत्तो थिएन । त्यही बेला उसको छेवैमा आएर कोही ठूलो स्वरमा करायो,
“हरहर महादेव !”
फाफुराले झस्केर हेर्‍यो । एक जनाा साधु रहेछ । निख्खुर कालो वर्णको त्यो साधुले कालै रंगको ह्वार्लाङ्ग परेको लुगा लगाएको थियो । उसको कपाल लामो र लट्टा परेको थियो । अनुहारभर थरीथरी रंग पोतेको थियो । आँखा आगो बलेजस्ता थिए । उसले एउटा हातमा त्रिशुल र अर्को हातमा कमण्डलु बोकेको थियो । उसले रुद्राक्षलगायतका मालाहरु भिरेको थियो । अनि उसको घाँटीमा एउटा ठूलो मोटो सर्पको माला पनि थियो । सर्प सललल्ल गरिरहेको थियो । समग्रमा भन्दा उसको सम्पूर्ण व्यक्तित्व नै डरलाग्दो थियो । भर्खर कालोपत्रले सिंगारिएकी नवविवाहित सुकुमारी सडक खानेपानीको कर्मचारीलाई देखेर तर्सिएजस्तै त्यो जोगीलाई देख्दा फाफुरा तर्सियो । मानिस पहिलो हेराइमा नै चमत्कृत र केही भयभीत हुन् भन्नका लागि उसले कुनै कसर बाँकी राखेको थिएन । जोगी आँखा गोलो बनाउँदै हिन्दीमा करायो,
“म भोले बाबाको भक्त हूँ । अघोरी बाबा । यो भोले बाबाको नाग हो, नाग बाबा । यसलाई प्रणाम गर् बच्चा ।” उसले आफ्नो गलामा बेरिएको नागको टाउको फाफुरातिर फर्काउँदै आदेश दियो । नाग बाबाले फूँ गर्‍यो फाफुराले नमस्कार ।
“भोले बाबा तेरा भला करेगा । चल अब नाग बाबा को दूध पीने के लिये पैसा दे ।”
फाफुराले थर्थर हुँदै खल्तीमा हात हाल्यो र आफ्नो पर्स निकाल्यो । त्यहाँ फाफुरीले दिएकी हजार रुप्याँको नोटसँगै केही साना नोटहरु पनि थिए । दस, बीस र पाँचको नोट नभएकोमा थक्कथक्क गर्दै फाफुराले सबैभन्दा सानो पचासको नोट छानेर निकाल्यो । हुन त त्यो नोट र फाफुराको कुनै शारीरिक सम्बन्ध त थिएन तर पनि त्यसलाई पर्सबाट निकाल्दा उसलाई आफ्नो मिर्गौला नै लुछेर चुँडाएको जस्तो पीडा भयो । उसले त्यो नोट अघोरी बाबातिर बढायो । त्यसो गर्दा फाफुरालाई आलोवाला प्रधानमन्त्रीले छ महीनापछि पालोवाला प्रधानमन्त्रीलाई कुर्सी बुझाएभन्दा गाह्रो भइरहेको थियो । 
खुच्चिंग मोरो पानीमरुवा फाफुरो, जाबो जोगीसँग तँलाई कसले तर्सिनु भन्याथ्यो भन्नुहोला । तर, तपैँको अनुहारको अगाडि पनि यामानको नाग बाबा हल्लिँदै फुँ फुँ गरिरहेको भए थाहा पाउनुहुन्थ्यो । अघोरी बाबाले पचास रुप्याँ झोलामा हालेर फाफुरालाई पचास लाखको भन्दा बढी आशीर्वाद दियो । ती सबैमध्ये एक प्रतिशतमात्र पनि लाग्ने भैदिए वाम गठवन्धनले देखाएको समृद्धिको सपना देख्नै पर्दैनथ्यो होला । हेर्दाहेर्दै अघोरी बाबाले आफ्नो हातमा जादूले झैँ रुद्राक्षको एउटा गेडो निकालेर फाफुरालाई दियो । अनि यसपटक उसले नरम स्वरमा भन्यो,
“यो लगेर आफ्नो तिजोरीमा अथवा बैंकको लकरमा लगेर राख् ।”
धरोधर्म ढाँट्या हैन, फाफुराको आँखामा तररर गरेर हर्षको आँसु आयो । जीवनमा पहिलोपटक कसैले उसलाई त्यति ठूलो इज्जत दिएको थियो । त्यसअघि कसैले पनि उसको थुतुनो हेरेर उसलाई तिजोरी अथवा बैंकमा लकर भएको मानिस भन्ठानेको थिएन । अघोरी बाबाले फेरि थप्यो,
“तँ मनको एकदम राम्रो मानिस रहेछस् बालक । अनि म देखिरहेको छु, आजको संसारमा तँ जस्तो विलक्षण प्रतिभा भएको मानिस पाउन गाह्रो छ ।”
फाफुरा ढुक्कुरे छाती फुलाएर ङिच्च हाँस्यो । यो दिव्यज्ञान फाफुरी आइपुगेपछि उसले पनि सुन्ने गरी दिएको भए झनै मजा आउँथ्यो । जोगीले आशीर्वादको मुद्रामा हात उठाउँदै भन्यो,
“तेरो खल्तीमा भएको सबैभन्दा ठूलो नोट निकालेर एकपटक नाग बाबाको टाउकोमा छोइदे बालक । तेरो धन दिन दुगुना रात चौगुना बढ्नेछ ।”
त्यस्तो बढौतीको दाबी त भागेर जाने कुनै सहकारीले समेत कहिल्यै गरेको फाफुरालाई थाहा थिएन । तर पनि, अहिलेसम्म कुनै अज्ञानीले बुझ्न नसकेको दिव्यज्ञान अघोरीले देखाइसकेको थियो । फाफुराको विलक्षण प्रतिभा ठ्याक्कै चिन्न सक्ने त्यो जोगीले यो कुरा पनि सत्य नै भनेको हुनुपर्छ भन्ने उसलाई पूर्ण विश्वास भयो । उसले बगलीबाट फेरि पर्स झिक्यो र यसपटक वाजिद अली शाह जसरी शानसँग हजारको नोट निकाल्यो । नाग बाबा अझै ठूलो स्वरमा फुँ फुँ गर्न थाल्यो । फाफुरालाई उसको टाउको नजिक आफ्नो हात लैजान अलि डर लाग्यो । त्यो देखेर जोगीले भन्यो, 
“खै ले बालक, तेरो नोटले म नै नाग बाबाको टाउको छोइदिन्छु ।”
उसले त्यो नोट लिएर कच्याककुचुक डल्लो पारेर नाग बाबाको टाउकोतिर लग्दै भन्न थाल्यो,
“इस भले आदमी को आशीर्वाद दे दो नाग बाबा ।” 
त्यसपछि जे ‘चमत्कार’ भयो, त्यो फाफुराले सात जन्ममा पनि कल्पना गर्न सक्दैनथ्यो । उसले देख्यो, नाग बाबाले फूँ गरेर टाउको अगाडि ल्यायो र आँखा झिमिक्क गर्न नपाउँदै फाफुराको सिंगै हात्तीलाई क्वाप्ल्याक्कै निलिदियो । अघोरी बाबा आँखा च्यातेर आश्चर्य चकित भएझैं कराउन थाल्यो,
“ये तो कमाल हो गया । चमत्कार हो गया । आज तक नाग बाबा नें किसी का रुपया नहीँ खाया था । तेरा खा गया ।” एकै छिन त फाफुरा केही बोल्नै सकेन ।  अघोरी बाबाले अझै ठूलो स्वरमा फाफुरालाई हेर्दै सोध्यो,
“इस का मतलब जानता है बच्चा ?”
उसलाई त्यसको मतलब राम्ररी थाहा थियो । भरे बेलुका फाफुरीको कुचो र उसको ढाडको हनिमून । अनि बल्लबल्ल खुलेको नाकाबन्दी फेरि अनिश्चित कालको लागि लागु । तर, उसको मनोदशाबाट अनभिज्ञ अघोरी बाबा अझै उत्साहित भएर भन्दै थियो,
“जा बच्चा, तेरा बहुत बडा कल्याण होने वाला है । तू साक्षात महादेव का अवतार है । तू चक्रवर्ती बनेगा । इतना माल बनाएगा कि तू कभी सपने में भी नहीं सोच सकता । तेरे तो अब वारे न्यारे हो जायेंगे ।”
अनि यति भनिसकेर अघोरी बाबा लम्केर जान थाल्यो । उसले बुझ्यो, हेर्दाहेर्दै त्यो ठगले उसको हजारको नोट दम्पच पारेर गएको थियो । फाफुरा बल्ल होसमा आयो । अचानक फाफुरा रिभर्स गियर लगाएर वाल्मिकीबाट रत्नाकर डाँकुमा परिणत भयो । अब फुँ गर्ने पालो फाफुराको थियो । दौडँदै गएर उसले अघोरी बाबाको कठालो समात्यो र आफूतिर फर्कायो । दाह्रा किट्दै ऊ आफूले हेरेको भएभरका निम्न कोटिका हिन्दी चलचित्रका खलनायकहरुका शब्दहरु सापटी लिँदै गर्जिन थाल्यो,
“देख हरामजादे । खडे खडे अप्पुन का वाट लगा कर भागना चाहता है ? ऐडा समझता है मेरे को ? तेरा इधर ही गेम बजा डालेगा अप्पुन क्या......? सीधी तरह नावाँ चौकस करता है कि इधरइच तेरे को उपर से छ इन्च छोटा कर दूँ ? लोचा लगाया समझ के हँसता है ? गर्धन पे काँटा फिरायेंगा तो तेरे मुहँ की जगह गला हँसता हुवा दिखाइ देंगा, समझा क्या ?”
अघोरी बाबा फाफुराको उग्र रुप देखेर सेतै भयो । फाफुराले उसलाई हल्लाउँदै थप्यो,
“सीधी तरह से अप्पुन का हजार का पत्ता वापिस कर । वरना तेरे को इतना मारुँगा कि तेरा नाग बाबा भी तेरे को नहीं पहचानेगा और काट खायेगा ।”
अघोरीले अन्तिम प्रयास गर्‍यो,
“कहाँ से करुँ वापिस बच्चा ? वो तो नाग बाबा खा गये ।”
फाफुरा अब वार कि पारको स्थितिमा पुगिसकेको थियो । उसले भन्यो,
“ए चिरकुट....तू अप्पुन को जानता नहीं । अप्पुन तेरे नाग बाबा को मार के उसका पेट चीर के निकालेगा अपना रुपया । बोल्, मार डालूँ ?”
फाफुराको रौद्र रुप देखेर अघोरी अचानक रुन्चे स्वरमा भन्न थाल्यो,
“बाबा तो मजाक कर रहा था बच्चा । तू तो सच में नाराज हो गया । हम साधु लोग हैं । किसी का कुछ खाते नहीं । ये ले अपना रुपया ।”
अनि उसले आफ्नो काखी मुनिको स्वीस बैंकमा लुकाएको फाफुराको धुर्बे निकालेर दियो । हामी जनताले थाहै नपाउने गरी नेता र व्यापारीहरुले स्वीस बैंकमा रकम लुकाएजस्तै उसले पनि फाफुराले थाहै नपाउने गरी काखी मुनि नोट लुकाउने अदभूत कला जानेको रहेछ । फाफुरा आफ्नो झन्डै गुमिसकेको हात्ती पाएर दंग पर्‍यो । अघोरी बाबा अरु कुनै मानिसलाई बोका बनाउन हिँड्यो । 
साँझ घर पुग्नासाथ फाफुराले फाफुरीलाई आफ्नो पुरुषार्थ सुनायो । आफ्नो पतिदेवको वहादुरीको कुरा सुनेर फाफुरीले धाप मारेर पुरस्कार दिन्छे भन्नेमा ऊ आश्वस्त थियो । तर, सबै कुरा सुनेर फाफुरी गम्भीर भई । उसले भनी,
“त्यो एउटा सानोतिनो ठगलाई तर लगाएर तिमी किन यति धेरै दंग छौ ? दाँत र बिख झारेको नाथे लुते सर्प बोकेर हजार पाँच सय चप्काउन हिंड्ने ठगलाई त तिमीले देख्यौ । तर, हजार टाउका भएको अदृश्य शेष नाग बोकेर, हरेक दिन तिमी हाम्रो रगत पसिना डसिरहेका सबैभन्दा ठूला र डरलाग्दा अघोरी बाबालाई तिमीले कहिल्यै ध्यान दिएका छौ ? बहादुर हौ भने तिनीहरुलाई थर्काउन सक न, अनि कुरा गरौंला ।”
फाफुराले जिल्ल परेर उसलाई हेर्‍यो र सोध्यो,
“तिमीले कसको कुरा गरेकी फाफुरी ? कहाँ देख्यौ त्यस्तो अघोरी बाबा ?”
“यत्र–तत्र–सर्वत्र । कति जनाको मात्र कुरा गर्नू । तर सबैभन्दा ठूलो अघोरी बाबालाई हामी सरकार भन्छौँ । ऊ र उसले बोकेको नाग बाबाका हजारौं टाउकाहरुलाई कहिल्यै देखेका छौ ? तिनीहरु हामीले नै तिरेको कर चुसेर बाँच्छन् । त्यसैको कुस्त दुरुपयोग गर्छन् ।”
“कर ?” फाफुराले सोध्यो ।
“हो । त्यसलाई किन कर भन्छन् भन्ने पनि सुन । साधारणतया ‘कर’ बाट नाम उठेका प्रजातिहरु, अर्थात  कर्मचारीले मात्रै महीना दिन ‘कर’ (क.....रगडी रगडी) काम गरेर ‘कर’ बलले नै पनि नतिरी सुख नपाउने भएकोले त्यसलाई कर भनिएको हो । नाग बाबाको डर देखाई देखाई तिमी हामीजस्ता लुते जनताको आयको पचास प्रतिशतसम्म छेर भालु छेर गरेर अघोरी बाबाले डसिरहेको हुन्छ । साना ठूला व्यापारी, पहुँच भएका ठूलाबडा, राजनीतिक आस्थाका कारण कुनै दल विशेषसँग सौहार्द्र भएका व्यक्ति तथा संस्थाहरुले खेल्ने आसपासको डुम हो कर । ”
फाफुरा उसको यो धारप्रवाह प्रवचन सुनेर रनभुल्ल प¥यो । फाफुरी राताराता गाला पारेर अझै बम्किन थाली,
“तीबाहेक पनि हामीले सडक, धारा, यातायात, दूरसञ्चार, शिक्षा, स्वास्थ्य, खानपान, सामान खरीद लगायत हरेक कुरामा कति कर तिरिरहेका छौँ । त्यस बापत हामीले के पाउँछौं ? केही न केही । हामीले पोसेको त्यो रकम कहिले विशिष्टेहरुको सुविधाको नाममा, कहिले रुघाखोकीजस्ता गम्भीर र असाध्य रोगको उपचारका लागि विदेश जाने नाममा, कहिले राजकीय भ्रमणको जम्बोटोलीका नाममा, कहिले थरीथरी नेताका नाममा खुलेका प्रतिष्ठाविहीन प्रतिष्ठानहरुलाई अनुदानका नाममा खन्याएर यिनीहरूले गरेको लखनउ लुटको बारे तिमी हामीले कहिले बोल्यौँ ? सवारी सुविधा, इन्धन सुविधासँगै मर्मत खर्च भनेर मासिक पच्चीसौं हजार डस्दा पनि महीनैपिच्छे त्यत्रो मर्मत गर्न पर्ने कुन सवारी हो, त्यस्तो थोत्रो हो भने किन प्रयोग गर्ने, तिनलाई बीस वर्षे नियम लाग्ने कि नलाग्ने भनेर कहिल्यै अघोरी बाबालाई कसैले सोध्ने ह्याउ देखायो ? यस्ता सबै कुरा त मैले भन्न थालेँ भने एउटा शोधपत्रको ठेली नै तयार हुन्छ फाफ्स डियर ।”
उसले अन्त्यमा बाउन्सर फ्याँकेर खेल समाप्त गरी,
“जुन दिन तिमी यो सबैभन्दा ठूलो अघोरी बाबाले काखीमुनि लुकाएको रकमको बारे प्रश्न उठाउन सक्छौ, त्यसको हिसाब किताब गर्न सक्छौँ, त्यो दिन आएर मसँग बहादुरीको सेखी बघार्नु ।” फाफुरा केही बोल्न सकेन । सँधैजस्तै यसपटक पनि तर्कको अखडामा फाफुरीले उसलाई उठ्नै नसक्ने गरी धोबीपछाड लगाइदिएकी थिई ।

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...