Thursday, June 28, 2018

फिभर-ए-भकुण्डो

उता नेपाललाई आईकाओ भन्ने कुनै संस्थाले कालो सूचीबाट हटायो रे भन्ने समाचार सुनेकै दिन यता फाफुरीले फाफुरालाई कालो सूचीमा हालिदिई । हुनसक्ने र उसको बूताले भ्याउने जति कुरामा उसले फाफुरालाई नाकाबन्दी पनि लगाइदिई । अनि उसले मौनव्रत पनि लिई । किनभने अघिल्लो पटकको फाइँफुट्टीमा उसको टाउको दुखेको कुरा गर्दा फाफुराले केही नभएको रित्तो ठाउँमा के र कसरी दुख्न सक्छ भन्ने प्रश्न उठाएको थियो ।  त्यही आशंका बरो फाफुराको लागि घातक हुन गयो । यो देशमा शंका गर्ने त वातावरणै छैन ।
गल्ती भयो नि त भनेर जति फकाउन खोज्दा पनि फाफुरी साउनको लिँड जसरी घुप्प फुलेर बसिरही । हुँदाहुँदा कतिसम्म त भने उसले अफिस जाँदा बाटोमा पर्ने गार्डन अफ ड्रिम्ससम्म फाफुरालाई स्कुटरमा दिने लिफ्ट पनि बन्द भयो । उता पूर्व विशिष्टहरूले नयाँनयाँ सुविधाहरू थपीथपी खाने दाउ गरिरहेको बेला बिचरा फाफुराको भने खाइपाई आइरहेको सुविधा पनि निर्दयतापूर्वक खोसियो । ठीकै छ भनेर मन बुझाएर फाफुरा फेरि आफ्नो पुरानै औकातमा फर्कियो र सार्वजनिक यातनायातमा कोच्चिन गयो ।
 
पानामाविरूद्ध बेलायतको भकुन्डो र सिन्डिकेटविरूद्ध सरकारको लडाइँमा के समानता छ थाहा छ ? खेल फरक भए पनि दुवैमा एउटै नतीजा आएको छ । अब सरकारसँग पेपे वा रामोस त छैनन् जसले गोल हान्न आउनेका नली खुट्टामा बाँसुरी बजाउन सकून् ! त्यसैले यता सरकारले एक गोल हान्दा उता सिन्डिकेटेहरूले ‘काउन्टर अट्याक्मा छ गोल बजाइदिए् । त्यही जितको विजयोन्मादले हर्षित सार्वजनिक यातनायातका चालक र सहचालकहरू चक्रवर्ती सम्राटजस्ता भएका रहेछन् । पहिले पैंतालीस यात्रु खाँद्ने माइक्रोहरू अब पचपन्न नखाँदी नमान्ने भएका रहेछन् । गुन्द्रुक खाँदिए जसरी खाँदिएर बल्लबल्ल निस्सासिँदै सहीदगेटसम्म पुग्दा फाफुराको सहनशक्तिले आत्मसमर्पण गर्‍यो । अब यो भन्दा पनि अघि गयो भने त बीचमै उसको आत्मा परमात्मासँग चिरमिलनका लागि अनन्तयात्रामा लाग्नेछ र रत्नपार्कमा उसको नश्वर शरीरमात्र माइक्रोबाट ओर्लनेछ भन्ने फाफुरालाई लाग्यो । त्यसैले ऊ त्यहीँ ओर्लियो । रत्नपार्कमा सिट पाइन्न भनेर सहीदगेटबाटै चढ्न कुरेका दूरद्रष्टाहरूको भित्र छिर्ने होडबाजीका कारण फाफुरालाई माइक्रोको गर्भबाट बाहिर निस्कन आमाको गर्भबाट संसारमा निस्कँदा भन्दा कठोर संघर्ष गर्नु पर्‍यो । केही बेर लामोलामो सास फेरेर आफूलाई नियन्त्रण गरेपछि ऊ फेरि उत्तरतिर लाग्यो । रत्नपार्कनिर पुगेर ऊ टक्क अड्यो । 
फाफुरीको सल्लाह मानेर आफूलाई एलिट देखाउन फाफुराले रत्नपार्क त्यागेको अनि गार्डन अफ ड्रिम्समा गएर टोपीले मुख छोपेर सुत्न थालेको केही साता भएको थियो । नढाँटी भन्दा उसलाई त्यो स्थानमा उकुसमुकुस हुनथालेको थियो । अरूलाई देखाउनलाई जेजति प्रपञ्च रचे पनि, जतिसुकै गरे पनि आफ्नो अन्तरात्मालाई ढाँट्न नसकिने रहेछ भन्ने उसलाई लागिरहेको थियो । रत्नपार्कमा फाफुराले सँधै आफैँजस्ता मानिसहरू भेट्थ्यो । गार्डन अफ ड्रिम्समा भेटिने एलिटहरू उसलाई कहिले पनि आफूजस्ता लागेनन् । नीलो रंगको बाल्टिनमा डुबेको स्यालले केही समय त जंगलका अरू जनावरहरूलाई झुक्याउन सक्ला तर एकपटक पानी मात्र पर्नुपर्छ, रंग पखालिन कति बेर लाग्छ र ? मौसमविद्हरूले मनसुन सुरू हुन लाग्यो भनिरहेको बेलामा आफ्नो पनि ‘एलिटिज्म’को नीलो रंग खुइलिएला र गार्डन अफ ड्रिम्सका असली एलिटहरूले लखेट्लान् भन्ने उसलाई पीर भयो । त्यसै पनि फाफुरीसँग उसको शीतयुद्ध त सुरू भई नै सकेको थियो । उसले भनेको कुरा किन मान्नू भन्दै फाफुरा फेरि उही पुरानो, ओरिजिनल, शुद्ध, सस्तो, राम्रो, बलियो, भरपर्दो र आफ्नै देशमा उत्पादित रत्नपार्कतिर लाग्यो । रत्नपार्क उसलाई देखेर प्रशन्न भयो । आफ्नो मौन आँखाले उसले फाफुरालाई सोध्यो,
‘‘कहाँ हराएको थियौ यत्तिका दिन ? मेरो माया लाग्दैन तिमीलाई ?’’
फाफुराले पनि मौन आँखाले नै उत्तर दियो
‘‘केही दिनका लागि पथभ्रष्ट भएको थिएँ । तर अब फेरि आइहालें नि ।‘‘ रत्नपार्क दंग परेर हाँस्यो । फाफुरा पनि आफ्नो पुरानै स्थानमा गएर टोपीले मुख छोपेर लमतन्न परेर सुत्यो । उसलाई बडो मीठो निन्द्रा लाग्यो । यसपटक पक्कै पनि कुनै ठूलै फाइँफुट्टी फुर्ने भयो भन्ने सोच्दै ऊ निदायो । तर, उसले एउटा अचम्मको सपना देख्यो ।
फाफुरी र ऊ कुनै पार्टीमा रहेछन् । पार्टीमा मन्त्री, प्रधानमन्त्री, ठूला नेताहरू, देश विदेशका कलाकार तथा खेलाडीहरूलगायत सबै विशिष्ट मानिसहरू रहेछन् । कुनै एक विशिष्टले फाफुरासँग हात मिलाएर भन्दै हुनुहुन्थ्यो
‘‘बधाई छ तिमीलाई फाफुरा । ब्या गरेको रैछौ तिमीले । अनि हामीलाई श्रीमती चिनाउनु पर्दैन ? ल सबैलाई चिनाइदेऊ ।’’
फाफुरा पनि दंग परेर ती ठूलाबडा सबैलाई फाफुरीको परिचय दिन थाल्यो । राष्ट्रपतिज्यूसँग परिचय गराउँदा उहाँले फाफुरीलाई हेरेर दंग पर्दै भन्नुभयो,
‘‘ओहो, लौ अब मुख हेर्नलाई त मैले केही लिएर आएकी छैन । के गर्नू । ल यही चुरा लिऊ ।’’ 
उहाँले आफूले लगाइरहेको चुरा फुकालेर फाफुरीलाई दिन खोज्नुभयो । तर निकै बल गर्दा पनि त्यो चुरा उहाँको हातबाट निस्केन । अचानक फाफुरीको अनुहार सिनेमामा एनिमेसन गरेजसरी ठ्याक्कै ऋचा शर्माको जस्तो भयो । ऋचा शर्मा पनि अरू बेलाको जस्तो भए त फाफुरा भगवानसँग यो सपना कहिले पनि नटुटोस् भन्ने कामना गथ्र्यो होला । तर, सुनकेशरी भन्ने सिनेमाकी ऋचा शर्मा जस्तो पो भई फाफुरी । उसको मुखबाट कुनै डरलाग्दो केटा मानिसको जस्तो खस्रो र ठूलो स्वर निस्क्यो । उसले सम्माननीय राष्ट्रपतिको पदको महिमाको समेत मान नराखी डरलाग्दो स्वरमा भनी,
‘‘नेता र राजनीतिज्ञहरूको यही बानी नराम्रो । जे पनि दिन्छु, गर्छु भन्ने अनि गर्ने बेला केही नगर्ने, केही नदिने  । भयो हजुर छोडिदिनुस्, मलाई चुरा चाहिएन । हुनसक्छ भने हजुरको राजकीय सवारीहरू चल्ने बेला पूरै सहर कसरी ठप्प नगर्न सकिन्छ भनेर केही गरिदिनुस् । त्यो नै सबैभन्दा ठूलो मुख हेराइको उपहार हुनेछ ।’’
फाफुराले उसलाई तान्दै अलि पर लग्यो र सम्झायो,
‘‘के गरेकी तिमीले । बेला, मौका र मानिस हेरेर के बोल्ने भन्ने पनि थाहा छैन तिमीलाई ? अहिले कम्निसको दुई तिहाइको बेलामा जे पायो त्यही बोल्न हुन्न भन्ने पनि थाहा छैन ?’’
ठुस्स परेकी फाफुरी अचानक फेरि काफ्काको मेटामर्फोसिसलाई मात खुवाउँदै आफ्नो रूप फेर्न थाली । हेर्दाहेर्दै ऊ ऋचा शर्माबाट कुनै पुरूषमा परिणत भई ।  फाफुरा उसको त्यो अनुहार कताकता परिचित जस्तो लागेर ध्यान दिएर हेर्दै थियो ।
‘‘को हौ तिमी ?’’ फाफुराले डराइडराई सोध्यो ।
फाफुरी नेपथ्यको कन्सर्टमा बज्ने लाउडस्पीकरजस्तो ठूलो स्वरमा भन्न थाली,
‘‘तिमीले मलाई चिनेका छैनौ फाफुरा ? अहिलेको बेला संसारमा सबैले चिन्ने मानिस हूँ म ।’’ 
अनि फेरि फाफुरीको अस्पष्ट अनुहार लेन्समा फोकस मिलाएको जसरी स्पष्ट हुँदै आयो । कपालमा पहेंलोपहेंलो रंग दलेको, कन्चट तिर छोटो हुने गरी खुर्केको र बीचमा ठ्याक्कै लोकल कुखुराको भालेको जस्तो सिउर भएकी फाफुरी अचम्मको देखिन्थी । उसले खित्का छोडेर हाँस्दै भनी, 
‘ल हेर । अब चिन्यौ ? नेमार । नेमार हो मेरो नाम ।’’
बिस्तारै जुम आउट भएर फाफुरीको पूर्णकद देखियो । फाफुरालगायत अरू सबैजना चमत्कृत भएर उसलाई हेरिरहेका थिए । त्यही बेला फाफुराले देख्यो, अलि परबाट दुई जना खेलाडी उनीहरू भएतिरै आउँदै थिए । रोनाल्डो र मेस्सी । मेस्सी चाहिँ अँध्यारो मुख लगाइरहेको थियो । नजीक आएपछि फाफुराले सोध्यो, 
‘‘के भो मेस्सी भाइ ? किन मरीच जसरी चाउरिएका छौ?’’
उसले खुइय्य गर्दै भन्यो,
‘‘के भन्नु फाफुरा । अस्ति पनि एउटा गोल गर्ने मौका चुकेँ । पेनाल्टी चुक्यो भनेर बसिखान दिइरहेका छैनन् ।’’
फाफुराले भन्यो
‘‘सुर्ता नगर हुन्डरी कान्छा ! तिमीले त आफूलाई बेलाबेला प्रमाणित पनि गरेका छौ । जीवनभर सिन्को नभाँचेर, गफैले मात्र बम्बई कलकत्ता हाँकेर अनि बारम्बार तिमीले भन्दा निकै ठूला मौकाहरू चुकेर पनि बस्न र खानमात्र नभै राजसमेत गर्न पाउने हाम्रा देशका नेता, राजनीतिज्ञ र प्रशासकहरू यही पार्टीमा थुप्रै छन् । केही लागेन भने तिमी पनि यहीँ आऊ । तिमी विशिष्टमा प¥यौ भने त आजीवन सुविधा पनि पाउँछौ । पानामा ‘ट्याक्स हेभनु हो भने नेपाल ‘फेल्युअर हेभन’ हो । एउटा पेनाल्टी मिस हुँदैमा किन निराश भएको ?
उनीहरूको कुरा सुनेर छेउमै भएको रोनाल्डो अचानक हिन्दीमा बोल्न थाल्यो,
‘‘एक पेनाल्टी की कीमत तुम क्या जानो फाफुरा बाबू ?’’
अनि मेस्सीलाई अँगालो मार्दै सम्झायो
‘‘मैले पनि त हिजो राति इरानसँग खेल्दा पाएको पेनाल्टीमा गोल गर्न सकिन नि । हरेक महान् खेलाडी पनि आखिर भगवान होइन, मानिस नै हो भन्ने हिजो मैले प्रमाणित गरिसकेँ । पीर नगर । अब तिमीलाई कसैले केही भन्दैन ।’’
उनीहरू दुबै पाफुरी तिर अग्रसर भए,
‘‘कसो नेमार, हैन त ?’’
उनीहरू नेमार रूपी फाफुरीको चार हात परै थिए । वरिपरि पनि अरू कोही पनि थिएन । तर, अचानक कुनै अदृश्य शक्तिको प्रहार खाए जसरी फाफुरी भुइँमा लडी र असह्य पीडा भएजसरी लडीबुडी गर्दै छटपटाउन थाली । सबै अवाक् थिए । त्यही बेला कतैबाट कसैले कर्कश आवाजमा सिठ्ठी बजाएको आवाज आयो । सबैले फर्केर त्यतै हेरे । निकै परबाट कोही मानिस सिठ्ठी फुक्दै दौडिँदै आउँदै थिए । ती मानिस कति पर थिए भने उनी एउटा सानो थोप्लाजस्तो मात्र देखिन्थे । तर पनि उनी बिजुलीको गतिले अचानक तुरून्तै नजिक आइपुगे । यति छिटो त युसेन बोल्ट वा अख्तियार लागेको सुब्बा खरदार पनि कुद्न सक्दैनथ्यो होला । त्यति छिटो ती मानिस कसरी यति नजीक आइपुग्न सम्भव भयो भनेर सबै जिल्ल परे । सबैले ध्यान दिएर हेरे । रेफ्रीको यूनिफर्मवाला गञ्जी कट्टू लगाएका ती मानिस त प्रधानमन्त्रीज्यू पो हुनुहुँदो रहेछ । सिठ्ठी उहाँको मुखमा च्यापिएको थियो । गाला फुलाएर अनुहार रातो पार्दै उहाँ पो सिठ्ठी बजाउँदै हुनुहुँदो रहेछ । सबैले आफूलाई जिल्ल परेर हेरेको देखेर उहाँले भन्नुभयो, 
‘‘के ट्वाँ परेर हेरिरहेको ? बुलेट ट्रेन देख्या छैन कहिले ? द्रूत गतिमा कुद्छ । त्यसमाथि पनि म थुतुनोमात्र छिराउने रेल हैन बुझ्यौ ? चाइनादेखि काठमाडाैं पोखरा र लुम्बिनीसम्म पुग्ने रेल हूँ । अब त पत्यार लाग्यो ?
अनि उहाँले नेमारको रूप धरेकी फाफुरीलाई उठ्न इसारा गर्न थाल्नु भो । तर, फाफुरी छटपटाई नै रही । प्रधानमन्त्रीज्यूले फाफुरालाई हेरेर आदेश दिनुभयो,
‘‘खै, मैले अस्ति चाइना जाँदा तिमीलाई राख्न दिएको रेड कार्ड निकाल त ! ’’
फाफुरा जिल्ल प¥यो र नम्र स्वरमा निवेदन गर्‍यो, 
‘‘प्रधानमन्त्रीज्यूलाई कुनै भ्रम भयो जस्तो छ । म कहिले चाइना गएँ र ? म त हजुरको जम्बो भ्रमण टोलीमा थिइन ।
उहाँले चिम्सा आँखाले फाफुरालाई हेर्दैै सोध्नुभयो,
‘किन थिएनौ ? तिमी ऋषि हैनौ र ?’’
फाफुराले पुनः नरम स्वरमा भन्यो,
‘‘मेरो कहाँ त्यस्तो सौभाग्य र हजुर ! यो जुनिमा ऋषि भएर जन्मिन त पूर्व जुनिमा ठूलै पुण्य गरेको हुनुपर्छ । मेरो नाम त फाफुरा हो । फाइँफुट्टीराज ।’’
उहाँ गम्भीर हुनुभयो,
‘‘ए...... ल पख त्यसो भए । म ऋषिलाई खोजेर आउँछु । आज म यसलाई छाड्दिन । आज त यसले रेड कार्ड खायो खायो ।’’
उहाँ ऋषि खोज्न भिडमा मिस्सिनुभयो । फाफुरालाई बडो पीर पर्‍यो । जे भए पनि, जति झगडा गरेपनि, एकछिन रिसाए पनि, केही दिन नबोले पनि आफ्नो त संसारमा भएको सम्पत्ति भनेकै यही एक थान फाफुरी हो । उसैलाई पनि नेमार भन्ठानेर रेडकार्ड देखाइदिए भने त के गर्ने होला ? फाफुरा यही पीरले आधामासु भइरहेको बेला कतै केही मान्छे ठूलो स्वरमा कराए,
‘‘गो.....ल ।’’
र, त्यो आवाजले रत्नपार्कमा निदाएको फाफुराको आँखा खुल्यो । उसले चारैतिर हे¥यो । केही केटाकेटीहरू भकुन्डो खेल्न थालेका रहेछन् । ती सबैले थरीथरी देशका जर्सीहरू लगाएका थिए । उनीहरू बडो मिलीजुली रमाएर खेलिरहेका थिए । फाफुराले झलक्क आफू र आफ्ना दौंतरीहरूलाई सम्झ्यो । हामीहरू सबै आफूले समर्थन गरेको टोलीबाहेक अरूलाई समर्थन गर्नेहरूसँग अंश मुद्दा लडिरहेका दाजुभाइ जसरी झगडा गरिरहेका हुन्छौँ । ‘इटिंग गेटिंग नथिंग–पुटिंग अन अ लेदर क्याप’ भन्ने बंगाली उखानलाई चरितार्थ पार्दै ‘मेरो टीम र खेलाडी खतरा, तेरो टिम र खेलाडी रद्दी’ भन्दै बाझिरहेका हुन्छौँ हामी ठूला र बुद्धि आएका मानिसहरू । ओहो, हामीले यी अबोध बालबालिकाबाट सिक्न बाँकी कुरा कति रहेछ भन्ने सोच्दै फाफुरा उनीहरूलाई हेरिरह्यो । ती मध्ये ढाडमा १० नम्बरको अंक र ‘नेमार जूनियर‘ लेखिएको पहेंलो जर्सी लगाएको एउटाले गजबको कला र शैलीका साथ बाँकी सबैलाई छलाउँदै भकुन्डो अगाडि बढाउँदै थियो । फाफुरा उसलाई हेर्दै मनमनै सोच्न थाल्यो, 
’‘यस्तो राम्रो खेल्दो रहेछ यो फुच्चे । यो चाहिँ नलडोस् । ’’
नभन्दै ऊ लडेन र उसले गोल पनि हान्यो । अरू सबै देशका जर्सी लगाएका फुच्चेहरूले ऊ जत्ति नै खुसी हुँदै उसको ढाड थपथपाए । उनीहरू फेरि खेल्न थाले । अब डीडीसीको पोकाजस्तो १० नम्बरको जर्सी लगाएको फुच्चे पेनाल्टी हान्दै थियो । उसले पनि गोल ग¥यो । बाँकी फुच्चेहरू त्यसै गरी रमाए । खेलले बच्चाहरूलाई चाहिँ विभाजन नगर्ने रहेछ । 
साँझ घर फर्किने बेला फाफुरा सोच्दै थियो, के उता सपनामा फाफुरीले रेड कार्ड खाई होली ? फाफुरालाई लाग्यो, मान्छेको जीवन पनि त भकुन्डोकै खेला जस्तो न हो । कुनबेला रेफ्रीले रेडकार्ड देखाएर मैदानबाट बाहिर पठाइदिन्छ भन्ने के ठेगान । त्यसैले क्लेष, डाहा, रिसराग, लोभ र चित्त दुखाइको यहाँ कुनै अर्थ नै छैन । फाफुरीसँग जसरी भए पनि सम्झौता गरेर नाकाबन्दी खोल्न दृढ भएर डेरातिर लाग्दा फाफुरा सोच्दै थियो, जिन्दगीको खेलको पनि निर्धारित नब्बे मिनेट भाइचारा र सद्भावका साथ खेल्न सक्यौँ भने त्यही नै ठूलो कुरा होइन र ?
बाँकी रह्यो गोलको कुरा । गोल भनेको त त्यस्तै हो – कहिले खाइन्छ, कहिले हानिन्छ ।

भिखारी भत्ता

यो देशमा रत्नपार्कमा टोपीले मुख छोपेर सुत्ने त वातावरण नै छैन ।  यत्तिका लामो समयसम्म फाइँफुट्टीराजको फाइँफुट्टी पढिसकेपछि त तपाईँहरुल...