बायाँ फन्को ७०
पिकासोको बारे एउटा रमाइलो घटना प्रचलित छ । एक पटक केही मान्छेहरु एउटा चित्रकला प्रदर्शनीका लागि उनको चित्र माग्न गएछन् । पिकासोले पनि आफ्नो कुनै एक चित्र दिएर पठाएछन् । अलि धेरै दिन चल्ने उक्त प्रदर्शनी सुरु भएको केही दिन पछि पिकासोको त्यो चित्रको बारेमा चर्चा परिचर्चाहरु हुन थालेछन् । पत्रपत्रिकाहरुमा कला समीक्षकहरुले त्यस चित्रका बारे बखान लेख्न थालेछन् । त्यो चित्र, त्यसको आयाम, त्यसमा कोरिएका धर्का, प्रयोग भएका रंगहरु, तिनका समायोजनका बारे थुप्रै लेखिएछ । तिनले के भन्न खोजेका हुन् भन्ने व्याख्या पनि ज्ञाताहरुले आआफ्नै ढंगबाट सशक्त रुपमा पेश गरेछन् । केही दिन पछि के सुर चढेर पिकासो त्यो प्रदर्शनी अवलोकन गर्न आफू पनि पुगेछन् । अरु चित्रहरु हेर्दैहेर्दै आफ्नो चित्रको अगाडि पुगेर पिकासो रोकिएछन्, केही बेर घोरिएर त्यसलाई हेरेपछि आयोजकलाई बोलाएर उनले भनेछन्,
“मेरो चित्र त उल्टो पो झुण्ड्याइएको रहेछ । कृपया यसलाई सुल्टो बनाउनुहोला ।”
अर्को एउटा यस्तै रमाइलो प्रसंग चार्ली च्याप्लिनसंग सम्वद्ध छ । च्याप्लिन चर्चा र प्रसिद्धिको चरम चुलीमा भएको बेला उनका प्रशंसकहरुका लागि एउटा प्रतियोगिताको आयोजना गरिएछ । त्यस प्रतियोगितामा चार्ली च्याप्लिनका डुप्लिकेटहरुले उनको नकल गर्नु पर्ने थियो । जो सबै भन्दा बढी हुबहु च्याप्लिन जस्तो देखिन्थ्यो र जसले बढी भन्दा बढी उनको नकल उतार्न सक्थ्यो, त्यसलाई विजेता घोषित गरेर पुस्कार दिइने व्यवस्था गरिएको रहेछ । च्याप्लिनका थुप्रै डुप्लिकेटहरुका लाइन लागेको रहेछ । रमाइलोको लागि कसैलाई केही नभनी सुटुक्क स्वयं च्याप्लिन पनि तिनका माझमा मिसिएर आफ्नो पालो कुर्न थालेछन् । च्याप्लिनको नकल गर्नु पर्ने त्यस प्रतियोगिताका निर्णायकहरुले अन्त्यमा स्वयं चार्ली च्याप्लिनलाई दोश्रो भएको घोषणा गरिदिएछन् ।
माथिका हाँसो लाग्दा दुइ प्रसंगहरुलाई अलि गहिरिएर हेर्ने हो भने त्यसले एउटा कुरा थाहा हुन्छ । कला, साहित्य र सिर्जनाको स्तर नाप्ने कुनै निश्चित फर्मूला वा यन्त्र हुँदैन । नराम्रो सिर्जनालाई नराम्रो भन्न सकिने धेरै आधारहरु भए ता पनि राम्रा मध्ये कुन बढी स्तरिय भन्ने कुरा निक्र्यौल गर्न चाहिँ असम्भव कुरा हो । बहुसंख्यक दर्शक, पाठक वा श्रोताले मन पराएको कुरालाई बाँकी सबैले पनि सहज रुपमा स्वीकार गरेका कारण कुनै सर्जक वा सिर्जना विशिष्ट हुने गर्दछ । तर सिर्जनाको मूल्याँकन गर्ने बेला हामी सबै त्यो श्रष्टाको नाम, ख्याति र चर्चा प्रति धेरै हदसम्म पूर्वाग्रही भइरहेका हुन्छौं । त्यो जानी जानी वा नजानिंदो तवरले पनि भै रहेको हुन सक्छ । थुप्रै पैसा खर्च गरेर बनाएको घरको भित्तामा कुनै केटाकेटीले आएर लतपतिएका बाङ्गाटिङ्गा धर्काहरु कोरिदियो भने रिस उठ्छ । हामी त्यसलाई भित्ता फोहोर पारेको भनेर मान्छौं । तर, त्यस्तै धर्का एम एफ हुसेन जस्ता कलाकारले कोरिदयो भने त्यही नै गर्वको कुरा हुन्छ र त्यसमाथि आजीवन अर्को रंग कसैले लगाउँदैन । नारायण गोपालको निधन पछि सार्वजनिक भएको एउटा गीतको बीचमा उनले खोकेको आवाज नै पनि विज्ञापन गर्ने कुरा भएको उदाहरण त हाम्रै माझमा पनि छ । त्यसैले राम्रो र नराम्रो भन्ने मानक अरु धेरै कुराहरुमा भर पर्ने गर्दछ ।
त्यति हुँदाहुँदै पनि केही निश्चित र ठोस आधारहरु हुन्छन् जसले कुनै सिर्जना वा श्रष्टाको विशिष्टतामा विवाद गर्ने ठाउँ दिएको हुँदैन । हाम्रो परिवेशमा कुरा गर्दा केही मानिसहरु नेपाल भित्रका नेपालीहरु र नेपाली मूलका प्रवासीहरुका सिर्जनाका बारे अनावश्यक तुलनाहरु गरिरहेका भेटिन्छन् । उताकाहरु आएर नसिंगारेको भए हाम्रो सङ्गीत आज यति धनी हुँदैन थियो भन्ने विवाद गर्नेहरु र त्यसो भन्नेहरुको पाखुरा सुर्केर खोइरो खन्नेहरुका प्रतिवादहरु बेलाबेला सुनिरहेको कुरा हो । यहाँ नेर बिर्सन नहुने कुरा के हो भने, यता नआइ उताकाहरुले जतिसुकै विशिष्ट भए पनि नाम र दाम कमाएका छैनन् । बढी भन्दा बढी पाठक, श्रोता वा दर्शक, नाम र दामको चाहना हरेक मान्छेमा हुनु स्वाभाविक हो । इटालियन मूलका रोवर्ट डि नेरो र अल पचिनो जस्ता अभिनेताहरु अमेरिकाको चलचित्रमा नभएका भए त्यति नै प्रख्यात हुन्थे कि हुन्नथे भन्ने आफ्नै प्रश्न हुन सक्छ । उदीतनारायण र मनीषा कोइरालाले पनि भारतमा गएर कमाएको प्रसिद्धि आलो कुरा नै हो । पाकिस्तानका नामूद गायकहरुका पनि भारतीय बजार पाएपछि सही मूल्याँकन भएको उदाहरणहरु छन् । त्यसैले सीमा पारीका श्रष्टाहरु काठमाण्डौं आउनु पनि यही क्रमको एउटा अत्यन्त स्वाभाविक कुरा हो । आदिम कालदेखि नै मान्छेले आफ्नो लागि बढी उर्वर भूमि खोज्न जानेका थियो र त्यो क्रम अझै कायम छ । यस स्वाभाविक प्रकृयाकोे विरोध गर्नु वा अनावश्यक चर्चा गर्नु यो लेखको आशय पटक्कै होइन ।
तर हालसालै पनि साहित्यको सन्दर्भमा भारतका नेपालीहरुको सिर्जना हाम्रा साहित्यकारहरुको भन्दा स्तरिय छ भन्ने महानवाणी कुनै एक महानुभावको मुखारविन्दबाट अभिव्यक्त भएको पाइयो । अचम्मको कुरा के भने माथि भनिए जस्तो साहित्यलाई कुन कसीमा घोटेर कुन आधारमा प्राप्त भएको ज्ञान होला त त्यो ? तुलनाको कुरा गर्नै पर्छ भने र हाम्रो नेपाली साहित्यको ईतिहास केलाएर हेर्ने हो भने भानुभक्त, मोतीराम, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, लेखनाथ पौडेल, रुद्रराज पाण्डे, गुरुप्रसाद मैनाली, शंकर लामिछाने, दौलतविक्रम विष्ट, ध. च. गोतामे, ध्रुवचन्द्र गौतम, गोविन्द गोठाले, विजय मल्ल जस्ता साहित्यकार र तिनका रचनाका सामु टिक्न सक्ने कुन चाहिँ भारतीय नेपाली साहित्यकार छन् भन्ने कुरा मेरो अल्पवुद्धिले चाहिँ फेला पार्न सकेको छैन ।
हुन त कसैकसैको आँखा कमजोर हुन्छ र उनीहरु नजीकको कुरा राम्ररी देख्न सक्दैनन् । त्यसको निराकरण गर्ने एउटा सजिलो उपाय छ । नेपाली साहित्य र सङ्गीत आफैमा उताको योगदान बिना अधूरो छ भन्ने कसैलाई लाग्छ भने प्लस पावर भएको चस्मा लगाउने बेला भएको हो, अरु केही होइन ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment