Translate

Monday, March 19, 2012

अर्थ, अनर्थ, अर्थ न बर्थ

बायाँ फन्को ८०

केही समय अघि एउटा पत्रिकाको पहिलो पृष्ठमा समाचारको यस्तो शीर्षक छापिएको थियो,
‘प्रधानमन्त्रीद्वारा कब्जा गरिएको सम्पत्ति फिर्ता गर्न निर्देशन’

शीर्षक मात्र पढ्ने हो भने प्रधानमन्त्रीले सम्पत्ति कव्जा गरेछन् र त्यो फिर्ता गर्नका लागि उनलाई कसैले निर्देशन दिएछ भन्ने अर्थ लाग्ने त्यस समाचारको खास अर्थ चाहिँ माओवादीहरुले कव्जा गरेको सम्पत्ति फिर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिए भन्ने थियो । त्यस कारण त्यो शीर्षक हुनुपथ्र्यो,
‘कव्जा गरिएको सम्पत्ति फिर्ता गर्न प्रधानमन्त्रीद्वारा निर्देशन’

अझ स्पष्ट र सटीक शीर्षक हुनुपथ्र्यो,
‘माओवादीद्वारा कव्जा गरिएको सम्पत्ति फिर्ता गर्न प्रधानमन्त्रीद्वारा निर्देशन ।’

हुनलाई त एउटा नाथे शव्द अगाडिको पछाडि मात्र पर्ने हो, तर शीर्षक लेख्ने मान्छे र भाषा सम्पादकहरुको सानो हेलचक्र्याँईले अर्थलाई कसरी अनर्थमा परिणत गर्न सक्छ भन्ने कुरामा अरु नभए पनि संचार माध्यमहरु चाहिँ चनाखो हुनुपर्छ ।
२०४० साल ताका एउटा साप्ताहिक पत्रिकामा आफूले लेख्ने गरेको बगम्फूसे स्तम्भमा त्यतिबेलाका रेडियो नेपाल र गोर्खापत्रले प्रयोग गर्ने यस्तै भाषाका बारे मैले लेख्ने धृष्टता गरेको थिएँ । चौध पन्ध्र वर्षको उमेरमा लेख्न थाल्दा तुलनात्मक रुपमा त्यतिबेला मेरो सुरुवाती लेखन अपरिपक्व थियो होला । त्यतिबेला र अहिलेको संसारमा निकै परिवर्तन भैसक्यो । आर्थिक, सामाजिक, प्राविधिक, वौद्धिक र राजनीतिक रुपमा हामी कहाँबाट कहाँ पुगिसकेका छौं । आम संचारको परिभाषा नै अर्कै भैसक्यो । हामीले त्यसको माध्यम, प्रविधि र गति जस्ता कुराहरुमा चिताउनै नसक्ने फड्काहरु मारिसकेका छौं । तर भाषा र वाक्य संयोजनका कुरामा भने अहिलेसम्म हामी जहाँको त्यहीं नै रहेछौं भन्न्ने कुरा पत्रपत्रिका पढ्दा, रेडियो र टेलिभिजन हेर्दा भान हुन्छ । मेरो त्यतिबेलाका केही स्तम्भका अहिले पनि समयसाक्षेप हुने अंशहरु यहाँ उद्धृत गर्न मन लागेको छ ।


‘यो रेडियो नेपाल हो । अब फलानोप्रसाद ढिस्कानाबाट समाचार सुन्नुहोस् । प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको अध्यक्षतामा अधिराज्यको विभिन्न भागमा आएको अविरल वर्षा र बाढीले भएको क्षति पूरा गर्नका लागि..............’
यति सुन्दैमा थाहा भैहाल्यो, अविरल बाढी र वर्षा प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको अध्यक्षतामा आएको रहेछ । तर सोच्नुपर्ने कुरा के त भने हाम्रो जस्तो अल्पविकसित देशका प्रधानमन्त्री त्यति शक्तिशाली कसरी भए जसले अविरल वर्षा र बाढी ल्याउन सके ? वर्षा त प्रकृतिको देन हो, प्रकृतिमाथि अमेरिका जस्तो साधनसम्पन्न देशले त विजय पाएको छैन भने हाम्रो देशका नाथे प्रधानमन्त्रीले कसरी प्रकृतिलाई जिते ? जितेका नै हुन् भने पनि यी कस्ता प्रधानमन्त्री हुन् जसले यस्ता प्राकृतिक विपत्ति ल्याउन सक्ने क्षमताको परिक्षण वा प्रयोग आफ्नै कार्यकालमा र आफ्नै देशमा गर्छन् ? यस्ता प्रश्नहरु विजुली चम्के झैं झिलिक्क मेरो मगजमा चम्के । तर त्यति नै बेला वाक्यको दोश्रो अंश सुनियो,
‘.....एक समिति गठन गरियो ।’
ए.......त्यो त वर्षा र बाढीबाट भएको क्षतिपूर्ति गर्न गठन भएको समिति पो त प्रधानमन्त्रीको अध्यक्षतामा भएको रहेछ  । त्यो भ्रामक र गलत वाक्य गठन गर्ने व्याकरणको कुन चाहिँ पण्डित होला जसले त्यस्तो समाचार तयार पारेको हो ।


संसारमा कतै पनि नभएको वस्तु कुनै देशमा रहेको अवस्थामा त्यसको व्यापक चर्चा हुन्छ । त्यो वस्तुले अन्तर्राष्ट्रिय रुपमा महत्व पाउँछ । त्यस्तै एउटा अनौठो कुरा हाम्रो नेपालमा छ । एउटा यस्तो अनौठो कुरा जुन विश्वभरिमै एक्लो छ । तपाईं सगरमाथा भन्नुहोला । त्यो त सबैलाई थाहा भएकै कुरा हो । मैले अहिले भन्न लागेको वस्तुले त गिनिज बुकमा आरामले दर्ता पाउँछ । चीनको पर्खाल पछि दोश्रो नम्वरको महानतम आश्चर्यमा गनिएछ भने पनि अचम्म मान्नु पर्दैन । तर त्यस्तो अद्भूत चीज आफ्नो देशमा भएर पनि कसैले त्यसको महत्व नबुझे जस्तो छ र पो फसाद । मलाई थाहा छ यतिबेलासम्म तपाईंहरु त्यो वस्तुको बारे जान्न उत्सुक भैसक्नु भएको छ । त्यो हो, २७ किलोमिटर लामो मोटर ।
हुन त त्यो मोटर नेपालमा आविष्कार भएको नभएको पनि हुनसक्छ तर पनि विश्वमै कतै नभएको त्यति लामो मोटर हाम्रो देशमा हुनु भनेको त गौरवको कुरो हो । यो रहस्यको उद्घाटन भने गोरखापत्रले छापेर गरेको थियो । यस्तो दुर्लभ कुराको जानकारी दिने गोरखापत्रलाई धन्यवाद अनि बधाइ दिनै पर्छ । समाचार यस प्रकार थियो,
‘निर्माण तथा यातायात मन्त्री फलानोप्रसाद ढिस्कानाले......ठाउँमा २७ किलोमिटर लामो मोटर चल्ने बाटोको समुद्घाटन गर्नु भयो ।’
२७ किलोमिटर लामो मोटर चल्ने बाटो आफैमा चाहिँ कति किलोमिटर लामो होला भन्ने कुरा चाहिँ समाचारमा उल्लेख गरिएको थिएन । पानी जहाज र रेल भन्दा लामो मोटर हाम्रो देशमा चल्छ भन्ने जानकारी दिने गोरखापत्रलाई फेरि एक पटक घन्यवाद ।


‘यो रेडियो नेपाल हो । फलानोप्रसाद ढिस्कानाबाट समाचार सुन्नुहोस् । प्रधानमन्त्री ढिस्कानोप्रसाद फलाना सिकिस्त विरामी भएर वीर अस्पतालमा भर्ना हुनुभएको.......’
यति सुनिसकेपछि त बाँकी अंश छ अथवा हुन्छ भनेर जसले पनि लख काट्न सक्ने कुरा हो । कतिजनाले त अब आजभोलि नै शोक मनाउन सार्वजनिक विदा हुने भो, कुखुरा काटेर दिनभर तास खेल्नुपर्छ भन्ने योजना बनाउन भ्याए होलान् भने कतिले गोकर्णमा पिकनिक खाने विचार पनि गरे होलान् । म पनि प्रेमिकासंग गोदावरी घुम्न जाउँला भन्ने सोच्दै थिएँ, समाचारवाचकले बाँकी वाक्य पूरा गरे,
‘..........लाई हेर्न जानु भयो ।’
मरि जा....बज्या भनेर मैले रेडियो निभाइदिएँ ।
प्रेस काउन्सिलको डिजिटल पुस्तकालयमा पुराना पत्रपत्रिकाका स्क्यानिंग गरेर राखिएको हुनाले मैले २०४० साल वरिपरिका आफ्ना केही पुराना लेखहरु भेट्टाउन सकें । त्यतिबेला भाषाको यस्तो लापरवाहीका बारे श्रृँखलावद्ध रुपमा नै मैले कलम चलाएको रहेछु । तिनका केही रोचक उदाहरणहरु यहाँ उल्लेख गर्न उपयुक्त देखेको छु ।
‘५ रुप्याँको हिमाल, १ रुप्याँको भगवती र ५ पैसाको वामन अवतार अंकित हुलाक टिकट ।’

‘हिमाल अंकित रु ५ को, भगवती अंकित रु १ को र वामन अवतार अंकित ५ पैसाको हुलाक टिकट’ नभनिएकोमा सबै थोक महँगो भए पनि प्राकृतिक सम्पदा र देवीदेउताको मोल चाहिँ सस्तै रहेछ भनेर आफूले व्यंग्य गरेको देखि लिएर ‘राष्ट्रिय पञ्चायतको मलद्वारमा बम विष्फोटन’ (हुनुपर्ने मूलद्वार) का लागि निर्जीव भवनको मलद्वार कसरी भयो, कहाँ निर रहेछ त्यो र त्यति संवेदनशील अंगमा बम पड्कंदा राष्ट्रिय पञ्चायतलाई कति पीडा भयो होला भनेर घोचपेच गर्न पनि भ्याएको रहेछु ।

यी त भए ४० सालको कुरा । अब आजभोलिका कुराहरु गरौं । आजकल पनि बेलाबेलामा यस्ता भाषा संयोजनहरु पढ्न र सुन्न पाइन्छ । केही समय अघि कुनै एउटा पत्रिकामा छापिएको थियो,
‘मृत अवस्थामा लाश वरामद ।’

धन्य परमात्मा । अरु बेला ज्यूँदो अवस्थामा पनि कतै लाश वरामद भएको त पक्कै छैन होला । लाश भनेको मृत नभए के हुन्छ कुन्नि ? ‘ओझेलमा परेका चर्चित व्यक्तिहरु’ जस्ता हास्यास्पद शीर्षकहरु पनि हामी बेलाबेला पढ्न पाउँछौं ।

पञ्चायतकाल ताका राजा वा राजपरिवारका अन्य सदस्यहरुको नाम भन्दा अघि अरु कसैको नाम लिन वा लेख्न हुँदैन भन्ने अघोषित नियम थियो । जानीजानी अथवा अज्ञानतावश पनि त्यसको पालना नगर्नेलाई अञ्चलाधीश कार्यालयले पुर्जी काट्ने, स्पष्टीकरण माग्ने र सके दुइचार दिन मामाघरमा जाक्ने गरिन्थ्यो । त्यतिबेला लेटर प्रेस भन्ने प्रविधिबाट पत्रिकाहरु छापिने गर्थे । भुक्क उठेका सीसाका एकएक अक्षर, मात्रा, ह्रस्व दीर्घका टुक्राहरु खोपाखोपामा छुट्याएर राखिएका हुन्थे र हातले लेखिएका सामाग्रीहरु हेर्दै कम्पोजिटरले ती अक्षरहरु टिपीटिपी चाङ मिलाउनु पथ्र्यो । ट्रेडल भनिने मेशिनमा छापिनका लागि घोटिंदा घोटिंदा कतिपय अक्षरहरु खिइसकेका हुन्थे र कहिलेकहीं राम्ररी छापिंदैनथे । ती अक्षरहरु भारतबाट मगाउनु पथ्र्यो । त्यसैले भन्दाभन्दै नयाँ परिवर्तन गर्न पनि सम्भव हुँदैनथ्यो । त्यस्तै खिइएको एउटा आधा अक्षर राम्ररी नछापिएका कारण एक पटक पञ्चायतका उग्र हिमायती र अन्धो राजभक्त एक जना सम्पादकको पत्रिकामा श्री ५ वीरेन्द्रको साटो आधा न खिइएको कारण ‘श्री ५ वीरेद्र’ मात्र छापिएको थियो । त्यो ‘अपराध’ का कारण उनी अञ्चलाधीश कार्यालय धाएका थिए, बजारमा गएका पत्रिका सबै फिर्ता लिने शर्तमा उम्केका थिए । उनी छाप लागेका राजभक्त नभएका भए त शायद खोरमा नै पनि जाकिन्थे होला ।

त्यस अवस्थाले गर्दा आमसंचारका माध्यममा लेख्ने पढ्नेहरुमा राजाको मात्र नभै कुनै पनि शासक वा प्रभावशाली मान्छेको नाम अगाडि लिनुपर्छ भन्ने मानसिकता हावी भएको हुनुपर्छ । त्यसैले त त्यतिबेलाका समाचारहरु यस्ता पनि हुन्थे,
‘श्री ५ महाराजाधिराज.........बाट जर्मनीको चान्सलर पद सम्भाल्नु भएकोमा.......लाई एक वधाइ तथा शुभकामना सन्देश प्रदान गरिबक्सेको छ ।’

त्यो मानसिकता अझै पनि बिरालो बाँध्ने परम्परा जस्तो हामीमाझ हावी भएकाले नै माथि उदाहरण दिइएका जस्ता वाक्य संयोजनहरु हामी अझै पनि पढ्न सुन्न पाइरहेका छौं । समाचार बाहेक अझ विज्ञापनको भाषाको कुरा गर्ने हो भने त झन् रमाइलो छ । ‘बिना अपरेशन हर्ट एटेक, बाइपास र एन्जिओप्लाष्टी गरिन्छ’ भन्नेर विज्ञापन गर्ने महापुरुषहरुको कमी छैन यो देशमा । त्यस्तो विज्ञापन पनि पत्रिकामा छापिनु अझै रमाइलो कुरा हो । त्यसबाहेक विज्ञापनदाताहरुले ‘तालुपनाको उपचार’ र ‘त्वचामा निखार’ जस्ता शव्दहरुको आविष्कार गरेर नेपाली भाषालाई समृद्ध बनाएका छन् । राज्यले सम्मान गर्न बिर्सेका यस्ता अलौकिक शव्द आविष्कारकहरुले हरेक शव्दमा ‘पना’ थपेर भाषालाई अझै बढी विस्तृत बनाएका छन् । तालुपना, मोटोपना, गोरोपना, कालोपना, नरमपना, जस्ता असंख्य नयाँ पनाहरु ती महामानवहरुले हामीलाई दिएका छन् । च्याउ उम्रेसरी उम्रेका एफएम रेडियो र धेरैजसो नीजि टेलिभिजनका उद्घोषकहरुले बोल्ने भाषाको बारेमा त म भन्दा ठूला ज्ञाताहरुले धेरै पटक धेरै लेखिसकेका छन्, बोलिसकेका छन् ।

हाम्रा अधिकांश संचार माध्यमहरु ‘हाजिर जवाफ’लाई ‘हाजिरी जवाफ’ भनेर लेख्छन् । विमान परिचारिका नलेखेर ‘एयरहोस्टेज’ लेख्छन्, अंग्रेजी नै लेख्न परे सही अर्थ लाग्ने ‘एयरहोस्टेस’ लेख्नु नि । ‘होस्टेज’ र ‘होस्टेसमा’ आकाशपातालको फरक हुन्छ हैन र ? ‘एयरहोस्टेज’ भनेको त हवाइवन्धक हुन्छ । कि म मूर्खले मात्र नबुझेको कुरा हो त्यो ?

हिन्दी विज्ञापनको नेपाली अनुवादको कुरा गर्ने हो भने त एउटा सानोतिनो शोधपत्र नै तयार गर्न सकिन्छ । टेलिभिजनमा हेर्ने हो भने कुरिकुरि लाग्ने विज्ञापनहरुको कुनै कमी हुँदैन । ‘जाँड, रक्सी, धुम्रपान, ड्रग्स तथा डायविटिज जस्ता कुलतहरुबाट छुट्कारा पाउन हामी कहाँ सम्पर्क राख्नुहोस्’ भन्ने एउटा पसलको विज्ञापन देखेर म हाँस्दाहाँस्दा बाटैमा झण्डै बेहोश भएर पछारिएको छु । मैले रोग भन्ठानेका मधुमेह कहिले देखि कुलत भएछ, मलाई त थाहा पनि भएन ।

भाषाको मूल काम भनेको संचार हो, कुरा बुझाउनु हो त्यसैले सबै मानिस भाषा, व्याकरण र वाक्य संयोजनमा छुरा हुनुपर्छ भन्ने केही छैन । म आफै पनि शतप्रतिशत भाषाको ज्ञाता कहाँ हो र ? तर कमसे कम आमसंचारका माध्यमहरुले र विज्ञापनकर्ताहरुले भने कुनै पनि भाषा प्रयोग गर्दा अर्थको अनर्थ चाहिँ नहोस् भन्ने कुरामा अलि बढी नै ध्यान दिनुपर्छ भन्ने मात्र मैले धृष्टता गरेको हूँ ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment