Translate

Sunday, July 15, 2012

साँढे स्वाभिमान

बायाँ फन्को ८८ 

फुटबल हामीमाझ लोकप्रिय खेल हो । त्यसैले विश्वकप, यूरोकप, कोपाअमेरिका जस्ता प्रतियोगिताहरुका बेलामा टेलिभिजनको नै बिक्री बढ्ने गर्छ । अझ बढी पारखीहरु त स्पेन, जर्मनी, वेलायत र इटलीका लिग खेलहरु समेत जागराम बसेर हेर्न छुटाउँदैनन् । राष्ट्रिय स्तरको फुटबल खेलको गति जेसुकै होस्, दक्षिण एसियामा हामी अझै सबैभन्दा माथ्लो वरियताक्रममा छौं । भर्खरै फुटबलको एउटा ठूलो प्रतियोगिता सकिएको छ । यूरो कप २०१२ । तर हामी माझ भने आजकोे परिप्रेक्ष्यमा फुटबलको अर्कै रुप र परिभाषा बढी लोकप्रिय हुन थालेको भान भएको छ । त्यो हो, फुट र बल । अर्थात् फुट्नका लागि गरिने बल । यो खालको फुटवल चाहिँ हाम्रो अघोषित राष्ट्रिय खेल भैसकेको छ । हामीलाई फुट्नु किन यति धेरै रोमाञ्चक लाग्छ भनेर कहिले सोच्नुभएको छ ? यो एउटा गम्भीर प्रश्न हो जसको उत्तर हामीले शीघ्रातिशीघ्र खोज्नु आवश्यक छ । 

फुट्ने कुरामा हाम्रो समाजको हरेक पक्षमा गौरवशाली परम्परा रहेको छ । चार जना अभिन्न मित्रहरु अथवा दाजुभाइ मिलेर कुनै बन्दव्यापार सुरु गर्छन् । त्यो जब फल्नफुल्न थाल्छ, त्यसैसंग फल्न थाल्छ कलहको वीज । जब त्यसले एउटा उँचाइ प्राप्त गर्छ, उनीहरुको साझेदारी अधिकांश रुपमा फुटेकै हुन्छ । त्यस्ता बग्रेल्ती उदाहरणहरु हाम्रो वरिपरि पाइन्छन् । कुनै एउटा साङ्गीतिक समूहको कुरा गरौं, उनीहरुको गीत चर्चाको चुली चुमेपछि किन एकजूट रहन सक्दैनन् ? अहिलेको समयमा हेर्ने हो भने राजनीतिक दलहरु खूब फुटबल खेलिरहेका छन् । नामै सम्झन गाह्रो होला जस्तो गरी भटाभट फुटिरहेका छन् दलहरु । दलहरुको दलदलमा अब त को कुन दलको नेता हो भनेर सम्झन पनि निकै ठूलो कसरत नगरी नसकिने भैसकेको छ । 

त्यसबाहेक पनि हरेक क्षेत्रमा हेर्ने हो भने को भन्दा को कम भने जस्तो गरी हामी फुटबल खेलिरहेका छौं । यस अर्थमा भन्दा फुटबललाई हाम्रो राष्ट्रिय खेल नभने के भन्ने ? त्यो फूटवल सामूहिक खेल हो जसमा व्यक्तिगत स्वार्थ भन्दा समूहको जीत सर्वोपरि हुन्छ । त्यसमा जित्दा समूहले नै जित्छ भने यो फुटबल चाहिँ व्यक्तिगत स्वार्थका लागि खेलिन्छ । यसमा व्यक्तिको विजयसंगै समूह, समाज र राष्ट्रले चाहिँ पराजयको माला लगाइरहेको हुन्छ । सीमित मानिसहरुका उपलव्धिका लागि ठूलो समुदायले मोल चुकाइरहेको हुन्छ । समग्रमा यो फुटबलले देशको भलो गर्दैन । त्यति हुँदाहुँदै पनि नियन्त्रण गर्ने तर्फ हामीले चासो नदेखाएको यो फुटबलको कस्तो कीरो हो र कसरी यसले हामीमा यति गहिरो जरो गाडेको होला भनेर अचम्म लाग्छ । प्रविधिको विकाससंगै शरीरमा आक्रमण गर्ने कस्ताकस्ता असाध्य भनिएका रोगका कीटाणुहरु नियन्त्रण भएका छन् भने मानसिकतामा लागेका फुटबलका कीटाणुहरु के त्यति शक्तिशाली होलान्, जसलाई हामीले नियन्त्रण र उन्मूलन गर्न सक्दैनौं ? के हामीले यी कीटाणुहरुलाई देख्न सक्ने कुनै सूक्ष्मदर्शक यन्त्र फेला पार्न सकेका छैनौं ?

एउटा रमाइलो प्रसंग छ । हामीले सुनिआएको कुरा हो, साँढेको अगाडि रातो कपडा हल्लाउनु हुँदैन । साँढे रिसाउँछ । रिसाएपछि साँढेले हान्न आउँछ । खासमा भन्ने हो भने रातो कपडा हल्लाउँदा रिस उठ्ने गाइलाई हो रे । तर बारम्बार साँढेको अगाडि रातो कपडा हल्लायो भने साँढेलाई त्यो मान्छेले आफूलाई गाई भन्ठानेको भन्ने लाग्छ रे । अनि साँढेलाई त्यो कुराले रिस उठ्छ र हान्न लखेट्छ रे । यसलाई साँढे स्वाभिमान भन्न सकिन्छ । हामीमा पनि त्यो साँढे स्वाभिमानको कुनै कमी छैन । 

हो हामी विकासका कुरामा, प्रविधका कुरामा, भौतिक संरचनाका कुरामा अरु भन्दा निकै पछाडि परेका छौं । त्यसैले हामीलाई बेलाबेला लाग्ने गर्छ, बाँकी विश्वले हामीलाई हेप्छ । विदेश जाँदा विमानस्थलहरुमा हामीलाई हेर्ने आँखा अर्कै हुन्छ । हाम्रै वरिपरि पनि ध्यान दिएर हेर्ने हो भने थाहा हुन्छ, मानवस्वभावमा एउटा अचम्मको प्रवृत्ति हुन्छ । कुनै पनि कुरामा लघुताभाष भएका मानिसहरु त्यसलाई छोप्नका लागि कृतिम उच्चताभाषको प्रदर्शन गर्ने गर्छन् । त्यो भनेको पनि एक प्रकारको साँढे स्वाभिमान नै त हो नि । 

समग्रमा कुरा गर्दा हामी कसैले हाम्रो देशको बारे, हाम्रा विभूतिका बारे, हाम्रो प्राकृतिक धरोहरका बारेमा प्रत्यक्ष केही बोल्यो भने एकजूट भएर जाइलागिहाल्छौं । तर कहिलेकहीं हामी कसैले बोलेको वा बोल्यो भनेर हल्ला मात्र चलेको भरमा पनि उग्र हुन्छौं । हामी त साँढे हौं नि, किन रातो कपडा हल्लाएर हामीलाई गाइ बनाउन खोजेको ? यस्तो बेलामा हाम्रो साँढे स्वाभिमान जागृत हुने गर्दछ । तर यही साँढे स्वाभिमान नै त्यो अचूक अस्त्र हो जसले हामी भित्रका फुटबलका कीटाणुहरुलाई उन्मूलन गर्न सक्छ । बेलाबेलामा अधिकांश गलत कुराहरुमा जाग्ने यो साँढे स्वाभिमानलाई हामीले सही दिशामा दगुराउन मात्र सक्यौं भने हामी फुटबल नखेलेर जुटबल खेल्न थाल्नेछौं । 


जुटबल खेल भनेको फुटबल भन्दा निकै सजिलो, लाभदायी र उपलव्धिमूलक पनि हुन्छ । फुटबल खेल्नका लागि खर्च गर्नुपर्ने जति शक्ति पनि जुटबलले खाँदैन । सबैभन्दा महत्वपूर्ण कुरो के भने फुटबल खेल्नका लागि हजारौं कारणहरु हुन सक्छन् भने जुटबल खेल्नका लागि एउटै मात्र कारण पर्याप्त हुन्छ, जुट्नु । एउटा शास्वत भनाई नै छ नि, ‘एकतामै छ सर्वशक्ति......।’ 

फुटवल खेल्न छोडेर एकपटक जुटबल खेल्ने प्रयास गरेर त हेरौं । 

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment