Translate

Monday, April 1, 2013

हामीले टाइ भिरेका छौं


एउटा पासो भिरेर आफ्नै गलामा
ऐना हेरेर गमक्क परेका छौं
हामीले टाइ भिरेका छौं
टाइले हामीलाई लाग्छ,
विशिष्ट बनाएको छ
टाइले हाम्रो व्यक्तित्वलाई
केही पत्र माथि चढाएको छ
त्यसैले त
टाइ लगाउनका लागि नसिलाइएका
कुच्चमुच्च परेका,
कलर नमिलेका कमेजमाथि नै पनि
करबलले गाँठो कस्द
हामीले टाइ भिरेका छौं ।


टाइ लगाउनैका लागि हामी
निस्क्यौं हाम्रा लवेदासुरुवालहरुबाट
काँचुलीबाट निस्केको सर्पसरी
घिस्रिंदै घिस्रिंदै
पस्यौं हामी कमेज र प्याण्टभित्र
अटाइनअटाइ, सकी नसकी
अनि गाँठो पार्न सिक्यौं हामीले टाइ
बनेका छौं हामी उत्तर आधुनिक
दंग परेका छौं, फुरुंग पनि
किनभने
ढाका र भादगाउँले टोपीसंग फ्यूजन गरेका छौं
हामीले टाइ भिरेका छौं ।

पासो भए पनि टाइले
ङ्याक्दैन हाम्रो गला
रोक्दैन हाम्रो सास
लच्काउँदै हाम्रो गर्धन
त्यसैले त बन्धन भए पनि
उन्मुक्तिको भान पालेर
हामीले टाइ भिरेका छौं

फाल्गुण ३, २०६९

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment