Translate

Sunday, March 30, 2014

हार भित्रको जीत

बायाँ फन्को १२८ 

यसपटकको टी- ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाली क्रिकेटमा नयाँ युगको सुरुआत भएको मान्नुपर्छ। नेपाली क्रिकेट टोली विश्वकपका लागि छनोट हुनु आफैँमा एउटा उपलब्धि हो। हामी राम्रो प्रदर्शनका लागि आशावादी थियौँ। साथसाथै, अनुभव र सुविधाको तुलना नै हुन नसक्ने देशहरूका विरुद्ध हामी चमत्कार गर्न सक्दैनौँ भन्ने कुरामा पनि मानसिक रूपले तयार नै थियौँ। आखिर जे हुनु थियो, त्यही भयो।

यसपटकको विश्वकपमा हाम्रा लागि थुप्रै चाँदीका घेराहरू देखिएका छन्। पहिलो कुरो त नेपालले विश्वकप खेल्नु नै हो। न्यूनभन्दा न्यून सुविधा पाएका खेलाडीहरूले देशलाई यो गौरवशाली उपलब्धि प्रदान गरेका हुन्। खेलका लागि आधारभूत संरचना र अभ्यासका लागि सुहाउँदो वातावरण नहुँदा नहुँदै पनि, एउटा पनि क्रिकेट स्टेडियम नभएको देशका खेलाडीहरू विश्वकपसम्म पुग्नु आफैँमा चमत्कार हो। धेरै ठूला कुरा नगरौँ, हाम्रा खेलाडीहरू बर्सादका समयमा अभ्याससमेत गर्न पाउँदैनन्। एकपटक त्यस बेलामा त्रिविको कामचलाउ क्रिकेट मैदानमा गएर हेरे पुग्छ। यो चमत्कार हाम्रा खेलाडीहरूको आत्मबल, लगाव र ह्याकुलाका कारण सम्भव भएको हो। यसका लागि हामीले उनीहरूलाई जति आभार प्रकट गरे पनि कम हुन्छ।

अधिकांश समय नकारात्मक कुराका लागि मात्र विश्व सञ्चार माध्यमहरूमा ठाउँ पाइरहेको हाम्रो देशको गर्विलो उपस्थितिका लागि उनीहरूले ठूलो सहयोग गरेका छन्। अर्को कुरा हङ्कङ्विरुद्धको खेलमा हाम्रो प्रदर्शन र अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा भएको हाम्रो मुग्धकण्ठको प्रशंसा हो। नवप्रवेशी देशको टिमले विश्वकपको कुनै पनि खेल, अझ पहिलो खेलमा विजय प्राप्त गरेको कीर्तिमान हामीले बनायौँ। अन्य थुप्रै कुरामा हाम्रो खेलका रेकर्डहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भएर अमर रहनेछन्।
संसारका लाखौँ(करोडौँ मानिसले हेर्ने खेलका च्यानलहरूमा हामीले आफ्ना खेलाडीलाई देख्न पायौँ। पूर्ण व्यावसायिक क्यामराम्यानहरूले खिचेका खेलहरू हेर्न पायौँ। विश्वका चर्चित पूर्वक्रिकेटरहरूका कमेन्ट्रीमा नेपालीको खेलका बारे विश्लेषणहरू सुन्न पायौँ। विश्वस्तरका अम्पायरहरूले हाम्रो खेलको अम्पायरिङ्ग  गरेको दृश्यले आँखा मात्र होइन, हाम्रो मनलाई पनि शीतलता प्रदान गर्यो। यी सब कुरा केही वर्षअगाडिसम्म हाम्रा लागि सपना मात्र थिए। आज वास्तविकता बनेको छ। यत्रो ठूलो प्रतिस्पर्धाबाट हामीले निकै ठूलो अनुभव बटुल्न पाएका छौँ। हार र जितभन्दा ठूलो कुरा यही हो।

हाम्रा अधिकांश बानी, बेहोरा र संस्कारहरू छिमेकी मुलुकबाट प्रभावित हुने गरेका छन्। हाम्रा सिनेमा, साहित्य, राजनीति, पत्रकारतिा र तीसँग सम्बन्धित आचरणहरूमा उताको टड्कारो प्रभाव देखिने गर्छ। क्रिकेटको कुरामा उताको कुरा गरनिसक्नु छ र हरेक जितमा खेलाडीलाई भगवान् बनाइन्छ। कतिसम्म भने ब्रह्मा, विष्णु र महेश्वरको अनुहारमा खेलाडीहरूको फोटो टाँसेर प्रचारप्रसार गरिन्छ। अनि, हरेक हारमा तिनै भगवान् खलनायकमा परिणत हुन्छन्। भजन गाउँदा गाउँदै कुन बेला उनीहरूको सत्तोसराप सुरु हुन्छ, थाहै पाइँदैन। तर, सबै कुरामा उताबाट प्रभावित हामीले खेलमा यो नकारात्मक कुराचाहिँ सिकेनौँ। बंगलादेशसँग हारे पनि सबै दर्शकले एककण्ठले खेलाडीलाई साधुवाद दिए, भोलिका लागि हौस्याए। यो सकारात्मक आचरण हामीले सधैँका लागि कायम राख्न सक्नुपर्छ।

अब मूल कुरो भनेको यसभन्दा अघि कसरी बढ्ने भन्ने हो। बीउ रोपिएको छ। आवश्यकता त्यसलाई उचित वातावरण दिने, मलजल गर्ने र जोगाउने हो। अनुत्पादक र प्रत्युत्पादक काममा हामीले कहाँ र कति खर्च गरसिकेका छौँ भन्ने एकपटक पनि सोचेका छैनौँ। हरेक राजनीतिका व्यापारीले आफू सरकारमा हुँदा यस्ता नोटका बाढीहरू कति बगाए कति। तर, सिंगो देशलाई गर्व दिन सक्ने प्रमाणित भएको क्रिकेटका लागि कुनै ठोस काम वा लगानी भएको छैन। अझै केही बिग्रेको छैन। यो सही समय हो। यसमा लगानी गरेर हेरौँ, ठूलै फल पाउनेछ देशले। हुन त रंगशाला बनाउन प्राथमिकता दिने कुरा बोलिसकिएको छ। तर, एउटा भत्केको बाटो र पुल बनाउन वर्षौं लगाउनेहरूले अन्तर्राष्ट्रिय स्तरको रंगशाला कहिले बनाउलान् भन्ने कुरामा शंका छ।

खेलाडीहरूलाई अर्को चरणमा पुगे मात्र राष्ट्रनायक घोषणा गर्ने कुरा गरेर हाम्रा एक मन्त्री हाँसोका पात्र बन्न पुगेका छन्। मन्त्रीज्यूलाई थाहा नभएका धेरै कुरामध्ये एउटा के हो भने यी खेलाडीले सारा नेपालीको मनमा स्थान बनाइसकेका छन्। उनीहरूलाई हामीले राष्ट्रनायक मानिसकेका छौँ। आममानिसका आँखामा कुनै इज्जत बाँकी नरहेका, बोलीको कुनै भर नभएका र डुङडुङ्ती गनाइसकेका राजनीतिका व्यापारीहरूले त्यसका लागि कुनै सर्त राख्नु आवश्यक छैन। यस्ता सस्ता र हावादारी कुरा गर्नुको साटो क्रिकेटको विकासका लागि साँच्चै केही काम गििरदए उनीहरूका पुराना पापहरू केही मात्रामा भए पनि पखालिएलान् ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment