Translate

Sunday, December 21, 2014

मलाई मानिस नभन्नू

from my column in NepalNewsMagazine Weekly

अघिल्लो हप्ता पाकिस्तानको पेशावरस्थित सैनिक विद्यालयमा आतंककारीहरुले हमला गरे । निकै क्रूर र पाशविक ढंगले भएको त्यो आक्रमणको क्रममा १४१ जनाको ज्यान गयो । पाकिस्तानी सेनाको भनाइ अनुसार त्यसमध्ये १३२ जना निर्दोष स्कूले बालबालिका थिए । सुन्दा पनि विश्वास गर्न कठीन यो दुर्घटना हाम्रो सामु तीतो वास्तविकता बनेर ठिंङ्ग उभिएको छ । मानव ईतिहासकै ठूला कलंकहरुमध्ये एक बनेर यो रहिरहनेछ । एक्काइसौं शताव्दिका मानिसहरुले यो भन्दा पाशविक, क्रूर र विवेकहीन काम शायदै अरु केही गर्न सक्लान् । 

एक्काइसौं शताव्दिका मानिस ? भनिन्छ हामी अहिले विकासको चरम र तीव्रतम विन्दुमा छौं ।

मानिस भन्ने जातिको उत्पत्तिपछि उसले बाँच्नका लागि सिकेका महत्वपूर्ण कुरा भनेको आफ्नो पेट भर्नु हुनुपर्छ । त्यसका लागि मानिसले सम्भवत धेरै प्रयोगहरु गर्‍यो होला । कति उसका लागि घातक भए होलान्, कति सार्थक । यही क्रममा उसले सिकार गर्न सिक्यो । सिकार, अर्थात् अरु प्राणीलाई मार्नु र त्यसको मासु खाएर आफू बाँच्नु । त्यतिबेला मान्छे बोल्न जान्दैनथ्यो, उसको भाषा हुन्नथ्यो । जंगलको कानून, अर्थात् बलियोले निर्धोलाई मार्ने नै मानिसको मूलधर्म थियो । मान्छेलाई त्यतिबेला भावना, सम्वेदनशीलता र अरुको बाँच्ने अधिकार जस्ता कुराहरु कहाँ थाहा हुन्थ्यो र ?

तर प्रकृतिले मानिसलाई सँधै त्यस्तै रहिरहनका लागि सिर्जना गरेको थिएन । त्यसैले मानिसमा विवेक, चेत र बुद्धि भन्ने कुरा पनि हालिदिएको थियो । फलत बाँच्न सिक्नुको साथै मानिसले अरु थुप्रै कुराहरु पनि सिक्दै गयो । मानिसले भाषाहरु बनायो अनि एकआर्कालाई अझ राम्ररी बुझ्न सक्ने भयो । विचार र प्रश्नहरु गर्न सक्ने हुँदै गयो मानिस अनि आविष्कारहरु गर्न थाल्यो, विकास गर्न थाल्यो । आफ्नो जीवनलाई झनझन सहज र सुविधासम्पन्न बनाउँदै गयो मानिस । अहिले, हुन पनि हो वरिपरि संसारमा हेर्ने हो भने के छैन ? 

तर गहिरिएर सोच्ने हो भने के हामी ती सुरुका हिँश्रक मानव प्रजाती भन्दा फरक छौं ? होला शारीरिक संरचनामा फरक भएको होला, भौतिक उपलव्धिहरु फरक भएको होला । तर, त्यो सिकारी मानिस अझै पनि हामी लुकेर बसेको छ । त्यसैले त आफ्नो यो विकासक्रमको अवधिभरि मानिसले सिकार खेल्न छोडेन, आफूजस्ता अरु मानिसहरुको सिकार गरिरह्यो मानिस । आफूलाई अरु भन्दा शक्तिशाली देखाउने लोभ छोड्न नसकेर मानिसले अरुमाथि हैकम जमाउने, अरुमाथि शासन गर्ने काम गरि नै रह्यो । यसका लागि मानिसले दुइवटा खतरनाक हतियारहरु सिर्जना गर्‍यो । आणविक हतियार, जैविक हतियार, बम, वारुद, खुँडाखुकुरी, तरवार र तोप जस्ता हतियारहरु भन्दा निकै खतरनाक हतियारहरु बनायो मानिसले र अहिलेसम्म पनि चलाइरहेको छ निर्वाध । 

ती दुई हतियार हुन्, धर्म र राजनीति । 

धर्म र राजनीतिका नाममा आजसम्म जति मानिस मारिएका छन्, त्यति मानिस रोगव्याध, महामारी वा प्राकृतिक प्रकोपले मारेको छैन । हाम्रो ईतिहास पल्टाएर हेर्ने हो भने यस्ता बौलठ्ठीपूर्ण नरसंहारहरुको लामो दस्तावेज भेटिन्छ । हिटलरले होलोकस्टका नाममा ६० लाख यहुदीहरुलाई ग्यासच्याम्बरमा हालेर मारे । पोल्याण्डका ३० लाख नागरिक, रुसका ३० लाख युद्धवन्दी र यूरोपका अरु ८० लाख मानिसहरु हिटलरको पागलपनका कारण मारिएका थिए । दोश्रो विश्वयुद्धपश्चातर स्टालिनको शासनकालमा १० देखि २० लाख सोभियत र जर्मन युद्धवन्दीहरु मारिएका थिए । साँस्कृतिक क्रान्ति र अग्रगामी छलाङका नाममा माओको शासनकालमा चीनमा लाखैंका संख्यामा मारिएकाहरुको त यकीन तथ्याङ्क पनि छैन । ७ण्को दशकमा खमेर रुजले क्याम्बोडियामा २० लाख जनताको संहार गरे जुन त्यतिबेला त्यहाँको जनसंख्याको २० प्रतिशत थियो ।

त्यस अघि र पछि पनि मान्छेले आफू जस्तै अरु मान्छेलाई मारेर मच्चाएका विनाशका निकै धेरै उदाहरणहरु छन् । अलेक्जाण्डरले १० लाख, चँगेज खानले १० लाख, भारत पाकिस्तान टुक्रिए पश्चातको दंगामा ४० लाख र रुवाण्डामा १० लाख मानिस मारिएको ईतिहासलाई के भनेर बुझ्ने ? तेनमिएन स्क्वायरमा मारिएकाहरु, २००१ सेप्टेम्बर ११ मा अमेरिकामा, २००८ नभेम्बर २६ मा मुम्बइमा भएको हमला, जनयुद्धका नाममा नेपालले भोगेको त्रासदी जस्ता सबै हिंसा र मारकाटका विस्तार लेख्ने हो भने नेपाल साप्ताहिकका पूरै पानाहरुमा पनि नअटाउलान् । 

धर्म र राजनीतिका नाममा भएका एकआर्कामाथि गरिने नरसंहारले हरेक कालखण्डमा अझै गहिरागहिरा घाउहरु बनाइ नै रहेका थिए । अहिले पनि बनाइरहेका छन् । सम्भवतः कुनै धर्म, वाद र विचारका हातहरु रगतले नमुछिएका छैनन् ।

मानिसले आफूसंग वैचारिक भिन्नता भएका कारण दशौं करोड अरु मानिसहरु मारिसकेको रगतले लत्पतिएको ईतिहास छ हाम्रो । ती मानिसहरुको इतिहास जो आफूलाई विकसित सचेत, विवेकशील र सम्वेदनशील भएको गर्व गर्छन् । तर सत्य त के हो भने मानिस सँधै जनावर भन्दा पनि खराव रहेको छ, हिँश्रक रहेको छ । सबैभन्दा पहिले सिकेको मार्ने कला, उसले शायद कहिले पनि छोड्दैन । पेट भर्नका लागि अरुलाई मार्नु पर्दैन भन्ने सिकेको यत्रो समय पछि पनि मानिस अझै सिकारी नै छ । किन थाक्दैन मानिस लडेर, अरु मानिसलाई मारेर ?

मानिस हुनुको परिभाषा यही र यस्तै हिँश्रक हो भने म मानिस हैन । मलाई मानिस नभन्नू । 

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment