बायाँ फन्को १५७
विपतको बेलामा नै मान्छेको पहिचान हुन्छ भन्ने उक्ति हामीले निकै पहिलेदेखि नै सुनिआएको हो । बेलाबेलामा यसको सत्यताबारे पनि हामीले थाहा पाउँदै आएका हौं । हो, जीवनमा सँधै एकनासको बाटाहरु मात्र कहाँ हिंड्न पाउँछ र मानिसले । बेलाबेला घुम्ती, उकाली, ओराली, खाल्डाखुल्डी पनि हामीले पार गरिरहेका हुन्छौं । व्यक्तिगत रुपमा हरेक मानिसले सुखसंगै दुखका दिनहरु अनि सुमधुरसंगै कहालीलाग्दा क्षणहरु पनि नभोगेको हैन । तर यसपटक हामीले सामूहिक पीडाका दिनहरु भोग्यौं । कुनै एक व्यक्ति वा परिवारको मात्र थिएन त्यो त्रासदी । कुनै एउटा वर्ग, समुदाय र जातको मात्र पनि थिएन त्यो विपत्ति । एकैपटक सारा नेपालीहरुका लगि बोझिल बन्न पुगेको थियो त्यो समय । प्रत्यक्ष त्यसको असरमा परेकाहरुको त कुरा गरेरै साध्य छैन, प्रत्यक्ष असर नपरेकाहरु पनि त्यो पीडाबाट अछूतो रहन सकेनन् । त्यसैले त एकाएक स्वतस्फूर्त रुपमा सिंगै नेपाल एकतावद्ध बन्यो । त्यो पीडा सबको साझा बन्न पुग्यो । सबै आआफ्नो तर्फबाट, आआफ्नो गच्छे र ल्याकत अनुसार अरुको पीडा कम गर्न लागिपरे ।
करीव एक मिनेटको छोटो समयमा प्रकृतिले हाम्रा जीवनभरका उपलव्धिहरुलाई तासको घर जसरी भताभुंग बनाउन सक्दोरहेछ भन्ने कुरा मानिसहरुले बुझे । हाम्रा मूल्य मान्यता र सोचाइलाई नै त्यसले क्षणभरमा परिवर्तन गरिदियो । अनि थाहा भयो धर्मको नाममा बाँडिनु भनेको पाखण्ड मात्र रहेछ । जात, वर्ग वा समुदायको नाममा टुक्रिनु भनेको राजनीति मात्र रहेछ । तेरोमेरो र उपलव्धिको रेखा वारिपारी बस्नु भनेको व्यर्थको मृगतृष्णा मात्र रहेछ । मानिस भन्दा बढी हामी अरु केही पनि हैन रहेछौं भन्ने कुरा हामीलाई थाहा भयो । सामूहिक विपत्तिमा सबै एकआर्काको हुँदारहेछन् । सिंगो देश नै एउटै परिवार बन्न पुग्यो । विपत्तिले सारा भौतिक कुराहरु कति क्षणभंगूर हुँदारहेछन् भन्ने कुरा छर्लङ्गै पारिदियो । कुमानव र सुमानवहरुलाई चिन्ने समय बन्न पुगे भयका ती केही दिनहरु । यस्तो अवस्थामा पनि आफ्नो स्वार्थ र फाइदा हेर्ने केही कुमानव अपवादहरुलाई छोड्ने हो भने अरु सबै सुमानव रहेछन् भन्ने कुरा पनि हामीलाई थाहा भयो । यो वास्तवमा हामीले गर्व गर्न सक्ने कुरा हो ।
यस अवस्थामा दत्तचित्त भएर अरुको लागि होम्मिने सबै मानिस वा संस्थाका नामहरु उल्लेख गर्न प¥यो भने त एउटा निकै ठूलो दस्तावेज नै बन्छ । ती सबै स्तुत्य छन्, वन्दनीय छन् । केही प्रतिनिधि उदाहरणहरु यहाँ म उल्लेख गर्न चाहन्छु, जसले हामीलाई मानवतामाथि फेरि एकपटक दृढ रुपमा विश्वस्त हुन प्रेरित गरे । संसार हामीले सोचेजत्तिको खराव त कहाँ रहेछ र भनेर आशावादी हुन सघाए । अष्ट्रेलियामा बसोबास गरिरहेका पेशाले स्टाफ नर्स एक व्यक्ति निकै लामो अन्तरालपछि नेपाल आएर भर्खरै फर्केका थिए । भूकम्पको समाचार सुन्नासाथ ती मानिस फेरि भोलिपल्टै नोपाल आइपुगेका थिए । त्यतिमात्र हैन भोलिपल्ट साँझसम्ममा उनी घण्टौं हिंडेर पुग्नु पर्ने गोरखाका गाउँहरु पुसगसकेका थिए । सकेको जति सहयोग गर्दै त्यहाँको वस्तुस्थिति सामाजिक संजालमा बाँड्दै आवश्यक सहयोगका लागि अनुरोध पनि गर्दै थिए । मैले अघि नै भनेझैं उनी प्रतिनिधि पात्रमात्रै हुन्, अरु थुप्रै उनीजस्ता मानिसहरु स्वत परिचालित भएका थिए ।
भर्खर एघार कक्षा सकाएर बाह्रको तयारीमा लागेकी एउटी नानीले आफ्नो चित्रकलामा भएको दक्षतालाई परिचालन गर्नका लागि सामाजिक संजालमा मानिसहरुको चित्र बनाएर बेच्न थालिन् । दुइ तीनजनाको चित्र बनाएर केही हजार बटुलेकी उनलाई केही दिनभित्रै यति धेरै मानिसहरुले आफ्नो चित्र बनाउने जिम्मा दिए, अहिले पनि उनलाई भ्याइनभ्याइ छ । त्यसरी प्राप्त भएको रकमबाट उनले एक स्थानमा राहतको खानापीनामा र घर भत्केर बस्ने ठाउँ नभएको एउटा परिवारलाई गतिलै पाल किन्नका लागि सहयोग गरिसकिन् । हाम्रो युवा पुस्ता परेको बेला यति जिम्मेवार र परिपक्व हुनसक्दोरहेछ भन्ने कुरा थाहा पाउँदा हाम्रो छाती गर्वले तन्किएको छ ।
यस्तो बेला आफू अरुको काम आउनुपर्छ भनेर सबैले सकेजति गरिरहेका थिए । सहयोग वा भावनाको कुनै आकार हुँदैनरहेछ । धेरैथोरै वा सानोठूलो भन्ने कुरा यहाँ कुनै अर्थ राख्दैन रहेछ । टुँडिखेलमा आश्रय लिएकाहरुको लागि शौचालय बनाउन भुइँ खन्न जानेहरु, त्यहाँको फोहोर व्यवस्थापन गर्न खटिनेहरु, भत्केका भवनमुनिका मानिसहरुलाई बचाउनका लागि होम्मिनेहरु, पानी सफा गर्नका लागि पियुष बनाउन लागिपर्नेहरु सबै सुमानवका रुपहरु थिए । ईश्वर हामीभित्रै बस्छ भन्ने कुरा यसपटक सबैले स्पष्टसंग प्रमाणित गरिदिए ।
नेपाल प्रहरी र नेपाली सेनालाई त झनै जति आभार प्रकट गरे पनि पुग्दैन । आफ्नो परिवारको समेत पीर नगरी उनीहरु जनताको सेवा र उद्धारमा यसरी खटेका थिए, त्यसको प्रशंसाका लागि कुनै शव्द भेट्न सकिन्नं । त्यसैले त कसैले कुनै समाजिक संजालमा लेख्यो,
“देउता मन्दिरमा हैन व्यारेकमा बस्दारहेछन् ।”
केही कुमानवहरु नदेखिएका हैनन् । तिनले मानिसहरुलाई झनै आतंकित बनाउने दुष्कार्य गरे । जानजानी गरे वा नजानी गरे, तर गैर जिम्मेवार र मानवता विरोधी काम गरे । चन्द्रमा उल्टो देखियो भनेर त्रास फैलाउने एक सहसचिव, फलानो वा ढिस्कानो दिन र समयमा अझ बढी विनाश हुन्छ भन्ने स्वनामधन्य ज्योतिष भनाउँदाहरु कुमानवका प्रतिनिधि पात्रहरु थिए । तिनको संख्या तुलनात्मक रुपमा नगण्य थियो । तर सबै आतंकित मानसकिताका सिकार भएको बेला ती न्यून कुमानवहरुका कुराले पनि निकै धेरै ठूलो प्रभाव पारेको थियो । तिनले अनजानमा त्यो सब गरेका हुन् भने के भन्नू तर कुनै स्वार्थका लागि गरेका हुन् भने ती अक्ष्यम्य सामाजिक अपराधीहरु हुन् । समयले तिनीहरुलाई माफ गर्नेछैन ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment