Translate

Saturday, December 8, 2018

चितवनमा साइड हिरो

करिब तीन दशक सिने क्षेत्रको अनुभव संगालेका लेखक ब्रजेश खनालद्वारा लिखित पुस्तक ‘साइड हिरो’लाई समालोचकहरूले नेपाली चलचित्र इतिहासकै महत्वपूर्ण दस्तावेजको रूपमा व्याख्या गरेका छन् ।

कविडाँडा साहित्य परिषद्को आयोजनामा शनिबार नारायणगढमा भएको पुस्तकमाथिको चर्चाका क्रममा उनीहरूले फरक विषयवस्तु समेटेर लेखिएको हुँदा सिने क्षेत्र सम्बन्धि चासो राख्ने र सिने क्षेत्रका नवप्रवेशीको लागि बलियो आधार बनेको बताएका हुन् ।

समालोचक उदय अधिकारीले पुस्तकमार्फत आफ्नै कथा बताउने प्रयास गरिएको बताए । कवि एवम् निबन्धकार भूपिन खड्काले ब्रजेशको लेखनबाट नेपाली फिल्मी क्षेत्रलाई सशक्त बनाउनुपर्छ भन्ने सोचको विकास हुने दाबी गरे । लेखकले आफ्ना कमिकमजोरीलाई समेत खुलस्त पार्नु पुस्तकको सकारात्मक पाटो भएको उनले बताए ।


‘साइड हिरो’ व्यवसायिक जीवनको आत्मकथा भएकोले व्यक्तिगत जीवन खासै नदेखिएको समीक्षक सरोजराज अधिकारीले बताए । समीक्षक अधिकारीले भने, ‘लेखकले चलचित्र क्षेत्रमा बिताएको तीनदशक लामो संघर्षलाई पुस्तकमा उतारेका छन्, ’त्यसैले यो पुस्तक व्यवसायिक जीवनको आत्मकथा हो ।’ प्रायः संस्मरणमा सफलताको कथा मात्रै पढ्ने गरेका नेपाली पाठकका लागि पुस्तक नयाँ स्वाद हुने उनले बताए । ‘लेखनका हिसाबमा यसअघिका दुईवटा पुस्तकभन्दा ‘साइड हिरो’ धेरै राम्रो छ,’ उनले भने ।

लेखक एवम् सिनेकर्मी खनालले भने इमान्दारिताका साथ ‘साइड हिरो’को कथा लेखेको बताए । ‘मेन हिरो बन्न संघर्ष गर्दा त्यता सफल हुन सकिनँ,’ उनले भने ‘तर, नसोचेको ठाउँमा त सफल भएको छु नि ।

किनकि पटकथा लेखन र साहित्य त्यति धेरै रूचिको विषय थिएन ।’ तर, कुनै एउटा विधामा पोख्त व्यक्ति एक्लैले चलचित्र बनाउँछु भनेर सोच्न नसकिने उनको बुझाई छ । आफ्ना सफलता या असफलताबारे कसैलाई दोष नदिएको उनले बताए ।

कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले भने संस्मरण साहित्य हो कि होइन भन्ने विषयमा बहस हुनु आवश्यक रहेको बताए । वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा गजलकार धनराज गिरी, कवि बिजय बिश्वकर्मा, गणेश श्रमणलगायतले बोलेका थिए ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment