Saturday, March 28, 2009

अँध्यारोको आह्वान

एउटा आह्वान सुनियो। ग्लोवल वार्मिंगको विरोधमा अब हामीले पनि आज, शनिवार राति ८:३० बजेदेखि ९:३० बजेसम्म बत्ती निभाउनु पर्ने रे। यो आह्वान गर्नेहरुको बुद्धि देखेर मलाई खित्का छोडेर हाँस्ने हो कि क्वाँ क्वाँ रुने हो भन्ने थाहा भएन।


सन् २००७ मा सिड्नीका २२ लाख घर तथा व्यापारिक प्रतिष्ठानहरुले एक घण्टा बत्ती निभाएर शुरु गरेको र अर्थ आवर नाम दिइएको यो अभियानमा २००८ मा ५ करोड बत्ती निभे रे। त्यस पटक अमेरिकाका बिभिन्न शहर पनि यसमा सहभागी भएका रहेछन्। अब २००९ मा यो संख्या १ अरब बनाउने अभियान छ रे। त्यसै क्रममा केही उपबुज्रुगहरुले नेपालीहरुलाई पनि यो ऐक्यबद्धताको संजालमा उन्नका लागि पहल गरेका छन्। आफूलाई सम्भवतः ग्लोबल सिटिजनको दर्जामा राख्ने मानसिकताको यो उपज हाम्रो लागि चाहिँ कति बकवास आह्वान हो भन्ने शायद तिनीहरुले सोचेनन् जस्तो छ।


राम्रै कामका लागि कहिलेकहीं जनजागरण फैलाउन उटुग्याँहा कामहरु गर्नुपर्छ, त्यसमा कुनै शंका छैन। बढी भन्दा बढी मानिसहरु सार्थक उद्देश्यका लागि जागरुक हुन् र एकजूट बनून् भनेर ध्यान तान्ने किसिमका सामूहिक कार्यहरु संसारमा बेलाबेलामा नहुने होइनन्। तर सबै समाज, संस्कार, परिवेश र परिस्थितिमा सबै तरिका कार्यान्वयन गर्न सकिन्न र गर्नु पनि हुँदैन। पश्चिमा मुलुकहरुमा कहिलेकहीं यस्ता कार्यका लागि सयौं हजारौंको संख्यामा युवायुवतीहरु नग्न भएर पनि प्रदर्शन गर्ने गर्दछन्। वेलायतमा जनावर अधिकारका लागि एक जना शाकाहारी कलाकारले बकुल्ला चराको मासु खाएर पनि त्यस्तो जनसमर्तन जुटाउन खोजेका थिए। सिलमाछाको शिकार बन्द गर्नका लागि भनेर स्पेनको मेडिरुडमा सयभन्दा बढी मान्छेहरुले नग्न प्रदर्शन गरेका थिए। बूढा बूढी, तरुना तरुनी सबै त्यसमा सहभागी भएका थिए। क्यालिफोर्नियामा रंगशालाको निर्माण गर्नका लागि थुप्रै रुखहरु काटिन लागेको बेला पनि व्यावसायिक फोटोग्राफर र मोडलहरु मिलेर नग्न प्रदर्शन गरेका थिए। त्यसो भन्दैमा के हामीले पनि बसन्तपुर अथवा टुंडिखेलमा चाहे जतिसुकै राम्रो कारणका लागि किन नहोस्, तर नग्नप्रदर्शनका लागि आह्वान गर्न मिल्छ?


ग्लोवल वार्मिंगको हामीले विरोध गर्नुहुँदैन भनेर त कुनै मूर्खले भन्दैन तर त्यसको लागि यो तरिका अपनाउने भन्ने चाहिँ कुनै पटमूर्खले मात्र सोच्न सक्ने कुरा हो। यसै पनि लिनको १६ घण्टा बत्ती निभेर हाम्रो जनजीवन अस्तव्यस्त भैसकेको छ। हामी कुन दिन कुन बेला चाहिँ चार घण्टा बत्ती आउँछ र त्यो बेला कसरी अत्यावश्यक कामहरु सकाउने भनेर बसेका हुन्छौं। यस्तो बेलामा एउटा मदिरा उपादक संस्थाले आफ्नो सामाजिक चेतना र जागरुकता स्थापित गर्नका लागि उज्यालोको अभावमा पिल्सिरहेका नेपालीहरुलार्ई बत्ती निभाउन र अरु अँध्यारोमा जाक्न अनुरोध गर्छ। माफ गर्नुस् महाशयहरु, यहाँहरुलाई शायद लोडशेडिंगले फरक परेको छैन होला। किनभने जेनेरेटर र इन्भर्टर जस्ता वैकल्पिक स्रोत जुटाएर यहाँहरु झलमल्लमै बाँच्नुभएको छ होला। तपाईंहरुलाई न त इन्धनको अभावले फरक पर्छ, न त महँगीले केही असर गर्छ, त्यो थाहा भएकै कुरा हो। तर हामी जस्ता साधारण जनताका बारेमा पनि यहाँहरुले एकपटक सोच्नुभएको छ?


सबैथोकले पुगिसरि आएका मान्छेहरुले सनकाहा कामहरुगर्न सक्छन् जसलाई अँग्रेजीमा इडियोसिंक्र्यासी भनिन्छ तर हामी जस्ता आम जनता त्यस्तो इडियोसिंक्र्यासी चाहेर पनि गर्न सक्दैनौं। त्यसैले चाहे जेसुकैका लागि होस् बत्ती निभाउने आह्वान अहिलेको अवस्थामा आम नागरिकप्रति असम्वेदनशील आह्वान हो।


ग्लोवल वार्मिंगको विरोध त्यही दिन गर्नुपर्छ भने जनतालाई बत्ती निभाउन होइन, विद्युत प्राधिकरणलाई त्यो दिन एक घण्टा कतै बत्ती ननिभाएर ऐक्यवद्धता देखाउन अनुरोध किन नगर्ने? त्यो हुन सकेन भने बरु सबैले मैनबत्ती बालेर उज्यालो गर्ने अनुरोध किन नगर्ने? विकसित मुलुकका मानिसहरुलाई एक घण्टा बत्ती निभाउने भनेको रमाइलो अनुभव पनि हो। तर हाम्रो लागि त्यो थप एक घण्टाको पीडा हो। सारा संसारलाई पिरोलेको यो समस्या प्रति हामी पनि सम्वेदनशील हुनुपर्छ, ऐक्यवद्धता जनाउनुपर्छ तर त्यसको लागि हामीले अरु उपाय अपनाउन सक्छौं। अर्काले हात्ती चढेको देखेर आफूसंग हात्ती भए पनि नभए पनि धुरी चढ्नाले के फाइदा हुन्छ कुन्नि। अरुले गरेकै प्रथालाई अन्धो भएर पच्छ्याउनुको साटो अरुले पच्छ्याउने कुनै प्रथा किन हामी शुरु गर्दैनौं?

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...