Translate

Thursday, March 21, 2024

साइकल पुराण

हामी दुवै जना बेस्मारी थाकिसकेका थियौं । शरीरमा बल नै बाँकी थिएन । सम्भवतः अक्सिजनको पनि कमी भएको हुनुपर्छ । स्याँस्याँ गरेर लामोलामो सास फेर्दै हामीले एकअर्कालाई हेर्‍यौं । दुवैको आँखामा मौन प्रश्न पौडी खेलिरहेको थियो, ‘के गर्ने ? परित्याग गरेर फर्कने वा निरन्तरता दिने प्रयत्न ?’ साइकलमा त्यो लङ टुर’

खुइय्य गर्दै सञ्जयले बिस्तारै भन्यो, ‘अब त सकिन्न होला । फर्किनु नै पर्ला कि ?’ उसले मेरो मनकै कुरा बोलेको थियो । म पनि त्यही भन्न चाहन्थें, तर आफ्नो मुखबाट पहिले किन त्यो निकाल्नु भनेर नबोली बसेको थिएँ । मैले हतारहतार उसको सुरमा सुर मिलाएँ, ‘लौ त नि । तँलाई साह्रै गाह्रो भएको भए फर्कौं ।’

यति पढ्दा तपाईंहरूलाई लागेको होला, सगरमाथै नभए पनि मेरापिकजस्ता कुनै सानोतिनो पहाड आरोहणको कुरा भइरहेको होला । होइन नि । आउनुस् अलि अगाडिबाट यसको भूमिका बाँधेर कुरा गरौं ।

...

७ कक्षा पढ्ने वर्षको अन्त्यतिर करिब दुई महिनाका लागि म आफ्नो कक्षाको हिरो थिएँ । त्यो बन्न कति मिहिनेत गर्नुपर्‍यो भन्ने मलाई मात्र थाहा छ । कक्षाको सबैभन्दा ख्याउटे, लुरे र पुड्के केटोलाई हिरो बन्न के के मात्र गर्नुपरेन होला ? खासमा भन्ने हो भने मलाई एकबाट दुई कक्षामा अनि तीनबाट चार कक्षामा जाने बेला फड्का मारिदिने स्कुल र ‘हुन्छ’ भन्ने मेरा बा–आमाका कारण मैले ठूलो दुःख पाएँ ।

किनभने मभन्दा नियमले कम्तीमा दुई वर्ष ठूलाहरूसँग मैले भिडन्त गर्नुपर्थ्यो । जीवनमा पछि गएर यो दुई वर्षको खासै अन्तर नभए पनि स्कुल पढ्ने बेला त्यसको ठूलो महत्त्व हुन्छ । आफूलाई अरू साथीबराबर प्रमाणित गर्न, त्यो झुन्डमा घुलमिल गर्न र उनीहरूको स्वीकारोक्ति पनि पाउन मैले कति उटुंग्याइँ र उपद्रोहरू गरें भन्ने कुराको कुनै लेखाजोखा नै छैन । सात कक्षामा मलाई हिरो बनाउने वस्तु पनि थियो– हिरो । हिरो साइकल ।

त्यतिबेला हामी कसैसँग पनि आफ्नै साइकल हुनु भनेको अहिले राजनीतिज्ञहरूसँग नैतिकता हुनु भनेको जस्तै दुर्लभ विषय थियो । हाम्रो घरनजिकै त्रिपुरेश्वरको मूल सडकमा बालीदाइको साइकल मर्मत पसल थियो । त्यहाँ तीन/चारवटा साइकलहरू भाडामा पनि पाइन्थेे । हिरो र एटलस कम्पनीका ती साइकलको भाडा घण्टाको दुई रुपैयाँ थियो । हामी भुराभुरीहरूले त्यहींको साइकल भाडामा लिईलिई चलाउन सिकेका थियौं । बेलाबेला तीन/चार जना साथीहरू मिलेर पेट काटेर जम्मा गरेको दुई रुपैयाँले हामी एक घण्टाका लागि साइकल भाडामा लिन्थ्यौं । घर नजिकको चौरमा यति राउन्ड, उति राउन्ड भन्दै भाग लगाएर चलाउँथ्यौं ।

त्यतिबेला भर्खरभर्खर भनेजस्तो उपत्यकामा नयाँ रिङरोड बनेको थियो र त्यो चर्चाको विषय थियो । मानिसहरूसँग अहिलेको जस्तो लामखुट्टे र झिँगासरह भटभटे हुँदैनथ्यो । भएका केही मानिसहरू त्यसमा रिङरोड परिक्रमा गरेर साथीभाइहरूसँग ठूलै पराक्रम गरेजसरी कुरा गर्ने गर्थे । हाम्रै पिताश्रीले पनि गुठी संस्थानको लीलामीमा किनेको एउटा थोत्रो भटभटेमा त्यो यात्रा गरेका थिए । त्यो भटभटे घरमा भन्दा बढी बागबजारतिरका बद्रीदाइ नाम गरेका मिस्त्रीको वर्कसपमा बस्थ्यो । पिताश्रीले बडो गर्वका साथ घरमा आएका साथीहरूसँग त्यसका बारेमा कुरा गरेका थिए, ‘मलाई त यसले बाटोमा धोका देला भन्ने पीर लागेको थियो । तर, धन्य कहीं पनि दुःख दिएन ।’

पिताश्रीको गौरवगाथा सुन्दासुन्दा मलाई पनि एक पटक रिङरोड घुम्न मन लाग्यो । तर, कसरी ? त्यो बाटोमा अहिलेजस्तो चक्रपथ परिक्रमा भन्ने सार्वजनिक यातायात थिएनन् । निजी सवारी भनेको त कसैकसैसँग मात्र हुन्थ्यो । मेरो दिमागमा बालीदाइका भाडाका साइकलहरू नाचे । साइकलमा चक्रपथ घुम्ने कल्पना नै रोमाञ्चक थियो । अनि पूर्वतयारीका रूपमा मैले निकै दिन लगाएर दुःखसुख गरेर पन्ध्र रुपैयाँ जोगाएँ । तीन घण्टामा त नाथे रिङरोड कसो नघुमिएला र ? बाटोमा थकान मार्न काम लाग्छ भनेर भान्साबाट उठाएको एउटा सिंगो कागती खल्तीमा हालें । अनि बालीदाइको पसलबाट हिरो साइकल लिएर सुरु भयो मेरो साहसिक यात्रा ।

तर, त्यो भाडामा लगाएर खटारा भइसकेको साइकलमा त्रिपुरेश्वरबाट कालीमाटी, सोल्टीमोड हुँदै रविभवनको उकालो पुग्दा नै मेरा नौनाडी गलिसकेका थिए । साइकलको चेन बेलाबेला फुस्कने । त्यो मिलाउँदामिलाउँदा हातै कालो भइसकेको थियो । त्यसको घण्टीबाहेक अरू सबै कुरा बज्थ्यो । ब्रेक रेलको जस्तो थियो । तीन सय मिटर पहिले नै अन्दाज गरेर थिच्न सक्यो भने मात्रै भनेको ठाउँमा रोकिने । अहिले जस्तो ट्राफिक नहुने भएकाले मात्र हो । नत्र त्यहाँसम्म पुग्दा च्यापुले माटो खाइसकेको हुन्थ्यो होला । तैपनि म जोस कायमै राखेर पाउदान चालिरहेको थिएँ । सगरमाथा चढ्दा तेन्जिङ शेर्पा कम थाकेका थिए होलान् र ? हिलारीले कम चुनौतीहरूका सामना गर्नुपर्‍यो होला ? त्यसो भनेर उनीहरूले बीचमा छोडेको भए आज उनीहरूको त्यत्रो नाम हुन्थ्यो ? त्यसैगरी आफूलाई अभिप्रेरित गर्दै म कलंकी चोक पुगें । अब दायाँ लाग्ने कि बायाँ, एकछिन दोमन भयो । अँ...कुरो एउटै त हो नि भन्दै म देब्रेतिर हान्निएँ ।

सुनसान बाटो, चारैतिर खेतैखेत अनि नयाँ बनेको रिङरोड । दुवै छेउमा रूखहरू । शीतल हावा चलिरहेको थियो । एकैछिन त सुसेलीमा गीतहरू पनि बजे । तर, बल्खुचोक पुग्ने बेलासम्म मलाई थाहा भइसकेको थियो, त्यो थोत्रो साइकलमा चक्रपथ परिक्रमा भनेको सोचेजस्तो सजिलो होइन । असम्भव कार्य हो । मैले आफ्नो आँखाले भ्याउन्जेल अजिंगरजसरी मडारिएर अगाडि लमतन्न परेर गएको चक्रपथलाई हेरेर खुइय्य लामो सास फेरें । अनि निराश भएर बल्खुबाट कालीमाटी हुँदै त्रिपुरेश्वरतिर बाँकटे हानें । मैले समयमै उचित निर्णय लिएको रहेछु किनभने नेसनल ट्रेडिङनिर आएपछि त साइकलको चेन पूरै छिनेर तुर्लुङ्ग झुन्डियो । म त्यसलाई सम्हालेर मरिमरि साइकल घिच्याउँदै त्रिपुरेश्वर पुगें । चक्रपथ घुम्न नसकेको एउटै राम्रो पक्ष भनेको चाहिँ डेढ घण्टा साइकल भाडाको पैसो बच्यो ।

तर मैले भनिहालें, आफूलाई हिरो बनाउनुपर्ने बाध्यता भएकाले पाएको मौकामा चौका हान्दै भोलिपल्ट स्कुलमा मैले दौंतरीहरूलाई आफूले पूरै रिङरोड साइकलमा घुमेको गफ लगाइदिएँ । ‘कति टाइम लाग्दो रहेछ ?’ कुनै एक साथीले आँखा चम्काउँदै सोध्यो । अब मलाई के थाहा र कति टाइम लाग्दो हो । ‘लाग्यो नि झन्डै दिनभरि जस्तो,’ मैले अर्को गफ थपिदिएँ । पिताश्रीले भटभटेमा घुम्दा सुनाएका कुराहरू र ठाउँका वर्णनहरू अझै ताजै थियो । त्यसैलाई मैले अझै सिंगारपटार गरेर फुलबुट्टा भरेर सुनाइदिएँ । त्यति हुनु के थियो, म साथीहरूको आँखामा हिरो भइहालें । ‘त्यति लामो नयाँ चक्रपथ साइकलमा घुम्ने मान्छे’ भनेर मेरो सानै बेग्लै भयो । तर, त्यो हिरोगिरी लामो समय चल्न पाएन । आठौं कक्षामा जाँदा मलाई अरू कसैले साइड हिरो बनाइदियो । त्यतिबेला हरेक शैक्षिक सत्रपछि मीनपचासको लामो बिदा हुने गर्थ्यो । अरू बेला हामीलाई त्यो बिदा नसकिए हुन्थ्यो जस्तो लागे पनि त्यो सालको बिदा चाहिँ कहिले सकिएला भनेजस्तो भइरहेको थियो ।

किनभने, अब हामी निम्न माध्यमिक तह सकिएर माध्यमिक तहको विद्यार्थी हुने भएका थियौं । अर्थात् ‘सिनियर लट ।’ व्यग्र प्रतीक्षापछि स्कुल खुल्ने दिन आयो । तर, पहिलो दिन नै हाम्रो कक्षाको एक जना साथी सञ्जयले एउटा यस्तो चिज लिएर स्कुल आयो, हामी त सबै ट्वाँ । सुकेको जंगलमा लागेको डढेलोजसरी स्कुलभरि हल्ला फैलियो । त्यो आगमन हेर्न नपाएका हाम्रा अरू साथीहरू कतिबेला दुई पिरियड सकिएपछि हुने पन्ध्र मिनेटको ब्रेकको पालो आउला र उसले ल्याएको वस्तु हेर्न जाउँला भनेर छटपटिएका थिए । नभन्दै ब्रेकको घण्टी बज्नासाथ सबै जना दस कक्षा जाने भर्‍याङको मुन्तिर गुटुटु कुदिहाले, जहाँ सञ्जयले त्यो मायावी जिनिसलाई सिक्रीले बाँधेर ठूलो ताल्चा मारेर राखेको थियो । ठेलम्ठेल गर्दै सबैले हेरिरहेको त्यो वस्तु थियो, एउटा साइकल । निम्न माध्यमिकबाट माध्यमिक कक्षामा पुगेको खुसियालीमा उसका पिताले उसलाई त्यो किनिदिएका रहेछन् ।

त्यतिबेला व्यक्तिगत साइकलको ठूलै रवाफ हुन्थ्यो । अलि हुनेखानेसँग राइले भन्ने कम्पनीको साइकल हुन्थ्यो भने उच्च मध्यम वर्गीयसँग एटलस, हर्क्युलस र हिरो भनिने साधारण साइकल हुन्थे । कसैकसैसँग फोनिक्स भन्ने चाइनिज साइकल पनि हुन्थ्यो । हुन त १० कक्षामा पढ्ने केही दाइहरू पनि साइकल चढेर स्कुल नआउने त होइनन्, तर सञ्जयको साइकलअघि ती सबै निस्तेज थिए । चिटिक्क परेको त्यो रातो रङको साइकल चमचम चम्किरहेको थियो । त्यसको ह्यान्डल अर्ना भैंसीको सिङजस्तो बटारिएको र तलतिर घुम्रिएको थियो । छरितो र पातलो जिउ भएको त्यो साइकल कुनै सौन्दर्य प्रतियोगितामा भाग लिन महिनौंदेखि खानपिनमा नियन्त्रण गरेकी सुन्दर मोडलसरह सर्लक्क परेको थियो । त्यस्तो अद्भुत आफ्नै साइकल आफैं चलाएर स्कुल आउने सञ्जय हाम्रा लागि रकफेलर वा टाटा बिरलाभन्दा के कम भयो र ! ऊ तुरुन्तै सबैको आँखामा हिरो भइहाल्यो । हामी सबै उसको साइकल हेरेर घुटुघुटु थुक निलिरहेका थियौं ।

‘बैंककबाट आएको यो बुझिस्, बैंकक,’ हामी लाइनमा उभिएकाहरूका अगाडि कालिया र शाम्भाहरूको अघि गब्बरसिंह हिँडेजसरी हिँड्दै सञ्जय सबैको आलो घाउमा नुनचुक दल्दै थियो, ‘यसलाई भन्छन् रेसिङ बाइक !’ अर्को कक्षाको घण्टी लाग्ने १० मिनेटसम्म सञ्जय आफ्नो साइकलको बखान गरिरह्यो, हामी आरिसले मरिरह्यौं ।

सञ्जय र उसको साइकलको चर्चा दिन प्रतिदिन झनै चुलिन थाल्यो । किनभने ऊ साइकलमा अनेक करतबहरू पनि देखाउन सक्ने हुँदै गयो । वेगमा कुदाउँदै ल्याएर, अचानक झ्याप्प ब्रेक हानेर, मरक्क ह्यान्डल घुमाउँदै, पछारियो–पछारियो भनेजसरी साइकल ढल्काएर, पछाडिको पाङ्ग्रा मात्रै अर्धचन्द्राकार घुमाएर, जताबाट आएको त्यतै साइकललाई फर्काएर स्वाट्ट रोक्ने कलामा ऊ पारङ्गत भएको थियो । हामी चढेको स्कुलको बस सँगसँगै साइकल कुदाउँदै ऊ फर्किन्थ्यो ।

कुपन्डोलको ओरालोमा कहिलेकाहीं ऊ हाम्रो बसलाई उछिनेर अघि जान्थ्यो र नागबेली चालमा साइकल चलाउँथ्यो । बेलाबेला दुवै हात उठाएर हावामा नचाउँथ्यो । कहिले पाउदानबाट खुट्टा अगाडि तन्क्याएर पछाडितिर लमतन्न ढल्केर देखाउँथ्यो । एक पटक उसले बस सँगसँगै साइकल चलाउँदा कसरी हो अगाडिको पाङ्ग्रा हावामा उठाएर झन्डै पचास फिटसम्म त्यत्तिकै साइकल चलाइदियो । बसभरिका केटी साथीहरूलेे थपडी बजाएर ‘वाह सञ्जय वाह’ भनेका बेला सबै केटाहरूको छातीमा कतिवटा एनाकोन्डा सलबलाए भन्ने कुरा के गर्नू र ! तर, बजिया उनीहरूको आँखामा हिरो भइसकेको थियो । ऊ र उसको साइकलको कुरामा अलि सहज हुन लाग्यो कि ऊ केही न केही नयाँ कुरा गरिहाल्थ्यो । ८ कक्षा सकिने बेलासम्म पनि त्यो क्रम चली नै रह्यो ।

एक दिन सञ्जयका तर्फबाट अप्रत्याशित रूपमा मलाई एउटा प्रस्ताव आयो, ‘ए बर्जिशे.......भोलि हाफ टाइममा स्कुलबाट टाप ठोक्छस् ? तँ र म मेरो साइकलमा गोदावरी घुम्न जाऊँ ।’ केहीबेर त मेरो वाक्यै फुटेन । त्यो प्रस्ताव मलाई नै किन भन्ने थाहा भएन । किनभने म त कक्षाको सोझासाझा गौप्राणीमा गनिन्थें । किन र के कारण त्यत्रा साथीबीचबाट आफ्नो सारथि बन्न उसले मलाई छानेको थियो होला ? मेरो मनको भाव बुझेझैं उसैले थप्यो, ‘जे भए पनि हेर्, तँ साइकलमा ‘लङ टुर’ गरिसक्या मान्छे, अनुभवी छस् । दुई भाइ पालैपालो चलाउँला । के भन्छस् ?’

म अब उसलाई आफूले चक्रपथ परिक्रमा गरेको होइन भनेर भन्न पनि त सक्दैनथें । फेरि उसले कसैलाई छुन पनि नदिएको त्यो सानदार साइकल चलाउन पाउने अवसर मलाई खेर जान दिने मन थिएन । हुन त त्यति बेलासम्म मेरो एक पटक पनि स्कुलबाट भागेको रेकर्ड थिएन । तर, कुनै पनि कुरा कुनै न कुनै बेला पहिलो पटक नै हुन्छ भन्ने सोच्दै मैले सहमति जनाएँ ।

नभन्दै भोलिपल्ट हाफ टाइममा हामी दुई भाइ लुसुक्क स्कुलबाट भाग्यौं । हाम्रो स्कुलबाट भाग्न त्यति सिजलो थिएन र त्यसका लागि हामीले कति तिगडम लगायौं भन्ने कुरा कुनै दिन अर्कै संस्मरण बन्न सक्छ । हामी मानभवनको पछाडिका गल्लीहरूबाट लगनखेल हुँदै सातदोबाटोतिर हान्नियौं । सञ्जय साइकल चलाइरहेको थियो, म अगाडि पातलो डन्डीमा पुठ्ठो अड्याएर बसेको थिएँ । ह्यान्डल घुम्रिएको साइकल घोप्टो परेर चलाउनुपर्ने हुनाले म पनि घोप्टो नै पर्नुपर्थ्यो । एकैछिन रमाइलो भए पनि अलिबेरमा त जिउ नै कक्रक्क पर्न थालिहाल्यो । त्यसमाथि खाल्टाखुल्टीमा साइकल पर्दा त पिताश्रीको शुभविवाह नै देखिन्थ्यो । सातदोबाटोबाट गोदावरीतिर जाने बाटो लागेपछि सञ्जयले साइकल रोक्दै भन्यो, ‘ल अब तँ चला ।’ त्यो सुन्नासाथ मेरा सारा दुखाइ हराए ।

उसलाई अगाडि राखेर म त्यो साइकल चलाउन थालें । कहाँ बालीदाइको भाडाको साइकल, कहाँ सञ्जयको साइकल ! त्यसको कुनै तुलना नै हुन सक्दैनथ्यो । मख्खनजसरी सललल् बग्थ्यो त्यो साइकल । जहाँ ब्रेक लगायो, त्यहीं रोकिन्थ्यो । त्यसको घण्टी पनि तारादेवीको स्वरजस्तो मिठो थियो । हामी पालैपालो साइकल चलाउँदै गयौं । उकालो आयो भने घिच्याउने काम चाहिँ मेरो थियो । मलाई त्यसमा पनि कुनै गुनासो थिएन । बाटोमा आक्कलझुक्कल भेटिने मानिसहरू हामीलाई फर्कीफर्की हेर्थे । तर समस्या चाहिँ के भने, जति गए पनि गोदावरी आउँदै आएन । मध्याह्नको चर्को घाममा हामी असिनपसिन भइसकेका थियौं । बाटो भने उकालोपछि फेरि उकालो मात्रै । भोक र प्यासले आँत पनि सुकिसकेको थियो । बाटोमा कसैलाई कति बाँकी छ भनेर सोध्यो भने दुइटा उत्तर आउँथ्यो, ‘अब आउनै लाग्यो ।’ अथवा, ‘बाँकी छ धेरै ।’ कसको कुरा पत्याउने भन्ने पनि थाहा भएन । एउटा अर्को ठाडो उकालोको मुखसम्म जसरी भए पनि पुगेपछि हामी दुवै रोकियौं ।

हामी दुवैजना बेस्मारी थाकिसकेका थियौं । शरीरमा बल नै बाँकी थिएन । सम्भवतः अक्सिजनको पनि कमी भएको हुनुपर्छ । स्याँस्याँ गरेर लामोलामो सास फेर्दै हामीले एकअर्कालाई हेर्‍यौं । दुवैको आँखामा मौन प्रश्न, ‘के गर्ने ? परित्याग गरेर फर्कने वा निरन्तरता दिने प्रयत्न ?’

खुइय्य गर्दै सञ्जयले बिस्तारै भन्यो, ‘अब सकिन्न होला । फर्किनु नै पर्ला कि ?’ उसले मेरो मनकै कुरा बोलेको थियो । म पनि त्यही भन्न चाहन्थें, तर आफ्नो मुखबाट पहिले किन त्यो निकाल्नु भनेर नबोली बसेको थिएँ । मैले हतारहतार उसको सुरमा सुर मिलाएँ, ‘लौ त नि । तँलाई साह्रै गाह्रो भएको भए फर्कौं ।’

हाम्रो आँखा पारिपट्टि बाटोछेउमा एउटा पुरानो घरमा पर्‍यो । साधारण चिया–बिस्कुट पाइने ‘हुटेल’ थियो त्यो । बाहिर बेन्चीमा बसेर केही मानिस चिया सुर्क्याइरहेका थिए । केही नखाई फर्कन पनि गाह्रो हुन्छ भन्ने हामीलाई थाहा थियो । सञ्जयले मलाई सोध्यो, ‘तँसँग कति पैसा छ ?’ मैले खल्ती टकटक्याएर पाँच रुपैयाँ निकालें । उसले बीस रुपैयाँ निकाल्यो । हामीले त्यति पैसामा तीन पाउन्ड पाउरोटी र अठार कप चिया बुत्यायौं । त्यति मिठो चिया–पाउरोटी मैले आजसम्म कतै खाएको छैन भने हुन्छ । भन्छन् नि, भोक मिठो कि भोजन ?

पेट अघाएर ओरालै ओरालो सररररररर फर्किंदा सञ्जयले मलिन स्वरमा भन्यो, ‘भोलि साथीहरूलाई चाहिँ गोदावरी पुग्न सकिएन भन्ने होइन नि, बेइज्जत हुन्छ ।’ म मनमनै हाँसे, यो कुराको त म पुरानो चोर थिएँ । प्रकटमा गमक्क पर्दै भनें, ‘तँलाई नै गाह्रो भयो । नत्र म त चक्रपथ हानिसक्या मान्छे हो ।’

सञ्जय मौन भयो । भनिरहनु नपर्ला, भोलिपल्ट स्कुलमा साथीहरूको बीचमा फेरि सञ्जय र म हिरो भयौं ।

...

निकै समय बित्यो । कलेज पढ्न थालेपछि आफैं भटभटे चलाउन जान्ने भइयो । एकदिन केही साथीहरूसँग भटभटेमा गोदावरी घुम्न जाने योजना बन्यो । तीनवटा भटभटेमा पाँचजना साथीहरू गोदावरी जाने बेला म स्कुलको त्यो पुरानो यात्रा सम्झिरहेको थिएँ । बाटो धेरै फरक भइसकेका, नयाँ घरहरू बनिसकेका ! तैपनि पुराना केही घरहरू यथावत् रहेछन् । हामीले यात्रा परित्याग गरेको उकालोछेउ पुरानो ‘हुटेल’ अझै रहेछ ।

अनि त्यो ‘हुटेल’ को ठ्याक्कै एक मोड अगाडि गोदावरी रहेछ ।

पुष ७, २०८० कान्तिपुर कोसेलीमा प्रकाशित

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment