Tuesday, July 21, 2009

भाइले सोध्लान् नि खै दाजु भन्लान्........

असार २१, २०६६- नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित


केही समयअघि पत्रपत्रिकामा एउटा बालकको तस्बिर छापिएको थियो। फलामे साङ्ला खुट्टामा बाँधिएको त्यो बालकको मानसिक अवस्था ठीक नभएका कारण वर्षौंदेखि उसका बाबुआमाले त्यसैगरी पालेर राखेका रहेछन्। खुला छोड्यो भने उसले उपद्रो मच्चाउँछ भनेर आफ्नो सन्तानलाई कुनै विवेकहीन जनावरलाई जस्तै राख्नु ती बाबुआमाको कति ठूलो बाध्यता होला? कति मन कुँडिन्थ्यो होला उनीहरूको, कल्पना पनि गर्न कठिन कुरा हो। सरसर्ती हेर्दा ती बाबुआमा कठोर मनका जस्ता लागे पनि कमसेकम त्यो बालकको हविगत उमेश दाइको जस्तो त भएन नि भन्ने लाग्यो।




त्यो तस्बिर देख्दा अनायास उमेश दाइको सम्झना आयो। धेरै पहिलेको र आफू केटाकेटी नै हुने बेलाका संस्मरणहरू भएका कारण कतिपय अस्पष्ट, अलिअलि धमिला सम्झनाहरू भए पनि उमेश दाइ सँधै उल्लासपूर्ण मुद्रामा हुन्थे। उनी जहाँ पनि जहिले पनि आकर्षणको केन्द्र हुन्थे। नातागोता र साथीभाइहरूको कुनै पनि समारोहमा उनी भएनन् भने सबैलाई खल्लो लाग्थ्यो। मोहम्मद रफीका अधिकांश गीतहरू मुखाग्र थियो उनलाई। उनको स्वर पनि मीठो थियो । ठाउँमा जन्मेको भए उमेश दाइ गजबका गायक हुन्थे भनेर मानिसहरू कुरा गर्थे। अभिनेता देवानन्दका ठूला प्रशंसक थिए उनी। कसैले पनि देवानन्दभन्दा अरू अभिनेतालाई राम्रो भनेको सहनै सक्दैन थिए र थुप्रै चलचित्रका थुप्रै दृश्यहरूका उदाहरणसहित आफ्नो कुरा सबैलाई मनाउन नसकुन्जेल थाक्दैनथे उमेश दाइ। उनी हुबहु देवानन्दको नकल गरेर देखाउँथे।


उनी सोझो र गम्भीर अनुहार बनाएर ‘जोक’ गर्न पनि खप्पीस थिए। उनको वाक्पटुता र प्रस्तुतीकरणको शैली अचम्मको थियो। अरूले सुनाउँदा कोही मुस्काउनसम्म पनि नमुस्काउने चुट्किला उनले सुनाए भने पेट मिचीमिची सबैलाई हँसाउन सक्ने खूबी उनमा थियो । त्यसैकारण उमेश दाइ सबैका पि्रय थिए। अचानक उमेश दाइ मानसिक रूपमा अस्वस्थ भए रे भन्ने सुनियो। किन र के कारणले भन्नेबारे मान्छेपिच्छे फरकफरक भनाइहरू सुन्न थालियो। तर कारण जे भए पनि उनी अब त्यो पहिलेको मान्छे रहेनन्। खोजीखोजी उनका कुराहरू सुन्नेहरू अब उनलाई देखिएला र भेटिएला भनेर डराउन थाले। कसैको बिहे-व्रतबन्धमा उनका गीतहरू सुनिन छाड्यो,भेलाहरूमा उनका चुट्किला र अभिनय देखिन पनि पाइन्नथ्यो।


उनलाई घरमा कोठामा थुनेर राख्न थालिएछ। बेलाबेला त्यहाँबाट फुत्किएर आफ्नै धुनमा हिँड्ने उमेश दाइसँग मान्छेहरू तर्किन्थे, बाटो छलेर जान्थे। हामी केटाकेटीहरूलाई पनि उमेश दाइबाट बच्ने पाठ पढाइएको थियो । उनी भनेर झुम्मिने केटाकेटीहरू अब उनीसँग डराउन थालेका थिए। मनोचिकित्सकले उनलाई दिएका लट्ठयाउने ओखतीका कारण अधिकांश समय उनी कि त निदाउँथे या झोक्राएर बस्थे । उनको रोग निको हुनुको साटो झन्झन् बल्झिंदै गयो। केही समयपछि उमेश दाइ देखिन छाडे। परिवारले हैरान भएर उनलाई वीर अस्पतालको मानसिक वार्डमा भर्ना गरिदिएका रहेछन्। उनलाई बेडको फलाममा सिक्रीले बाँधेर राखिन्थ्यो रे! बिजुलीका झट्काहरू पनि दिइन्थ्यो रे उनलाई। सायद त्यो सहन नसकेर होला, बेलाबेला खुट्टामा बाँधिएको सिक्री लतार्दै उनी भागेर घर आइपुग्थे। तर, कहिले अस्पतालका मान्छेहरू आएर अनि कहिले परिवारका सदस्यहरूले झ्याइँकुटी पारेर उनलाई फेरि त्यहीँ पुर्‍याउँथे।


मानसिक अवस्था ठीक नभए पनि उनलाई आफू जाने ठाउँ यही हो र सुरक्षित आरक्ष यही हो भनेर भागेर घर आउने उमेश दाइका लागि तर त्यहाँ ठाउँ हुँदैनथ्यो। किनभने,परिवारमा त सबै सद्दे मान्छेहरू, विवेकशील र व्यावहारकि मान्छेहरू मात्र हुन्छन्। भनिन्छ, मान्छे भन्ने जात विकास हुनुअघि जनावरले झैँ व्यवहार गथ्र्यो, उसको रहनसहन र जीवनशैली पनि त्यस्तै थियो रे! बुद्धि-विवेकको विकाससँगै मान्छेले परिवार र समाज भन्ने संरचना पनि गर्न थाल्यो रे! समूहमा मिलेर बस्नुका फाइदाहरू मान्छेले बुझ्न थाल्यो रे! तर, विवेक र व्यावहारकिताका नाममा मान्छेले स्वार्थ, नाफा, नोक्सान पनि राम्रैसँग सिक्यो। मान्छेले सबै कुरामा आफ्नो फाइदा र स्वार्थ हेर्न थाल्यो। सद्दे र सक्रिय हुन्जेल एउटा मान्छेले अर्को मान्छेलाई थरीथरी नाताको खोल ओडाएर आफ्ना लागि प्रयोग गर्न सिक्यो। बाबु-आमा, छोराछोरी, दाजु-भाइ, काका-भतिजा, मामा-माइजू, सासू-ससुरा, ज्वाइँ-जेठान, मीत, मित्र, कार्यकर्ता, सहपाठी, सहकर्मी, प्रेमी-प्रेमिका, पति-पत्नीजस्ता अरू अनेकौँ सम्बन्धका राम्रो नामले बेरेर मान्छेले मान्छेलाई प्रयोग गर्न सिक्यो। तर, ती सबै सम्बन्धका आधारहरूलाई कुनै न कुनै स्वार्थमा अडाउने हो भने स्वार्थको खोल च्यातिएको दिन सबै सम्बन्धहरू धराशयी हुन्छन्। मान्छे एकपटक फेरि आफ्नो उही पुरानो विकासक्रमअघिको रूपमा पुग्छ, संवेदनशीलतालाई बिर्सेर एकपटक फेरि जनावर बन्छ।


सन्तान हुर्काउने भनेको कुनै सस्तो ठाउँमा जग्गा किनेर राख्ने वा कुनै सेयरमा लगानी गर्नेजस्तो गर्छौं हामी। यसले मलाई पछि गएर पाल्छ भन्ने जगमान्य सिद्धान्तले सबै बाबुआमा प्रेरति हुन्छन्। अनि, उमेश दाइजस्ता अनुत्पादक सन्तान केही समयपछि बोझ बन्छन् उनीहरूका लागि। त्यस्ता सम्बन्धहरू टोक्नु न बोक्नुका ठहरिन्छन्। सक्रिय र सक्षम हुन्जेल सबै हुने तर दुर्भाग्यवश अनुत्पादक हुनासाथ त्यो काम नलाग्ने हो भने मान्छेलाई सम्बन्धहरू, परिवार र समाज भन्ने संरचना किन चाहियो ? उमेश दाइको कुरामा पनि त्यस्तै भयो। वीर अस्पतालपछि धुलिखेलको मानसिक अस्पतालमा लगेर पनि उनलाई थुनियो। जहाँ लगेर राखे पनि उनको एउटै मात्र ध्याउन्न हुन्थ्यो, फर्केर घरै आउने। उनलाई संसारको अरू कुनै पनि ठाउँ चाहिन्नथ्यो। मनमा कहिलेकाहीँ प्रश्न उब्जन्थ्यो, मानसिक रूपले अस्वस्थ उनी हुन् कि परिवार, यो समाज र यसमा बस्ने हामी मान्छेहरू? बेलाबेला घरमा ल्याएर राख्ने प्रयास गरेका बेला अब उनले गाउने गीत कसैलाई सुरिलो लाग्दैनथ्यो। सबै सतर्क मात्र हुन्थे, कुनबेला उनले के गर्ने हुन् भनेर।


हार खाएर एकदिन उनको परिवारले एउटा ‘व्यावहारिक’ निर्णय गर्‍यो। उनलाई वनारसमा लगेर छाडियो। कहिल्यै कतै नगएका र मानसिक अवस्था ठीक नभएका उनलाई वनारसको एउटा कुनै मन्दिरको हूलमूलमा अलमल्याएर छोडिएछ। पत्रिकामा फलामे साङ्लाले खुट्टामा बाँधिएको त्यो बालकको तस्बिरको बह र पुराना कुराहरू उम्कँदा मन व्याकुल भइरहेको थियो र एउटै प्रश्न खेलिरहेको थियो, कहाँ होलान् उमेश दाइ?  कुन गतिमा होलान् अनि होलान् कि नहोलान् उमेश दाइ?  रेडियोमा झलकमान गन्धर्वको एउटा गीत बजिरहेको थियो,



"भाइले सोध्लान् नि खै दाजु भन्लान्,
अंशै बढ्यो भन्दिए …!"

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...