Saturday, August 15, 2009

मलाई त परेको छैन नि

bulb



बिहान चाँडै उठेर निस्कने क्रममा हरेक दिन बाटाका खम्बाहरूमा यस्तै दृश्यहरू देखिने गर्छन्। हेर्दा सामान्य कुरा नै हो, तर यसले हाम्रो संस्कारको पोल खोलिरहेको जस्तो मलाई भान भयो। लोडशेडिङ्गको चर्को मारमा परेको बेला फतफत र गनगन गरे कहिल्यै नथाक्ने हामी अरूबेला भने अलिकति हात लम्क्याएर कुनै खम्बाको बत्ती निभाउने जमर्को साधारणतया किन गर्दैनौं। यसरी खेर गइरहेका सय्यौं-हज्जारौं खम्बाहरूका बत्तीहरूले कति धेरै ऊर्जा नाश गरिरहेका होलान्। तर के मतलब मेरो मिटरमा चढ्ने होइन क्यार त्यस्को बिल।

घरमा अनावश्यक रूपमा पानी खेर फ्याल्दा पनि यही सहरका कति मान्छेहरू सार्वजनिक धाराहरूमा एक गाग्रो पानीका लागि घण्टौं लाममा लागेर मारामार गरिरहेका छन् भन्ने कुरा बिर्सन्छौं हामी। आफ्नो घरमा त डीप बोरिंगबाट वालछ्याल् पानी आउँछ भनेर दङ्ग पर्ने बेला दुई दिन अघिमात्र पत्रिकामा पढेको कुरा बिर्सिसकेका हुन्छौं, दैनिक बाह्र करोड लिटर पानी भुईंमुनिबाट तानिने कारण पानीको सतह नै निकै तल पुगिसकेको छ। कुनै दिन त्यसले भयावह परिणाम ल्याउन सक्छ भनेर हामी सोच्न पनि चाहँदैनौं। मेरो घरमा त टन्न पानी आएकै छ नि।

संसार कै सबैभन्दा बढी फोहोर, प्रदूषित र अव्यवस्थित सहरको सूचिमा परिसकेको कुनै बेला भानुभक्तको अमरावती, स्वर्गसरी यो कान्तिपुरी नगरीमा अमेरिका यूरोप वा अन्य विकसित मुलुकका सुविधासम्पन्न सहरहरूको बराबर भाउ पुगेको जग्गाका स-साना टुक्राहरू किनेर, ईन्चईन्चका लागि छिमेकीसंग बाझ्दै, साँघुरो बाटाहरूका संजाल भित्र बनाइएका घरमा बस्दा, हामी सोच्नसम्म पनि सोच्दैनौं- कुनै दिन कुनै भवितव्य परेको खण्डमा एम्बुलेन्स अथवा दमकल कहाँसम्म आउन सक्छ? किनभने त्यो मलाई परेको कहाँ छ र?

घरघरका फोहोरहरू सुटुक्क लगेर बाटोमा मिल्क्याएर नाकमुख कपडाले ढाकेर हिंड्छौं, कुन दिन यहाँ ठूलो महामारी फैलन्छ भनेर फतफत गर्दै। तर त्यति बेला बेला जाजरकोट र रूकुमको महामारी हाम्रो लागि रेडियो वा टेलिभिजनले फलाक्ने फगत एक अर्को समाचार मात्र हुन्छ, मृतकका संख्याहरू अंकहरू मात्र हुन्छन् किनकि त्यो हामीलाई, हाम्रो परिवारमा परेको कहाँ छ र?

आफूलाई परिसकेपछि मात्र कुनै कुराको समाधान खोज्ने हाम्रो बानीले कुनै दिन हामीलाई यस्तो स्थितिमा नपुराओस्, जुन दिन हामीसंग पछुताउने बाहेक अरू बाटो हुँदैन। एकजनाको मात्र प्रयासले कुनै पनि कुरा सम्भव हुँदैन। अनि हामीले बुझ्नै पर्ने अर्को कुरा के हो भने, सानासाना कुराहरूबाट सुरु नगरी ठूला उपलब्धिहरू पनि सम्भव हुँदैनन्। पहिले आफूलाई नसुधारी समाज वा राष्ट्र सुध्रिदैंन। आफ्नो चरित्रलाई नयाँ रूप नदिई नयाँ नेपाल बन्दैन।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...