Translate

Friday, May 21, 2010

धर्मको ढ्वाङ्ग

अचेल हामीमा सप्ताह र नवाह नामका पुराणहरू लगाउने बेला एउटा नयाँ धार्मिक संस्कारको विकास हुन थालेको छ । त्यसको प्रारूप फेरएिको छ । सबै कुरामा जस्तै त्यसमा पनि मूल कारण पछाडि परेर होडबाजी हावी हुन थालेजस्तो लाग्छ । अनि, यो विज्ञापनको युग हो भन्ने कुरालाई अलि बढी नै गम्भीरतापूर्वक लिएर धर्म गर्न थालिएको भान पर्दैछ ।

कुनै आफन्त वा छिमेकीले लगाएको सप्ताहलाई मात खुवाउने र त्यसमा भन्दा बढी श्रद्धालुहरू आउने सप्ताह लगाउनका लागि अर्को छिमेकी वा नातेदार सकसकाउन थाल्छ । यस्ता सप्ताहको अर्को एउटा विरक्तलाग्दो विशेषता हुन्छ, कौसीमा लगेर चारैतिर फर्काएर राखिएका ठूलो आवाज आउने ढ्वाङहरू । त्यो जोडिएको हुन्छ, तल पुराणवाचन गर्ने पण्डितका सामु ठड्याइएको माइकमा । अनि, वरपिरकिा छरछिमेकलाई हुने प्रताडनाको कुनै मतलब नराखी सात वा नौ दिनसम्म यो धार्मिक आतंक चलिरहन्छ ।

चर्को र कर्कश स्वरमा पण्डितको पुराणवाचन, उनी थाकेका बेला भजनका रेकर्ड अनि त्यो पनि थाकेका बेला परविार वा आगन्तुकमध्ये इच्छा भएका कसैले पनि जस्तोसुकै स्वरमा गाएका भजनहरू निरन्तर बजिरहन्छन् । धर्मकर्म गर्न लागेका मान्छेको विरोध पनि कसले गर्न सकोस् ? ज-जसलाई यो पुण्य र धर्म कमाउने खर्चालु तरकिामा विश्वास लाग्छ, ज-जसले यसरी वरत्रपरत्र सुधार्न सकिन्छ भनेर मान्छन्, त्यो उनीहरूको व्यक्तिगत स्वतन्त्रता हो । तर, आफ्नो त्यो स्वतन्त्रता उपभोग गर्ने क्रममा उनीहरूले छरछिमेकको शान्तिपूर्वक बस्न पाउने स्वतन्त्रताको चाहिँ हनन गररिहेका हुन्छन् । आफू नास्ितक र अधार्मिकमा गनिने डरले छिमेकीहरू पनि मनमनै दिन गनेर बस्न थाल्छन् । भजनकीर्तन नगर्न कसरी भन्ने ?

कसैको घरमा बिरामी मान्छे होलान्, जसलाई समयमा सुत्नु जरुरी होला । राम्रो निन्द्रा नपरेका कारण उसको रोग बल्भिmन सक्ला । ढ्वाङ बजाउनेहरूको सायद पुराण र भजन सुनेपछि रोग पनि निको हुन्छ भन्ने मान्यता होला । यस अर्थमा उनीहरू आफूले छिमेकको पनि कल्याण गररिहेको ठान्लान् । कसैको घरमा जाँच नजिक आएका केटाकेटी होलान्, जसको पढाइमा त्यसले व्यवधान ल्याएको हुन्छ । कोही मानसिक रूपमा शान्त रहेर एकाग्रतापूर्ण काम गर्नुपर्नेहरू पनि होलान् । सात रात, नौ रात राम्ररी निदाउन नपाएको मान्छे आफ्नो काममा दिनभर िखट्नुपर्दा उसको अवस्था कस्तो हुन्छ ? के त्यसले उसको काम र उसले दिनुपर्ने नतिजामा पनि नकारात्मक असर पर्दैन र ? तर, पुण्य कमाउन सप्ताहजस्तो महान् काम फत्ते गर्न लागिपरेका मान्छेहरूलाई त्यस्ता झीनामसिना कुराहरू सोच्ने फुर्सद कहाँ हुन्छ र ? उनीहरूका लागि त त्यतिबेला टोलछिमेकमा अरू पनि बस्छन् भन्ने कुराको कुनै मतलब हुँदैन ।

सारा संसार भुलेर उनीहरू त ईश्वरमा लीन जो भएका हुन्छन् । फलतः बिहान ४ देखि राती १२ बजे वा उस्तै परे रातैभर िकेही नभए बरु दोहोरीका तुक्कामा बनेका भजनहरू घन्किरहन्छन् तर ढ्वाङले विश्राम पाउँदैन । के त्यसरी पनि धर्म हुन्छ होला ? के त्यसबाट साँच्चै पुण्य कमाइन्छ होला ? हुन त धर्म भनेको आस्था हो । ज-जसलाई यसमा आस्था छ, आफ्नो तरकिाले, आफ्नो चेतनाको स्तर अनुसार, चाहेको हिसाबले कसैले पनि गर्ने कामलाई र उसको आस्थालाई सम्मान गर्नुपर्छ । तर, त्यसरी टोलछिमेकलाई रातदिन तनाव हुने गरी छानाछानामा ढ्वाङ नराखेर उहाँहरूले पनि अरूको व्यक्तिगत स्वतन्त्रता र जीवनको सम्मान गर्न सक्नुपर्छ । भगवान् भनेको आकाशमाथि बस्छन्, पुराण लगाएको नसुन्लान् र दिनुपर्ने फल नदेलान् भनेर उनको कानसम्मै पुगोस् भनेर त्यसो गरएिको त पक्कै होइन होला ।

मानव इतिहास र विकासक्रमलाई नियालेर हेर्दा समाजको संरचना बन्न थालेको बेलादेखि नै हरेक सभ्यतामा केही चतुर मान्छेहरूले आफ्नो वर्चस्व पछिसम्म कायम गर्नका लागि अनेकौँ कुराको प्रादुर्भाव गरेको पाइन्छ । त्यसमध्ये एउटा धर्म पनि हो । धर्मका नाममा जति व्यापार, विवाद, लडाइँ र विभाजन सायदै अरू कुनैका लागि भएका होलान् । मानिस भनेको दूरदर्शी जात हो । तर, कहिलेकाहीँ ऊ चाहिनेभन्दा बढी दूरदर्शी बन्ने प्रयासमा अनिश्चित भविष्यका लागि निश्चित वर्तमानलाई बिर्सेर उल्लू बन्न पुग्छ । मान्छेलाई धर्मकर्म गर्ने रहर हुन्छ । उसलाई पुण्य कमाउने धोको पनि हुन्छ । तर, धर्म के गरेर हुन्छ र पुण्य कसरी कमाइन्छ भनेर बेलाबेला मान्छेलाई थाहा हुँदैन । त्यस्तो बेलामा मान्छेले नै बरगल्याउने काम गरेर आफ्नो फाइदाका लागि उसलाई खौरििदन्छन् । आफू मुडिएको थाहा नपाएर मान्छे दंग पर्छ ।

के पौराणिक ग्रन्थहरू पढेर, बिहान-बेलुका भजन गरेर, फुर्सद पाउनासाथ मन्दिर धाएर मात्र धर्म हुन्छ ? भगवान्का नाममा अनेकौँ खर्च गरेर वा भगवान्का लागि भनेर भोग चढाएर मात्र पुण्य प्राप्त हुन्छ ? बिहान-बिहान पशुपति वा बगलामुखी धाएर अनि दिनभर अरूको खुट्टा तान्न हिँडेर धर्म हुन्छ ? धर्म भनेको त एउटा मान्छेले अर्को मान्छेप्रति सद्भाव राखेर, अरूको कुभलो नचिताएर र जानीजानी अरूको हानि-नोक्सानी नगरे पो हुन्छ त ! पुण्य प्राप्ति भनेको आफ्नो विचार र व्यवहारमा शुद्धीकरण ल्याएर, रसि, राग र ईष्र्याजस्ता कुराहरू त्याग्न सके पो त कमाइन्छ । त्यो सब नहुने हो भने आडम्बर प्रदर्शनले मात्र वरत्रपरत्र सुधि्रन्छ अथवा कुनै वैतरण्िाी पार हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ? 

Saturday, May 8, 2010

सिर्जना र पुरस्कारको व्यवसाय

एक जना परििचतको निमन्त्रणा प्राप्त भयो । अचेल प्रविधिले धेरै कुरा सजिलो बनाइदिएको छ । धेरैजसो निमन्त्रणाहरू मोबाइलको एसएमएसमा प्राप्त हुन्छन् । एक हिसाबले यो सही कुरा पनि हो । अस्तव्यस्त काठमाडौँको यातायातको चापले गर्दा पहिलेपहिले भए नजिकै लाग्ने गन्तव्यहरू पनि अचेल चाइना बोर्डरजत्तिकै दुर्गम लाग्न थालेका छन् । यस्तो बेला १० दिशामा निमन्त्रणा पुर्‍याउनु भनेको सरकार र प्रतिपक्षीको कुरा मिल्नेजत्तिकै असम्भवप्रायः हुने गर्छ । त्यसैले अचेल धेरैजसो बिहे, व्रतबन्ध, चलचित्र प्रदर्शन, जमघट, आन्दोलन, जुलुस सबैका सूचना र निम्तो एसएमएसमा आउन थालेका छन् । त्यसैले ती निमन्त्रणाहरू कुनै सुपरमोडलका परधिानजस्ता संक्षिप्त हुने गर्छन् । ती परििचतको निमन्त्रणा पनि त्यस्तै थियो । त्यसबाट प्राप्त जानकारी कति थियो भने, उनले लेखेका कुनै किताबका लागि उनले प्राप्त गरेको कुनै पुरस्कारको खुसीयालीमा कुनै सेकुवा कर्नरमा हुने जमघटका लागि निम्त्याइएको थियो ।

त्यो जमघटमा पुगेपछि मात्र पुरस्कारको नालीबेली र वृत्तान्त थाहा भयो । कुनै नाम नै नसुनिएका वरष्िठ समाजसेवीका नाममा स्थापित ५ हजार १ रुपियाँ नगद र प्रशंसापत्रसहितको सो पुरस्कार उनले नामै नसुनिएको उनको कुनै साहित्यिक पुस्तकका लागि करबि-करबि सय जनाको विशाल समूह अटाउने कुनै प्रेक्षालयमा आयोजित एक भव्य समारोहबीच केही दिनअघि प्राप्त गरेका रहेछन् । ए ! यस्तो नाम गरेको पनि स्टेसन रहेछ भनेर श्रोताहरूको सामान्य ज्ञान बढाउने कुनै एफएमले त्यसबारे ठ्याम्मै एक घन्टा प्रसारण पनि गरेको रहेछ अनि केही छापामा पनि कतै कुनै भित्री पृष्ठमा लागि परेरै खोज्यो भने फेला पर्ने समाचार पनि त्यसका बारेमा आएको रहेछ । पहिलो संस्करण १ हजार १ प्रति छापिएको भनिएको उक्त पुस्तकको प्रकाशकमा उनकै श्रीमतीको नाम थियो र भूमिका लेख्दा उनले नछुटाईकन सम्झीसम्झी आफ्ना ससुरालीका सबै मान्यवर र सालासालीको नाम लेख्न भ्याएका थिए । बजारका कुनै पुस्तक पसलको मुख नदेखेको सो कृतिका छापिएका प्रतिहरू उनले चिनेजाने र भेटेजतिका सबैलाई दस्तखतसहित बाँड्न भ्याइसकेका पनि रहेछन् ।

अरूका कृतिहरू पढ्दापढ्दै अघिल्लो वर्ष एक दिन अचानक उनलाई आफूभित्र पनि एउटा सिर्जनशील लेखक लुकेर बसेको रहेछ र अब त्यो लेखक बाहिर आउनका लागि मरहित्ते गररिहेको छ भन्ने दिव्यज्ञान प्राप्त भएको थियो । अनि, उनले आफ्ना दिवंगत मातापिताका संस्मरणमा एउटा शोककाव्य लेखेर आफ्नो सिर्जनशीलताको पंखा फिँजाएका थिए । उनको पुस्तकको पछिल्लो गातामा लेखकका अन्य कृतिहरू भनेर त्यो शोककाव्यको नाम अप्रकाशित भनेर उल्लेख गरएिको थियो । त्यसबाहेक पनि राजनीतिक विश्लेषण, निबन्ध, यात्रा संस्मरण, कथासंग्रह, कवितासंग्रह, गजल, मुक्तक र हाइकु विधाका पनि झन्डै एक दर्जन नामहरू त्यहाँ उल्लेख थिए । उनले पाएको प्रशंसापत्रमा उनले नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको अनवरत योगदानको कदर गर्दै भन्ने वाक्यांश छुटेको थिएन । जसको नाममा स्थापित पुरस्कार उनले पाएका थिए, ती महान् समाजसेवीको जीवनी पनि उनले लेख्दै गरेका छन् भन्ने कुरा पनि त्यस जमघटमा सुनियो ।

हुन पनि हो अचेल यति धेरै प्रतिष्ठान र यति धेरै मान्छेका नाममा पुरस्कारहरू स्थापना भएका छन्, जसको लेखाजोखा राख्नका लागि कुनै अन्वेषकले ठूलै कसरत गरेर पनि भ्याइनभ्याई हुन्छ होला । अधिकांश नामै नसुनिएका समाजसेवी, प्रसिद्ध उद्योगपति व्यापारी र महाकविका नाममा स्थापित पुरस्कारहरूको बाढीमा अब त कुनै लेखकले कुनै पनि पुरस्कार पाएको छैन भन्यो भने अचम्म माने हुने अवस्था आइसकेको छ । त्यसैले पुरस्कार भनेको अचेल गतिलो/अगतिलो कुनै पनि लेखकका लागि प्रतिष्ठाको प्रतीकजस्तै भइसकेको छ ।

पुरस्कार भन्ने कुरा सम्मानसँग गाँसिएको हुनुपर्छ । कुनै पनि कामका लागि कसैलाई पनि प्रदान गर्ने कुनै पनि पुरस्कारले मान्छेलाई आफ्नो कर्मक्षेत्रमा अझ बढी कटिबद्ध भएर लागिपर्नका लागि प्रेरति गर्नुपर्छ । त्यो उसले आफ्नो क्षेत्रबाट समाज, देश र जनताका लागि पुर्‍याएको योगदानका लागि प्रदान गरनिुपर्छ । अनि, कसको नाममा त्यो पुरस्कार स्थापित भएको भन्ने कुरासँग पनि पुरस्कार पाउनुको गर्व गाँसिएको हुनुपर्छ । तर, अधिकांश पुरस्कारहरू अचेल पैसा भएका मान्छेहरूले कीर्ति आर्जन गर्नका लागि स्थापित गरेका हुन्छन् । यस्ता घाँसी कुवाप्रेरति प्रतिष्ठानहरू र तिनले प्रदान गर्ने सम्मानले प्राप्त गर्नेलाई कति आत्मसम्मान र प्रेरणा प्रदान गर्छ भन्ने कुरा पनि अनुसन्धानकै विषय हुनसक्छ । अर्कोतिर गतिला पुरस्कार पनि कसैले गरेको योगदानभन्दा बढी अरू कुराबाट प्रभावित भएर प्रदान हुने गरेको प्रवृत्ति पनि देखिन थालेको छ । लेखकले लेखेर मात्र, खेलाडीले खेलेर मात्र, समाजसेवीले समाजसेवा गरेर मात्र वा कसैले पनि आफ्नो कर्म इमानदारीपूर्वक गरेर मात्र त्यो क्षेत्रको पुरस्कार पाउन योग्य हुँदैन । आफ्नो मार्केटिङ् उसले वा उसका शुभचिन्तकहरूले कसरी गरेका छन्, त्यसका आधारमा उसका सिर्जनाको उचाइ निर्धारण हुन थालेको छ, उसको छवि बन्न थालेको छ । त्यसैले अचेल सर्जकहरू कुनै पनि सिर्जना गर्न सुरु गर्दा के विषयमा कस्तो कुरा लेख्ने भन्दा पनि पहिले कुन पुरस्कार पड्काउनका लागि लेख्ने भनेर गम्न थालेका पनि केही उदाहरणहरू यदाकदा देखिन/सुनिन थालेका छन् ।


सम्राटको नयाँ लुगा भन्ने पुरानो कथाजस्तै अहिले पनि धेरै नग्न चीजलाई बुद्धिजीवीले मात्र देख्ने भनेर प्रचार गर्ने गरएिको छ र त्यस्ता नग्नतामा गज्जबको परधिान देख्न सक्ने बुद्धिजीवीहरूको कमी पनि हाम्रो समाजमा कहिल्यै पनि भएन । हुन त आजको युगलाई बजार व्यवस्थापन र विज्ञापनको युग भनिन्छ । नबोल्नेले अब चामल बेच्न सक्दैन रे ! त्यसैले त अचेल चतुर व्यवस्थापकहरूले स्थायी बन्ध्याकरण गरसिकेकालाई समेत परविार नियोजनका अस्थायी साधन किन्न लगाउन सक्छन् रे ! त्यसैले अचेल सर्जक र तिनका सिर्जनाहरू पनि कुनै उपभोग्य वस्तुका रूपमा बिक्री-वितरण हुन थालेका छन् । अल्पकालीन व्यावसायिकताका लागि त निश्चय नै यो सुखद संकेत होला तर दीर्घकालीन सिर्जनात्मकताका लागि यो प्रवृत्ति कतै कार्बाइड हालेर पकाएको केराजस्तो हुने त होइन ?