Translate

Wednesday, March 27, 2024

अतिथि असुरो भव:

 फाइँफुट्टीराजका सबै नियमित पाठकलाई थाहा छ, उसलाई भेट्नुपर्‍यो भने सिधै रत्नपार्क गए हुन्छ। पख्नूस्, पख्नूस्, तपाईं उसको नयाँ पाठक हुनुहुन्छ भनेचाहिँ रत्नपार्क भन्नासाथ तपाईंको भृकुटी खुम्चिनुअघि नै म भनिहाल्छु, फाफुरा जिगोलो बनेको चाहिँ होइन। किनभने, ‘देश’ बेचेर खान खुला छुट भए पनि ‘देह’ बेच्नुचाहिँ यहाँ अपराध मानिन्छ। फाफुरा त दिउँसो उज्यालोमा त्यहाँ भेटिने प्रजाति हो। त्यहाँ घाममा लमतन्न परेर टोपीले मुख छोपर सुतेपछि उसको मगजमा एकसेएक युगान्तकारी, ऐतिहासिक र क्रान्तिकारी फाइँफुट्टी फुर्छन्। एकाएक फाइँफुट्टीमा महाविद्यावारिधि गर्न सकिने हुनाले नोबल पुरस्कारका लागि फाफुराको उहिल्यै मनोनयन हुनुपर्ने हो।

उसले जति फाइँफुट्टी लगाए पनि कसैले टेरपुच्छर लगाएनन्, त्यो अर्कै कुरो हो। तर पनि आफ्नो धर्मबाट अविचलित फाफुरा केही दिनअघि रत्नपार्कमा त्यसरी नै सुतिरहेको थियो। पहारिलो घाममा निदाउनै मात्र के लाग्याथ्यो, एक हुल प्रहरी आएर उसलाई झ्यापझुप पारेर समाते र भने, ‘सुनको कारोबारको सन्दर्भमा तिम्रो बयान लिन माथिको आदेशबाट तिमीलाई पक्राउ गरिएको छ, फाफुरा।’

उसले केही भन्नुअघि नै उसलाई च्याकुलझ्याइँ पार्दै लगेर भ्यानमा हाले। काठमाडौँका सडकमा रन्थनिँदै भ्यान केहीबेरमा एउटा भवनअगाडि रोकियो। उसलाई समात्ने प्रहरीले भने, ‘अनुसन्धान पूरा नहुन्जेल तिमीलाई यहीँ जाकिनेछ।’ 

फाफुराले टाउको उठाएर हेर्‍यो, भवनको माथि एउटा बोर्डमा लेखिएको थियो, ‘द ग्रायान्ड नर्भिक चिरायु कारागार। यहाँ आरोपी तथा कैदीका लागि खाने, बस्ने तथा मनोरञ्जनको राम्रो प्रबन्ध छ।’ त्यसको तल अलि सानो अक्षरमा केही अरू पनि लेखिएको थियो। फाफुराले आँखा चिम्सा पारेर हेर्‍यो, पछि देख्यो, ‘आवश्यक परेको अवस्थामा स्वास्थ्यसम्बन्धी सेवा पनि उपलब्ध हुनेछ।’

फाफुरा झसंग भएर ब्युँझ्यो। उसले त यो रत्नपार्कमा देखेको सपना रहेछ। तर ऊ पक्राउ पर्न सक्ने सम्भावनाचाहिँ पक्कै थियो। त्यसैले केही दिनका लागि यहाँ सुत्न भएन भन्ने सोच्दै ऊ निस्क्यो। किनभने आफू सधैँ भेटिने ठाउँमा देखा पर्नु उसका लागि डरमर्दो भएको थियो। अघि सपनामा देखेजस्तै कुनबेला निदाइरहेकै समयमा झ्याप्प सरकारले गिरफ्तार गरेर रत्नपार्कबाट सिधै नर्भिक, चिरायु अथवा ग्रान्डीतिर लगेर थुनिदेला भन्ने पिरले उसै त लुरे फाफुरा दुब्लाएर आधा ज्यानको भयो। फाफुरा आफू समातियो भने सारा दोष आफ्ना बाबुको थाप्लोमा हाल्न पनि सक्दैनथ्यो, किनभने ठूला फाफुरा अझै पनि जिम्दा नै छन्। 

तँ मुला फाफुरालाई किन समात्नु र भन्नुहोला। सरकारले सुन कारोबारमा संलग्नहरूलाई भटाभट समात्न थालेको कुरा त तपाईंहरूलाई थाहै होला! फाफुरालाई पनि त्यही सुन–सन्दर्भमा आफू समातिने डर थियो। कुन सुन भनेर नसोध्नुहोला। जुन सुन भए पनि पुन अघिकै कुरा गर्दा आजकल त राष्ट्रिय भावनाले ओतप्रोत यो गीत पनि गाउन नपाइने भएको छ, 

‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा–पहरा लहरा–छहरा, महराको देश...’

जंगल र हरियाली मासेर लहरा कतै बाँकी छैनन्। पहराजति प्लटिङ गरेर गायब बनाइसकेका छन्। मुहानका पानी सुकेर छहरा देख्न नपाएको कति भइसक्यो। यस्तो अवस्थामा अब बाँकी भएको एउटा महरालाई पनि मासेर सकाउने भए कि क्या हो भन्ने फाफुरालाई पिर परिसकेको छ। शरणार्थीलगायतका काण्ड सेलाएजस्तै सुनकाण्ड पनि नसेलाउन्जेल फाफुरालाई पनि लुकेर र बचेर हिँड्नुपर्ने अवस्था आइलागेको छ। तँ मुला फटिचर र सुनको कारोबारमा कसरी कुनै सम्बन्ध हुनसक्छ भन्नुहोला। तपाईंहरूको प्रश्न फाफुराको औकातअनुकूल त जायज नै छ, तर पनि कसरी सुन कारोबारमा संलग्न हुन पुग्यो भन्ने बताउनका लागि केही दिन अघिबाटै कुरा शुरू गर्नुपर्छ।

फाफुरा आफूलाई गौप्राणी भन्छ। जानिजानी उसले कसैको कुभलो चिताएको पनि छैन। यो जुनीको कुरा गर्दा उसले कसैको केही बिगारेको छैन। तर पूर्वजन्ममा गरेको कुनै पापको फल होला, कसैले फाफुरालाई उसको घरमा पनि पाहुना लागोस् भनेर सरापेछ। पाहुना आउने कुरा कसरी सराप भयो भन्नुहोला। हुन त यो फाइँफुट्टीराज पनि तपाईंहरूजस्तै अतिथि देवो भव: भन्ने सुनेर हुर्केको पुस्ताको प्राणी हो। 

आजकल कुरो अलि फरक भइसकेको छ। हरेक चिजको बजारभाउ यसरी बढेको छ, सस्तो भनेको त नेताहरूको बोली र इमान मात्रै बाँकी रहेको छ। तर त्यसले फाफुराजस्ता सर्वसाधारणको न दुई छाक टर्छ न बिरामी भएको बेला औषधिका रूपमा त्यसलाई खान मिल्छ। त्यसैले अहिलेको समयमा ‘अतिथि असुरो भव:’ भन्नुपर्ने अवस्था आएको छ। आजकल मानिसहरू बरु घरमा भूत–पिशाच आऊन्, तर पाहुना नआऊन् भनी प्रार्थना गर्न थालेका छन्। त्यस्तो प्रार्थना गर्नेहरूमा फाफुराजस्ता गरिब बढी छन्। 

जेजति गरे पनि बेलाबेला मानिसलाई अढैया वा साढेसाती त लागिहाल्छ। अघिल्लो हप्ता त्यस्तै भयो। एक जना काका पर्ने आफन्तले फोन गरेर आफू सपरिवार ६ जनाको जम्बो टोलीसहित शनिबार फाफुराको झुप्रोलाई पवित्र बनाइदिन आउन लागेको सगर्व घोषणा गरे। त्यो सुनेर फाफुराको आँखाअघि तोरीका फूल घुम्न थाले। १५ दिन वा एक महिनामा एउटा लेख लेखेर महिना–दुई महिनापछि त्यसको पारिश्रमिक कहिले आउला भनेर गर्जो टार्नुपर्ने कलमजीवि फाफुराका लागि घरमा पाहुना आउने समाचार नासाका लागि कुनै उल्कापिण्ड पृथ्वीमा ठोक्किन आउने भन्नेजतिकै डरलाग्दो थियो। तै फाफुराको मगज ‘घरपट्टि ठेकेदार’को निर्माण कार्यभन्दा तीव्र चल्ने भएकोले उसले आफू र फाफुरी दुवै जनालाई रुघाखोकी लागेको कुरा सुनायो। तर, वीर गोर्खालीलाई त्यसले केही असर गरेन। शनिबारसम्म ठीक हुन्छ, नभए पनि कोभिड पचाइसकेका नेपालीलाई नाथे रुघाले केही हुँदैन भनेर उनले टारिदिए। 

अब फाफुरा चिन्तित भयो। घरमा आउने पाहुनालाई सकेसम्म मीठोचोखो खुवाउनै पर्‍यो। तर अहिलेको बेला बजारमा हरेक कुरा छोइनसक्नु महँगो भएको छ। साग खानलाई नै ५० पटक सोच्नुपर्ने अवस्थामा पाहुना आएपछि कम्तीमा दुईथोक गतिलो तरकारी, मासु, दाल र अचार बनाउने कल्पना मात्र गर्दा भाउन्न हुन्छ। मनमनै त्यसको हिसाब गर्दा नै फाफुराको गानो जालाजस्तो भयो। मुर्छा पर्नुबाट आफूलाई मुस्किलले रोकिरहेको फाफुराको अनुहार देखेर कालो चिया बोकेर कोठाभित्र आएकी फाफुरीले सोधी, ‘के भयो तिमीलाई फाफुरा? एकैछिन अघिसम्म त हर्षमानजस्ता थियौ, अचानक किन वर्षमानजस्तो अनुहार?’

फाफुराले त्यसको कारण बताउनासाथ उसको अनुहार पनि गठबन्धन खुस्केर पदमुक्त भएको कुनै राज्यमन्त्रीको जस्तो भयो। यो आइपरेको विपत्तिबाट कसरी पार पाउने भनेर निकैबेर माथापच्ची गरेपछि फाफुरीले आफ्नो कानमा लगाएको डुम्रे मुसोको बच्चोको पुच्छरजस्तो मसिनो सुनको सिक्री फुकाली। 

उसले भनी, ‘दुईचार लाल त कसो नहोला, यसैलाई लगेर बेच फाफुरा। अहिले सुनको भाउ बेस्मारी बढेको छ। कमसेकम एउटा राम्रो चामलको पाँच किलोको पोका, दुईचार थरी तरकारी र अलिअलि मासु किन्न पुग्ला कि।’ फाफुरा लोप्रे कान लगाएर सुनको कारोबार गर्न हिँड्यो। तर उसलाई त्यो सिक्री बेच्न कांग्रेसलाई महाकाली बेच्नभन्दा पनि धेरै गाह्रो भयो। पहिलो सुनारले त ठाडै कुन रुटको बसबाट लुछेर भागेको भन्दै पुलिस बोलाउने नै धम्की दियो। दोस्रोले फाफुराको अन्वार र हुलिया हेरेरै त्यो पित्तलको होला भनेर कसीमा घोटेर हेर्नेसम्म कष्ट नगरी फर्काइदियो। तेस्रो सुनारकहाँ रोईकराइ गरेर आपतै परेको बताएपछि उसले जाँचेर भन्यो, ‘सुनभन्दा बढी रसान रैछ। तैपनि तपाईंको थोपडा देखेर दया लागेर मात्र लिन लाग्या हुँ।’ उसले भनेको कौडीको दाममा बल्लबल्ल फाफुरा त्यो बेच्न सफल भयो। 

त्यसपछिको पूरै हप्ता आउने शनिबारको आतंकमा बित्यो। फाफुराले शुक्रबार साँझ झमक्क परेपछि छिमेकीको बारीबाट दुईचार मुठा हरियो लसुन उखेलिसकेको थियो। पख्नूस्, पख्नूस्, यो त नकाम भयो भन्नुहोला। तर पहिले कुरा राम्ररी सुन्नुस्। गुरुप्रसाद मैनालीले कल्पना गरेजस्तो छिमेकी भए त लौ एक छिनका लागि तपाईंहरूको कुरा सही हो भन्नु। तर न मर्दा काम लाग्ने न पर्दा काम लाग्ने छिमेकीको दुईचार मुठा लसुन जत्ति पनि उखाल्न पाइन्छ। पेटमा हरि नभएका तिनको के कुरा गर्नु? कतिसम्म अविश्वासी, लोभी, किरन्टोकी र नराधम छन् ती छिमेकी भने आफूले पालेको जाबो कुखुराको खोरमा पनि राति याँमान्को ताल्चा मारेर सुत्छन्। नत्र फाफुरालाई भोलिपल्ट बिहान टोलको मासु पसलमा कुस्ती खेल्न जानै पर्दैनथ्यो। पसलेको दुच्छर वचन पनि सुन्न पर्दैनथ्यो। फाफुरालाई देख्नासाथ मासु पसले कराए ‘किलो–किलोका फिलो किन्नेहरूलाई भ्याईनभ्याइ छ याँ, एकदुई पाउवाला पछि आउनू। बच्योखुच्यो भने दिउँला।’

खसीको मासुको भाउ यसरी बढेको छ, मानौँ त्यो खसी होइन यती हो। तैपनि हानथाप हुन्छ किन्नेको। शनिबारको दिन त ती पसलेलाई छुनै सकिन्न। त्यस दिन टोलका एक जना ठालुकी श्रीमती पनि मासु किन्न आएका थिइन्। उनलाई देख्नासाथ मासु किन्नेको भिड यसरी बीचबाट चिरिएर बाटो दियो, जसरी बाइबलको कथामा समुद्रले क्राइस्टलाई बाटो दिएको थियो। किनभने ती ठालु कुनै उच्चपदस्थ कर्मचारी हुन्। पहिले चार आनामा एउटा सानो घर बनाएर बस्न आएका ती ठालुले हेर्दाहेर्दै वरिपरिका तीन रोपनी जति जग्गा किनेर ठूला पर्खाल लगाउन भ्याए। घर पनि यसरी थपथाप र मर्मत गरेका छन् कि कसैले त्यसलाई घर भन्यो भने तिनकी श्रीमती नाकको पोहोरा फुलाउँदै भन्छिन्, ‘घर होइन नि। हाम्रो त बंगलो हो बंगलो।’

तिनको अस्वाभाविक प्रगतिसँग आरिस गर्नेहरूले अगाडि पर्दा जदौ गरे पनि कन्नापछाडि ‘यल्लाई त अख्तियार या सीआईबी लागे पनि हुनी नि’ भन्ने गरेका छन्। नढाँटी भन्ने हो भने त्यस्तो आशीर्वाद बेलाबेला फाफुराले पनि नदिएको होइन। तर के गर्नु हाम्रो देशको अख्तियार, सीआईबी र न्यायमूर्तिहरू ठ्याक्कै डेंगीका लामखुट्टेजस्ता भए। तलतल मात्र टोक्न सक्ने, माथिमाथि जान नसक्ने। हुन पनि हो, तल टोक्दा कमसेकम टोक्ने भइन्छ, माथि टोक्यो भने त माटोक्ने भनिहाल्छन् नि। त्यै भएर होला।

जे होस्, पाहुना आउने नै भएर हुने हुनामी क्यै गरे टार्न सकिन्न भनेपछि मर्न परेपछि खुट्टै तानेर भन्दै फाफुराले पाहुना आउने दिनका लागि पूरै एक किलो मासु किन्ने भएको थियो। त्यसैले मासु पसलेको आदेशमा पाउवालाहरू पन्छिए पनि ऊ भिडमा उभिइरह्यो। पसले उसलाई अविश्वासको आँखाले हेर्दै थियो। त्यसैले फाफुराले २८ इन्चीको छाती फुलाएर ३० इन्ची बनाउँदै भन्यो, ‘किलो नै किन्ने हो।’ 

पसलेले उसलाई हेरेर सोध्यो, ‘आम्मा कस्सम भन्नुस् त।’ फाफुराले दुईचार वटा किरिया बोनसमा खाइदियो। मासु पसलेले एउटा ठूलो हाडमा चुप्पी हान्दै हाँस्दै भन्यो, ‘यिनका घरमा पाहुना आउन लागे छन् आज।’ ३०–३५ मिनेटको प्रतीक्षापछि बल्लबल्ल एक किलोको नाममा डेढ पाउ मासु अनि साढे तीन पाउ जति छाला, बोसो र हाडको पोको बोकेर फाफुरा तरकारी पसलतिर लाग्यो। तरकारी पसलमा लेखिएको थियो, ‘यहाँ नगद, जिन्सी, सुन तथा मिर्गौला पनि लिइन्छ। साथै न्यून ब्याजदरमा बैंक फाइनान्सको सुविधा पनि छ।’

हुन पनि बाटोमा चुँडिएर खसेको बिजुलीको नांगो तार बरु छुन सकिएला, बजारमा कुनै पनि तरकारी छुन सकिने नै छैन। एउटा ग्राहक सागको मुठालाई प्रेमपूर्वक मुसार्दै घुटुघुटु थुक निल्दै किन्नचाहिँ आँट नगरेर रुँलारुँलाजस्तो गरिरहेको थियो। पसले भन्दैथ्यो, ‘तरकारी उम्रने जति खेतमा घरबार उमारेको छ, आलुप्याजसमेत अब इन्या र चैनाबाट नआई हुँदैन। अनि महँगो नहोस् त? हामीले पनि किनेरै ल्याएर दुई पैसा नाफामा बेच्ने हो क्यार।’

फाफुराले त्यहाँ अचार खाने कोइरालाको फूल देख्यो। तर त्यसको भाउ सुनेर उसलाई रिँगटा लाग्यो। त्यो अर्को ग्राहकलाई च्याप्प नसमातेको भएर ऊ भुईँमै पछारिन्थ्यो होला। आफूलाई नियन्त्रण गर्दै उसले फेरि कालीप्रसादले जसरी मुटुमाथि ढुंगा राखेर एक पाउ कोइराला किन्यो। यतिका समय कोइरालाले देश र जनताको अचार बनाएका थिए, अब त्यसको बदला कोइरालाको अचार बनाएर लिने सोचाइले नै फाफुराभित्रको चे जुरमुराएर उठ्यो। त्यसैको जोसमा छाती फुलाएर फाफुरा डेरातिर लाग्यो। फाफुरीले पनि भान्छाको झ्याल खोलेर मजाले मासुभात र अरू मेजमानकी तयार पारी। ‘बेलाबेला त हामीकहाँ नि मासु पाक्दोर'छ भनेर थाहा त दिनुपर्‍यो नि,’ ऊ मुसुक्क हाँसी। 

सबै तयारी गरेर फाफुरा दम्पती असुरो भव:वाला काकाको परिवारको प्रतीक्षा गर्न थाले। तर १ बज्ने बेलासम्म पनि उनीहरूको अत्तोपत्तो थिएन। फाफुरीले भनी, ‘एक पटक फोन गरेर हेर न। कतै आउन लाग्या बेला माइक्रो, टिपर अथवा युलेन्स स्कुलको मिनिबसले हान्या त होइन?’ फाफुरीको कुरो जायज थियो। सडकमा ती तीन थरी सवारीसाधनबाट बच्न बलियै भाग्य चाहिन्छ। निकै बेर घण्टी बजेपछि काकीले फोन उठाइन् र रुन्चे स्वरमा आफूहरू आउन नसक्ने कुरा सुनाइन्, ‘तिम्रा काकालाई पुलिसले समातेर लगे, फाफुरा।’

फाफुरा जिल्ल पर्‍यो। उसले कारण जान्न खोज्यो। काकी रुवाइ र आक्रोश मिश्रित स्वरमा च्याँठिइन्, ‘यो देशमा हामीजस्ता आमनागरिकलाई दुःख दिन कारण चाहिन्छ र? काम गरेर खान कहाँ दिन्छन् र फाफुरा? हेर न तिम्रा काकाले हालसालै एउटा सानो छापाखाना चलाउन थालेका थिए। सानोतिनै छपाइको काम गर्थे। अलिकति कमाउन थालेको पनि देख्न नसकेर असत्तीहरूले हिजो सबै जफत गरेर समातेर लगे।’

फाफुरा जिल्ल पर्‍यो र सोध्यो, ‘छापाखाना चलाउँदैमा समात्न पाइन्छ र यो लोकतन्त्रमा?’ काकी अझै कुर्लिइन्, ‘त्यही त। मैले भनिहालेँ नि यो देशमा काम गरेर खाने वातावरण नै छैन। त्यसै सबै विदेश जान थालेका हुन् र? त्यति सानो छपाइको काम गर्दा पनि चोरलाई जसरी हतकडी लगाएर लगे। यो देशलाई सतीले सरापेको देश भनेको यसै होइन, फाफुरा। निमुखाहरू कसरी बाँच्ने अब लौ? ल भैगो धेरै ठूलो छपाइको काम गरेको भए पनि एउटा कुरा। सानोतिनो मात्र गरेको हो। के आउँछ २० वा ५० रुपैयाँले आजकल भन त? कालीमाईले भष्म फाफुरा, बिचराले जाबो २० र ५० को भन्दा ठूलो छाप्या पनि हैन। १००, ५०० या १००० छाप्या भए पनि एउटा कुरा,’ काकी धाराप्रवाह फतफत गरिरहिन्।

फाफुराचाहिँ सोच्दै थियो– गर्मी लाग्ने बेला भइसक्यो, घरमा फ्रिज पनि छैन, त्यत्रा मान्छेका लागि बनाएको खाना खेर जाने भयो कि क्या हो!

२०८० चैत्र ११, आइतबार

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment