Saturday, July 17, 2010

न्युज ब्रेकिङ्

अचेल च्याउ उम्रेसरी पलाएका एफएम र टेलिभिजनका आवाजहरू अनि पत्रपत्रिकाहरूका पानाहरूमा विरलै मात्र सकारात्मक र राम्रा कुराहरू पढ्न पाइन्छ । त्यसले गर्दा मान्छेहरूमा समाचार भन्ने कुरासँगै वितृष्णा उपन्न होलाजस्तो भइसकेको छ । हुन पनि हो, अचेल समाचारहरू नै त्यस्ता भएका हुन् वा मानिसहरूका अपेक्षा त्यस्तै भएकाले माग अनुसारको आपूर्ति भएको हो, ठोकेरै भनिहाल्न गाह्रो छ । तर, दुःखलाग्दो सत्य के हो भने, अचेल समाचार भनेको भएका महत्त्वपूर्ण र आममान्छेका रुचि तथा सरोकारका कुरा र घटनाहरूको तथ्यपरक सम्प्रेषणबाट विस्तारै सिर्जना गरनिे उत्तेजक कुराहरू हुँदै गएको भान हुन्छ । २४ घन्टा चलाउनु पर्ने बाध्यता भएका च्यानलहरूले भएका समाचार कुर्ने होइन, समाचार बनाउने प्रथाको शुभारम्भ गरेका छन् । चलचित्र, संगीत, साहित्य, कला र राजनीतिलगायत हामीले सिकेका अन्य धेरै कुराहरूजस्तै यो पनि मित्रराष्ट्रकै अनुपम देन हो हाम्रा लागि ।

छिमेकी मुलुकमा पनि समाचार र त्यसको सम्प्रेषणको तरकिामा फरक आउन थालेको धेरै भएको छैन । आजतक नामक समाचार च्यानलले समाचारलाई उत्तेजक, आक्रामक रूपमा प्रस्तुत गर्ने र समाचार निर्माण गर्न सुरु गरेको नौलो चलनले निकै कम समयमा उक्त च्यानललाई नाफा कमाउने च्यानल बनाइदियो । फलतः व्यवस्थापनको अध्यापन गराउँदा समेत त्यसलाई उदाहरणका रूपमा उल्लेख पनि गरयिो । दर्शकसंख्या उल्लेख्य रूपमा आकषिर्त गर्न सफल उक्त च्यानलको सफलताबाट डराएर अरू समाचार संस्थाहरू पनि उसको बाटो पछ्याउन बाध्य भए । अनि, थाहै नपाई टेलिभिजन च्यानलहरू समाचारका नाममा कुनै बेला मनोहर कहानियाँ र सत्यकथाजस्ता अपराध-कथाका पत्रिकाहरूले उछाल्ने विषयहरूको भण्डार हुन पुगे ।

जिम्मेवारी र समाचार सम्प्रेषणको गहनताभन्दा बढी आक्रामक र क्षणिक आवेगका कुरालाई समातेर दर्शकका भावनालाई निचोर्ने काममा समाचार प्रस्तुति केन्दि्रत भयो । दर्शक आकषिर्त गर्ने नाममा संवेदनशीलता, विश्वसनीयता, नैतिक मूल्य र सामाजिक जिम्मेवारी भन्ने कुराहरू विस्तारैविस्तारै पाखा लाग्न थाले । कतिसम्म भने समाचार च्यानलहरूले छाती ठोकेर हरेक दिन यति यति बजे 'ब्रेकिङ् न्युज' देखाउँछौँ भन्ने धृष्टता पनि गर्न थाले । ब्रेकिङ् न्युज भनेको त अति नै ठूलो राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्त्वका कुराहरू वा ठूला घटना, दुर्घटना र प्राकृतिक विपत्तिका समाचारहरूका लागि हुन्छन् तर पूर्वघोषित समयमा ब्रेकिङ् न्युज सुनाउनुपर्ने बाध्यताका कारण कुनै घरमा कसैले श्रीमतीलाई पिटेको कुरा पनि ब्रेकिङ् न्युजका रूपमा प्रचारति/प्रसारति हुन थाल्यो । केही नभए पनि समाचार सिर्जना गर्नुपर्ने स्िथति समाचार च्यानलहरूले आफैँ पैदा गरे । फलतः ब्रेकिङ् न्युजले न्युजलाई नै ब्रेक गर्न थाल्यो । त्यसले क्षणिक र सस्तो लोकपि्रयता त अवश्य पनि दिलाउन सफल भयो होला तर विश्वसनीयता भन्ने कुरा कुन चराको नाम हो त भन्ने स्िथतिको अभ्युदय भयो । मान्छेहरूले पनि समाचारलाई मनोरञ्जनका रूपमा लिन थाले, जसमा रोमाञ्च, हास्य, रहस्य र त्रासको अंश प्रशस्तै हुन्छ । समग्रमा भन्ने हो भने एउटा सिनेमा हलमा गएर हेर्दा कुनै मसलादार काल्पनिक कथाले दिनेभन्दा बढी मनोरञ्जन घरमा बसीबसी प्राप्त हुन थाल्यो । ती समाचारका नाममा सुनाइएका कुराहरूको कुनै प्रामाणिकताको पनि आवश्यकता नहुने भयो र लघुकालीन अथवा दीर्घकालीन प्रभावका बारेमा पनि कसैले टाउको दुखाउनु नपर्ने भयो । 

जनआन्दोलनताका आजतक नामक च्यानलका एक जना वरष्िठ समाचार निर्माता काठमाडौँमा आएका थिए । उनी नेपालको तत्कालीन राजनीतिक अवस्थाका बारे यहाँका केही बुद्धिजीवीहरूलाई बटुलेर एउटा छलफल कार्यक्रमको छायाँकन गररिहेका बेला संयोगवश भेट भयो । मैले किन हिन्दी समाचार च्यानलहरू यति धेरै बकम्फुसे हुँदै गएका भन्ने जिज्ञासा राख्दा उनले भनेका थिए, "के गर्ने ? हामीले नगरे त्यो काम अर्को च्यानलले गर्छ र दर्शक लैजान्छ । हाम्रा च्यानलका मालिकहरू हमेसा हामीलाई टीआरपी -दर्शक संख्या निर्धारण गरनिे एक प्रकारको मापन प्रक्रिया) बढाउनका लागि नै मात्र दबाब दिइरहन्छन् । हामीसँग अरू विकल्प नै छैन ।"

तर, यसले दूरगामी रूपमा विश्वसनीयतामा आउने ह्रासका बारेमा भने उनी पनि चिन्तित थिए । केही वर्ष पहिले अमेरकिामा पनि समाचार च्यानलहरूले प्रतिस्पर्धाका लागि होडबाजी गर्दा विश्वसनीयतामा कमी आएको कुरा एउटा सर्वेक्षणले देखाएपछि सामूहिक रूपमा समाचार च्यानलहरू आफ्नो नीति परविर्तन गरेर गुमाएको साख कमाउन कटिबद्ध भएका थिए । छिमेकी मुलुकमा पनि अहिले त्यो कुरा गम्भीर रूपमा उठ्न थालिसकेको छ । काँचको पर्दालाई मनोहर कहानियाँ बन्न दिनु हुँदैन भन्ने व्यापक आवाजहरू त्यहाँ उठ्न थालिसकेका छन् । तर, हाम्रो विडम्बना भनेको के भने हरेक कुरामा हामी उतैबाट प्रभावित भएर त्यहाँका खराब पक्षहरूको अन्धो नक्कल गर्छौं । त्यहाँका मानिसहरूको कामप्रतिको लगन, मिहिनेत, समर्पण र व्यावसायिकताको चाहिँ हामी कहिल्यै सिको गर्दैनौँ ।

साधारणतया मान्छेको ध्यान अपराध, ठगी, हिंसा र लुटपाटका कुराहरू र नकारात्मक चीजले बढी तान्ने गर्छ । एकथरी दर्शनले भन्छ, मान्छेको चेतनाको, मनको दुईवटा पाटाहरू हुन्छन् । एउटा तल्लो र एउटा माथिल्लो । धेरैजसो हामी आफ्नो तल्लो पाटो मात्र खोलेर बसेका हुन्छौँ । त्यसले गर्दा हामी साधारण र अर्थहीन कुराहरू मात्र देख्छौँ । माथिल्लो पाटो खोलेपछि मात्र हामी कुनै पनि कुराका सकारात्मक र गम्भीर पाटाहरू केलाउन सक्ने हुन्छौँ । समाचार र तिनका माध्यमहरू भनेको अति नै संवेदनशील र सशक्त अस्त्र हो । यसको सही प्रयोग गर्न सक्यो भने तुरुन्तै सकारात्मक प्रभावहरू देखा पर्छन् । 

पछिल्लो सातामा नै पनि यसका प्रमाणहरू देखिएका थिए । विजातीय विवाह गरेर घर छोडेर काठमाडौँ आएकी एउटी युवती, आफ्नो पतिको मृत्युपश्चात् सानो बालकको लालन-पोषणका लागि कसरी रेस्टुराँमा काम गर्न पुग्छे र कस्ताकस्ता सम्झौता गर्न बाध्य हुन्छे भन्ने एउटा समाचारले धेरैका आँखा रसाएका थिए । कान्तिपुरमा त्यो छापिएको पर्सिपल्ट उसका लोग्नेका आफन्तहरू उसलाई खोज्न काठमाडौँ आएका थिए र उसलाई घर लिएर गएका थिए । त्यस्तै, सरकारी स्कुलमा पढेर एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने एउटी छात्राको समाचार पनि केही दिनअघि प्रकाशित भएको थियो । ड्राइभरकी छोरीले पढेर के गर्नू भनेर घोच्ने आफन्तहरूका इखले सो नतिजा हासिल भएको बताउने ती छात्राले आफ्नो डाक्टर बन्ने इच्छा पूरा गर्ने आर्थिक स्िथति बाबुआमाको नभएको दुःखमनाउ गरेको भोलिपल्टै एउटा कलेजकले उनलाई निःशुल्क पढाउने जिम्मेवारी बोकेको थियो । 

त्यसैले पत्रपत्रिकामा छापिने एकएक शब्द वा टेलिभिजनमा बोलिने एकएक बोली हजारौँहजार गोलीभन्दा बढी शक्तिशाली हुन्छन् भन्ने कुरा आमसञ्चारमा भएका मानिसहरूले बुझ्नुपर्छ । कुनै पनि ऊर्जाको सही प्रयोगले विकासका ढोकाहरू खोल्छन् भने त्यही ऊर्जाको गलत प्रयोगले आमविनाशका हतियार पनि बनाउन सक्छ । आमसञ्चारको ऊर्जाको असर सही वा गलत दुवैमा अत्यन्त प्रभावकारी हुन्छ भन्ने कुरा राज्यको चौथो अंग भनेर मानिने यस माध्यमले कहिल्यै पनि बिर्सनु हुुँदैन ।

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...