Saturday, November 13, 2010

ओशोसंग ९० मिनेट

कान्तिपुरको कोसेलीमा प्रकाशित

२०४२ माघ
आचार्य रजनीश काठमाण्डौ आए भन्ने कुरा नेपाल टेलिभिजनमा साँझ आठ बजेको समाचार हेर्दा थाहा भयो । त्यतिबेला मलाई आचार्य रजनीश भनेका एक चर्चित र विवादास्पद व्यक्ति हुन् भन्नेसम्म मात्र थाहा थियो । पन्ध्रसोह्र वर्षको उमेरमा मान्छेले आफूलाई ठूलो ज्ञानी र विवेकशील मान्न थालेको हुन्छ । पछि उमेर, अध्ययन र अनुभवले पाको हुँदै गएपछि जतिजति आफ्ना विगतलाई मान्छेले केलाउन थाल्छ, त्यतित्यति आफ्नो पहिलेको अल्पज्ञान र त्यससंग आएका तुजुकहरुलाई सम्झेर मान्छे आफै हाँस्न थाल्छ । म पनि उमेरको बाटोको एउटा त्यस्तै मोडमा थिएँ । उनका बारेमा मलाई त्यतिबेला भएका अरु थप जानकारी थिए, उनी केही समय अघि अमेरिकाबाट धपाइएका थिए । टाइम पत्रिकामा एक पटक उनका अनगिन्ती रोल्स रोयस गाडीहरु लाम लगाएर राखिएको फोटो देखेको थिएँ । त्यसपछि २२ वटा मुलुकले उनलाई प्रवेशाज्ञा दिइका थिएनन् । अजासु दाइ काकाहरुले सुनाएका कुराहरुका आधारमा मात्र मैले आचार्य रजनीशलाई चिन्थें । त्यसका आधारमा उनी खुला यौनको वकालत गर्ने भएकाले रुढीवादीहरुका अनुसार समाज भाँड्ने विचारका प्रचारक हुन् भन्ने मलाई अल्पज्ञान थियो । म यौन र तिनसंग सम्बन्धित कुराहरु खुला रुपमा चर्चा गर्नुहुन्न भन्ने पारीवारिक वातावरणमा हुर्किएर त्यसैको कौतुहलताले कुत्कुत्याउने उखर्मौलो उमेरमा थिएँ । त्यसैले आचार्य रजनीशको काठमाण्डौ आगमन त्यतिबेला मेरा लागि विशेष आकर्षणको कुरा बन्न पुगेको थियो ।



निकै पछि गएर ओशोका विचारहरु सुन्ने र पढ्ने अवसर पाएपछि मात्र थाहा भयो, उनलाई उन्मुक्त यौन र सम्भोगको कुरा गर्ने मान्छेका रुपमा मात्र चिन्नु भनेको आइन्स्टाइनलाई १ देखि १२ सम्मको दुना मुखाग्र आउने हिसाबमा राम्रो मान्छे भन्नु वा पिकासोलाई मोटरको नम्बरपातो राम्रो लेख्ने मान्छे भन्नु जस्तै मात्र हो रहेछ । कालान्तरमा उनका केही विचारहरुले त यतिसम्म प्रभाव पारेका छन्, तिनलाई आफ्नो जीवनमा आत्मसात गर्दा ममा मनग्गे सकारात्मक परिवर्तनहरु भएका छन् । तर त्यसअघिको अल्पज्ञानकै सन्दर्भमा कुरा गर्दा ज्ञान, सत्य र तथ्य भनेको खासमा के हो, स्वत्स्फूर्त रुपमा आफू भित्रबाटै प्राप्त भएको मात्र ज्ञान हो, अरुले मानिआएका कुुरा सुनेर, पढेर मात्र, सबैले स्वीकारेको कुरा भनेर स्वीकारेर मात्र स्थापित कुरालाई पछ्याउनु ज्ञान होइन भन्ने ओशोका भनाइसंग म अनभिज्ञ थिएँ । त्यसैले आत्मा साक्षी राखेर भन्नुपर्दा त्यतिबेला उनलाई चिनेको त नभनौं, सुनेको भरमा बुझेको त्यहि नै रुपमा मात्र थियो, विवादास्पद र उन्मुक्त यौनका पक्षपाती । त्यसैले पनि उनी मेरा लागि रोचक, आकर्षक र रहस्यमय थिए । मानव स्वभाव नै हुन्छ, जे नगर्नू भन्यो त्यसमा बढी रुचि हुनु । त्यसैले आचार्य रजनीश काठमाण्डौ आए भन्ने थाहा पाउँदा एक किसिमको कौतुहलता मनमा जागृत भएको थियो । उनलाई भेट्न पाए हुन्थ्यो, उनीसंग कुरा गर्न पाए हुन्थ्यो ।

फाट्टफुट्ट लेख्न थालेको हुनाले मलाई कुनै एउटा तत्कालीन पत्रिकाका लागि उनको अन्तर्वार्ता लिने जंग चढेको थियो । आचार्य रजनीशजस्ता मानिससंग भेट्नुको महत्व के हुन्छ, त्यस भेटबाट, उनका कुराहरुबाट आफ्नो सोच, व्यक्तित्व र व्यवहारमा कस्ता सकारात्मक कुराहरु लागू गर्न सकिन्छ भन्ने भन्दा पनि आफूले लेख्ने साप्ताहिक पत्रिकामा एउटा प्रख्यात मान्छेको अन्तर्वाता लिएर धाक जमाउनु त्यतिबेला मेरा लागि बढी आकर्षक कुरा थियो । तर त्यही उद्देश्यले नै किन नहोस्, मैले त्यतिबेला नबुझे पनि मेरो जीवनका केही अविस्मरणीय दिनहरु मध्ये एक बन्न पुग्ने दिनको तयारीमा म जुटिसकेको थिएँ । त्यसैले उनी सोल्टी होटलमा बसेका छन् भन्ने कुरा पत्ता लगाउन खासै कसरत गर्नु परेको थिएन । आफ्नो भर्खर घोक्रो हुन थालेको स्वरमा अतिरिक्त वजन थप्ने प्रयास गर्दै मैले त्यहाँ फोन लगाएको थिएँ, आफ्नो परिचय दिएर आचार्य रजनीशलाई मागेको थिएँ । फोन उनको सूइटमा दिइएको थियो जहाँबाट कुनै नारीले कुरा गरेकी थिइन्। उनी आचार्यकी विशेष चेली थिइन् । उनको नाम थियो, मा प्रेम हास्या ।

“भोलि बिहान एघार बजे भगवानको पत्रकार सम्मेलन हुँदैछ । तपाईं पनि त्यसमा आउन सक्नुहुन्छ ।”
उनले मलाई जानकारी दिएकी थिइन् । उनले जानीजानी वा नजानीनजानी भगवान शव्दमा विशेष जोर दिएकी थिइन् जस्तो मलाई लागेको थियो ।
“म आचार्यसंग विशेष र एकल अन्तर्वार्ता गर्न चाहन्छु,, हूलमूलमा त म आउँदिनं ।”

म चाहिँ जानीजानी आचार्य शव्दमा जोर दिंदै टुप्पिएको थिएँ । एकै छिनको मौनता पछि मा प्रेम हास्याले भगवान ध्यानमा हुनुभएकोले केही समय पश्चात फोन गर्छु भन्दै मेरो नम्वर मागेकी थिइन् । मलाई त्यतिबेला लागेको थियो, अब उताबाट के फोन आउला र ? तर केही समयपछि उनको फोन आएको थियो ।

“मैले भगवानसंग कुरा गरें, भोलि बिहान साढे सात बजे आउन सक्नुहुन्छ?”

एक मनले कताकता आश्चर्यचकित हुँदै ठीक समयमा पुग्ने वाचा गरेर फोन राख्दा मेरा हातहरु उत्साह र उत्तेजनाले अलि अस्थिर भएका थिए । हुनसक्छ भित्री कतै अचेतन मनमा यति सजिलो संग आचार्य रजनीशलाई भेट्ने समय पाइने कुरामा म आफै बिश्वस्त पो थिइनं कि ? भोलिपल्ट बिहान माधको सिरेटोमा सिउसिउ गर्दै एउटा वाकम्यानमा कुनै एउटा पुरानो क्यासेट टेप खाँदेर र ख्यास्ख्यास् कोरिएका प्रश्नका बूंदाहरु खल्तीमा हालेर सवा सातै बजे म सोल्टी पुगेको थिएँ । होटलको लबीमा नै आचार्यको अस्थायी सूचना केन्द्र बनाइएको थियो । त्यहाँ गएर मैले आफूलाई आचार्यले समय दिएको कुरा बताएपछि मलाई एकै छिन बस्न भनिएको थियो । म केही पर लबीमा रहेका आरामदायी सोफामा गएर पसारिएको थिएँ ।

केही क्षणमा एक जना अल्गो विदेशी मान्छे त्यहाँ आएका थिए । लामोलामो कपाल र जुंगादाह्री पालेका ती व्यक्तिले आचार्यका चेलाहरुले लगाउने गेरु रंगको लामो लुगा लगाएका थिए । उनको घाँटीमा आचार्य रजनीशको श्वेतश्याम फोटो भएको लकेट झुण्डिएको थियो । उनले सूचना डेस्कमा भएका मान्छेसंग केही सोधेका थिए, अनि उनी जिल्ल पर्दे म तिर आएका थिए । आचार्य रजनीशसंग अन्तार्वाता गर्नका लागि त्यति आलोकाँचो उमेरको ठिटो आएको होला भन्ने शायद उनले कल्पना गरेका थिएनन् । मेरो नजीक आएर उनले बेलायती लवजको अँग्रेजीमा मा आफ्नो शंका निवारण गर्न प्रश्न गरेका थिए । त्यो मान्छे म नै हूँ भन्ने थाहा पाएपछि उनले भनेका थिए,
“म तपाईंले भगवानसंग गर्ने प्रश्नहरु हेर्न चाहन्छु।”
उनी पेशाले चिकित्सक, राष्ट्रियताले बेलायती र विचारले रजनीशका चेला थिए । उनी रजनीशको व्यक्तिगत डाक्टर पनि रहेछन् र उनको नाम थियो स्वामी देवराज ।
“म तपाईंसंग हैन। आचार्य रजनीशसंग कुरा गर्न आएको हूँ, त्यसैले माफ गर्नुहोला, म तपाईंलाई मेरा प्रश्नहरु देखाउन सक्दिनं ।”
म पनि अँग्रेजीमा नैे टेढिएको थिएँ ।
अनि केही बेर हामी आआफ्नो ढिपीमा नै अडिरहेका थियौं । प्रश्न नहेरि उनी नमान्ने, देखाउन म नचाहने । अन्त्यमा म उठेको थिएँ,
“भैगो त्यसो भए । मेरो प्रश्न सेन्सर नगरि उनी मलाई भेट्न चाहँदैनन् भने म यत्तिकै फर्किन्छु ।”

स्वामी देवराजले मलाई एकैछिन कुर्न भनेर पुन सूचना डेस्कमा गएर माथि कसैसंग फोनमा कुरा गरेका थिए । अनि मेरा प्रश्नहरुको चिरफार बिना उनले मलाई आचार्यको सूइटमा लिएर गएका थिए । बाहिरी कोठामा केही भक्त र भक्तिनीहरु भुइंमा ओच्छ्याइएको लचकदार कार्पेटमा पलेंटी कसेर बसिरहेका थिए । छेउका सोफाहरु खालि थिए ।
अहिले पनि ओशोका अनुयायीहरु मैले उनलाई भेटेको थाहा पाउँदा जिज्ञासु हुने गर्छन् ।
“ओहो, तपाईंले ओशोलाई साक्षात भेट्नु भएकोथ्यो ? उहाँको अनुहारमा कस्तो आभा थियो ?”
उनीहरुको आँखामा अविश्वास र इष्र्याको बराबर अंश हुने गर्दछ त्यसबेला ।

त्यो देख्दा मलाई अहिले पनि कहिलेकहीं अचम्म लाग्छ, किन आचार्य रजनीशले मलाई व्यक्तिगत भेट दिएका होलान्, कतै त्यो कुनै सपना त थिएन ? तर हालै त्यो भेटवार्ताको अंशहरु छापिएको साप्ताहिक पत्रिका पे्रस काउन्सिलको डिजिटल संग्रहालयबाट सारेपछि मलाई त्यो वास्तविकतामाथि विश्वास गर्न करै लाग्छ ।
मलाई अझै पनि स्पष्ट सम्झना छ, उनीसंगको त्यो पहिलो साक्षात्कार । भित्री कोठाबाट नीलो चमकदार लामो लुगा लगाएका आचार्य रजनीशले प्रवेश गरेका थिए । अनि उनको प्रवेशसंगै मेरो सारा तुजुक र तनक पनि लल्याकलुलुक भएको थियो । उनको आगमनसंगै मलाई कोठामा एउटा अचम्मको शान्त र अलौकिक वातावरणको आभास भएको थियो । म अहिले पनि सम्झन्छु, त्यतिबेलाका तीनवटा कुराहरुका चमक । एउटा आचार्य रजनीशको औंलामा भएको कुनै पत्थरको औंठी, अनि दुइवटा उनका तेजिला र बल्ड्याँग्रे आँखाहरु । उनले मलाई हेर्दा यस्तो भान भयो, मानौं तिनमा कुनै खास किसिमका एक्स रे लेन्सहरु जडिएका छन् र उनले मलाई भित्रसम्म छर्लंङ्ग देखिरहेका छन्, तौलिरहेका छन् । लामो सेतो दाह्रीले उनको व्यक्तित्वमा एउटा साधकको छाप दिइरहेको थियो । उनको ज्ञानको आभा कुनै दिव्यज्योति झैं उनको शिरको वरिपरि धुमिरहेको मलाई भान भएको थियो ।

आचार्य रजनीश एउटा सोफामा विराजमान भएपछि उनका चेलाहरुले मलाई पनि भुईंमा बस्न भनेका थिए, जसलाई मैले अस्वीकार गरेको थिएँ । रजनीशले नै मलाई सोफामा बस्न भनेपछि उनीहरु मौन भएका थिए । मलाई लाग्यो, शायद उनलाई भगवान भनेर भन्ने उनको भन्दा पनि बढी उनका चेलाहरुको रहर हुनुपर्छ ।

त्यसपछि करीब एक घण्टा मेरा त्यतिबेलाका अपरिपक्व प्रश्नहरुको संयमताका साथ उनले उत्तरहरु दिइरहे । किन उनी विवादास्पद छन्, किन उनी अमेरिकाबाट लखेटिए, किन उनी यौनका बारेमा बढी चर्चा गर्छन् भने विषयहरुमा नै मेरा प्रश्नहरु सीमित थिए । उनका बारेमा मेरो त्यतिबेलाको सीमित सतही ज्ञानको घेरा भन्दा बाहिर म जान सक्ने पनि थिइनं । ती मध्ये केही प्रश्नहरु सम्झँदा मलाई अहिले कुरीकुरी लाग्छ । अहिलेको जस्तो सूचना र संचारका प्रविधिहरु भएका भए म अलि बढी खोजीनीति गरेर जान्थें कि ? तर उनले निमेषभरका लागि पनि मलाई हलुका रुपमा लिएको भान हुन दिएका थिएनन् । कुशल टिमले आफूभन्दा जति नै सुकै निर्धो टिमसंग फूटबल खेले पनि हलुकासंग नलिएर आफ्नो पूर्ण दक्षता प्रदर्शन गरे जस्तो थियो उनको उत्तर दिने शैली । कुनै बेला उनी आक्रामक भएका थिए, कुनै बेला प्रतिरक्षात्मक पनि । कुनै बेला तेज गति हुन्थो उनको भने कुनै बेला चाल बुन्नका लागि यता र उति बल खेलाइरहेको जस्तो गरि उनले आफ्ना शव्दहरु खेलाएका थिए । कहिले उनका भनाइहरु कुनाबाट छड्के परेर बाँकटे हान्दै आएर गोल हुन्थे भने कहिले पेनाल्टीको सशक्त प्रहार झैं सोझै अगाडिबाट आएर जाली चुम्थे, कानका । अनि मन र मगजमा प्रभाव पार्थे तिनले । उनी कुशल वक्ता थिए, ज्ञानी थिए । त्यस्ता मानिसले आफ्नो अगाडिको मान्छेलाई चमत्कृत बनाइदिन्छ, सम्मोहित र प्रभावित बनाइदिन्छ, केही हदसम्म परिवर्तन नै गरिदिन्छ । म पनि त्यस्तै भएको थिएँ । अनि ठ्याक्कै ९० मिनेटमा नै सकिएको थियो त्यो कुराकानीको समय पनि । उनलाई केही बेर पछि लबीमा हुने पत्रकार सम्मेलनका लागि तयार हुनु थियो ।

त्यहाँबाट फर्कंदा आचार्य रजनीशको बारेमा मैले अल्पज्ञानका आधारमा बनाएका धारणाहरु भत्किसकेका थिए । उनलाई एक जना टूला चिन्तक, दार्शनिक र समाजसुधारकका रुपमा पाएर म फर्केको थिएँ । किन उनका यति धेरै अनुयायीहरु रहेछन् भन्ने मैले बुझेको थिएँ । त्यसपछि मैले उनका विचारहरु बढी पढें, उनलाई बढी चिनें । उनी स्थापित मान्यता र दोहोरो मानसिकताको विरोध गर्थे । यस अर्थमा उल्टो धारमा पौडिने हिम्मत राख्दथे । मान्छेको जीवनमा ध्यान, चेतना, प्रेम, उमंग, सिर्जनाशीलता, अभिव्यक्ति र हाँसोको महत्वलाई सर्वोपरि मान्थे । तिनै कुराहरुलाई अन्धविश्वास, सामाजिक व्यवस्था, परम्परा, र धर्मको नाममा हतकडी लगाइएको भए त्यसलाई फुकाउनुपर्छ भन्थे । त्यसबेला मान्नेहरुले त्यसैका लागि उनीलाई भगवान माने, उनका विचारहरु पचाउन नसक्नेहरुले त्यसैका लाथि उनलाई लखेटे । कुनै पनि राज्य वा शासन गर्नेहरुका लागि त्यस किसिमका चेतनाका प्रचारकहरु आफ्नो बाटोका तगारा जस्ता लाग्न थाल्छन् , उनीहरुलाई त्यो लोकप्रियता खतरनाक लाग्न सक्छ । तसवीरको नदेखिएको वा देख्न नखोजिएको पाटो पनि हेर्न सक्नुपर्छ भन्ने गुरुमन्त्र शायद उनले नजानीनजानी म भित्र रोपिदिएका थिए । त्यो बानीले मलाई अहिले पनि लाग्छ, सँधै फाइदा नगरे पनि बेफाइदा पनि कहिल्यै गरेन । मलाई त्यो भेटले अलिकति फराकिलो बनाइदिएको मैले भान गरेको थिएँ । मैले भेट्न जाँदा कल्पना पनि नगरेको एउटा महान मान्छेलाई भेटेर म फर्केको थिएँ ।

२० वर्ष भइसक्यो उनी समाधीलीन भएको तर अहिले पनि बेलाबेला ओशोसंग मेरो भलाकुसारी हुने गर्छ । तर, त्यो एकोहोरो हुन्छ, मैले उनका किताबहरु पढ्दा । अनि त्यसबेला मलाई थक्कथक्क लाग्छ, उनलाई भेट्दाको आफ्नो अपरिपक्वता सम्झेर । मैले उनलाई अलि बढी चिनेर वा पढेर भेट्न पाएको भए, अहिले भेट्न पाएको भए शायद त्यो मेरा लागि बढी सार्थक र उपलव्धिमूलक हुन्थ्यो होला ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...