Friday, November 12, 2010

भट्भटेको प्रेममा पर्दा

२०६७ कार्तिक २० गते कान्तिपुर कोसेलीमा प्रकाशित


एघार बाह्र वर्षको हुँदा भट्भटेमा मेरो खुट्टा नै पुग्दैनथ्यो । एकातिर पिँध बङ्ग्याएर बूढी औंलाले भुइँ छोयो भने अर्को तिरको खुट्टा ढक राखेको तराजुको रित्तो पाटो जस्तो उचालिएर तुर्लुङ्ग झुण्डिन्थ्यो । तै पनि अडाएको भट्भटे देख्यो भने म बुर्लुक्क उफ्रेर चढिहाल्थें र मुखैले ढुर्रढुर्र टिंटटिंट प्वाँप्वाँ गर्न थालिहाल्थें । मलाई त्यतिबेला लाग्थ्यो त्यो रोकिएको भट्भटे बेतोड कुदिरहेको छ । दायाँबायाँका रुख, खम्वा र दृश्यहरु सबथोक फुत्तफुत्त पछाडि छुट्दै गैरहेका छन् र म अघिअघि बढ्दैछु । आफू गतिशील भएर सबैलाई पछाडि छोड्दै गएको त्यो अनुभव मलाई निकै रमाइलो लाग्थ्यो । मेरो कल्पनामा अगाडिबाट हुत्तिएर कुनै सवारी साधन आउँथे जसलाई म मुखैले ब्रेकको चुइँय आवाज निकाल्दै ढल्केर छल्थें । कहिलेकहीं अपर्झट अगाडि आउने गाइवस्तु वा मान्छेलाई नकिच्न म न्वारान देखिको बल लगाएर ब्रेक थिच्थें । सपनामा पनि म भट्भटे कुदाएको देख्थें ।

एकदिन घरमा गुठी संस्थानको लीलामीमा किनिएको एउटा पुरानो भट्भटे आयो । पूरै साढे पाँच हजारमा बोलकबूल गरेर हात परेको थियो त्यो अजंगको साँढे जस्तो साढे दुइसय सीसीको भट्भटे । त्यसको आवाजले रुखमा बसेका चराहरु कोलाहल गर्दै यता र उता उड्दथे । घर वरिपरिका लूरा कुकुरहरु पुच्छर लुकाएर कुइँकुइँ गर्दै कुनातिर लाग्थे भने शूरा कुकुरहरु दाह्रा ङिच्चाएर, जग्गरका रौंहरु ठाडो पारेर झम्टन तयार हुन्थे ।  बेस्मारी गह्रुँगो पनि थियो त्यो । उस्तै मान्छे त एक्लैले अड्याउनका लागि उचाल्न पनि नसक्ने । मलाई अब भट्भटे चढेको भानको आनन्द लिनका लागि कसले घर अगाडि भट्भटे  रोक्ला भनेर कुर्न नपर्ने भयो । त्यसमाथि म भैंसीको ढाडमाथि बसेको काग जस्तो देखिन्थें ।


त्यसका अरु पनि थुप्रै विशेषताहरु थिए । त्यसको हर्न बाहेक अरु सबै कुराहरु बज्दथे । अगाडिपछाडि पाङ्ग्राको फलामलाई बेरेको कालोकालो गोलो पदार्थ पक्कै पनि कुनै बेला टायर भनेर चिनिन्थे होला । त्यसलाई गतिशील बनाउन यति लात हान्नुपथ्र्यो, त्यो दुष्प्रयास गर्ने मान्छेको खलखली पसीना निकालिदिन्थ्यो । रिसाएकी प्रेमिकालाई भन्दा बढी गाह्रो हुन्थ्यो त्यसलाई फकाउन । त्यो कतिबेला कहाँ ठुस्स परेर बन्द हुने हो भन्ने भविष्यवाणी नोस्त्रादामसले पनि गर्न सक्दैनथे । मलाई त के फरक पर्नु र । मैले चढ्ने भनेको आड लगाएर थन्क्याएको बेला मात्रै थियो । इन्जिन नचले पनि, हर्न नबजे पनि, ब्रेक नलागे पनि मलाई केही फरक पर्दैनथ्यो । त्यो मेरो पहिलो प्रेम थियो भन्दा हुन्छ किनभने त्यसप्रति मेरो आशक्ति थियो, अनुराग थियो ।

म त्यसलाई मायाले काली भन्थें । काली नआइपुगुन्जेल म व्यग्र हुन्थें । जब घर आइपुग्नु दुइ तीन मिनेट पहिले नै त्यसको आवाज आइपुग्थ्यो, म बुर्कुसी मारेर उफ्रन्थें । कतिपटक त्यसको तातो साइलेन्सरले मेरो पिंडूलाको सेकुवा बनाएको थियो तर पनि मलाई त्यो पीडा प्यारो लाग्थ्यो । मेरो त्यससंग प्रेम थियो भन्ने कुराको यो भन्दा ठूलो प्रमाण अरु के हुन सक्छ र ? तर निष्ठूरी भने घरमा भन्दा बढी माइतीमा बस्न रुचाउने स्वास्नीमान्छे जस्तो थियो । आफ्ना विशेषताहरुका कारण त्यो मिस्त्रीको कारखानामा बढी बस्ने गथ्र्यो । उसको त्यो माइतीबास कहिले एक दिनको कहिले हप्तौंको पनि हुने गथ्र्यो । त्यस्तो बेलामा मैले कति छटपटीमा दिनहरु बिताउँथे, कोल्टे फेरिफेरि रात काट्थें भन्ने कुरा गनिसाध्य छैन । घरका ठूलाहरु बेलाबेला भन्ने गर्थे, “यो भट्भटे त सेतो हात्ती पाले जस्तो भइसक्यो ।”एक दिन आजित भएर त्यो भट्भटे बेचियो । मेरो मुटु छियाछिया भयो, हजारौं टुक्रामा छरियो । मैले त्यो भट्भटेको वियोगमा त्यतिबेला शोककाव्य नै पनि लेखेँ ।

क्वै भन्लान् भट्भट् गर्दै काली गइन् कारखानामा

क्वै भन्लान् यस काव्यमा अमर छन् काली यही घरमा

रहेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब

ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब

त्यो माधव घिमिरेको गौरीबाट प्रभावित थियो । अहिले पो थाहा भयो, त्यो गौरी नै रहेछ  । मैले त गौरीलाई काली, शिरको सिन्दूरलाई भट्भट्, स्वर्गलाई कारखाना र मत्र्यलाई घर मात्र बनाएको रहेछु ।केही समयपछि घरमा अर्को भट्भटेको आगमन भयो । यसपटक अलि कम पुरानो थियो त्यो । तर नब्बे सीसीको त्यो दुब्लो पातलो ख्याउटे र खिरिल्लो भट्भटेले मलाई काली बिर्साउन निकै लामो समय लगायो । जीवनमा आफूले चाहेको कुरा नपाएपछि पाएको कुरा चाहनुपर्छ भन्ने मलाई त्यसले सिकायो । त्यतिबेलासम्म म अलिकति हुर्किसकेको थिएँ । भट्भटे सानो र हलुका भएकोले म त्यसलाई नअडाएको बेला पनि चढ्न सक्थें, अलिअलि गुडाउन सक्थें । अब मलाई काल्पनिक हँकाइले चित्त बुझ्न छाडिसकेको थियो । त्यसैले म कसैको पछाडि बसेको बेला केके गर्न पर्ने रहेछ भनेर ध्यान दिएर हेर्न थालें । त्यो गहन अध्ययनले मलाई सैद्धान्तिक रुपमा भट्भटे चलाउन सक्ने बनाइदियो । तर व्यावहारिक रुपमा त्यसलाई लात हानेर, त्यसको कान निमोठेर बाटामा त्यसलाई नकुदाई त मेरो ज्ञान पूर्ण हुनु भनेको घर बसीबसी पौडी सिक्नु भने जस्तै हुन्थ्यो । त्यसैले मैले रातिराति चोरेर व्यावहारिक ज्ञान हासिल गर्ने निर्णय गरें ।

राति भट्भटेलाई तलको दक्षिण पट्टिको कोठामा राख्ने गरिन्थ्यो । मेरो कोठाको उत्तरपट्टिको झ्यालबाट ओर्लेर तुर्लङ्ग झुण्डियो भने तल चर्पीको टिनको छानोमा टेक्न सकिन्थ्यो । रातको चकमन्नमा चोरले झैं बिना आवाज ढोका खोलेर त्यसलाई घच्याड्दै घरको गल्लीबाट पर मूल सडकमा पु¥याएर अर्को चोकसम्म मेरो यात्रा हुने गथ्र्यो । बिना गुरु एकलव्यले जंगलमा धनुर्विद्या सिके जस्तो मैले रित्तो सडकमा भटभटे चलाउन सिकें ।एक रात भट्भटेलाई बाहिर सडक देखि नै मौनव्रत लिन लगाएर बिरालोको चालाले घरतिर डो¥याएर ल्याउँदै थिएँ, जीरो वाटको बत्तीको मधुरोमा एउटा छाया उभिएको थियो । लौ मा¥यो, आजसम्मका सारा मजाको फल चाख्न पाइने भयो भन्ने डरले मैले झण्डै भट्भटेलाई पछारिदिएको । तर त्यो पल्लाघरको मेरो समकक्षी रहेछ ।मैले भट्भटे थन्क्याउनासाथ ऊ मेरो टाउकामाथि सवार भै हाल्यो । मैले आफ्नो अहिलेसम्मको गुप्त कार्यप्रणालीको नालीबेली नलगाइ धर पाइनं । उसले एउटै शर्तमा मेरो पोल नलगाउने भयो । मैले उसलाइ घुमाउन लैजानु पर्ने भयो ।

एक दिन घरका मान्छे कतै गएको बेला उसले मलाई भट्भटेमा दक्षिणकाली लैजाने आदेश दियो । मलाई आँट आएन । एक त दिनको उज्यालोमा मैले कहिले पनि चलाएको थिइनं । त्यस हिसाबले म उल्लू भट्भटे चालक थिएँ ।  दक्षिणकाली जाने बाटो अप्ठ्यारो पनि थियो । दिनको बेला अरु पनि सवारी साधनहरु सडकमा गुड्थे । हुन त अहिलेको जस्तो ट्राफिक त कहाँ हुन्थ्यो र त्यतिबेला । तर मैले दक्षिणकाली नलगे मेरो कुरा लगाइदिने भयो । केही नलागेर मैले उसलाई पछाडि राखेर जानै प¥यो । त्रिभुवन विश्वविद्यालय छुट्टिने बाटोसम्म पुग्दा मेरो आत्मविश्वास बढ्न थालिसकेको थियो । दक्षिणकाली पुगेर हामी दुबै जना एकै टुक्रामा फर्केर आउँदै थियौं । ऊ मलाई अझ बढी कुदाउन सन्काइरहेको थियो । चोभार आइपुग्ने बेलामा अचानक सडकमा एउटा अजंगको सर्पले बाटो काट्यो । मैले ब्रेक लगाउँदालगाउँदै त्यसलाई किचेर भट्भटे अगाडि बढ्यो । मैले एकपटक फरक्क पर्केर हेरें । करीवकरीव आठ फीट लामो र दुइ इन्च मोटो त्यो साँप पीडाले हुनुपर्छ बटारिंदै, मडारिंदै र छटपटिंदै  सडकको अर्को पार जान खोज्दै थियो ।  त्यसपछि के भयो मलाई थाहा भएन । हामी एकैचोटि कालीमाटी आएर रोकयौं । बाटो भरि दुबै मूक थियौं । उसको अनुहार कागज जस्तो सेतो थियो । मेरो आँखा अगाडि त्यही सर्प मात्र नाचिरहेको थियो । गोडा अझै पनि अलिअलि थर्थर गरिरहेका थिए । मैले पुलुक्क उसलाई हेरें ।

“वरवाद भयो बुझिस् ? अब तं खत्तम हुने भइस् ।”

केही दिन अघि पाटनको अशोक सिनेमामा नागिन भन्ने हिन्दी सिनेमा हेरेको रहेछ उसले ।

“त्यो पक्कै नाग थियो । नागको आँखामा हत्याराको फोटो खिचिएको हुन्छ । त्यो हेरेर नागिनले पाताल मुनिबाट भए पनि त्यसलाई खोजेर मार्छे । नागिनले जसको रुप पनि धारण गर्न सक्छे । तं त गइस् अब ।”

उसले सहानूभूतिपूर्वक च्वच्व....गर्दै गम्भीर स्वरमा भनेका कुराले मेरो त पैंताला मुनि भुइँ नै भासिए जस्तो भयो । भर्खर त लाऊँलाऊँ खाऊँखाऊँ जस्तो उमेर सुरु भएको छ, नागिनले खोजेर मार्ने भई भनेर मेरो सातोपुत्लो उड्यो । उसका कुराहरुले मलाई यति धेरै आतंकित बनाइदियो, म बोल्न, हाँस्न र खेल्न छोडेर झोक्र्याउन थालें । मलाई वरिपरिका हरेक मान्छे ईच्छाधारी नागिन जस्ता लाग्न थालेका थिए । अपरिचित मानिसको त के कुरा गर्नू र, स्कूल टोलका साथीभाई, पढाउन आउने शिक्षकहरु, नातागोता, हुँदाहुँदा घरका अन्य सदस्य कुनै पनि बेला अचानक नागिनमा परिवर्तित भएर मलाई ठुंग्ने त हैनन् भन्ने डर लाग्न थालेको थियो ।

त्यही बेला बाबुको काठमाण्डौ जागीर सरुवा भएकी एउटी केटी हाम्रै कक्षामा भर्ना भएर आई । ऊ कसैसित बोल्दैनथिई । एकोहोरो र गम्भीर थिई । मलाई पक्कापक्की विश्वास भयो, यो कुनै संयोग हैन । यो पक्कै ईच्छाधारी नागिन हो र मौका पाउनासाथ मलाई डस्छे । दुइचार दिन त पेट दुख्यो भनेर स्कूल नै गइनँ । तर कति दिन त्यसरी ठग्नू ? म उसबाट सकेजति टाढाको बेन्चमा बस्न थालें । पढाइ चलुन्जेल मेरो ध्यान उसैतिर हुन्थ्यो । साथीहरुले मैले उसलाई साइड खेलेको भन्ठान्थे तर मेरो पीडा म भित्रै थियो । अति भएपछि नियमित पूजापाठ, एकादशीमा, औंसी र अन्य पर्वहरुमा निराहार ब्रत बस्ने, माछामासु, अण्डा, लसुनप्याज र गोलभेडा जीवनभर मुखैमा नहालेकी अत्यन्तै धार्मिक प्रवृत्तिकी हजूरआमासंग गएर मैले घटनाको वृतान्त सुनाएँ ।

“तैंले जानीजानी गरेको हैन । त्यसैले प्रायश्चित गरिस् भने एकपटकलाई नाग देवताले तंलाई माफ गर्न सक्छन् ,”

उहाँले मलाई जीवनदान दिनुभयो । उहाँकै आदेश, सहयोग, साथ र सुपरिवेक्षणमा कपासलाई बेरेर हजुरआमाले बनाइदिनुभएको नाग सहित दूध चढाएर मैले टुँडिखेलको उकालोको नागदेवता थानमा गएर क्षमापूजा गरें । फर्किने बेला मैले उहाँलाई डराईडराई सोधें,

“अब त केही हुँदैन हैन हजूरआमा ?”

“ढुक्क भएस्, अब केही हुँदैन ।”

उहाँको त्यो दिव्यवाणीले मेरा पछिल्ला केही दिनका तनावहरु छु मन्तर भए । अनि मलाई आफ्ना वरिपरिका मान्छेहरु र त्यो नयाँ सहपाठीसंग डर लाग्न पनि छोड्यो । तर कलिलो मगजमा परेको मनोवैज्ञानिक छाप कस्तो हुँदो रहेछ भने अझै पनि त्यो बाटो हिंड्दा नागथानको अघि म मनमनै भन्ने गर्छु,

“क्षमा गर है नागदेवता, मैले जानीजानी गरेको हैन ।”““““

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...