Translate

Sunday, July 3, 2011

चेतको चस्मा

बायाँ फन्को ६२

एकजना मित्रले आफ्नी छोरी ३ कक्षा पढ्ने हुन्जेलसम्म उसको आँखा कमजोर रहेछ भन्ने कुरा थाहा पाएनन् । थाहा होस् पनि कसरी, किनभने एउटा बालकलाई आँखा कमजोर हुनु भनेको के हो भन्ने ज्ञान नै हुँदैन । त्यसो भएपछि उसले कुनै गुनासो गर्ने प्रश्न नै उठ्दैन । अरु सबै हिसाबले चनाखो ती छोरीले देखने बेलामा चाहिँ धमिलो देख्छे भन्ने कसैलाई शंका नहुनु स्वाभाविकै हो । किनभने एक जनाको आँखाले अर्को मानिसले संसार देख्न सक्दैन । अनि एउटा मान्छेले के देखिरहेको छ, कस्तो देखिरहेको छ वा के देखिरहेको छैन भन्ने कुरा अर्को मान्छेलाई थाहा हुँदैन । त्यसैले आफ्नी छोरीको आँखा कमजोर छ भन्ने उनीहरुलाई पनि थाहा भएन । अन्य सबै कुरामा तीक्ष्ण उनकी ती छोरी बेलाबेला हिसाबका प्रश्नहरु समाधान गर्ने बेलामा गलती गर्न थालिछ । उसका उत्तरहरुमा एउटा अचम्मको अनियमित नियमितता देखिन थालेछ । केही समय ऊ सबै समस्याका राम्ररी समाधान गर्थी भने केही समय उसबाट गलतीहरु हुन्थे । कक्षामा विद्यार्थीहरुलाई पालैपालो अगाडिपछाडि गरेर सारेर राख्ने चलन रहेछ त्यो विद्यालयमा । जबजब ऊ अगाडिका सिटहरुमा हुन्थी, उसका उत्तरहरु शतप्रतिशत ठीक हुन्थे तर पछाडि परेको बेला गडवड हुन्थ्यो किनभने कालोपाटीमा दिइएका प्रश्नहरु टिप्ने बेलामा नै ऊ कतै केही गलत टिप्दीरहिछ । त्यो हेक्का गरेर शिक्षकले एक दिन ती मित्रलाई आफ्नी छोरीको आँखा जँचाउन सल्लाह दिए । नभन्दै डाक्टरले पनि तिनको आँखा कमजोर भएको ठहर गरे । उनले ती बालिकाले टाढाको कुरा स्पष्ट नदेख्ने भएकाले माइनस पावरको चस्मा प्रयोग गर्न लगाउने सल्लाह दिए । उनीहरुले चस्मा बनाइदिए । जब पहिलोपटक छोरीले चस्मा लगाई, उसको भाव नै परिवर्तन भएछ । उसले चारैतिर जिल्ल र दंग पर्दै हेरिछ र उसको मुखबाट निस्केको एक मात्र शव्द थियो,
“आह....हा.....।”
आफ्नो वरिपरिका अहिलेसम्म देखिरहेका कुराहरुलाई उसले त्यस्तै नै रुपमा स्वीकारिरहेकी थिई । ती कुराहरु यति चहकिला र स्पष्ट पनि हुन सक्छन् भन्ने उसलाई त्यतिबेला सम्म थाहा नै पनि थिएन । त्यस दिनदेखि उसका उत्तरहरु कहिले पनि गलत भएनन् ।
स्पष्ट देख्नु भन्ने के हो भन्ने थाहा नभएको मानिसलाई धमिलो देख्नुले असर गर्दैन । अनि धमिलो देख्ने बानी लागेको मानिसलाई स्पष्ट देख्नुको अर्थ थाहा हुँदैन । त्यस्ता मान्छेहरुलाई स्पष्ट देख्न सक्नुको महत्व नै हुँदैन । तर आँखा जसको पनि जुनसुकै बेला कमजोर भइदिन सक्छ । त्यसो भयो भने कुनै पनि कुरा जुन रुपमा स्पष्टसंग देखिनु पर्ने हो, त्यो रुपमा देखिंदैन । त्यसो भयो भने मान्छेले एकथोकलाई अर्कै भन्ठान्न सक्छ । देखाइ गलत भएपछि बुझाइ गलत हुन सक्छ । बुझाइ गलत भएपछि उसको सोच, व्यवहार, काम गलत हुन सक्छ । कुनै पनि कुरालाई स्पष्ट देख्नुको महत्व नै अर्कै हुन्छ । आँखा कमजोर भयो भने साधारणतया चश्मा लगाउने गरिन्छ । आजकल प्रविधिको विकासले कन्ट्याक्ट लेन्स प्रयोग गर्ने वा शल्यक्रिया गरेर आँखाको पावर ठीक पार्ने पनि अवसरहरु छन् । भनाइको अर्थ के हो भने आँखाको कमजोरी समाधान गर्न सकिने कुरा हो । तर आँखाको हेराइ जस्तै महत्वपूर्ण हुन्छ चेतको हेराइ, दृष्टिकोणको हेराइ अनि विवेकको हेराइ । कसैकसैले त्यसलाई मनको आँखा पनि भन्छन् ।
आँखाको हेराइ जस्तै मानिसमा चेतको हेराइ पनि कमजोर हुनु नौलो कुरा हैन । त्यसमा पनि दुइ प्रकारका नै मान्छेहरु हुन्छन् । पहिलो वर्गमा जन्मजात चेत कमजोर भएकाहरु पर्दछन् ।  जन्मजात चेत नभएका मान्छेहरु अघि उल्लेख गरिएकी बालिका जस्तै हुन्, तिनलाई चेतना, ज्ञान र विवेक हुनुको अर्थ के हो भन्ने थाहा हुँदैन । त्यसैले त्यस्ता मान्छेहरुसंग कुनै गुनासो गर्नुको औचित्य छैन । किनभने जसले अँध्यारो भोगेको छैन त्यसले उज्यालोको सही महत्व कहिले पनि बुझ्न सक्दैन । दोश्रो थरि ती हुन्, जसले विविध कारणले गर्दा पछि गएर विवेक गुमाएका हुन्छन्, चेत हराएका हुन्छन् । अँध्यारोलाई जितेर उज्यालोमा आएका ती मान्छेहरु त्यही उज्यालोको चमकमा दिग्भ्रमित भएका हुन्छन् । ती बालिकाले जस्तै समस्या नै स्पष्टसंग नदेख्ने भएपछि यस्ता मानिसहरुले जति नै दत्तचित्त भएर, जति नै राम्रो नियतले खोजेका समाधानहरु पनि कतै न कतै केही न केही त्रुटिपूर्ण हुनु स्वाभाविक हो । त्यसैले चेतको हेराइ नै कमजोर भएका मान्छेले न आफ्नो भलो गर्छ, न अरुको । चेतको आँखा कमजोर भएको आत्ममूल्यांकन गर्न सके भने तिनलाई पनि चस्मा र कन्ट्याक्ट लेन्स लगाइदिन सकिन्छ । वा शल्यक्रिया गरेर सही देख्ने बनाउन सकिन्छ । तर रतन्धोले आफू राति केही देख्दिनं भन्ने कुरा नभन्नु भन्दा ठूलो अपराध त्यतिबेला हुन्छ, जतिबेला उसले अरुलाई अँध्यारोमा डोहोर्याउने धृष्टता गर्छ । आफै दिग्भ्रमित मानिसले अरुलाई बाटो देखाउन थाल्यो भने गन्तव्यमा पुग्ने त कुरै नगरौं, भँड्खालोमा लगेर जाक्ने बढी सम्भावना हुन्छ ।
अहिले सायद हामी त्यस्तै चेतको दृष्टि कमजोर भएका मानिसहरुलाई अघि लगाएर सुखद गन्तव्यमा पुग्ने सपना देखिरहेका छौं । त्यो भनेको तिनको भन्दा बढी हाम्रो पनि हेराइको कमजोरी हो । त्यसै कारण हामीलृ आफ्नो आत्ममूल्यांकन गर्ने बेला हो यो । अहिले हाम्रो सबै भन्दा ठूलो आवश्यकता हो, आफ्नो लागि, तिनका लागि र देशका लागि चस्मा खोज्ने ।
चेतको चस्मा ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment