Translate

Sunday, June 19, 2011

पुस्तक र बौद्धिक क्षुधा

बायाँ फन्को ६१

बर्नाड श बेलाबेला पुरानो किताबको पसलमा गएर पनि पुस्तक किन्थे रे । एक दिन त्यस्तो पसलमा उनले आफ्नै एउटा पुस्तक पनि देखेछन् । कौतुहलतावश त्यो टिपेर पहिलो पाना पल्टाउँदा उनी एक छिन त दंग परेछन् । आफ्नो एकजना साथीलाई उनले शुभकामना सहित उनले हस्ताक्षर गरेर दिएको पुस्तक रहेछ त्यो । उनले त्यो किताब आधामोलमा किनेर ल्याएछन् । आफ्नो शुभकामनाको मुन्तिर “शुभकामना नवीकरण” भनेर लेखेछन्, फेरि हस्ताक्षर गरेर त्यही मित्रलाई फिर्ता पठाइदिएछन् ।
एक जना मित्रले समाजशास्त्रको कुनै एउटा किताब कौडीको मूल्यमा फेला पारेका छन् । त्यो पुस्तकमा विश्वेश्वरप्रसाद कोइरालाको दस्तखत पनि छ । विपीको अक्षर चिन्ने मानिसहरुलाई देखाएर उनले त्यसको विश्वशनियता पनि पक्कापक्की गरिसकेका छन् । त्यो पुस्तक उनले बडो जतनका साथ राखेका छन् । घरमा जाने आउने मान्छेहरुलाई बडो गर्वका साथ उनी त्यो देखाउँछन् ।
बेलाबेला म पनि ठमेलका पुरानो किताब पसलहरुमा छिरेको छु । फुटपाथमा फिंजारेका पुराना किताबहरुका ठेलीमा घोरिएको छु । कहिलेकहीं दुर्लभ पुस्तकहरु र रमाइला कुराहरु भेटिन्छन् त्यस्तो ठाउँमा । एउटा त्यस्तै पुस्तकमा कसैले लेखेको थियो, “पुस्तक मान्छेको सबै भन्दा राम्रो साथी हो । किनभने यसले तिमीलाई सूचना दिन्छ, ज्ञान दिन्छ, मनोरञ्जन दिन्छ अनि साथ दिन्छ । त्यो सबको साटो पुस्तकले तिमीबाट केही माग्दैन । अनि यो पुस्तकलाई अप्ठ्यारो परेको बेला बेच्न पनि सकिन्छ र यसले तिम्रो गर्जो पनि टार्छ ।” गर्जो टार्नका लागि आफ्नो संकलनको पुस्तकलाई आधा मोलमा बेच्नु अघि ती मान्छेले लेखेको कुरा कति गहिरो छ ।
पुस्तक मान्छेको बौद्धिक क्षुधा शान्त गर्ने भरपर्दो माध्यम हो । यो क्षुधा शान्त गर्नलाई सबैले पुस्तक किन्ने चाहिँ गर्दैनन् । अधिकांश मान्छेहरु अरुसंग उधारो मागेर आफ्नो ज्ञानचक्षु उघार्ने पनि गर्छन् । त्यसरी उधारो लगिएका पुस्तकहरु फर्कने सम्भावना चाहिँ न्यून हुन्छ । त्यसैले त कसैले पढ्न लगेको किताब फिर्ता भयो भने त्यसलाई संसारको आठौं आश्चर्य भनिदिए हुन्छ भन्ने एउटा प्रसिद्ध भनाइ छ । हुन पनि हो, हामी मध्ये धेरैका संकलनबाट कसै न कसैले पढ्नका लागि भनेर लगेका कतिपय किताबहरु संसारको आठौं आश्चर्य हुनबाट बञ्चित भएका होलान् । हामी मध्ये कतिले पनि त्यस्ता धेरै किताबलाई त्यो आश्चर्य हुने गौरव प्रदान नगरेको हुन सक्छ ।
तर पुस्तक किन्ने वा संकलन नै गर्ने मान्छेहरु पनि थरिथरिका हुन्छन् । केही मान्छेहरु यस्ता पनि हुन्छन्, जसले चाङका चाङ कितावहरु थुपारेका हुन्छन् । तिनको संकलनमा दर्शन, समाजशास्त्र, मानवशास्त्र, इतिहास, साहित्य, धर्मग्रन्थ लगायत आफैले नबुझ्ने भाषाका पुस्तकहरु पनि हुन्छन् । तर तिनले कुनै पनि पुस्तक पढेका भने हुँदैनन् । आफ्नो घरमा आउने पाहुनाहरुमा आफ्नो बौद्धिक छविको प्रभाव पार्नका लागि पुस्तक संकलन गर्नेहरुमा पर्छन् त्यस्ता मान्छेहरु । हुन त कलाको पारखी नभए पनि चित्रहरु खरीद गरेर सजाउन हुँदैन भन्ने त कतै लेखेको छैन । तर अध्ययनले मान्छेलाई सुसूचित र सुसँकृत बनाउँछ भन्ने कुरामा चाहिँ कुनै दुइमत छैन । सामान्यतया अध्ययन भन्नासाथ पाठ्यपुस्तकमा घोत्लिनुलाई मात्र बुझ्ने मानिसहरुको पनि वर्चस्व कायमै छ ।
कस्तो पुस्तक पढ्ने भन्ने मान्छेको आफ्नो रुचिको विषय हो । कुनै पनि विधामा राम्रा नराम्रा दुबै गरि पुस्तकहरु नपाइने होइनन् । केही मानिसहरु चाहिँ गह्रुँगो नाम र विषयका पुस्तक पढ्यो भने मात्र आफ्नो इज्जत हुनछ भन्ने भ्रमका सिकार पनि हुन्छन् । त्यस्ता मान्छेहरुले पढ्ने बेला जे पढे पनि कुराकानी गर्दा भने जटिल नाम गरेका लेखकहरुका अझै जटिल पुस्तकका सन्दर्भहरु बयान गरेर थाक्दैनन् । त्यो भन्दा पनि डरलाग्दो मानसिकता भएका बुद्धिजीविहरु ती हुन्, जसले यस्तो किताब र लेखकको सन्दर्भ जोडेर कुरा गर्छन्, जुन वास्तवमा कतै हुँदै पनि हुँदैन । संसारका सबै लेखक र पुस्तकका नाम कसलाई थाहा हुनछ र ? त्यसैले आफ्नो भनाइलाई उनीहरु कुनै काल्पनिक नाम गरेका विश्वप्रसिद्ध लेखकको चर्चित काल्पनिक पुस्तकबाट साभार गरेको भनेर सुनाउँछन् । विद्वता कायम गर्ने यो उनीहरुको रामवाण ओखति हुन्छ ।   
तर जे सुकै होस् खुसीको कुरा हो, आजकल हाम्रो समाजमा पुस्तकहरुका बारे चर्चा परिचर्चा बढी हुन थालेको छ । हाम्रो समाजमा पढ्ने बानीको विकास भैरहेको छ । यसको पछाडि पत्रपत्रिकाहरुले किताबहरुका लागि बढी स्थान उपलव्ध गराउनु, तिनका बारेमा बढी चर्चापरिचर्चा गर्नुले पनि महत्वपूर्ण भूमिका खेलेको छ । साहित्यमा खासै रुचि नराख्ने भनेर बदनाम र अझ विशेषत नेपाली साहित्य भनेपछि नाकमुख खुम्च्याउने भनिएको युवा पुस्ता पनि आजकल पाठकहरुको वर्गमा पर्न थालेका शुभलक्षणहरु देखिएका छन् । विगत केही समयमा नेपाली पुस्तक प्रकाशनले कार्ल लुविसमार्का फड्का मारेको देख्न पाउनु निश्चय नै पनि खुसीको कुरा हो । यसैको फलस्वरुप राष्ट्रिय रुपमा त छँदैछ, नेपाली लेखनले अन्तर्राष्ट्रिय बजारमा समेत पहिले कहिले नजनाएको उपस्थिति जनाउन सफल भएको छ ।
तर हरेक तसवीरको दुइटा पाटो हुन्छ भनेझैं यसको पनि अर्को पक्ष छ, जसको लागि बेलैमा सचेत हुनु आवश्यक छ । देखासिकी र आरिस गर्ने हाम्रो राष्ट्रिय चरित्रका कारण हामी अरु कसैले केही कुरामा उल्लेख्य उपलव्धि हासिल गरेको देख्नासाथ आफू पनि त्यही गर्न थाल्छौं । त्यसो गर्नु अघि त्यो कुरामा आफ्नो दक्षता छ कि छैन भन्ने हेर्दैनौं । विगतमा यसलाई पुष्टि गर्ने धेरै उदाहरणहरु नभएका होइनन् । त्यस्तै अहिले भने किताब लेख्ने लहड चलेको छ । जो हेरे पनि किताब लेखिरहेको नै भेटिन्छन् । मानौं किताब नलेख्ने लेखक लेखक नै होइन ।  एकताका लोकगीत चल्यो भनेर सबैले लोकगीतका नाममा कोठेगीतका एलवमहरु निकालेर श्रोताहरुलाई अमन हुने बनाएको जस्तो कतै पुस्तक लेखन र प्रकाशनमा नहोस् । त्यस्तो भएछ भने लेखक र किताबहरुको संख्या पाठकको भन्दा बढी हुन बेर लाग्दैन । प्रकाशकहरुले पनि के छाप्ने र कस्को र कस्तो छाप्ने भन्ने कुरामा सावधानी अपनाउनु आवश्यक हुन्छ । अन्यथा अस्वस्थ्य प्रतिस्पर्धाले नेपाली पुस्तक प्रकाशनको यो उदाउन लागेको घाममा खग्रास लगाउन सक्छ ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment