Translate

Sunday, July 17, 2011

नयाँ भूतको हाउः

बायाँ फन्को ६३

फेरि एकपटक देशभरका पेट्रोल पम्पहरुमा एनाकोण्डा जस्ता लामहरु तनक्क तन्किएका छन् । सानाठूला गाडीहरु र मोटरसाइकलको यो लामले गर्दा वरिपरिका उसै त साँघुरा बाटाघाटाहरु झनै खुम्चिएका छन् । सम्हालिनसक्नुको जामले गर्दा जनजीवन अस्तव्यस्त बनेको छ । हप्तौं हुन लागिसक्यो यसपटकको अभाव पनि । पेट्रोलको अभाव हुने भनेको अब लौ त भनौं भने एउटा नियमित प्रकृया जस्तै भैसकेको छ । कहिले आयल निगमले वक्यौता तिर्न नसकेर भारतबाट आपूर्ति बन्द वा कम भएर अभाव सिर्जना हुन्छ भने कहिले व्यवसायीहरुका, कहिले ढुवानीकर्ताहरुका स्वार्थसिद्धि नभएका कारण आम नागरिकले नपाउनु पर्ने दुःख पाइरहेका हुन्छन् । पम्पवालाहरुले मिसावट गरेर जनताका गाडी र मोटरसाइकलका ईन्जिन ध्वस्त पारे भनेर अनुगमन वा जाँच गरे पम्पवालाहरुको आन्दोलन, ढुवानीका लागि ट्रकहरु थपे भैरहेकाहरुको आन्दोलन, भैगो नथप्ने भने थप्नु पर्नेहरुको आन्दोलन र एउटा संघसंग सहमति गरे अर्को संघको आन्दोलनले आम नागरिकहरुलाई थला पर्ने गरी लात हानिरहेको छ । हप्तौं दुःख पाएर दुइचार दिन अलि होलो भएको मात्र के हुन्छ, फेरि कुनै न कुनै बहानामा कसैले न कसैले गर्दा हाहाकार सुरु भैहाल्छ । जनता फेरि कहिले चर्को घाममा पुर्पुरो सेक्दै त कहिले झरीमा निथ्रुक्क भिज्दै कुनै पम्पको लाममा नबसी सुख पाउँदैनन् । उनीहरु गर्न पनि के गरुन् ? कसैलाई आफ्ना छोराछोरी विद्यालय पु¥याएर आफ्नो अफीस पुग्नु छ, कसैलाई आफ्नो दानापानीको सन्दर्भमा दौडधूप गर्नु छ । सार्वजनिक यातायातको कुनै भरपर्दो मापदण्ड र सरल सुविधा नभएको यो राजधानीमा निजी सवारी साधन भनेको विलासिता नभै अत्यावश्यक भैसकेको छ ।
अहिलेको कुरा गर्दा पहिले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको आन्दोलन, त्यो सल्टाउनासाथै फेरि मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको आन्दोलनले गर्दा जनताले सन्तोषको लामो सास फेर्न पाएका छैनन् । संघले कारोवार ठप्प पार्ने धम्की दिएपछि महासंघ सरकारले सहयोग गरे आपूर्ति गरेरै छाड्ने दावी गर्न थालेको छ । पेट्रोलियम ढुवानी व्यवसायीहरुको गैर जिम्मेवारी र स्वार्थका कारण चरम अभाव सिर्जना भएको कारण वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक सेवा ऐन लागू गर्न गृह मन्त्रालयलाई गुहारेको छ । यो ऐन लागू गर्ने निर्णय भयो भने ढुवानीमा अवरोध पु¥याउनेलाई गोली सम्म हान्न सकिन्छ रे । तर सर्वत्र के दण्डहीनताको पराकाष्ठा नाघेको बेला यो निर्णय होला र त्यसको कार्यान्वयन पनि होला भनेर हामी निर्धक्क हुन सक्छौं ? राज्यको उपस्थिति र विधिको शासन भन्ने कुरा कुन चराको नाम हो भन्ने समयमा बाँचिरहेका हामीले कुरा मात्र यति धेरै सुनिसक्यौं, हामीलाई केही पनि भने अनुसार हुन्छ भनेर विश्वास लाग्न छोडिसकेको छ । अप्ठ्यारोमा पारेपछि जे पनि गर्न सकिन्छ भन्ने गलत मानसिकता सर्वत्र व्याप्त भएको छ । ऐन भनेको सानातिनालाई मात्र हो र कुनै छाता ओढेका मानिसहरु जे गरेर पनि उम्कन सक्छन् भन्ने उदाहरणहरु कायम भैरहेको बेलामा आफ्नै नियति के हो भन्ने थाहा नभएको सरकार, कठपुतली जस्ता प्रधानमन्त्री (जो र जुन पार्टीका जहिले भए पनि) र कुहिरोमा हराएको काग जस्तो प्रशासनबाट जनताले केही पनि सकारात्मक कुराको आश गर्न सक्छन् त ? कूटनीतिक पासपोर्ट बेचेका सम्विधान सभा सदस्यहरु जमानतमा छुटेर छाती फुलाएर हिंड्छन् । अख्तियार लागेकाहरुको सामाजिक प्रतिष्ठा झनै बढ्छ । फौजदारी अभियोगमा प्रहरीले ‘खोजेका’ मान्छेहरु राजनैतिक संरक्षणमा पक्राउ हुन सक्दैनन् ।  अनेकौं भ्रष्टाचारमा मुछिएका विदेशी नागरिकहरु ईच्छा अनुसार आरामले देश छोडेर उड्न सक्छन् ।
गलत र अनैतिक काम गर्नेहरुको दुइवटा मात्र औषधि हुन्छ । पहिलो उसलाई गर्न हुने र नहुने काम आफ्नै विवेकले खुट्याउन सक्ने बनाउनु । त्यसो भयो भने सबै भन्दा राम्रो । त्यो नभएको खण्डमा उसलाई दण्डको डर देखाएर सही बाटोमा ल्याउनु । त्यति गर्दा पनि भएन भने दण्ड नै गरेर चेताउनु । ता कि उसलाई भएको दण्डका कारण अरु सम्भावित मानिसहरु हच्किउन् । तर के अहिलेको समयमा यी दुबै कुरा सम्भव छन् त ? हामीले देखेका छौं, गम्भीर भन्दा गम्भीर अपराध गर्नेहरु भरिसक्य फेला नै पर्दैनन्, फेला परेकाहरुलाई सजांय हुँदैन, भयो भने पनि अपराध वा दुराचारको  प्रकृतिको तुलनामा न्यूनतम मात्र हुन्छ ।
एउटा रमाइलो प्रसंग यहाँ नेर उल्लेख्य छ । एक पटक एउटा सूरो मान्छे मध्यरातमा गाडी चलाएर घर फर्कंदैथ्यो । एउटा हेर्दै माया लाग्दो लूरो र खिरिल्लो मान्छे बाटोमा लिफ्ट माग्दैथ्यो । कुरै कुरामा लूरोले आफू भूत हूँ भनेर परिचय दियो । सूरोलाई पत्यार लागेन र भूत भए तर्साएर देखा भनेर चुनौती दियो । लूरोले आफू भर्खर केही दिन अघि मरेर भूत बनेको हुनाले राम्ररी तर्साउन सिक्न नपाएको बताउँदै प्रयासम्म गर्छु भनेर सानो स्वरमा ‘हाउः’ भन्यो । सूरोले भूतले तर्साइसकेपछि कमसे कम इज्जत राखिदिनु पर्ला भनेर डराएको जस्तो गर्दै सानो स्वरमा ‘आब्बुइ’ भन्यो ।
हाम्रो अहिलेको राज्य व्यवस्था धेरै हदसम्म यस्तै भएको छ । हाम्रा ऐन कानून र दण्ड जरिवानाहरु त्यही नयाँ भूतको ‘हाउः’ जस्तो मात्र छ र दण्डका भागीहरु पनि इज्जत राख्नका लागि आब्बुइ मात्र भनिरहेका छन् । कुनै पनि समस्याको जड नखोजेर हामी हाँगाविंगाहरु मात्र छिमल्न पल्केका छौं । रावणको नाभिमा अग्निवाण नहानी हुँदैन भन्ने जानेर पनि हामी उसको टाउको काट्न मात्र हामी लागिपरेका छौं । पेट्रोलियम पदार्थको यो कहिले नटुंगिने किचलो पनि त्यसैको एउटा उदाहरण मात्र हो । 


प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment