Translate

Sunday, April 22, 2012

पासाको उल्टो दाउ

बायाँ फन्को ८२

हरेक मानिसहरुका बनौटमा केही प्राकृतिक समानताहरु हुन्छन् । लामो समयमा बिभिन्न कारणहरुले गर्दा ती समानताहरुमा सानातिना परिवर्तन आउन सक्छन् । भौगोलिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक, साँस्कृतिक तथा अन्य कारणहरुले केही तलमाथि भए पनि मान्छेका त्यस्ता समानताहरुको आधारभूत बनौट भने एउटै प्रकारको नै हुने गर्छ । विशेष गरेर इन्द्रियहरुका कुरा गर्दा यस्तो समानताले गर्दा मान्छेले निश्चित कुराहरुको एकै किसिमका अनुभवहरु गर्ने गर्छन् । सबै मान्छेले देख्ने रंग एउटै हुन्छ । एउटा मान्छेले रातो देख्ने रंगलाई अर्को मान्छेको आँखाले कालो, नीलो, पहेंलो, सेतो वा अन्य कुनै रंग देख्दैन । एउटा मान्छेलाई बागमतीको छेउछाउतिर हिंड्दा गन्हाउने गन्ध अरु सबैलाई पनि गन्हाएकै हुन्छ । त्यो गन्ध कसैलाई पनि अत्तरको जस्तो सुवास लाग्दैन । त्यहाँबाट हिंड्ने हरेक मान्छेले नाक थुनेरै हिंडेको हुन्छ । कसैले पनि दंग परेर लामोलामो सास फेर्दैन । गर्मीको बेलामा सबैको चर्मले पोलेको नै अनुभूति गर्छ, कोही पनि ज्याकेट र स्वेटर लगाएर हिंड्दैन । आगो छुँदा सबैले त्यसले पोल्छ । सबैले आत्था नै भन्छन् । तापले कसैलाई शीतलता प्रदान गर्दैन । चीसोमा सबैलाई चीसो लाग्छ, बरफले कसैलाई पनि पोल्दैन । कानले एउटै कुरा सुन्छ, जिब्रोले एउटै स्वाद बताउँछ । 

त्यति हुँदाहुँदै पनि हरेक मान्छेको आआफ्नै बुझाइ हुने गर्छ । देखेको एउटै कुरालाई हरेक मान्छेले फरक हिसाबले ग्रहण गर्छ । त्यो फरक ढंगले उसको दिमागमा चित्रित हुन जान्छ । सुनेको हरेक ध्वनिको हरेक मान्छेले फरक अर्थ लगाउँछ । एउटा मानिसको जिब्रोलाई स्वादिलो लागेको कुरा अर्को मान्छेले मुखमा हाल्न सक्दैन । सबैलाई एउटै कुरा मन पर्दैन । त्यसैले यो मन भन्ने कुरा अचम्मको हुन्छ । मन कहाँ हुन्छ भन्ने कसैलाई थाहा छैन । यसको कार्यप्रणालीको निश्चित प्रकृया हुन्छ भने त्यो के हो भन्ने जटिलता अझै पनि हामीले खोज्न र पत्ता लगाउन सकेका छैनौं । मन पराउनै नहुने कुरा कहिलेकहीं मन पर्छ भने मन पराउनै पर्ने कुरा कहिले पटक्कै मन पर्दैन । विवेक, चेत, इन्द्रिय, दिमागले एकमुख लागेर वकालत गरेका कुराहरु, तिनका अकाट्य तर्क र प्रमाणहरुलाई यो अदृश्य र बौलाहा मनले लत्याइदिन्छ । मान्छेका शरीरका सम्पूर्ण अवयवहरु यही ज्यालामा नमिल्ने डुम जस्तो मनको धतङ्ग्याइँलाई टेरेर त्यसैको आदेशमा चल्न थाल्छ । अर्को अर्थमा भन्ने हो भने यो मन भन्ने कुराले नै समानताहरुका बीचमा असमानता खोजेर मानिसको विचार र व्यवहारमा फूट पैदा गरिदिन्छ, एउटै कुरामा पनि भिन्नता ल्याइदिन्छ । किनभने मन भित्र भावना हुन्छ, भावनामा स्वार्थ हुन्छ । स्वार्थ आफैमा राम्रो वा नराम्रो हुँदैन । एउटाको लागि राम्रो स्वार्थ अर्कोका लागि नराम्रो पनि हुन सक्छ । त्यही स्वार्थले अभिप्रेरित भएर मानिसले रातोमा अरु रंगहरु खोज्छ, एकथोक सुनेर अर्कोथोक बुझ्छ । त्यो भन्दा डरलाग्दो अवस्था कतिबेला हुन्छ भने, जब मान्छेले आफूले देखेको सुनेको कुराको वास्तविक अर्थ बुझेर पनि अरु नै अर्थ लगाउन खोज्छ । यस्तो बेला मान्छे आफू मात्र दिग्भ्रमित हुने होइन, अरुलाई समेत गलत बाटोमा हिंडाउँछ । तर पनि एकथरि मानिसहरु भन्ने गर्छन्, यही विविधता र भिन्नताले त संसार रोचक भएको हो । सबैको सोच र रुचि एउटै हुने भइदिए जीवन निरस हुन्थ्यो ।  

एकै समयमा एउट कारखानामा बनेका एकै नासका दशौं हजार यन्त्रहरु संसारको बेग्लाबेग्लै कुना, बेग्लाबेग्लै भूभाग, रहनसहन, मौसम, संस्कृतिमा छरिए पनि एकै नासले काम गर्छन् । तर त्यसको विपरित एउटै परिवेश, भूभाग र संस्कृतिमा रहेर पनि हरेक मान्छेले फरकफरक हिसाबले सोच्छ, काम गर्छ । त्यस अर्थमा हेर्दा मनिसको सारा समस्या, अन्तद्र्वन्द, असहमति, भिन्नता र मारकाटको जड यही मन हो जस्तो लाग्छ । यही दिमाग हो जस्तो लाग्छ । यो भिन्नताले पैदा गर्ने रोमाञ्चका लागि मानिसहरुले के ठूलो मोल चुकाएका छैनन् त ? यो रोमाञ्चको खोजी गर्ने खेल मान्छेका लागि महँगो सोख भएको छैन र ? ठूलाठूला युद्धहरु, शक्तिका लागि भैसकेका, भइरहेका र हुने होडवाजी, तिनका कारण भएका धनजनका क्षतिहरु के मान्छेको यही असहमतिका परिणाम हैनन् र ? त्यसो नहुँदो हो त के थाहा अलिअलि निरस भए पनि यो संसार बढी सुखी र शान्त ठाउँ हुने थियो कि त ? तर त्यसो हुन नसकेका कारण मानिसको यो विविधता कहिलेकहीं पासाको उल्टो दाउ बन्न पुग्छ । 

एकथरि यस्ता विद्यार्थीहरु हुन्छन् जो परीक्षा आउनु अघि देखि नै आफ्नो तयारी गर्छन् । दैनिक गृहकार्य भ्याउँछन् । अन्तिम परीक्षा उनीहरुका लागि महज एउटा औपचारिकता हुन्छ जसलाई सहज रुपमा उसले सम्पन्न गर्छ । अर्का थरि विद्यार्थीहरु अन्तिम समयसम्म आल्याङ्गटाल्याङ्ग गरेर बस्छन् । समय सकिसकेपछि वाध्य भएर जाँचको एक दिन अघि मात्र टुप्पी कसेर घोक्न बस्छन् । असफल हुने सम्भावना यस्तै विद्यार्थीहरुको धेरै हुन्छ । किनभने समय नभएपछि उनीहरुले यो आउला वा यो नआउला भनेर कुनै धेरै कुरा छोडेर थोरै कुरामात्र पढ्नुपर्ने वाध्यता हुन्छ । उनीहरुले च्याँखे हानेको मिलेन भने उनीहरु परीक्षामा उत्तीर्ण हुन सक्दैनन् । हाम्रो अहिलेको सन्दर्भमा भन्नुपर्दा देश त्यस्तै विद्यार्थीहरुको जाँचको नतीजा ताकेर बस्नु परेको छ । परीक्षाको तयारीका लागि पाएको समय यी अल्छीहरुले अनुत्पादक रुपमा खर्च गरे । अब टुप्पी कसेर घोकिरहेका छन् । तर पनि आशावादी भएर सोच्नुपर्दा यी सबैलाई अझै पनि एउटै आगोले पोल्ने हो भने, एउटै बरफले ठिहि¥याउने हो भने वा एउटाको सुगन्ध अर्कोको घ्राण शक्तिमा नगन्हाउने हो भने हामी आशा गर्न सक्छौं, यिनीहरु फेल हुँदैनन् ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment