Translate

Sunday, March 31, 2013

काकरभित्तामा तीन दिन

बायाँ फन्को १०४ 

अघिल्लो हप्ता एउटा उपलव्धिमूलक समयको रुपमा व्यतीत भयो । त्यसका लागि रिडर्स झापाका केही उत्साही युवाहरुलाई धन्यवाद नदिइ रहन सक्दिनं । उनीहरुले काकरभित्तामा एउटा गज्जवको साहित्यिक महोत्सवको आयोजना गरेर देखाइदिए । कला साहित्य उत्सव नाम दिइएको तीन दिने उक्त महोत्सवमा सहभागी हुनु आफैमा एउटा रोचक अनुभव हुन पुग्यो । काठमाण्डौ जस्तो सबै सुविधा भएको सहरमा पनि मानिसहरुले पचासपटक रोच्नु पर्ने यति वृहत कार्यक्रम पूर्वको त्यो कुनामा गर्नका लागि लरतरो आँटले पुग्ने कुरा होइन । 

अघिल्लो वर्ष काठमाण्डौमा पनि दुइवटा साहित्यिक महोत्सव भएका थिए । ती मध्ये एउटाले यस वर्ष पनि निरनतरता पायो भने अर्को ऐन मौकामा आएर स्थगित हुन पुग्यो । यस किसिमका महोत्सवहरु आयोजना गर्नु फलामको च्यूरा चपाए भन्दा कम हुँदैन भन्ने कुरा त्यसैले नै पनि प्रमाणित गर्छ । यस्तो अवस्थामा काठमाण्डौ भन्दा त्यति पर हुन लागेको कला साहित्य उत्सवका बारेमा केही मानिसहरुलाई सुरुमा अन्योल हुनु अस्वाभाविक मान्न सकिंदैन । आयोजकहरुकै भनाइमा पनि सुरुसुरुमा स्थानीय तवरमा नै पनि उत्सव भनेको कविगोष्ठी मात्र हैन भनेर बुझाउनका लागि निकै कसरत गर्नु परेको थियो रे ।

मेचीपारीका श्रष्टाहरु र काठमाण्डौ लगायत देशका अन्य स्थानका साहित्यकर्मीलाई भेला गरेर तीन दिनसम्म उत्सवलाई सम्पन्न गर्नुलाई रिडर्स झापाको सफलता मान्नुपर्छ । अहिलेको अवस्थामा नेपाली साहित्य प्रति मानिसहरुको बढ्दो रुचिलाई सकारात्मक रुपमा लिनुपर्छ । सायदै यस अघि नेपाली साहित्य क्षेत्रमा यस किसिमको चहलपहल देखिएको होला । पढ्ने संस्कारको जुन उत्साहजनक वृद्धि अहिले देखिएको छ, त्यस अवस्थामा साहित्यिक महोत्सवहरुले त्यसलाई मलजल गर्न अवश्य पनि सहयोग गरिरहेका हुन्छन् । काकरभित्ताको महोत्सव एउटा सुखद अनुभव रह्यो । किनभने यहाँबाट जानु अघि सोचेको भन्दा निकै नै बढी भव्य आयोजनाको अनुभव गर्न पाइयो । एक दुइवटा झीनामसीना कमजोरी नदेखिएका हैनन् तर समग्र रुपमा हेर्दा तिनले कुनै असर गरेनन् भन्ने मलाई लाग्छ । 

सत्रका सहजकर्ताहरुले तोकिएको समय सीमा भित्र वक्ताहरुलाई समेट्न नसक्दा त्यसपछिका कार्यक्रमहरु प्रभावित हुन पुगेका थिए । त्यो कुरालाई आयोजकहरुले अर्को पटक अवश्य पनि ध्यानमा राख्नेछन् । हुन त यहाँ सहजकर्ताहरुको मात्र नभै वक्ताहरुको पनि त्यति नै हात हुन्छ । माइक हातमा परेपछि र श्रोताको विशाल समूह अगाडि पाएपछि धेरै बोल्न खोज्नु मानवीय त्रुटि नै हो । धेरै कम मात्र यस्ता अवसरहरु पाइने भएकाले पनि वक्ताहरुलाई सके जति कुराहरु पोख्न मन लाग्नु स्वाभाविक हो । तर वक्ताहरुले पनि ध्यानमा राख्नु पर्ने साधारण कुरा के हो भने, अभिव्यक्ति भनेको शव्दका पखाला र विचारको कव्जियत हुनु हुँदैन । कतिपय वक्ताहरुले समय सकिइसकेपछि पनि अरुलाई सोधिएका प्रश्नमा आफूले जवर्जस्ती उत्तर समेत दिने गरेका थिए । अनि यस्ता सत्रमा श्रोताहरुले पनि विचार पु¥याउनु पर्ने अर्को कुरा ठड्कारो देखिन्छ । 

वहस सकिएपछि श्रोतादीर्घामा प्रश्नहरुका लागि माइक दिने गरिन्छ । यस्तो बेलामा अधिकांश श्रोताहरुले जिज्ञासा भन्दा बढी आफ्नो भनाइ र भूमिकामा समय खर्चेको देखिन्छ । यो काकरभित्तामा मात्र हैन, काठमाण्डौंका धेरै कार्यक्रमहरुमा पनि मैले देखेको कुरा हो । कहिलेकहीं त निकै लामो समय श्रोताले बोलिसकेपछि पनि प्रश्न चैं के हो भन्ने कुरा नै थाहा हुँदैन । वक्ता, सहजकर्ता र श्रोताहरु सबैले यी कुराहरुमा ध्यान दिए भने यस्ता कार्यक्रमहरु अझ बढी सार्थक र सबैका लागि उपादेयतापूर्ण हुन्छन् भन्ने कुरामा संका छैन । 

झापालाई राजनैतिक र साहित्यिक चेतका लागि अग्रणी मानिन्छ । त्यो कुरा धेरै हदसम्म सत्य हो भन्ने कुरा मलाई यसपटक व्यक्तिगत रुपमा पनि मान्न करै लाग्यो । बायाँ फन्को स्तम्भका पनि मैले कल्पनै नगरेका उमेर समूहका नियमित पाठकहरु भेट्नु सुखद अनुभव रहेको थियो । उमेरले भर्खर बीस नाघेका त्यस्तै एक युवाले मलाई रन्थनाइदिएका थिए । उनको प्रश्न थियो, “तपाईंको स्तम्भको नाम बायाँ फन्को, तर तपाईको त्यसमा छापिने तसवीर चाहिँ किन दायाँ पट्टि फन्केको छ ?” राजधानीका पाठकहरु सायद त्यति धेरै प्रतिकृया दिने गर्दैनन् । तर झापाका पाठकहरु त्यसको दाँजोमा बढी ‘इन्टरएक्टिभ’ भएका मैले अनुभव गरें । 

झापाको यो भ्रमण अरु रुपमा पनि लाभदायी भयो । काठमाण्डौबाट संगै गएका समकालीन मित्रहरु लगायत आफूभन्दा अग्रज श्रष्टाहरुसंग दिनरात उठबस गर्न पाउनु पनि रोचक अनुभव थियो । औपचारिक कार्यक्रम पाँच बजे सकिएपछि सुरु हुने अनौपचारिक कार्यक्रमहरु कहिलेकहीं त भोलिपल्ट बिहानको तीन बजेसम्म पनि चल्थे । ती कार्यक्रम रोचक हुन्थे, मनोरञ्जक हुन्थे । कसैकसैलाई हेरेर के गर्नुपर्छ भन्ने सिकियो भने कसैकसैले के गर्नु हुन्न भन्ने ज्ञान पनि दिए । त्यही अनौपचारिक सत्रहरुमा अरु मानिसहरु कस्ता हुन् भन्ने मेले चिन्ने मौका पाएँ र म कस्तो भनेर शायद उहाँहरुले चिन्न पाउनुभयो होला । यो पनि यस्ता कायक्रमहरुका एउटा विशेषता हुनुपर्छ भन्ने मलाई लाग्यो । 

मोफसलका श्रष्टाहरुसंगको भेटघाट अर्को महत्वपूर्ण पक्ष थियो । वास्तवमै काठमाण्डौमा बस्नेहरुको भन्दा उहाँहरुको साहित्यिक यात्रा दुष्कर छ । तर पनि उत्साहमा कमी आउन नदिएर उहाँहरु निरन्तर लागिरहनु भएको छ । त्यसका लागि उहाँहरुलाई सलाम ठोक्नैपर्छ । प्रेमपूर्वक उहाँहरुले प्रदान गर्नुभएका कृतिहरु बहुमुल्य थिए । विशेष गरेर म गण्डकीपुत्रका कविताहरुले मोहित भएँ । 

कला साहित्य उत्सव जस्ता कार्यक्रमहरु देशका अन्य भागहरुमा पनि आयोजना होउन् । यस किसिमका भव्य गतिविधिहरुका लागि राजधानीको मात्रै मुख ताक्नु पर्दैन भन्ने कुरा देखाइ दिएकोमा रिडर्स झापालाई आभार व्यक्त गर्न कञ्जुस्याइँ गर्नु पर्दैन । 

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment