Sunday, March 24, 2013

यायावरको यात्रा


मेरो उपन्यास यायावरको एक अपरिचित पाठक नरेन्द्र पराशरको समीक्षा

मुग्लिङदेखि नौबिसेबीचको कुनै स्थानमा रहेको प्रहरी कार्यालयको इन्स्पेक्टर प्रताप उपन्यास यायावरको पहिलो पात्र हो । पहिलो पात्रको पहिलो वाक्य नै अपशब्दसहित उपन्यास अगाडि बढ्छ । राजमार्गमा बेफिक्री गुडिरहेका अनेक प्रकारका गाडीहरू, तिनको हर्न र इन्जिनको कर्कश आवाजले प्रताडित भइरहने प्रतापले राति कार्यालय परिसर छेउछाउ भयानक आवाज सुन्छ र बस खसेको ठहर गर्छ । अनि ऊ उद्धारका लागि आफ्ना मातहतका जवानहरू लिएर पिचमा टायर घस्रिएको संकेत हेर्दै त्रिशूली नदीतिर लाग्छ । अँध्यारोमा छामछुम गर्दै निकै दुःख गरेर वीभत्सरूपले बस पल्टिएको ठाउँसम्म पुग्ने क्रममा उसले एउटा झोला भेटाउँछ र यसो खोलेर हेर्छ । त्यसमा नोटका बिटा दखेर ऊ त्यस झोलालाई राम्ररी काँधमा भिर्छ र जवानहरूलाई राम्ररी खट्ने आदेश गरेर स्वयं ऊ भने निवासतिर उकालो लाग्छ । उसले निकै सजग र सतर्क भएर उक्त झोला खोल्छ । त्यसमा वैकुण्ठ नामको नागरिकता, तीन लाख रूपैयाँका अतिरिक्त एउटा पेन ड्राइभ पनि फेला पर्छ । कम्प्युटरमा खासै ज्ञान नभएको प्रताप स.इ राजारामको सहयोगले पेन ड्राइभ खोल्छ । जम्मा जम्मी दुईवटा फोल्डर भएको पेन ड्राइभमा एउटामा बच्चुकैलाशका गीतहरूको सङ्कलन हुन्छ भने अर्कोमा ‘गोप्य’ लेखिएको हुन्छ । यही ‘गोप्य’ लेखिएको फायल फन्टको समस्याका कारण आफैँ खोल्न नसकेकोले प्रतापले फायल खोल्न स.इ. राजारामको सहयोग लिन पुगेको हुन्छ । अब प्रताप त्यही गोप्य फायल गोप्य तरिकाले पढ्न थाल्छ र सुरू हुन्छ उपन्यास यायावरको मूल यात्रा ।
यायावर । बृहत् नेपाली शब्दकोशअनुसार यायावर भन्नाले जीवनमा विभिन्न ठाउँमा घुमिरहने, फिरन्ता व्यक्ति, सन्यास आश्रमको योगी, महन्त भन्ने अर्थ जनाउँछ । यसर्थ म यायावर भन्नेबित्तिकै जानी–नजानी राहुल सांकृत्यायन र योगी नरहरिनाथलाई सम्झिन पुग्छु । संस्कृतको यस तत्सम शब्दभित्र रहेको महिमा र गुणले मलाई पनि कता कता हृदयको अन्तस्करणमा छोइरहेको महशुस हुन्छ । 
ब्रजेशको यायावर खासमा दुर्घटनास्थलमा भेट्टाएको पेन ड्राइभमा रहेको वैकुण्ठ(को आत्मकथा) नै हो । अनि त्यही वैकुण्ठले बाल्यकालदेखि खासगरी किशोरावस्थादेखि भोगेको जीवनयात्राको आरोह–अवरोह नै यस उपन्यासको स्थापत्य हो । ब्रजेशको यस यायावर उपन्यासको मन्दिरमा प्रेमकी प्रतिमूर्ति ‘जुनेली’ बनेकी छे भने त्यसको मर्माहत भक्त स्वयं वैकुण्ठ । 
जीवनको दौडाहामा निरन्तर सक्रिय रहे पनि कहिल्यै नायक बन्न नसकेको वैकुण्ठको जीवन कहानीमा ‘कालो राम’ भयङ्कर खलपात्रका रूपमा खडा भएको छ । यस्तो खलपात्र जो हिन्दी चलचित्र सोलेको गब्बर सिंहबाट अनन्तरूपले प्रभावित छ । यही खलपात्र कालो रामकै कारणले वैकुण्ठ आफ्नो जीवनको संवेदनशील क्षणहरूमा सदैव विचलित भइरहन्छ । खासमा भन्ने हो भने कालो रामले वैकुण्ठको जीवन नै तहस–नहस बनाइदिएको छ । 
वैकुण्ठ विवाहित हो । किशोरवयको उद्भवसँगै आविर्भाव भएका बैँसका काउकुतीमय चाहनाको स्मरण भएदेखि नै उसले जुनेलीलाई मनमात्र पाराएन जुनेलीसँगै विवाह गर्ने सुन्दर मौका पनि पायो । तर उसले चमेलीलाई भोग्न किन पाएन ? यही प्रश्नको वरिपरि उपन्यासको सिङ्गो कथानक घुमिरहन्छ । ‘बिहे गरेको छैन, तर कुमार पनि होइन ।’ भन्ने कुरा त हामी माझ नौलो छैन । तर वैकुण्ठ त विवाहित हो र कुमार पनि । यही नौलोपन नै यायावरको रहस्य हो । 
यही विवाहित जीवन र कौमार्यबीचको यौनकुण्ठाद्वारा अवचेतन मनबाट सक्रिय वैकुण्ठ मनका अनेक धामहरूमा घुमिरहन बाध्य हुन्छ । यही परिभ्रमणकै क्रममा अनेक रुचि र स्वभावका पात्र(भैरे, मेनुका, नारद)हरूसँग उसको जम्काभेट हुन्छ । यी पात्रहरूले उसको जीवनमा विशिष्ट अर्थ पनि राख्छन् । 
यस उपन्यासमा उपकथाका रूपमा क्षणभरका लागि देखिएका पात्रहरूमध्ये गाउँको स्कूलमा भूगोल पढाउन आइपुगेका नारायण सरको बोल्ने शैली सम्झन लायक छ । 
जे सुकै परोस् भन्ने उद्धेश्यले निकै हिम्मत जुटाएर वा आफू कमजोर छैन भन्ने देखाउन वैकुण्ठ अफिसकै साथी नारदको पछि लागेर बेश्याहरूको अखडामा पनि पटक–पटक पुग्छ । तर पनि ऊ जस्तो पवित्र शरीर लिएर पुगेको हुन्छ उही पवित्रतासहित डेरामा आइपुग्छ र आफ्नै मनको आन्तरिक द्वन्द्वमा फसिरहन्छ । ऊ खासमा भौतिक शरीरको वासनापूर्ण यौनिक चाहना र हृदयको पवित्र प्रेमबीचको अन्तरद्वन्द्वमा रूमलिइरहेको हुन्छ ।
यस उपन्यासले तीशको दशकदेखि यताको काठमाण्डौँ र धादिङको सामाजिक, पारिवारिक, आर्थिक, राजनैतिक, भौतिक वातावरणलाई विविधरूपले सम्बोधन गरेको छ । समग्रमा भन्ने हो भने अस्तित्ववादी दृष्टिकोणले प्रेरित तथा चरित्र र घटनालाई उत्तिकै महत्व दिएर तयार भएको यस उपन्यासको संरचना छिटोछरितो अनि सङ्गठित देखिन्छ । सरल भाषा, भाषामा प्रयुक्त दार्शनिकता र सुक्तिमयताले उपन्यासलाई पठनीय बनाएको छ । साथै यौन र प्रेमको गहन मनोविज्ञानले उद्विग्न मूलपात्र वैकुण्ठको मनोद्वन्द्व र धादिङ अनि काठमाण्डौँको परिवेशले पाठकमा अहर्निश कौतुहल जगाइरहन्छ । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...