Translate

Sunday, December 8, 2013

विश्वकप - हामी आउँदैछौं

बायाँ फन्को १२० 

अन्ततः हामी समस्त नेपालीको साझा सपना साकार भएरै छाड्यो । नेपालले ट्वेण्टीट्वेण्टी क्रिकेटको विश्व कप खेल्ने नै भयो । यो एउटा यस्तो सपना थियो, जसमा कुनै शर्त र सम्झौता थिएनन् । जसमा कुनै जाति, वर्ग, समुदाय, वाद वा कुनै पनि पूर्वाग्रहको अंश पनि थिएन । समस्त नेपालीले उकमुष्ट, एकसाथ र एक मनले देखेको सपना र गरेको प्रार्थना थियो । हाम्रो क्रिकेट खेलाडीहरुले त्यो पूरा गरिदिएर हामी माथि तिरिनसक्नुको रिन र बिर्सिनसक्नुको गुन लगाइदिएका छन् । तुलनात्मक रुपमा हामीभन्दा निकै सम्पन्न र सक्षम राष्ट्रहरुले प्राप्त गर्न नसकेको यो उपलव्धि सजिलोसंग कहाँ प्राप्त भएको हो र ? त्यसका लागि हामी मैदानमा उत्रेर विजयी भएका हाम्रा खेलाडीहरु प्रति नतमस्तक हुनु पर्छ, भएका पनि छौं ।

अचानक सबै क्रिकेटको कुरा गर्न थाले । साराका सारा कुराहरु मानौं क्रिकेटसंग जोडिन थाले । यसका क्रममा केही उल्लू कुराहरु समेत भए । एउटा टेलिभिजन च्यानलले त मूर्खताको सीमा पनि नाघ्यो । उसका अनुसार नेपाल केही समय देखि कीर्तिमानहरु कायम गर्न थालेको छ रे । भर्खर सम्विधान सभाको दोश्रो चुनाव सम्पन्न भएर एउटा कीर्तमान बनेको हो रे । किनभने संसारमा एउटा सम्विधान सभा असफल भएर लगत्तै अर्को चुनाव भएको सम्भभवत यो पहिलो रेकर्ड हो रे । त्यससंगै विश्वकप क्रिकेटमा छानिएर मुलुकले अर्को कीर्तिमान कायम गरेको छ रे । कसरी त्यो लज्जास्पद असफलता र यो गौरवमय सफलता एकआर्कासंग सम्बद्ध भएर समाचार बन्न सक्यो भन्ने कुरा मैले चाहिँ बुझ्न सकिनं । 

लामो समय देखि राजनीतिक अन्यौल र अस्थिरताका कारण देश ओरालो लागेको टुलुटुलु हेरिरहेका आम्रा आँखाहरुमा एउटा ठूलो उपलव्धिको चमक आएको छ । हाम्रा वरिपरिका हरेक कुराहरुमा अवन्नति बाहेक केही देखिएको थिएन । देश चलाउँछु भन्नेहरु सबै आआफ्नो स्वार्थ र आआफ्नै फलिफापका लागि मात्र केन्द्रित भएका कारण जनताले चाहेका कुराहरु सम्भाव्यताको घेराभन्दा क्रमशः परपर हुँदै गएका थिए । सम्विधान निर्माणका लागि खन्याइएको विपुल धनराशि वालुवामा खन्याएको पानी सरह भएको थियो । अझ यसमा समय र सपनाको पनि हिसाब गर्ने हो भने त त्यसको कुनै लेखाजोखा नै गर्न सकिन्न । हामीले खेर फालेको समयको मोला कति हो ? हाम्रा सपनाका भाउ लगाउन सक्छ कसैले ? पछिल्लो लामो समय देखि हामी भित्रैबाट प्रसन्न हुन पाएका थिएनौं । हाम्रो त्यो अभावलाई पूरा गरिदिएको छ क्रिकेटको यस उपलव्धिले । नकारात्मक कुराका लागि मात्रै अन्तर्राष्ट्रिय समाचारमा स्थान पाइरहेका हामीलाई अचानक सुखद कारणका लागि चर्चित बनाएको छ नेपालको विश्वकपको छनौटले । 

गम्भीर रुपमा सरकारी निकायहरु नलाग्दानलाग्दै, सीमित श्रोत र साधनहरुका तगारोहरु पन्छाउँदै, आवश्यक भौतिक पूर्वाधाहरु नहुँदानहुँदै पनि प्राप्त भएको यो सफलताका लागि अब जस लिनेहरुको लर्को लाग्ला । क्यानको भूमिका र श्रीलंकाली प्रशिक्षकको लगन आफ्नो ठाउँमा छँदैछ, तर सत्य कुरा त के हो भने यो सबै हाम्रा खेलाडीहरुको आत्मविश्वास र आम नेपाली जनताहरुको कामनाका कारण सम्भव भएको हो । विश्वकपमा त पुग्यौं, तर त्यहाँँभन्दा तल नझर्नका लागि, अझ अघि बढ्नका लागि हाम्रा सामु थुप्रै चुनौतीहरु छन् । अबको समय भनेको त्यसमा गम्भीरतापूर्वक सोच्ने हो । असम्भव केही पनि छैन भन्ने कुरा हाम्रा क्रिकेटरहरुले छर्लङ्ग बनाइदिएका छन् । उनीहरुको यो होस्टेमा अब हैंसे थप्नका लागि राज्यपक्ष गम्भीर हुनैपर्छ । मुखले शुभकामना दिने भन्दा पनि बढी कामले गरेर देखाउने बेला भएको छ । यो लेखुन्जेलमा राष्ट्रिय खेलकूद परिषदले खेलाडीहरुलाई प्रति व्यक्ति दश लाख पुरस्कार प्रदान गर्नका लागि सरकार समक्ष प्रस्ताव पेश गरिसकेको छ । यसलाई सकारात्मक रुपमा लिएर पहिलो पाइला मान्नस पर्छ ।

हामीले अनुत्पादक कामहरुमा थुप्रै रकम खर्च गरिसकेको छौं । त्यो रकमको थोरै मात्र प्रतिशत पनि क्रिकेटका लागि खर्चिने हो भने यसले हामीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा गौरव र सफलता दिन्छ भन्ने कुरामा कुनै दुईमत नै हुन सक्दैन । सबै भन्दा महत्वपूर्ण अर्को कुरा के हो भने, क्रिकेटलाई राजनीतिबाट टाढा राख्नुपर्छ । 

यहाँ नेर एउटा प्रसंग सान्दर्भिक हुन्छ । दश वर्ष जति अघिको कुरो हो । मैले चिनेजानेका एकजनाका छोराले क्षेत्रिय स्तरको केही प्रतिस्पर्धामा क्रिकेट खेलेको हेर्ने अवसर पाएको थिएँ । हुन त म क्रिकेटको विशेषज्ञ हैन तर उसको खेल, गति र कौशल हेर्दा कसैले पनि ऊ अरु भन्दा भिन्न र सशक्त भएको कुरा बुझ्न सक्थ्यो । नभन्दै उसको प्रदर्शनहरुबाट प्रभावित भएर पन्ध्रवर्ष मुनिका खेलाडीहरुका लागि क्रिकेट संघले उसलाई छानेको पनि थियो । उसमा पनि क्रिकेट प्रति अथाह लगाव थियो । तर उसले त्यसलाई निरन्तरता दिन पाएन ।  उसका अभिभावकले उसलाई क्रिकेट खेल्न दिएनन् । अहिले ऊ कुनै विदेशी मुलुकमा इन्जिनियरिंगको पढाइ गरिरहेको छ । 

तसर्थ क्रिकेटको पूर्वाधार र निरन्तरताका लागि नीति बन्नु पर्छ, विद्यालय जीवनबाटै खेलाडीहरुलाई अभिप्रेरित गरेर नयाँ प्रतिभाहरु जन्मने वातावरण बनाउनुपर्छ । त्यसो भयो भन अभिभावकहरुलाई पनि डाक्टर इन्जिनियरवा अरु कमाउ पेशा बाहेक क्रिकेटर भन्ने पनि सम्मानजनक कार्य हो भन्ने बिश्वास दिन सक्नुपर्छ ।

निस्सन्देह अहिलेको हाम्रो टीम सबैभन्दा उत्कृष्ट लयमा छ । तर हामीले स्पष्ट देखेका छौं, हाम्रा कमीकमजोरीहरु के के हुन् । उपलव्ध सुविधाको तुलनमा ती नगण्य हुन् । तर यसभन्दा अघि बढ्न हामीले ती कमजोरीहरु सुधार्नुपर्छ । त्यसमा लागि सम्वन्धित सबैले यस खेललाई गम्भीरतापूर्वक लिनुपर्छ । यस कुरामा कुनै राजनीति नहोस् र भावी पुस्ता पनि यो राष्ट्रिय गौरवको कुरामा होम्मिने वातावरण बनोस् । अहिलेको लागि हाम्रो प्रमुख प्राथमिकतामा यो खेल परोस् । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment