Translate

Sunday, July 26, 2015

हाम्ले पत्यायौं हजूर

बायाँ फन्को १६१ 

सबैभन्दा पहिले विज्ञ पाठकहरुलाई एउटा विनम्र निवेदन गर्न चाहन्छु । अर्थशास्त्रसंग मेरो कुनै नाता छैन । त्यसैले आजको स्तम्भ कतै त्यो विधासंग कुनै रुपमा जोडिन गयो भने त्यो संयोग मात्र हुनेछ । त्यो एउटा आम नागरिकको आँखाले हेर्दा लागेका कुरा मात्र हो भन्ने मनमन गरिदिनुहोला भन्ने पनि अनुरोध छ । 

अघिल्लो हप्ता देशको बजेट आयो । प्रत्यक्ष सरोकार हुने र त्यसका बारेमा गुदी केलाउन जान्नेहरु त भै नै हाले, म जस्ता केही नबुझ्नेहरुले पनि तन्मयताका साथ अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट टेलिभिजनमा आँखा नझिम्काइकन र रेडियोमा कानै टाँसेर हेरे, सुने । कोही खुसी भए, कसैले टेबलमा मुक्का बजारे । मुख्य कुरा केके सस्तो हुने भयो र केके महँगो हुने भयो भने मात्र बुझ्ने हुन् म जस्ताले । तलब बढ्यो कि बढेन भन्ने अर्को प्रमुख आकर्षण हुने गर्छ बजेट भाषणको, यसपालि चिल्लै भयो क्यारे । यसपटकको बजेटमा भूकम्प र त्यससंग सम्बन्धित कुराहरुले अतिथि कलाकारको भूमिका खेल्नै पथ्र्यो, खेले पनि । त्यसको नाममा पनि दुइचार कुराहरु भइहाले । चुरोट र रक्सी यस्तो जिनिस हो जसको भाउ हरेक बजेटमा बढ्छ भनेर पहिले नै थाहा हुन्छ । त्यसको लागि अर्थशास्त्र पढ्नु वा बुझ्नु पर्दैन । त्यसैले यसपटक पनि निकै दिन अघिदेखि कालाबजारीहरुले ती बस्तुहरु लुकाइसेकेका थिए । ती मोटाए । 

अघि नै भने अनुसार म बजेटको संरचना, लघुकालीन वा दीर्घकालीन असरहरुका बारे कुरा गर्ने मेरो ल्याकत छैन । बजेटले पार्ने सामाजिक वा राजनैतिक असरका कुराहरु पनि मेरो बूतोको कुरो होइन । तर, म जस्ता अज्ञानीलाई अचम्म लाग्ने कुरा चाहिँ एउटै मात्र हुने गर्छ । त्यसलाई ठ्याक्कै बुझाउनका लागि मित्रराष्ट्रको भाषाबाट चलनचल्तीको एउटा वाक्यांश उधारो लिन चाहन्छु, “लम्बीलम्बी फेंकना ।” हरेक बजेटमा हरेक अर्थमन्त्रीले यस्तायस्ता कुराहरु गरिरहेका हुन्छन्, ती सुन्दा कुपोषणले चाउरिएको हाम्रो ढुक्कुरे छाती पनि केही दिनको लागि दाह्रासिंहको जस्तो भैदिन्छ । आहा, योजना बनाउन र सपना देख्न देखाउन हामीले जति जानेका छौं । त्यसको रत्यांश पनि कार्यान्वयन हुन सक्ने भैदिएको भए हामी अहिले कहाँ हुन्थ्यौं होला । 

हामी सपना देख्न आदि भैसकेको छौं । सदियौंदेखि हामीलाई नयाँनयाँ रुपमा पुरानै सपना मात्र देखाइएको छ । अनि हामी सपनाका रंगहरुमा अलमलिएर रमाउन अभ्यस्त भैसकेको छौं । हामीलाई त्यसले लठ्ठ बनाउँछ । त्यो थाहा पाएको हुनाले कान चिरेका हरेक जोगीहरु हामीलाई त्यही नै नशामा निर्लिप्त पारेर आआफ्नो दुहुनो सोझ्याइरहन्छन । यो क्रम कहिलेसम्म चल्ने हो भन्ने कुरा हामी कसैलाई पनि थाहा छैन । यसपालिको बजेटले पनि हाम्रो सपनाको आकाशमा एउटा क्षितिजदेखि अर्को क्षितिजसम्म झलमल्ल सप्तरंगी इन्द्रेणी तन्क्याएको छ । अघिल्लो अघिल्लोपटकका निकै कुराहरु फेरि दोहोरिने र केही नयाँ फन्डाहरु फ्याँकिने गौरवशाली परम्परा त यस पटक पनि भंग हुन हुँदैनथ्यो, भएन पनि । भनिएका कुराहरु किन पूूरा भएनन् भन्ने विषयमा माथापच्ची गर्नलाई अर्को एउटा सिंगै वर्ष बाँकी नै छ, गर्दै गरौंला । अरु केही नभए पनि हामीसंग समय मनग्गे छ । जति खेर फाले पनि केही फरक पर्दैन । 

यसपालिको बजेट सुनेर उत्साहित हुने कुराहरु धेरै छन् । अब थानकोटको मुनिबाट सुरुङ्ग जाने भयो । काठमाण्डौ छिर्ने र काठमाण्डौबाट बाहिर जाने कुरा मात्र सम्झेर नौनाडी गल्थ्यो, अब त्यसबाट मुक्ति पाइने भो । कस्तो हाइसञञ्चो हुने होला बिचार गर्नुस् त । सररररर सुरुङ्गमा छिरेर एकैछिनमा नौबिसे पुग्न पाइने भो । मेट्रोको सम्भाव्यता अध्ययन हुने भयो । त्यसपछि त जाबो निर्माणको न कुरो हो । चुट्की बजाएसरी हामी त्यो गरिहाल्छौं । अनि विरामी परेको बेला एम्बुलेन्स गुड्न नसकेर बीचमै नारायण भन्नु पनि नपर्ने भयो । आगो लाग्या ठाउँमा दमकल पनि पुग्ने नै भयो । त्यसैले भन्या होला, काठमाण्डौ अब स्मार्टसिटी हुने भयो । अहिलेसम्म काठमाण्डौ ईडियट सिटी रहेछ, हामीलाई थाहा थिएन । अब स्मार्टसिटीमा बसोबास गर्न पाउने भयौं हामी । कति भाग्यमानी ? स्मार्टसिटीमा बस्ने भएपछि हामी सबै स्वयं स्मार्टमा बढोन्नति पनि हुने नै भयौं । अब हामीलाई कसले छुने ? 

अरु केके भयो भने सिटी स्मार्ट हुन्छ भन्ने कुरा चाहिँ मलाई नसोध्नुहोला । मैले पहिले नै भनिसकें, म यसको विज्ञ होइन । हाम्रा भाग्यविधाताहरुले भनेपछि त्यो पत्याउने र ढुक्क हुने हो । ललितपुर ग्रीनसिटी हुने भयो रे । ग्रीन बनाउनका लागि त सिंचाई र छेलोखेलो पानी चाहिन्छ भन्नु होला । त्यसको पनि बजेटले समाधान निकालिसकेको छ । मेलम्चीको पानी अबको दुइ वर्षमा त आइपुग्ने नै भयो रे । त्यस अघि टोलटोलमा ट्याङ्करले पानी बाँड्छ रे । सहर काकाकुल नरहने भयो । धन्य बजेट । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भयो । बुद्ध वाज बर्न इन नेपालको नारा अलि जोरसोरले घन्काऔं । त्यसपछि यति धेरै पर्यटक र विदेशी मुद्राको ओइरो लाग्छ, हामीले अरु केही गर्नै पर्दैन । त्यसै आर्थिक वृद्धिदर बढ्छ भन्या हो र बजेटले ?

नयाँ शीशीमा पुरानै रक्सी खन्याएर हामीसंग चियर्स भनेर गिलास जुधाउन फेरि नयाँ बजेट आएको छ । हामी उसका पुराना आनीबानी बिर्सेर उसको सगुन घुट्क्याइदिन्छौं । चररररररर गर्दै घाँटीदेखि पेटसम्म पोलेर जाने उसका पुरानै वाचाहरु ग्रहण गरिदिन्छौं । त्यसले हामीलाई अलिअलि रमरम बनाउँछ, अलिअलि झमझम बनाउँछ । हामी त आशावादी मानिस हौं । हामीलाई लाग्छ, यसपालि त सुध्रेको जस्तो छ कस्मेटिक सर्जरी गरेर, नयाँ बजेटको अनुहार टाँसेर आएको यो पुरानै ढँटुवा ।

हाम्ले पत्यायौं हजूर ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment