Translate

Sunday, July 12, 2015

कस्तो बन्ने ? कस्तो बनाउने ?

बायाँ फन्को १६० 

केही समय अघि हामीले भोगको अकल्पनीय त्रासदीको असर खुइलिंदै जान थालेको छ । जनजीवन सामान्य बन्दै गैसकेको छ । भौतिक क्षति दुरुस्त हुनका लागि प्रशस्तै समय र खर्च लाग्छ भन्ने कुराको त निक्र्योल भैसकेको छ । मानसकि रुपमा भएको उथलपुथल चाहिँ सोचेभन्दा छिटो साम्य हुन थालेको देख्न पाउँदा जो कसैले पनि शान्तिको लामो सास फेर्छ भन्ने कुरामा शंका छैन । यो निश्चय नै पनि सुखद संकेत हो । हामी मानसिक रुपमा कति धेरै बलिया रहेछौं भन्ने कुराको व्यावहारिक परीक्षा थियो त्यो समय भन्न सकिन्छ । अनि हामी सबै त्यसमा विशिष्ट श्रेणीमा उत्तीर्ण भएका पनि हौं । 

अरु सबै कुरा जस्तै डरको पनि एउटा निश्चित सीमा हुँदो रहेछ । डरले पनि धेरै तर्साउन थाल्यो भने मानिस डरसंगै डराउन छाड्दो रहेछ भन्ने कुरा पनि हामीलाई बितेको केही समयले देखाइदियो । हुन त अझै पनि हामी पूर्ण रुपले आश्वस्त भैसकेका कहाँ छौं र ? अझै पनि साथीभाई वा ईष्टमित्रको जमातमा प्रमुख कुराकानीको विषय त्यही नै हुन्छ । सबैले भोगेको एउटै त्रासदी भए पनि त्यसलाई अनुभूत गर्ने तरीका फरकफरक थियो । त्यो एघार बजेर छप्पन्न मिनेटको समयमा को कहाँ कुन स्थानमा र कुन अवस्थामा थियो भन्ने भिन्नता अनि उसले देखेको र भोगेको कुराले हरेकको आफ्नैआफ्नै बेग्लै अनुभव रहेको छ । तर अब हामी सहज भैसकेको छौं । हामीलाई बानी परिसकेको छ । अब हामीलाई सानातिना कुनै पनि झट्काले (जमीनको मात्र कुरा गरिरहेको छैन म) हतपति हल्लाउन सक्दैन, विचलित बनाउन सक्दैन र बिथोल्न सक्दैन । विषम परिस्थितिसंग लड्ने हाम्रो प्रतिरोध क्षमता अझ बढी बलियो भएको छ । मानसिक रुपमा हामी अझ बढी सशक्त भएका छौं । 

तर, यससंगै हामीले विचार पु¥याउनुपर्ने अरु कुराहर छन् । हामी संकट टरेकोमा आवश्यक भन्दा बढी आत्मविश्वासी पनि हुनु हुँदैन । किनभने संकट भनेको भूकम्प मात्रै हैन । भूकम्पको त्यति ठूलो प्रभाव देखेको हुनाले त्यसको अनुभव आलो हुन्जेल हामी त्यसैमा मात्र केनिद्रत हुनु स्वाभाविक हो । तर यसलाई पाठको रुपमा लिएर सचेत हुनुपर्ने अरु धेरै कुराहरु छन् । अहिलेको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको वर्षा र त्यससंग आउने पहिरोजन्य जोखिम हो । हुन त यो याममा सँधै नै पहाडी भेगहरुमा पहिरो र तराइमा बाढीले ताण्डव मभ्भाउने गर्छ । तर, यसपटक भूकम्पको तातो राम्ररी नसेलाएको अवस्थामा तिनको प्रभाव पहिले भन्दा बढी हुन सक्छ । केही यस्ता उदाहरणहरु देखा परिसकेका पनि छन् । त्यसैले पहिलो आवश्यकता भनेको प्रभावित र खतरामा भएका मानिसहरुलाई सुरक्षित स्थानमा सार्नु नै हो । यसको लागि अरु कुनै पनि किसिमका विवादहरुलाई थाँति राख्न सक्नुपर्छ । यसका लागि तीव्रताको साथै दूरदर्शिताको पनि निकै ठूलो आवश्यकता छ । अँग्रेजीमा भएको एउटा उखान “पेन्नी वाइज पाउण्ड फुलिस” जस्ता समाधानहरु चाहिँ खोजिनु हुँदैन । समस्यालाई पन्छाउन मात्र पनि सकिन्छ, समाधान गर्न पनि सकिन्छ । पन्छाउन सजिलो हुन्छ, समाधान गर्न गाह्रो । पुनर्निर्माण वा पुनस्र्थापनाका कामहरु हचुवाका भरमा हुनु हुँदैन । त्यसले केही समयपछि झन फुकाउन नसकिने गुजुल्टाहरु बनाउन सक्छ । 

त्यस बाहेकको कुरा गर्ने हो भने, हाम्रो विशेष गरेर निर्माणको तरिकामा गम्भीर भएर सोच्नु पर्ने बेला हो यो । ग्रामीण क्षेत्रका निर्माणहरु त भै नै हाले, शहरी क्षेत्रमा भएका तीब्र विस्तारको क्रममा पनि आपतविपतका सम्भावनाहरुलाई हामीले पटक्कै ध्यान दिएका छैनौं । बाक्लो बस्तीहरु विकास हुने क्रममा घरहरुका बीचमा कति फराकिलो बाटो राख्ने, कति घर भएका टोलहरुमा पार्क वा खुला क्षेत्रहरु कायम गर्ने भन्ने हामीले कहिले पनि सोचेका छैनौं । न्यूयोर्क र काठमाण्डौंको घरजग्गाको उस्तैउस्तै भाउ हुने गरी चम्किएको बेला पनि हामीले सुरक्षाका आधारभूत कुराहरुमा आँखा चिम्लियौं । करोडौंका मोलमा घरजग्गा बेच्नेहरुले मात्र हैन, किन्नेहरुले पनि यस विषयमा केही सोचेनन् । फलत एम्बुलेन्स वा दमकल समेत छिर्ने ठाउँ नभएका टोल र वस्तीहरु निर्माण भएका छन्, मानिसहरु त्यहाँ पशुपतिनाथको भरमा बसोबास गरिरहेका छन् । गगनचुम्बी भवनहरुमा बनेका खैनीका बट्टा जत्रा अपार्टमेण्टहरु करोडभन्दा माथिको भाउमा विक्री वितरण भएका थिए । व्यस्तताका कारण मानिसहरुमा घर बनाउने फुर्सद कम हुँदै गएको कारण फस्टाएको तयारी घरको व्यापारमा झन् बेच्ने र किन्ने दुबैले हेलचक्र्याइँ गरे । भूकम्प अघि  तयारी घर किन्नेहरु मध्ये कथि जनाले त्यहाँको माटो परिक्षण गराए होलान् ? कतिवटा, कस्ता पिलर र बिमहरु प्रयोग भएको हो त्यसमा भनेर कतिजनाले नक्सा पल्टाएर हेरे होलान् ? पाँचसात हजारको के लोभ गर्नू भनेर कति जनाले जान्ने इन्जिनियरलाई देखाए होलान् ? बाहिरबाट हेर्दा चिटिक्क पारिएका घर वा अपार्टमेण्टहरुको भित्रस् संरचना चाहिँ कस्तो छ भनेर ध्यान दिएको भए आज कतिले थाप्लोमा हात लगाएर बस्नुपर्दैनथ्यो । 

त्यसैले अबका दिनहरुमा फराकिला स्थानहरु नराखी घर नबनाउने, किनवेच गर्दा ती सबै कुरामा ध्यान दिने जस्ता कुराहरुमा हेलचक्र्याइँ हुनु हुँदैन । अहिले पनि ती कुचुमुच्च परेका टोल वस्तीमा कथंकदाचित अरु आगालागी जस्ता भवितव्य आइलागेमा त्यसबाट हुनसक्ने क्षति निराकरण वा न्यूनीकरण कसरी हुन सक्छ भन्ने बारे सोच्नु आवश्यक छ । अरुलाई परेको देखेर चेत्ने, आफैलाई परेपछि चेत्ने र आफैलाई परेपछि पनि नचेत्ने तीनथरि मानिसहरु हुन्छन् भनिन्छ । हामी ती मध्ये कुन बन्ने भन्ने कुरा हामीले नै निक्र्यौल गर्ने हो । 

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment