Sunday, September 27, 2015

भावना र भेल

अन्ततः सम्बिधान आयो । हामी सबैले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको सम्बिधान जारी भयो । अथक परिश्रम, लामो समयको अनिश्चिततालाई पन्छाएर अरबौं रुपैंया पानीमा बगाएर भए पनि हामीले सम्बिधान ल्याएरै छाड्यौं । हामीले एकआर्कालाई गाली गर्‌यौं, दोषरोपण पनि ग¥यौं तर अन्ततः जब राष्ट्रपतिले नेपालको सम्विधानलाई ढोगे, त्यो देख्दा हरेक नेपाली रोमाञ्चित भएको हुनुपर्छ । केही समय अघिसम्मका खलनायकहरु अचानकै नायकहरु बन्न पुगे । हामीले तिनलाई धन्यवाद भन्यौं, आभार प्रकट गयौं ।

तर सम्विधानले संगसंगै समस्या र असन्तुष्टिहरु पनि ल्याएको छ । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । पन्ध्र जना मान्छे कुनै साधारण विषयमा छलफल गर्न कहाँ भेट्ने भन्ने कुरा निक्र्यौल गर्न त पन्ध्रै थरि विवाद आउँछन् भने देशले लामो समयपछि, जरो गाडिसकेको कुनै एउटा व्यवस्थालाई उखेलेर नयाँ युग र नयाँ भविष्यको आधार खडा गर्नका लागि बनाइएको सम्विधान शतप्रतिशत सहमतिमा बन्नुपर्छ भन्ने त कसैले पनि सोच्ने कुरा होइन । संसारमै निर्विकल्प र निर्विवाद सम्विधानको कुनै उदाहरण पाइएला । निर्विवाद भन्ने कुरा तानाशाहीमा हुनसक्ला, हामी त लोकतन्त्रको कुरा गर्दैछौं ।

तराइ वा मधेशको आन्दोलनका कतिपय हिंश्रक घटनाहरुलाई कुनै पनि हिसाबले जायज भन्न सकिन्न र त्यो जसको काराले जसरी घटाइएका भए पनि निन्दनीय नै हुन् । तर साथै हामीले बिर्सन नहुने अर्को कुरा पनि के हो भने, यो देश जति हिमाल र पहाड हो, त्यति नै तराइ र मधेश पनि हो । उनीहरुका समस्या पनि साझा समस्याको रुपमा नै स्वीकार्नुपर्छ । त्यसका लागि हामीलाई भारतले वा अरु कुनै राष्ट्रले सम्झाउने, बताउने वा धम्क्याउने गर्नुप¥यो भने उनीहरुलार्ई जति नै कुरीकुरी हामीलाई पनि लाग्नुपर्छ ।

हो, सार्वभौम राज्यको नाताले ठूल्दाइको प्रत्यक्ष हस्तक्षेप हामीलाई स्वीकार्य हुँदैन । हाम्रो नितान्त आन्तरिक निर्णयहरुमा बूँदा तोकेर परिमार्जन गर्ने आदेश वा अनुरोध पनि हामीलाई अरु कसैले दिन पाउँदैन । हामीलाई त्यो कदापि स्वीकार्य हुँदैन । त्यो असन्तुष्टि व्यक्त गर्ने हाम्रो अधिकार हो । यस् बूँदागत हस्तक्षेपले आन्दोलनरत पक्षलार्य पनि अवश्य नै झस्काएको हुनुपर्छ । तर अति राष्ट्रवादबाट निर्देशित भएर अव्यावहारिक र उग्र कुराहरु गर्न कसैले पनि हुँदैन । मानिसको भावना र खोलाको भेल भन्ने दुबै बडो खतरनाक कुराहरु हुन् । यिनमा हाम्फाल्नु अघि निकै सोचविचार गर्नुपर्छ । यी दुबैको वेग क्षणिक हुन्छ, तर त्यही क्षणिक वेगले नै दीर्धकालीन प्रभावहरु पार्दछन् । यो क्षणिक वेगलाई धैर्यताका साथ कुर्न सिक्नुपर्छ । नत्र मैं हूँ भन्ने पौडीबाजहरुलाई पनि यी कुराहरुले कुन बेला भुमरीमा फसाएर तानिदिन्छन् थाहै हुँदैन । व्यावहारिक हुन नसक्ने हो भने त्यसले कसैलाई पनि फाइदा गर्दैन । सहिष्णुताले सहिष्णुतालाई नै मलजल गर्छ भने द्वेशले जन्माउने पनि द्वेश नै हो ।
सामाजिक संजालहरु अहिले जति सशक्त पहिले कहिले पनि थिएनन् । यहाँ बोलिएका, लेखिएका र अभिव्यक्त भएका कुराहरुले पनि एउटा आन्दोलनको रुप लिन सक्छन् । यहाँ पोखिएका भावनाहरु कहिलेकहीं जनमतका रुपमा सही वा गलत व्याख्या भएर तिनले नीति निर्णयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित पार्न सक्छन् । तसर्थ हामी सबैले त्याग्न नहुने एउटै कुरा हो संयम र अहिले नै मिल्क्याउनु पर्ने कुरा हो उत्तेजना ।

व्याक्टेरिया र भाइरस जस्ता रोगका कीटाणुहरुले आक्रमण गर्ने भनेको कमजोर शरीरमा हो । कमजोर कोषहरुमा हो अनेक थरि रोग लाग्ने । हामी सबैभन्दा पहिले आफ्नो शरीरलाई स्वस्थ्य राखौं । कीटाणुहरुको केही लाग्दैन । तर ग्यास्टिक मात्र त हो नि भनेर हेलचक्र्याइँ ग¥यौं भने चाहिँ हेप्दाहेप्दै कुनबेला त्यो अल्सर हुँदै क्यान्सर बन्न जान्छ थाहै हुँदैन । गाह्रो चाहिँ त्यतिबेला हुन जान्छ । अतीतमा पनि नेतृत्वमा भएकाहरुले समस्याहरुलाई सानो मानेर हेपेका कारण, अनि हेलचक्र्याँइ गरेका कारण हामीले अहिलेसम्म पनि केही मूल्यहरु व्याज सहित तिर्नुपरिरहेको छ । त्यसलाई बिर्सनु हुँदैन ।

यो पहाड वा मधेश भनेर दुई कित्तामा उभिएर अभिव्यक्ति गर्ने बेला हैन । मानिस एउटा पक्षमा उभिनासाथ त्यहाँबाट हेर्दा अर्को पक्षको हरेक कुरा उल्टो देखिन थाल्छ । त्यसो भयो भने ऊ पूर्वाग्रही बन्न पुग्छ । तसर्थ आफ्नो समस्यालाई सन्तुलित आँखाले हेरेर आफैले सुल्झाउनुपर्छ । बाँदरलाई खुवा भाग लगाउन दियो भने के हुन्छ भन्ने कथा हामीले पढेका छौं, त्यो एकपटक फेरि संस्मरण गर्ने बेला हो यो ।

प्रधानमन्त्रीले अमेरिका भ्रमण रद्द गरिसेका छन् । यो स्वागतयोग्य कुरा हो । आशा गरौं, यो स्तम्भ प्रकाशित हुने दिनसम्ममा हाम्रा आन्तरिक मनमुटावहरुका आवश्यक सम्बोधन भैसक्नेछ । मन दुखाएका पक्षहरुले पनि आफूलाई अरुको लहैलहै र कूटनीतिको गोटी बन्न नदिनका लागि विशेष ध्यान दिनेछन् । सबैले बिर्सन नहुने एउटै सत्य के हो भने, अहिलेका असहमतिलाई जति विकराल र असाध्य बनाउन वा देखाउन खोजिएका छन्, ती त्यति विकराल हैनन् । पानी धमिलो हुन नदिने हाम्रो हातमा छ । त्यसो भयो भने कसैले त्यसमा माछा मार्ला भन्ने डर नै रहँदैन । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...