Translate

Sunday, September 20, 2015

समवेदनशीलता

बायाँ फन्को १६५ 

इस्तानबुलमा ओर्लेर सहरतिर जाँदा बाटोमा मैले हेक्का गरेको एउटा कुरा थियो, कुकुर र बिरालाहरु । यति धेरै कुकुर र बिरालाहरु बाटोमा देखिए, मलाई अचम्म लाग्यो । बिसौनीमा बस कुरिरहेको बेला कुनै बाटोमा भएको कुकुरलाई खुवाइरहेको वा सुमसुमाइरहेको मानिस देख्दा कुनै अचम्म मान्नु नपर्ने रहेछ । आफू बस्ने उचकसवार सितेसी भन्ने ठूलो आवासीय क्षेत्रमा पुग्दा त्यहाँ पनि प्रशस्तै संख्यामा भेटिए ती प्राणीहरु । टर्कीमा मानिसहरु कुकुर बिरालालाई असाध्यै प्रेम गर्दारहेछन् । तिनीहरुलाई आफ्नो साथी हुन् भनेर मान्दा रहेछन् । घरपालुवाको त कुरै भएन, त्यत्तिकै बरालिने कुकुर र बिरालाहरुलाई पनि ठाउँठाउँमा खाना र पानीका लागि व्यवस्थित भाँडाहरु राखिएका हुँदारहेछन् । मानिसहरुले आफ्नो खाना र पानी तिनीहरुसंग बाँड्दा रहेछन् । आफ्नो गाडीमा पनि कुकुर वा बिरालाको खाना बोकेरै हिंड्दारहेछन् यहाँका मानिसहरु । कति ठाउँमा र रित्तो पानीको शीशी हालिदिएपछि तिनीहरुको खाना झर्ने “मेशिन” नै पनि राखिदिएको हुँदोरहेछ प्रशासनले । हरेक कुकुरहरुलाई आवश्यक खोपहरु दिएर तिनको कानमा एउटा टपजस्तो चिप लगाइएको हुँदोरहेछ । अनि ती कुकुर र बिरालाहरु मानिसहरुसंग लुटुपुटु गर्न आइहाल्दारहेछन् । त्यो देखेर मलाई निकै रमाइलो लाग्यो ।

आफ्नो देशमा भने केही वीर मानिसहरुसंग बेलाबेला मैले नचाहेर पनि लाप्पा खेल्नुपरिरहेको हुन्छ । ती यस्ता शूरवीरहरु हुन्छन्, जो बाटोमा आफ्नै सुरमा हिंडिरहेका वा चुप लागेर सुतिरहेका कुकुरहरुलाई भुक्क लात्ताले बजाउँछन् । त्यो निर्दोष र अवोध प्राणी कुइँकुइँ गरेर कराउँदै भाग्दा ती शुरवीरहरु एउटा कानदेखि अर्को कानसम्म तन्किने गरी हाँस्छन् र कुनै निकै ठूलो पुरुषार्थ गरेजसरी छाती फुलाउँदै, चारैतिर हेर्छन् । त्यस किसिमको परपीडाले उनीहरुलाई कस्तो खुसी प्रदान गर्छ भन्ने कुरा मैले कहिले पनि बुझेको छैन । धेरै कम मैले त्यस्ता मानिसहरु भेटेको छु, जसले बाटोमा भेटिने ती प्राणीहरुप्रति सदाशयता वा सद्भाव राखून् । त्यस्ता कमहरु मध्ये केही यस्ता पनि छन् जसले अलपत्र परेको कुकुरको छाउरालाई उद्धार गरेर घरमा ल्याएर पालेका पनि हुन्छन् । उनीहरु त्यस्ता बोल्न नसक्ने अवोध प्राणीहरुलाई पनि आफूसरह नै प्रेम गर्छन् । तर हामी मध्ये अधिकांश तिनलाई भुस्याहा कुकुर भन्छौं, लखेट्छौं र पिट्छौं । यो हाम्रो समग्र मानसिकताको द्योतक हो भने हामीले एकपटक सोच्नुपर्छ, हामी किन त्यस्ता भएका छौं । 

कुकुर सम्भवतः मानिसभन्दा बढी गुनिलो प्राणी हो । उसलाई तपाईँ मायाले एकदुइ पटक मुसारिदिनुस्, जूठो वा पूरा नै किन नहोस् दुई छाक खान मात्र दिनुस्, उसले तपाईँबाट अरु कुनै पनि अपेक्षा राख्दैन । ऊ त्यतिमै आजन्म तपाईँहामी प्रति प्रतिवद्ध हुन्छ । हेक्का गर्नुभएको छ कहिले ? त्यस्तो प्राणीलाई किन हामी गर्न सक्ने जति माया गर्दैनौं ? उल्टै हामी त कसैलाई गाली गर्न, हेप्न, हियाउन र अपमानित गर्नका लागि कुकुर भन्ने शव्दको प्रयोग गर्छौं । कसैलाई कुकुर भन्नु त सम्मानको कुरा हुनुपर्ने हो, हैन र ? हामी कहाँ कुकुर जस्तो हुन सक्छौं र ? त्यति निस्वार्थ र प्रतिवद्ध त हामी मानिस हुनै सक्दैनौं । 

कहिले घोरिएर सोच्नुभएको छ, हामी मानिस मानिसको बीचका सम्बन्धहरुलाई प्रगाढ बनाउन वा टिकाएर राख्नका लागि हामीले कति धेरै लगानी गर्नुपर्छ ? हाम्रा हरेक सम्बन्धहरु कति धेरै आशामा टिकेका हुन्छन् ? लगानी हुन्छन् हाम्रा सम्बन्धहरु जसले प्रतिफल खोजिरहेको हुन्छ, हरेक पाइलामा । साथीसाथी वा हरेक प्रकारका नातागोताका सम्बन्धका लगानीहरु डुब्लान् भन्ने डरले हामीले पाइलापाइलामा कति सतर्कता अपनाइरहेका हुन्छौं । एकआर्कासंग हाम्रो जति धेरै आशाहरु गाँसिएका हुन्छन्, हामीले चाहेर वा नचाहेर नै किन नहोस्, ती हजारैं चाहना वा आशामा सानो मात्र पनि चूक ग¥यौं भने ती सम्बन्धहरुमा धाँजा पर्न थाल्छन् । बाबुआमा र सन्तानका बीचमा, प्रेमीप्रेमिका वा श्रीमानश्रीमतीका बीचमा, मित्रहरुका बीचमा, हाकिम र कर्मचारीको बीचमा, नेता र कार्यकर्ताको बीचमा, शाषक र नागरिकको बीचमा, गुरु र चेलाको बीचमा मनमुटावहरु उत्पन्न हुने पनि यिनै अपूरा चाहनाहरुका कारण हो । जब कि हामीसंग भाषा हुन्छ एकआर्कालाई बुझाउन । संचारमा सबैभन्दा उत्कृष्ट जाति हौं हामी मानिस । तर पनि मानिस मानिसको बीचमा नै जहिल्यै यति धेरै मनमुटाव हुन्छ ? 

हामी कख नै नचिनी विद्यावारिधि गर्ने प्रयास त गरिरहेका छैनौं ? निर्दोष र बोल्न नसक्ने जनावरहरु प्रति सम्वेदनशील हुन सिक्नु भनेको अक्षरारम्भ हो । यसैले हामीलाई मनको राम्रो मान्छे बन्ने बाटोमा हालिदिन्छ । त्यसो भयो भने स्वयं अर्को मानिसप्रति अझ बढी सदाशयता देखाउन सिक्नेछौं हामीले । जात, वर्ग, वाद, धर्म वा अरु कुनै पनि कुराले मानिसमानिसलाई छुट्याउँदैन भन्ने कुरा बुझ्नेछौं हामीले । हाम्रा अरु धेरै समस्याहरु नजानिंदो गरी आफै समाधान हुन थाल्छन् । 

तर दुखको कुरो, आजकल त हामी मानिस मानिसको बीचमै फाटो ल्याइरहेका छौं । हामीलाई कति ठूलाठूला समस्याहरु सुल्झाउनुछ, कुकुर बिराला वा अरु जनावरको कुरा गरेर बस्ने फुर्सद कहाँ छ र ? 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment