Translate

Sunday, January 17, 2016

तस्करलाई नमन

बायाँ फन्को १७२ 

सधै अघि बढ्ने, कहिले नरोकिने र पछि त फर्कंदै नफर्कने एउटै कुरा समय हो । तर, यो अकाट्य कुरा पनि हाम्रो हकमा असफल भएको छ । हामी हरेक दिन झन्झन् पछि सर्न बाध्य भइरहेका छौँ । मानिसका प्राथमिकता कसरी समयले परिवर्तन गरिदिँदो रहेछ । हाम्रा प्राथमिकता कतिसम्म खुम्चिसकेका छन् भने केहीबेर बिजुली आउँदा पनि प्रसन्न हुन थालेका छौँ । आधा सिलिन्डर ग्यासका लागि महिनौँ दिन लाप्पा खेल्न परिरहेको छ । एक भारी दाउराका लागि आफ्नो समय, स्रोत र परिश्रम खेर फाल्नु परिरहेको छ हामीलाई । दुई छाक राम्रोसँग पकाएर खान सक्ने मानिस त सम्भ्रान्त मानिन थालेको छ ।

हामी कसैको नियन्त्रणमा नभएको, जति चाहेर पनि टार्न नसकिने प्रकृतिद्वारा सिर्जित प्रकोप त आफ्नै ठाउँमा थियो, हामीले चाहेको भए, समयमा देखेको भए र समयमै सम्बोधन गर्न सकिने अनि हामीमध्ये नै केहीबाट सिर्जित प्रकोपका एकपछि अर्को दनकले हामीलाई थचक्कै बसाइदिएको छ । देशको एक भागमा आगो बलिरहेको छ, भतभती । त्यो आगो र त्यसलाई निभाउन चलाइने गोलीबाट मानिसहरू मरिरहेका छन् । अर्को भागमा चिसोले कठ्यांग्रिएर पनि मानिसहरू मरिरहेका छन् । तर, हाम्रो सरकार भनिने संयन्त्रलाई यी दुवैले छोएको छैन । न त सरकारको विरोधमा आन्दोलन गर्नेहरूलाई नै यसले छोएको छ ।

राजधानीमा सबै कुराको अचम्मको अभाव छ । अचम्म किन भने कुनै पनि कुरा पाउनुपर्ने ठाउँमा मात्र पाइँदैनन् । तर, सम्बन्ध हुनेहरूलाई यो अभाव लागेको छैन । अनि, पैसा हुनेहरूलाई पनि । किनभने, कालोबजारमा सबै कुरा पाइन्छ । परल मोलभन्दा दोब्बर वा तेब्बर तिर्ने तपाईंको ल्याकत छ भने सबै कुरा घरैमा आइपुग्छ । डिपोमा नपाइने ग्यास अरू सबै ठाउँमा उपलब्ध छ । पम्पमा मात्र नपाइने पेट्रोल र डिजेल अन्यत्र वालछ्याल पाइन्छ । नाकाबन्दीका नाममा माथिदेखि तलसम्मका हरेक सम्बन्धित मानिसले द्रूत गतिमा पैसा कमाइरहेका छन् । यस्तोमा निमुखा जनताबाहेक अरू कसैलाई पनि यो समस्याको समाधान भइदेओस् भन्ने किन लाग्थ्यो र ? त्यसैले त अर्थ न वर्थका झिनामसिना अत्तो थापेर कुरा अड्काउनेबाहेक कसैले केही गर्नेतिर ध्यानै दिएको देखिँदैन । जनताको आँखामा छारो हाल्नु कति नै गाह्रो कुरा हो र ? हाम्रो देश हाँक्नेहरू यस कुरामा त अभ्यस्त छन् । लामो अनुभव छ उनीहरूसँग ।

गैरजिम्मेवारी, बकम्फुसे कुरा र लाजहीनताको तपाईं–हामीले कल्पना गर्नसक्ने भन्दा निम्नस्तरको मापदण्ड कायम गरिसकेका छन् हाम्रा नेताले । जुन देशका उपप्रधानमन्त्री खुलेआम तस्करका कारण चरम अभाव हुन पाएन भनेर खुसी हुन्छन्, त्यहाँ अब सुन्नका लागि बाँकी के नै रहन्छ र ? के हामी ती तस्कर र कालाबजारियाहरूप्रति आभारी हुनुपर्ने हो त ? हो भने आउनूस् सबै मिलेर एकैपटक उनीहरूको जयजयकार गरौँ, जसले तेब्बर मूल्यमा भए पनि हामीलाई चाहिने कुरा उपलब्ध गराइरहेका छन् । धन्य सम्मानित कालाबजारियाहरू र प्रातस्स्मरणीय तस्कर महोदयका कारण हामी बाँच्न पाएका छौँ, नत्र सरकारको भरमा त हामी सबै उहिले खुस्किसकेका हुन्थ्यौँ । सक्नेले तिरून्, नसक्ने मरून् ।

कुनै पनि पार्टीका नेता हुन् वा सरकार होस्, उनीहरूको कुरा सुन्दा लाग्छ, मानौँ हामी सबै घाँस खानेहरू हौँ । जे भने पनि हामी पत्याउँछौँ । फोस्रो आश्वासनबाहेक उनीहरूले हामीलाई केही दिन सकेका छैनन्, दिन सक्ने पनि छैनन् । भिजन भन्ने कुन चराको नाम हो भन्ने कसैलाई थाहा छैन । हरेक स्थानमा यस्ता मानिस छन्, जसलाई आफ्नो कामका बारेमा केही थाहा छैन । राजनीतिक पृष्ठभूमि, सम्पर्क, पैसा वा प्रभावका आधारमा नियुक्त भएका मानिसबाट अरू केही कुराको अपेक्षा पनि त गर्न सकिन्न । समाज कस्तो भइसकेको छ भने यहाँ धनका लागि मान्छे पुजिन्छ, आदरणीय मानिन्छ । विचारका लागि, गुणका लागि वा राष्ट्रप्रति उसले गरेको वा गर्न सक्ने योगदानका लागि होइन । यस्तो समयमा पनि आशावादी रहनु आमनियति बनेको छ ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment