Translate

Saturday, May 14, 2016

‘डिजाइनर बन्न फिल्म लेखेको, टेलर बन्नुपर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याे'

लेखनकक्षमा ब्रजेश

समुन्द्र राज घिमिरे ललितपुर, जेठ १ (सेतोपाटीबाट साभार)


ब्रजेश पाँच कक्षा पढ्दा स्कुलको एउटा कार्यक्रममा साथीबाट कविता सुनेका थिए। पैसालाई विषयवस्तु बनाइएको त्यो कविता उनलाई साह्रै मन पर्यो। उनले त्यो कविता मागे।
त्यतिबेला उनका बाबुको छापाखाना थियो। त्यहाँबाट एउटा पत्रिका नियमित निस्कन्थ्यो। पत्रिकामा साथीले सुनाएको उक्त कविता छपाए। तर, साथीलाई थाहा भएन।
उनलाई यही कुराले पिरोल्न थाल्यो। जति समय बित्यो, उनमा पछुतोबोध त्यति नै बढ्दै जान्थ्यो। 
एकदिन पिकनिक जाँदा महिनौंदेखिको उकुसमुकुस पड्कियो। पिकनिक चल्दै गर्दा साथीलाई एक कुनामा लगेर सुनाए, ‘तैंले अस्ति नै सुनाएको कविता मेरो नाममा छापेँ। सरी यार।’
त्यसपछि साथी जोडले हाँसे। र, भने, ‘त्यो कविता मेरो त होइन। दाइले सुनाएको। दाइले पनि अरू कसैको भन्थ्यो।’

***
पहिलो उपन्यास ‘यायावर’ को सिक्वेल ‘जुनेली’ बजारमा आइसकेपछि ब्रजेश फुर्सदमा छन्। यो समय उनका लागि लेख्ने कम पढ्ने धेरै समय हो।
जुनेली सकिएपछि उनले टर्किस लेखक ओह्रान पामुकको ‘द म्युजियम अफ इनोसेन्स’, ओशोका केही पुस्तक र बजारमा आएका नयाँ उपन्यास पढीभ्याए। यसमध्ये पामुकका उपन्यास उनलाई सबैभन्दा मन पर्यो।
उपन्यासमा जुन म्युजियमको प्रसंग छ त्यहाँ उनी किताब पढ्नुअघि नै पुगिसकेका थिए। ‘नपुगेकाका लागि सिर्फ आख्यान होला, पुगिसकेकाका लागि त्यसको अर्थ अझै बढी हुँदो रहेछ,’ उपन्यासबारे उनले भने।
पढ्नुबाहेक उनी लेखनमा पनि व्यस्त छन्। डटेर लागेका भने होइनन्। ‘स्टाइलिस’ बनेर हिँड्न रुचाउने उनी अक्सर झोला बोक्छन्। झोलामा डायरी र ल्यापटप हुन्छ। ल्यापटपमा तीनवटा उपन्यासका ‘वर्किङ फोल्डर’ छन्। तीमध्ये एघार वर्षदेखि लेखिरहेको एउटा अंग्रेजी उपन्यास छ, जसको काम ७५ प्रतिशत सकिइसकेको उनी बताउँछन्। तर, कहिले प्रकाशित हुने हो उनैलाई थाहा छैन। उनी यसलाई हतारमा बजारमा पठाउन पनि चाहँदैनन्।
आख्यान र फिल्म लेखकका रूपमा बढी चिनिएका ब्रजेश टाक्कटुक्क कविता पनि लेखिरहन्छन्। हालैको एक दिन झम्सिखेलस्थित ‘क्याफे सोमा’ मा भेटिँदा ल्यापटपमा एउटा कविताको फोल्डर खुलै थियो। छाप्न अखबारमा पठाउन लागेको उक्त कविताको फिनिसिङ भइरहेको उनले बताए।
उनी कवितालाई सबैभन्दा सुन्दर विधा मान्छन्। तर, कवि हुनुमा उनको दाबी छैन। अझ उनी भन्छन्, ‘कविता लेख्ने खुबी ममा छैन।’
विद्यालय कालमा पाँच कक्षा पढ्दा स्कुलबाट निस्कने भित्ते पत्रिका ‘टुसा’ मा कथा-कविता लेखेर उनको लेखन सुरु भएको थियो। नेपाली शिक्षक बाबुराम पोखरेलको प्रोत्साहनबाट निस्किएको भित्ते पत्रिकामा लेख्न थालेपछि उनको रुचि कथा लेखनतिर तानिएको थियो।
त्यसो त बाबुको छापाखाना भएकाले साहित्यकारहरुको जमघट भइरहन्थ्यो। सानैदेखि साहित्यिक जमघटमा सरिक हुन पाएकाले उनको ध्यान साहित्यतिर तानियो। उनलाई सबैभन्दा बढी प्रभाव वासु शशीले पारेका थिए। वासु शशी उनका बाबुका साथी पनि थिए।
तत्कालीन समयमा राजधानीमै पनि ‘कोर्सबाहिरको पुस्तक पढ्नु भनेको बिग्रनु हो’ भन्ने सामाजिक मान्यताको विपक्षमा उनी त्यतिखेरै उत्रिइसकेका थिए, विद्यालयको लाइब्रेरीका बालसाहित्यबाट कोर्सबाहिरको पुस्तक पढेर। 
‘इंग्लिस बेस्ड’ स्कुलमा पढेकाले अंग्रेजी साहित्यबाट सुरु भएको उनको पढाइ अलि पछि मात्र नेपाली साहित्यतिर धकेलियो। त्यसो त अंग्रेजी साहित्य अलि सरल पनि लाग्थ्यो उनलाई। विस्तारै उनको पढाइ जासुसी उपन्यास हुँदै बिपी, लक्ष्मीप्रसाद देवकोटा, पिटर जे कार्थकतिर अघि बढ्यो। थाहा भएसम्म नेपालीमा उनले पहिलोपटक धच गोतामेको ‘घामका पाइला’ उपन्यास पढेका थिए।
पढाइसँगै उनको लेखन पनि अघि बढ्दै गयो। आठ कक्षा पढ्दा गोरखापत्रमा पहिलो कथा छापियो। त्यतिबेलाको चल्ती पत्रिकामा छापिएपछि चर्चा नपाउने कुरै भएन। चर्चाले उनलाई लेखनको नशा बसाल्यो। ‘कतिले त बाबुले लेखिदिएको कथा आफ्नो नाममा छपायोसमेत भन्थे,’ उनले विगत स्मरण गरे। 
वैदेशिक रोजगारीमा गएको मानिसको आत्मवेदना उक्त कथामा थियो। शीर्षकचाहिँ उनले बिर्सिएछन्। उनको रुचि कथातिर भए पनि रेडियो नेपालले कविता लेखनमा लामो अभ्यास गराइदियो। लेखन तिखार्नमा रेडियो नेपाल पनि गतिलो माध्यम बनेको थियो। 
उनी रेडियो नेपालमा वासुदेव मुनालले चलाउने कार्यक्रममा कविता वाचन गर्न जान्थे। रेडियो नेपालबारे उनीसँग रोचक स्मृति पनि रहेछ। भन्छन्, ‘पढाइमा देशलाई माया गर्नुपर्छ, हाम्रा पुर्खा वीरजस्ता कुरा पढेकाले कविता पनि बडो देशभक्ति पाराका हुन्थे। एउटा कविता त्यस्तै लेखेर गएको थिएँ। खण्डकाव्यभन्दा अलि छोटो कवितालाई वासुदेव मुनालले काटेर हाइकुभन्दा अलि लामो बनाइदिनुभयो।’
एसएलसी नसकिउन्जेल गोरखापत्र, मुना, मधुपर्कलगायत पत्रिकामा उनका थुप्रै कथा छापिए। एसएलसीपछि भने उनको लेखन साहित्यबाट फिल्म-टेलिभिजनतिर सर्यो। उनले लेखेका तथा अभिनय गरेका थुप्रै टेलिशृंखला तथा फिल्म हिट भएका छन्।
फिल्म लेखन सन्तुष्टिको लेखन भने बनेन।
‘फिल्म लेखकले त सोच्न पनि औकातअनुसार सोच्नुपथ्र्यो,’ उनले भने, ‘प्रविधि, बजेटलगायत सीमा हुन्थे। आख्यानमा जस्तो उड्ने फराकिलो आकाश फिल्ममा हुँदैन।’
तत्कालीन समयमा नेपाली फिल्ममाथि भारतीय फिल्मको ठाडो हस्तक्षेप भएकाले यस हिसाबले पनि फिल्म लेखक बढी बन्धनमा पथ्र्यो। प्रकाश थापाले भित्र्याएको बलिउडी फर्मुला नेपाली फिल्मले लामो समय पछ्याउँदा लेखकले सधैं एउटै फम्र्याटमा काम गर्नुपथ्र्यो।
फर्मुलाबाट सबैभन्दा ग्रसित को त?
उनी भन्छन्, ‘निर्माता, निर्देशक, दर्शक सबै। त्यसो त हामीसँग सोच र कथा नभएका होइनन्। हामीसँग निर्देशक थिएनन्। राम्रो निर्देशक भयो भने दर्शकको स्वाद नै फेरिदिन सक्छ। नेपाली फिल्मक्षेत्र प्रकाश थापालाई मानक मानेर ‘ड्राइभ’ भयो। हामीलाई भारतीय फिल्मले थिच्यो। प्रकाश थापाले भित्र्याएको संस्कृतिमा चल्दा डिजाइनर बन्न आएको म टेलर सञ्चालक बन्नुपर्यो।’
यही टेलर उनका लागि आर्थिक उपार्जनको गज्जबको स्रोत भने बनिदियो। एक दिनमा तीनवटासम्म स्क्रिप्टमा काम गरेको अनुभव सँगालेका ब्रजेशलाई टेलिशृंखला लेखनबाट भने सन्तुष्टि मिल्थ्यो। ‘आफ्नो कमाइ’, ‘अपुताली’ जस्ता टेलिशृंखलामा आफूले चाहेअनुसार प्रयोग गर्न पाएको उनको भनाइ छ।
उनी नेपाली फिल्मको पटकथा लेखन झुर भन्ने आरोप स्वीकार्न तयार छैनन्। ‘मलाई लाग्छ, पटकथा कमजोर भन्ने ९० प्रतिशतलाई पटकथा के हो थाहा छैन,’ उनी भन्छन् ।
त्यो समय फिल्म लेखनमा सबैभन्दा ठूलो कमजोरी के त? उनको भनाइमा लेखक नै कम हुनु ठूलो कमजोरी थियो। यद्यपि केही कुरा छन्, जसले फिल्म लेखनबाट उनलाई सन्तुष्टि मिल्छ। 
उनले फिल्म लेख्ने बेला फिल्मका कथा स्क्रिप्ट बनाउन भारत लगिने चलन थियो। बम्बईमा बलिउडका लागि एक संघर्षशील व्यक्ति थिए, जसले नेपाली स्क्रिप्ट तयार पारिदिन्थे। ब्रजेशले फिल्म निर्माता÷निर्देशकसँग नेपालमै स्क्रिप्ट बनाउनुपर्ने प्रस्ताव ल्याए। सबैको सोचभन्दा बाहिरको कुरा भएकाले सुरुमा त कसैले पत्याइरहेको थिएन। तैपनि ब्रजेशले नेपालमै स्क्रिप्ट लेखेर देखाइदिए।
पछिल्लो समय ‘ठमेल डटकम’ लेखेका ब्रजेशले कुनै समय वर्षको सातवटासम्म फिल्म लेखेका थिए। गहिरो अनुसन्धानबाट फिल्म लेखिएको अनुभव नभएका ब्रजेश अहिले फिल्म लेखनबाट मोहभंग भइसकेको बताउँछन्। ‘फिल्ममा जे लेख्यो त्यही देखिनुपथ्र्यो तर अर्के देखिन्छ। अहिले धेरै कम गरेको छु,’ उनी भन्छन्।
उनलाई फिल्म लेखनबाट बाहिर निकाल्ने काम भने आफ्नै छिटपुट कथा र समसामयिक विषयमा लेखिने ब्लगले गरेका थिए। ब्लग लेखनबाट रुचाइएपछि नेपाल साप्ताहिकमा नियमित स्तम्भकार बनेका ब्रजेश विस्तारै आख्यानतिरै रमाउन थाले। स्तम्भ र फुटकर कथापछि उनले उपन्यास लेख्ने योजना बनाए। पहिल्यै लेखिसकेको एउटा कथालाई एकदिन हेर्दै जाँदा उपन्यासको सोच आएको र त्यसकै उपजमा ‘यायावर’ निस्किएको उनको भनाइ छ। 
त्यसो त उपन्यास लेखन सुरुआतको हिसाबले यायावर दोस्रो हो।
लामो समय फिल्म लेखनबाट उपन्यासमा आउँदा दुई विधाको लेखनबीच भिन्नता कस्तो हुँदो रहेछ? उनले भने, ‘फिल्ममा भए कसले अभिनय गर्ला भनेर सोच्नुपथ्र्यो। कलाकारले त्यस्तोखाले भूमिका गर्न सक्दैनजस्तो लाग्यो भने काट्नुपथ्र्यो। उपन्यासमा त्यस्तो हुँदैन। जुनेलीको चिराग पात्र यस्तै कम्प्लेक्स पात्र हो। मैले फिल्म लेखेको भए चिराग जन्मिन्थेन। दुईबीचको फरक भनेको, उपन्यासमा सिर्जनात्मक स्वतन्त्रता हुन्छ, बजार गौण हुन्छ। फिल्ममा त्यो हुँदैन।’
फिल्म लेखनले आख्यानमा पारेको नाफाघाटा नि? ब्रजेश भन्छन्, ‘पढ्दा हरेक लाइनमा दृश्य देखिनुपर्छ भन्ने मान्यता बनेको छ। नाफाघाटा यत्ति हो।’
***
ब्रजेशको खास लेखनकक्ष छैन।
जहाँ मन लाग्यो जति बेला पनि लेखिदिन सक्छन्। मुड आएका बेला जस्तै होहल्लाले पनि असर पार्दैन। लेख्दा चिनीबिनाको ब्ल्याक कफी खाइरहनुपर्ने भएकाले उनलाई क्याफेहरू प्रिय ठाउँ लाग्छन्। झम्सिखेल, ठमेल, नक्सालतिरका क्याफेमा उनी कहिले लेखिरहेका त कहिले फिनिसिङ गरिरहेको अवस्थामा भेटिन्छन्। रि–राइट गर्नुपर्यो भनेचाहिँ पोखरा पनि पुग्छन्।
आफूसँग लेखनको अनुशासन नभएको उनको भनाइ छ। भन्छन्, ‘एकपटक १७ हजार शब्दसम्म लेखेको छु। मुड आएका बेला जति पनि लेखिदिन सक्छु। नभएका बेला महिनौं पनि लेख्दिन। मेरो लेखन अनियन्त्रित हो।’ कुनै पनि कुरा लेख्दा सरल लेखाइमा गहिरो भाव हुनुपर्छ भन्ने ख्याल आइरहने उनको भनाइ छ।
लेख्नका लागि प्रिय समय भन्ने पनि छैन उनको। सानैदेखि पाँच बजे उठ्ने बानी परेका ब्रजेश बिहान चार बजे सुतेको बेला पनि पाँचै बजे उठ्छन्। नसुतेको दिन पनि उनलाई खासै असर पर्दैन। उनी दिउँसो जहाँ पनि मस्त सुतिदिन सक्ने बताउँछन्।
लेख्दा दिमागमा पूरै फम्र्याट तयार पारेर लेख्न बस्ने बानी छैन उनको। आइडिया आहाल्नेबित्तिकै पनि लेख्न बसिहाल्दैनन्। हिँड्दाहिँड्दै आइडियो आउँदा कतै क्याफे देख्यो भने छिरिहाल्छन् र कालो कफी मगाएर टिप्न थालिहाल्छन्। यस्तो मेसो मिलेन भने डायरीमा टिप्छन् र बेलुकी संगृहित गर्छन्।
पूरै सोचेर लेख्न बस्ने बानी नभएकाले कतिपय मुख्य पात्र लेख्दालेख्दै आइदिने उनको लेखन अनुभूति छ। कहिले त प्लट पनि अगाडि सोच्दै नसोचेको फुर्ने उनले बताए। कहिलेकाहीँसपनामा पनि आइडिया फुर्दा रहेछन्। त्यस्तो बेला अल्छी नमानी उठेर टिप्छन्।
सुरुसुरुमा सम्पादन खासै नगर्ने ब्रजेश अहिले छोटा लेखलाई पनि दोहोर्याई तेहेर्याई हेर्छन्। यसरी हेर्न ल्यापटपमा उनले छुट्टै फोल्डर बनाएका छन् र बेलाबेला ओल्टाईपल्टाई गरिरहन्छन्।
लेखिरहँदा अरूको किताब पढ्नमा स्वबन्देज रहन्छ उनको। फिल्म पनि हल्काफुल्का हेर्न रुचाउँछन् यस्तोबेला। लेख्ने क्रममा संगीत सुन्दा ध्यान एकत्रित गर्न नसकिने उनको अनुभव छ।
लेखिसकेपछि पहिलो पाठक उनकी श्रीमती हुन्। श्रीमतीबाटै सुझाव पनि लिन्छन्। यसबाहेक नजिकका साथी या आफ्नो लेखाइको विषयसँग सम्बन्धित व्यक्ति छ भने उसैलाई पाण्डुलिपि देखाउँछन्। आफ्नो ज्ञानभन्दा बाहिरको कुरा लेख्नुप¥यो भने उनले धेरैजसो इन्टरनेट सर्च गर्छन्। त्यसबाहेक रिसर्च पनि गर्छन्। 
यायावरका लागि एक कांग्रेस नेतासँग अन्तर्वार्ता गरेका थिए भने जुनेलीका लागि आदिनाथ मन्दिर पुगेका थिए। आगामी उपन्यासका लागि बृहत रिसर्च गर्नुपर्ने उनको भनाइ छ। त्यसो त उनी ‘अब्जर्भेसन’ र भोगाइलाई नै ठूलो अनुसन्धान भन्न रुचाउँछन्।
दिमागमा लामो समयदेखिको अब्जर्भेसनलाई लेखनमा प्रयोग गर्ने उनले बताए। ‘लेख्ने बेला अलर्टचाहिँ भइन्छ,’ उनले भने, ‘कथा सबैसँग हुन्छ तर लेखक र गैरलेखकबीच फरक यत्ति हो, लेखक अलि बढी अब्जर्भेसनमा रहन्छ। त्यो अब्जर्भेसन लेखनमा प्रयोग गर्ने हो। लेखिरहँदा अब्जर्भेसनका लागि अलि बढी चनाखो भइन्छ।’

प्रकाशित मिति: शनिबार, जेठ १, २०७३ १६:२५:३८

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment