Thursday, September 20, 2018

“जस्ट चिल् चिल् चिल् जस्ट चिल्...”

फाइँफुट्टीराज भाग २९

फाफुरा राम्ररी सुत्न नपाएको धेरै भएको थियो । यो कुरा त तपाईँलाई पनि थाहा हुनैपर्छ । रातभर उल्लुजस्तो ननिदाउने फाफुरालाई रत्नपार्कको पारिलो घाममा टोपीले मुख छोपेर लमतन्नासानको मुद्रामा योग साधना गरेपछिमात्र निन्द्रा लाग्छ । अनि निन्द्रामै उसलाई फाइँफुट्टी फुर्छ । नयाँ पाठकहरुलाई अचम्म लाग्नसक्छ तर यो देश नै निन्द्रामा चलिरहेको छ । यसलाई हाँक्नेहरु सबैले निन्द्रामै चलाइरहेका छन् । सपनामै बर्बराउँछन्, सपनाकै योजना बन्छन् र सपनामै पूरा हुन्छन् । हामी कसैलाई विपनासँग कुनै मतलबै छैन । हाम्रा लागि विपना भनेको थापा थरकी एउटी नायिका थिइन् । ती पनि पलायन भइसकिन् । अब हाम्रा लागि सबै कुरा सपनामात्रै हुन् । 
बल्लबल्ल सुर्जेनारान् उदाएको बेला मौकाको फाइदा उठाएर फाफुरा रत्नपार्कमा निदाएकोमात्र के थियो कानै छेउबाट भुँ.....गर्ने आवाज निकालेर केही उड्यो । आँखा खोलेर हेरेको त एउटा अरिंगाल उडेर कतै जाँदै रहेछ । फाफुरालाई त्यो अरिंगाल देख्नासाथ एउटा आइडिया आयो । उसलाई केही दिनदेखि एउटा समस्याले सताइरहेको थियो । अरिंगाल त्यसको अचूक औषधि हुन सक्थ्यो । पख्नुस्...पख्नुस्....साँझ टिन्चु पानी लगाउने बेला भुटेर खाने भन्ने हिंश्रक आइडिया आएको हो भने त्यसलाई आफ्नो मनमै राख्नुस् । फाफुरा शाकाहारी प्राणी हो । समस्या के भने हरेक बिहान उसको डेराको ढोकै अगाडि कुनै एक चेतनशील छिमेकीको कुकुर आउँछ र दीर्घशंका निवारण गरेर जान्छ । गुलेलीले हानौ भने पशुअधिकारकर्मीले छाड्ने छैनन् भन्ने उसलाई थाहा थियो । पेट्रोल छरे कुकुर आउँदैन रे भन्ने कसैले सुझाएका थिए । तर, हरेक रात भाउ बढेर महँगो भइरहेको पेट्रोल किनेर छर्ने औकात फाफुराको कहाँ हुनु ? कसैले अर्को साह्रै सजिलो उपाय सुझाएका थिए बाघको मुत ल्याएर ढोका अघि छरिदियो भने पनि कुकुर आउन छोड्छ रे ! यसमा पनि समस्या थियो । संसारभर बाघको संख्या घटेकोमा लियोनार्दो डि क्याप्रियोसमेत चिन्तित भइरहेको बेला फाफुरा कहाँ बाघ खोज्न जानू ? भेटिएछ नै भने पनि बाघ देखेर फाफुराले पहिले मुत्छ । बाघले किन मुत्नु ? कहाँबाट ल्याउनु बाघको मूत ? त्यही पीरले आधामासु भएको बेला फ्याट्ट अरिंगाल देखियो । 
अरिंगाल अलि पर पुगिसकेको थियो । फाफुराले हत्त न पत्त ठूलो स्वरमा उसलाई बोलायो, “अरिंगाल भाइ.....”
अरिंगाल भुँ... गर्दै फर्केर आयो । ऊ फाफुराको नजीकै घाँसमा बस्यो र सोध्यो, “भन, काममा हिँडेको अरिंगाललाई किन बोलाएको ?”
फाफुराले सतर्क आँखाले उसलाई हेर्दै नम्र स्वरमा भन्यो, “मैले पनि एउटा कामको लागि नै तिमीलाई सम्झेर बोलाएको हूँ अरिंगाल भाइ ।”
उसले अगाडिका दुई खुट्टा रगड्दै भन्यो, “कस्तो काम ?”
फाफुराले अरिंगाललाई आफ्नो समस्या सुनायो । अरिंगाल गम्भीर भएर सुनिरह्यो । अन्त्यमा उसले सोध्यो, “यसमा मैले के गर्न सक्छु र ?”
फाफुराले आफ्नो स्वरमा भोट माग्नेबेलाको नेताको जस्तै मिठास घोल्दै भन्यो, “दुईचार दिन बिहान बिहान आएर त्यो कुुकुरलाई च्वास्स च्वास्स चिलिदियौ भने त्यसपछि आउन छोड्ला कि भनेर तिम्रो सहयोग मागेको हो ।”
अरिंगाल फाफुराको कुरा सुनेर रिसायो । आँखा राताराता पारेर नाकबाट कलंकी एयरपोर्ट रेलको जस्तो धूँवा निकाल्दै ऊ बम्क्यो, “तिमीले हामीलाई के भन्ठान्या ए फाफुरा ? ‘अन्डरएस्टिमेट’ गर्ने पनि एउटा सीमा हुन्छ नि यार । के हामीलाई तिमीले कांग्रेस पार्टी भन्ठान्या जसको कुनै कामै छैन ? तिमी बञ्चरोले कागज काट्ने कुरा गर्दैछौ । हामी अरिंगाललाई के ठानेका छौ ? हामी फाफुरा हो र दिनभर रत्नपार्कमा सुतेर समय बिताउने ? हामीसँग यस्ता च्याँखे काम गरेर बस्ने फुर्सद छ ?”
फाफुराले उसलाई नम्र स्वरमा नै फकाउँदै भन्यो, “आवेशमा नआऊ न अरिंगाल भाइ । मैले त थाहा नपाएको कुरा सोधेको मात्र हो । संविधानले प्रश्न सोध्ने अधिकार दिएको छ । उत्तर दिने नदिने तिम्रो अधिकार हो ।”
अरिंगाल अलिकति मत्थर भयो । अनि उसले भन्यो, “ठीक भन्यौ । म उत्तर नदिन सक्छु । तर, एकजना ट्विटे भाइले हरेक दिन एउटै प्रश्न सोधिरहँदा पनि पर्यटन मन्त्रीज्यूले त्यसको उत्तर नदिएकोजस्तो होला भनेरमात्र म तिम्रो प्रश्नको सम्बोधन गर्दैछु । आजकल हामी महान् कार्यमा लागेका छौं । हामीलाई फुर्सद छैन ।”
फाफुराले आँट गरेर कुरा कोट्यायो, “महान् कार्य रे ? कस्तो महान् कार्य ? केही प्रकाश पारिदिन्छौ कि अरिंगाल भाइ ?”
अरिंगाल गजक्क फुल्यो र भन्यो, “यो देशको भविष्य आजकल हाम्रो काँधमा आइपुगेको छ । दुई तिहाइ बहुमतको सरकारलाई थेग्ने जिम्मेवारी हाम्रो चौडा काँधमा आएको छ । राष्ट्रले हामीबाट ठूलो अपेक्षा गरेको छ । भलै हामीलाई नागरिकता दिइँदैन तर हामी अरिंगालहरु पनि यो देशको जिम्मेवार नागरिक हौँं । स्थायित्व भएन भनेर हल्ला गर्ने अनि हुन लागेको स्थायित्वलाई धमिरा लगाउन खोज्ने राष्ट्रघाती तत्त्वलाई परास्त गर्न हाम्रो सहयोग मागिएको छ । अचानक हाम्रो दिन आएको छ ।”
फाफुराको मगजको स्टार्टर कमजोर भएर अघिदेखि धिपधिप गरिरहेको ट्युबलाइट अचानक झिलिक्क गरेर बल्यो । हो त नि, यो अरिंगाल त हर समस्याको अचूक औषधि पो हो । तर, हामी मूर्खले भने यति गुनकारी कीरोको महत्त्व आजसम्म बुझ्न सकेका रहेनछौँ । यति सानो र स्पष्ट कुरा पनि हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले त्यसको नाम नलिउन्जेल नेपालीहरुले भेउ पाएनन् । अरिंगाल भन्दै थियो, “यो गहन जिम्मेवारी पाउनासाथ मानिसहरुले बल्ल हाम्रो महत्त्व बुझेका छन् । विभिन्न अरु स्थानहरुबाट पनि हाम्रो दक्ष सेवाको माग हुनथालेको छ । मेडिकल माफिया, शैक्षिक माफिया, बालुवा सिन्डिकेट, यातनयात नेक्सस लगायतका अरु थुप्रै महान् र राष्ट्रवादी संगठनहरुले विरोधीहरुको चिलाई मार्नका लागि हामीसँग सम्पर्क गरिसकेका छन् । त्यसैले हामीले अच्छ्युँ, बच्छ्युँ र झुसे बारुलाहरुलाई पनि ‘आउट सोर्सिंङ’ गरिसकेको छौं । उनीहरु सबै पनि हाम्रो छातामुनि ऐक्यवद्धता देखाउन सहमत भइसकेका छन् । त्यसैले हामी चिल्ने जातलाई अहिले फुर्सद छैन । तिम्रो समस्याको समाधानका लागि झिंगा र भुसुनाहरुसँग सम्पर्क गरेर हेर । तिम्रो औकातका कीराहरु तिनै हुन् ।”
उसको कुरा सुनेर ट्वाँ परेको फाफुरा छोडेर अरिंगाल प्रसन्न मुद्रामा गीत गाउँदै उडेर गयो, “जस्ट चिल् चिल् चिल् जस्ट चिल्...”

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...