Translate

Thursday, September 27, 2018

सहनशील सुशील र सुशीलाहरु



दशैं आउन लागेको छ । दशैं चाहिँ पक्कै आउँछ । भनेको समयमै आउँछ अब । हो मेलम्चीको पानी, स्याटेलाइटको बिजुली, चुच्चे रेल, स्वदेशमै खनिएको इन्धन र सम्बृद्धिजस्तो अनिश्चिततामा मात्र नभएर वास्तविकतामै पनि आउँछ दशैं । सोह्रश्राद्ध शुरु भएसंगै वर्षा पनि अब प्रतियोगिता खेल्न विदेश गएको खेलाडि र साँस्कृतिक कार्यक्रमको लागि गएको कलाकारजस्तो हुन थालेको छ । फाफुरा पनि पर्वोल्लासले आल्हादित भएर, दंग परेर रत्नपार्कको चौरमा टोपीले मुख छोपेर ‘सनवाथ’ लिइरहेको छ । वातावरण चाडमय छ । आज फाफुराको मगजमा एउटा प्रश्न फुरेको छ जुन तपाईंहरुलाई पनि सोधौं कि भन्ने लागिरहेको छ । तपाईंहरु सोच्नुहोला, यो कुनै खेल हो । सही उत्तर दियो भने पुरस्कार पाइएला । किनभने आजकल मानिसहरु बिना कुनै फाइदा केही पनि नगर्ने भइसकेका छन् । फाफुराको एक मित्र भन्छ,
“बुझिस् फाफुरे, आजकल म त पैसा आउँदैन भने कसैलाई गाली पनि गर्दिनँ ।”
के भन्नु भो ? हैन हैन, त्यो मित्र पत्रकार हैन । हैन, राजनीतिसंग पनि कुनै सम्बन्ध नै छैन उसको । उसो भए समीक्षक होला रे ? त्यो पनि हैन । खासमा भन्ने हो भने ऊ बैंकर हो । ऊ भन्छ, “खुसी हुनुभन्दा रिसाउन कति गाह्रो छ । शरीरका अनेकौं रसायनहरु सकृय हुन्छन् । मगजमा बल पर्छ । मांशपेशीहरु तन्किन्छन्, फुल्छन्, खुम्चिन्छन् । रक्तचाप बढ्छ, घाँटीमा जोड लाग्छ, आवाज ठूलो भएपछि त्यसको कम्पनले शरीरका सबै कुराहरुलाई असर पार्छ । एकछिन कसैलाई गाली गर्दा सारा कुराहरु क्षय हुन्छन् । त्यसैले आफूलाई नोक्सान हुने काम त गर्नै हुन्न । त्यो पनि फोकटलालमा ? सबै कुरा डेविट र क्रेडिट हो बुझिस् ?”
अनि त्यो सब बुझेको फाफुराजस्तो मानिसले सोधेको प्रश्नको सित्तैंमा उत्तर किन दिनू भन्ने तपाईंहरुलाई लागेको हो भने त्यो सोचको फाफुरा उच्चतम कदर गर्छ । तर हैन, तपाईंहरुसंग पनि फाफुराकोजस्तै खेर फाल्नलाई समय नै समय छ भने एकैछिन यो प्रश्नमा घोत्लिनुभए हुन्छ । फाफुराको यक्ष प्रश्न सुन्नुहोस्,
“जे भए पनि असर नपर्ने यो संसारको सबैभन्दा बढी ‘बालै फरर’ मानिस को होे ?”
तपाईंहरुले यस प्रश्नको उत्तर सोचुन्जेलमा फाफुराचाहिँ रत्नपार्कको यो पारिलो घाममा एक ‘पावर न्याप्’ लिन भ्याउँछ है त ?
ààà
पावर न्यापपछि स्वागत छ यहाँहरुलाई फेरि एकपटक फाइँफुट्टीराजको फाईंफुट्टीमा । ब्रेकभन्दा पहिले फाफुराले यहाँहरुलाई एउटा प्रश्न सोधेको थियो, जे भए पनि असर नपर्ने यो संसारको सबैभन्दा बढी ‘बालै फरर’ मानिस को होे ? तपाईंहरुमध्ये धेरैको मगजमा यसको फरक फरक उत्तर आएको होला । कसैलाई लागेको हुनुपर्छ, काठमाण्डौका मेयर, कसैलाई लागेको हुनुपर्छ दुई तिहाइको सरकार, कसैलाई लागेको होला प्रहरी प्रशासन । स्थानीय निकायका पदाधिकारीहरु, बिभिन्न योजना परियोजनासंग सम्बद्ध टाउकेहरु, देशभर छ्याप्छप्ती पलाएका थरिथरिका सिण्डिकेटका ठालूहरु, निर्माण व्यवसायी लगायतका अरु पनि तपाईंको मगजमा आएका होलान् । ती सबै त भइ नै हाले, तर सबैभन्दा बढी बालै फरर चाहिँ हामी आम नागरिक नै हौं ।
भीमनीधि तिवारीले उही जमानामा एउटा नाटक लेखेका थिए, सहनशीला सुशीला । अब हामी सबैको राष्ट्रिय पहिचान बनेको छ यो नाम । आज हाम्रो देश सहनशील सुशील र सहनशीला सुशीलाहरुको देश बनेको छ । हामी सबै कुरा सहन अभ्यस्त भएका छौं । दिनदिनै बलात्कारका घटनाहरु भइरहेका छन् । कुनै बेला कृषिप्रधान देश भनेर चिनिने देश अब बिस्तारै बलात्कारप्रधान देशको चिनारी पाउँदैछ । सरकार अपराधी लुकाउने र पोर्न साइट बन्द गर्नेमै सीमित छ । सरकारले भंग गरिएका भनेको सिण्डिकेटसंग वार्ता गरेर चाडको मुखमा मूल्यवृद्धिको दशैं बम्पर उपहार दिएको छ जनतालाई । संस्कृतिको सहरमा सँधै कुनै जात्रा हुन्छ । त्यस्ता जात्रा तथा गौरवशाली र राष्ट्रिय महत्वका कार्यहरुका लागि राष्ट्रपतिज्यूका सवारीका कारण काठमाण्डौको आवागमन ठप्प हुन्छ । मनमनै कुलर््िन्छौं, र सामाजिक संजालमा एक दुई गहन वाक्य लेखेर हामी सहिरहन्छौं । उपभोक्ता, अभिभावक, बिरामीलाई चारैतिरबाट चारपाटे बनाएर मुड्दा पनि हामी सहनशील सुशील र सहनशीला सुशीलाहरु सन्तुष्ट भएर बस्छौं ।
खासमा भन्ने हो भने विवेकशील साझाको साटो यदि बुद्धि पु¥याएर सहनशील साझा भन्ने पार्टी खोलेर चुनाव लडेको भए अरु सबैको जमानत जफत हुन्थ्यो । यही सोच्दासोच्दै कुनबेला फाफुरा रत्नपार्कमा भुसभुस निदायो भन्ने थाहै पाएन । उसले एउटा अचम्मको सपना देख्यो ।
ààà
फाफुरा त कुनै एउटा देशको राष्ट्रपति पो भएको रहेछ र कुनै अर्को देशको भ्रमणमा गएको रहेछ । फाफुरी पनि ‘फस्र्ट लेडी’ भएकोले पुच्छर लागेर जाने नै भई । त्यो कुनै एउटा तानाशाहको देश रहेछ । तानाशाहले आफ्नो देशका जनताहरु कतिसम्म सहनशील र जाती छन् भन्ने देखाउन उनीहरुलाई एउटा ठूलो सरकारी कारखानामा लिएर गयो । त्यहाँ काम गरिरहेका सयौंको संख्यामा भएका मानिसहरुलाई उसले भन्यो,
“भोलिदेखि तिमीहरु सबैको जागीर चट् । बुझ्यौ ?”
बिना कुनै कारण अचानक त्यसरी गरिएको घोषणा सुनेर पनि सबै मौन रहे । उनीहरु आआफ्नो काम गरिरहे । तानाशाह दंग प¥यो । उत्साहित भएर उसले महामहिम फाफुरा र फस्र्ट लेडी फाफुरीलाई एउटा आमसभामा लिएर गयो । विशाल चौरमा गन्नै नसकिने संख्यामा मानिसहरु भेला भएका थिए । तानाशाहले त्यहाँबाट उद्घोष ग¥यो,
“भोलि बिहान झिसमिसेमै तिमीहरु सबैलाई फाँसी दिइनेछ ।”
कसैले चुइँक्क पनि गरेन । त्यो फाफुरा र फाफुरी जिल्ल परे । फाफुराले खप्न नसकेर ती मानिसहरुलाई सम्बोधन गर्दै भन्यो,
“तपाईँहरुले राम्ररी नसुनेका कि नबुझेको ? बिना कारण, बिना कसूर तपाईंहरु सबैलाई भोलि बिहान फाँसी दिइन्छ भनेको बुझ्नुभएन ?”
एउटा मान्छेले भन्यो,
“बुझ्यौं । राम्ररी बुझ्यौं ।”
“तपाईंहरुलाई केही भन्नु छैन ?”
“छैन, केही भन्नु छैन । हाम्रा प्रधानमन्त्रीज्यूले जे भन्नुभएको छ, त्यो हाम्रो र देशको भलाइको लागि नै हुनुपर्छ ।”
फाफुरालाई असह्य भयो । उसले फेरि एकपटक प्रयास ग¥यो,
“कुनै डर वा त्रासले त्यसो भन्नुभएको हो भने, पीर नमान्नुस् । म अन्तर्राष्ट्रिय समुदायमा तपाईंहरुको कुरा पु¥याउँछु । यस्तो पनि हुन्छ ? कोही केही त बोल्नुस् । प्रश्न सोध्न पाउने तपाईंहरुको मौलिक अधिकार हो ।”
निकै बेरपछि भीडको पछाडिबाट एउटा बूढो मानिसले हात उठायो । सबैले फर्केर हेरे । उसले बिस्तारै भन्यो,
“मलाई प्रश्न गर्नु छ ।”
फाफुरा उत्साहित भयो । कमसे कम एक जनाले त हिम्मत ग¥यो । झिल्का सानै भए पनि त्यसलाई फुक्न सक्यो भने त्यसले लप्कोको रुप लिन्छ । उसले हौस्याउँदै भन्यो,
“निर्धक्क भएर सोध्नुहोस् । के हो तपाईंको प्रश्न ?”
बूढो मानिसले सोध्यो,
“हामीलाई भोलि बिहान फाँसी दिन डोरी चाहिँ सरकारले उपलव्ध गराउँछ कि हामीले घरबाटै ल्याउनु पर्ने हो ?”
फाफुराले स्तव्ध भएर त्यो मानिसलाई हे¥यो । उसलाई त्यसको अनुहार कताकता परिचित लाग्यो । फाफुरा त्यस मानिसको नजीक गयो । अनि उसले थाहा पायो, त्यस मानिसको अनुहार त काटीकुटी फाफुराको आफ्नै भविष्य र वृद्धाअवस्थाको पो रहेछ ।
ààà
फाफुरा झसंग भएर ब्यूँझियो र चारैतिर हे¥यो । रत्नपार्क वरिपरि सबै आआफ्नै सुरमा थिए । ऊ बाहिर निस्क्यो र भीडमा सबैलाई नियाल्दै भौंतारिन थाल्यो ।
लापरवाह, निस्फिक्री र सन्तुष्ट भावमा देखिन्थे सबै सहनशील सुशील र सुशीलाहरु ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment