Translate

Saturday, August 10, 2019

कर कर र करकर

३३ (सिजन २ भाग २)

तपाईँ फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने त थाहै होला, उसलाई सँधै रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ । फाफुराको यो गौरवशाली परम्परासंग त उसका पुराना पाठकहरु परिचितै हुनुहुन्छ । तर यसपटक यहाँहरुलाई चकित पार्नको लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा उवाच शुरु गर्ने मूड आएको छ । हुन त यो लरतरो आँटको कुरा होइन । किनभने हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूले फाफुरा जस्ता हास्यव्यंग्यको भरमा आफ्नो मुखमा माड लगाउने कलमजीविहरुको पेटमा ब्रूस लीले जसरी ड्रप किक हान्न थाल्नुभएको धेरै भइसकेको छ । हप्तैपिच्छे भनेजसो खतरा–खतरा चुट्किलाहरु सुनाएर उहाँले मनोरञ्जनको मापदण्ड नै यति माथि पु¥याइदिनुभएको छ, अब मानिसलाई हँसाउने भनेको फलामको च्यूरा चपाए सरी भइसकेको छ । उहाँको ‘लेभल’ छुन सितिमिति सकिन्न । त्यसैको सिको गरेर हुँदाहुँदा उहाँका मन्त्रीहरु, प्रशासक, सल्लाहकार, बोलीबचाउ दस्ता, रफु विशेषज्ञ मात्र नभइ प्रहरी र अदालत पनि एक से एक चुट्किलाबाज भएर निस्किसकेका छन् । त्यसैले अब लेखनमा हास्यरस पनि भरपर्दो पेशा चाहिँ रहेन । तर पनि के गर्नु, फाफुराले जानेको कुरा अरु केही छैन । उसमा भएको यही एउटा दुर्गुण हो । त्यसैले ऊ आज आफ्नो खानदानी पेशा जोगाउने प्रयासमा लागेको छ ।


एकपटक कुनै एउटा बारमा केही पहलवानहरु बसेर बियर पिइरहेका थिए । सबै सातफीट भन्दा अल्गा, घरका पर्खालजस्ता छाती, मेलम्चीको पाइपजस्ता मोटा पाखुरा भएका भीमकाय र वलिष्ठ पहलवानहरु । कुरै कुरामा एउटा पहलवानले एउटा कागती लिएर त्यसलाई निचोरेर वियरको ग्लासको आधा जति रस निकालिदियो । अनि उसले अरुलाई चुनौती दिँदै भन्यो, “यो खोस्टोबाट निस्कन सक्ने जति रस मैले निचोरिसकें । अब यसबाट अरु कसैले रस निकाल्न सक्दैन ।”
अर्को पहलवानलाई त्यो हाँक खपिनसक्नु भयो । उसले न्वारान देखिको बल निकालेर त्यसबाट अर्को दुई थोपा रस निचोरेर देखाइदियो । तेश्रो पहलवान पनि के कम, उसले अझै बल लगाएर अरु दुई थोपा निकालिदियो । चौथो र पाँचौं पहलवानले पनि अझै एकएक थोपा निकालेपछि छैटौं र सबैभन्दा शक्तिशाली पहलवानको पालो आयो । तर उसले जति गरे पनि बरु उसको शरीरको मध्यपृष्ठभागबाट ननिस्कनु पर्ने कुरा निस्कियो तर उसले खोस्टोबाट रस निकाल्न सकेन । काठमाण्डौका धाराहरुबाट बरु कहिलेकहीं एक दुई थोपा तरल पदार्थ झर्लान्, त्यो खोस्टोबाट केही झरेन । त्यही बेला अलि पर बसेर त्यो सब हेरिरहेको एउटा अलि पाको उमेरको दुब्लो पातलो भद्र मानिसले मसीनो स्वरमा सोध्यो, “एक पटक म ट्राइ गरुँ कि ?”
उसको त्यो धृष्टता देखेर पहलवानहरु मरिमरि हाँसे । तर त्यसको वास्ता नगरी त्यो मानिस चुपचाप पहलवानहरु तिर गयो । उसले त्यो सुकेको खोस्टो मुठ्ठीमा लियो । पहलवानहरु उसलाई हाँसेर हेर्दै थिए । उसले खासै बल लगाएको पनि देखिएको थिएन, तर मुसुमुसु हाँस्दै उसले त्यो खोस्टो निचोर्दा आठदश थोपा अरु रस तप तप गरेर निस्के । सुकेको जीउमा लुकेको बल देखेर सारा पहलवानहरु स्तव्ध भए । ऊ मुसुमुसु हाँस्दै फर्केर जान लागेपछि एउटा पहलवानले सोध्यो,
“तिमी को हौ ? परिचय त दिएर जाऊ ।”
त्यो मानिसले मुसुक्क हाँसेर जेम्सबण्डको स्टाइलमा भन्यो,
“खतिवडा । युवराज खतिवडा । नेपाल भन्ने एउटा देश छ, म त्यहाँको अर्थमन्त्री हूँ भाइ ।”

फाफुराजस्ता तपाईँ हामी सर्वसाधारण आजकल थरिथरि करको नाममा कागतीका त्यस्तै खोस्टा बनिसकेका छन् । केही समय अघि फाफुराले यस्तै अव्यवाहारिक नियमहरुका सांकेतिक विरोधका रुपमा केही हाउडे करहरुको बारे लेखेको थियो । तर सरकारले त त्यसलाई नै गम्भीरतापूर्वक लिएर त्यही फाफुरापथ समातेको पो हो कि भन्ने लाग्न थालेको छ । साँच्चै त्यसो हो भने त खोस्टा निचोरेर देशलाई सम्बृद्ध बनाउने यस महान यज्ञमा अरु दुईचार पित्को घिउ र केही दाना चरु किन नहाल्नु ? सचेत नागरिक हुनुको दायित्व निर्वाह गर्दै आज फाफुरा अरु केही थप करहरुका आइडियाहरु सुझाउन चाहन्छ जुन अहिलेसम्म सरकारले देखेको छैन । उसको पहिलेका लेख जत्तिकै यसलाई पनि गम्भीरतापूर्वक लिइनेछ भन्ने विश्वास पनि फाफुराले लिएको छ । के थाहा त्यसपछि पुर्परोमा फुलौरा फुलेर उसलाई सरकारले अहिले भइरहेका अनगिन्ती सल्लाहकारहरुको हूलमा मिसाइन्छ कि ? अथवा फाफुराले सुझाएका मध्ये कुनै कर लागू गरेर निचोरिएको रसको दुई थोपामात्र पनि पुरस्कार स्वरुप छर्किदिए पुग्छ । त्यसो भयो भने उसको तीन पुस्ताले रत्नपार्कमा टोपीले मुख छोपेर सुतेर बाँच्न पुग्छ । त्यसैले उसले यी सबै आइडियाहरुको प्रतिलिपी अधिकार चाहिँ कालिकस्थानमा गएर पहिले नै सुरक्षित गरिसकेको छ । यो वैधानिक चेतावनी हो ।
पाइला करः
अतिरिक्त करहरुको लिस्टमा पहिलो सुझाव हो पाइला कर । आजकल मानिसहरु अग्रगामी हुन थालेका छन् । त्यसबाट राज्यले उठाउन सक्ने फाइदाका बारे अहिलेसम्म कसैले सोचेको छैन । तसर्थ अग्रगामी पाइलाहरुलाई करको दायरामा ल्याउनु आवश्यक भइसकेको छ । अब हरेक खोस्टाले चालेको प्रत्येक पाइलामा रु पाँचका दरले कर लगाइनु पर्छ । प्रतिगामी पाइलाहरुलाई चाहिँ प्रोत्साहन स्वरुप प्रति पाइला रु एकको दरले पुरस्कृत गरिनु पर्छ । अब तपाईँ भन्नुहोला कसले कति पाइला हिंड्यो भन्ने कसरी पत्ता लगाउने ? त्यसको पनि उपाय फाफुरासंग छ । आजकल सबैको भनेजसो हातमा फोन हुन्छ । ती फोनहरुमा पाइला गन्ने अनुप्रयोग हुन्छन् । सरकारले सादा पोशाकमा खटाएका गुप्ती कर अधिकृतहरुले कुनै पनि खोस्टालाई कहीं पनि क¥यापझ्याप् पारेर समातेर त्यो जाँच गर्न सक्नेछन् र ठाम्का ठाम हिसाब गरेर कर तिराउन सक्नेछन् । गोजीमा रकम नभएको अवस्थामा जायजेथा, तलब, बृद्ध भत्ता इत्यादिबाट असूल उपर गरिनेछ । त्यो नहुन्जेल तिनलाई थुनामा राख्न सकिनेछ ।
साहित्य करः
हुन त पुस्तकमा कर लगाउने महान प्रथाको शुरुवात भइ नै सकेको छ । तर त्यतिले पुग्दैन । कवि, लेखक तथा साहित्यकारहरुले राज्यलाई धेरै ठगिसकेका छन् । राष्ट्रलाई सुक्को कर नतिरी आजसम्म तिनले करोडौं करोड शव्दहरु लेखिसकेका छन् । यो साहित्यिक दोहनलाई नियन्त्रण गर्न सबै लेखकहरुलाई अविलम्ब करको दायरामा नल्याइ हुँदैन । किनभने तिनका रचनाहरु बिक्लान् र कर उठाउँला भन्ने कुरा सम्भव छैन । एक त अधिकांशका बिक्दै बिक्दैनन्, बिक्नेले पनि कर तिर्दैनन् । तसर्थ साहित्यमा अग्रिममै कर उठाउनु पर्छ । लेख रचनाका आकारका आधारमा कर निर्धारण गरिने छ । यस अनुसार प्रति हाइकु रु दश, प्रति मुक्तक रु पन्ध्र कर लगाइनेछ । छन्द वा इन्टर कविताको हकमा बाह्र लाइनसम्म रु पाँच र त्यो भन्दा बढी प्रत्येक लाइनमा अतिरिक्त रु दुई कर ठटाइनेछ । खण्डकाव्य, महाकाव्य, उपन्यास, संस्मरण, आत्मकथा जस्ता विधाहरुमा प्रति शव्द दुई रुपैंया पचास पैसाका दरले कर लगाइनेछ । हास्य व्यंग्य लेख्नेहरुलाई सरकारको बिरुद्धमा भए करको अतिरिक्त विद्युतीय कारोवार ऐन लगाएर कैद पनि गर्न सकिनेछ ।
(द्रष्टव्यः यो व्यवस्था ‘अप्रगतिशील’ लेख तथा लेखकहरुका हकमा मात्र लागू हुने छ ।)
भ्रमण करः
आजकल खोस्टाहरु धेरै भ्रमण गरेर चाहिने भन्दा बढी बाठा हुन थालेको गम्भीर अवस्था छ । यो खतराको संकुतलाई समयमै बुझेर सम्बोधन गरिएन भने भोलि झनै विकराल हुने पक्कापक्की छ । कुवाको व्याङ त्यहाँबाट बाहिर निस्क्यो भने त्यसले संसार देख्छ । संसार देख्यो भने बिस्तारै चेत पलाउँछ । चेत पलाएका व्याङहरु तर्क गर्न थाल्छन् । तर्क गर्न जानेकालाई नियन्त्रण गर्न गाह्रो हुन्छ । तसर्थ अबदेखि आम नागरिकलाई विदेश यात्रा गर्न सकेसम्म दरुत्साहन गरिने छ । यसै पनि यो कुरामा केही महत्वपूर्ण पहल भइ नै सकेको छ । विदेश भ्रमणमा जाँदा बोक्न पाउने विदेशी मुद्राको सीमा पच्चीस सयबाट पन्ध्र सय डलरमा घटाइसकिएकै छ । अझै घटाएर केही सेण्टमा ल्याइनेछ । अत्यन्तै जरुरी प्रयोजनका लागि विदेश भ्रमण गर्दा कर तिर्नु पर्नेछ । खोस्टाहरुलाई समूहमा विदेश घुम्न जाने तथा पढ्न जाने जस्ता कुलत लागिरहेको हुनाले त्यसलाई निर्ममतापूर्वक नियन्त्रण गर्नु आजको प्रमुख आवश्यकता हो । तसर्थ विदेश घुम्न जानेहरुले दिनको रु एक हजारका दरले सरकारलाई कर तिर्नुर्नेछ । आन्तरिक भ्रमणमा भने रु पाँच सय दर तोकिनेछ । पढ्न जानेहरुलाई नो अब्जेक्सन पत्र दिइने छैन । मजदूरी गर्न जानेहरुसंग पनि वैदेशिक रोजगार कर भनेर पहिले नै कर लिइनेछ । के थाहा भोलि उता गएपछि रेमिट्यान्स पठाएनन् भने के गर्ने ?
सामाजिक सञ्जाल करः
अभिव्यक्तिकको स्वतन्त्रताको नाममा सामाजिक सञ्जाल उच्छृँखल हुँदै गएको जगजाहेर छ । राज्य र सरकारले सुन्न नचाहेका कुराहरु धेरै बोलिन थालेको छ । त्यसैले यस्ता सञ्जाल प्रयोग गर्दा पनि इन्टरनेटका लागि तिरिने शुल्कमा लागिरहेको कर बाहेक अतिरिक्त कर तिर्नु पर्नेछ । फेसबुकमा प्रति स्टाटस वा एउटा ट्विट गरेको रु पच्चीसका दरले कर लाग्नेछ । त्यसमा फोटो पनि टाँसेमा रु तीस र भिडियो समेत भएमा रु पचास कर निर्धारण गरिने छ । इन्स्टाग्राममा पनि रु पचास प्रति फोटो कर लाग्नेछ । प्रचलनमा रहेका यी बाहेक अरु ह्वाट्सएप, भाइवर, इमो, वीच्याटमा प्रति सन्देश रु दुई कर लाग्नेछ । इमेल पठाएको वा पढेको, गुगल र यूट्युव हेरेको पनि अतिरिक्त कर तिर्नु पर्नेछ ।

यी बाहेक पनि अरु धेरै कुराहरुमा कर लगाइनेछ । खोस्टाहरुले चाहिने भन्दा बढी देख्नु पनि राज्यको लागि खतरा हुने भएकोले अब उप्रान्त चश्मा तथा कन्ट्याक्ट लेन्समा पावरको अनुसार वार्षिक कर लगाइनेछ । काठमाण्डौलाई धूलो धुँवा र प्रदूषण मुक्त बनाइसक्दा पनि कुत्सित मनाशय राखेर व्यक्तिविशेषलाई बदनाम गर्न मास्क लगाएर हिंड्नेहरुलाई दुरुत्साहन गर्न मास्क कर लगाइनेछ । अपान वायु त्यागमा पनि कर लगाइनेछ । निर्गन्धी वायु त्याग गर्दा प्रति निकास रु एक सय, दुर्गन्धी निकासको रु दुई सय कर लाग्नेछ । ठूला नेता तथा मन्त्रीहरुको सुगन्धी निकासलाई भने कर मिनाहा गरिनेछ । प्रेम तथा बिछोडमा पनि कर लगाइनेछ । हो यस किसिमका चुहावट भइरहेका दुलाहरु थुनेर कर संकलन गरी राज्यलाई सम्बृद्ध बनाउने महान योजनामा विरोधहरु हुन सक्छन् । अप्राजातान्त्रिक र अधिनायकवादी रवैयाको दोष पनि लाग्न सक्छ । त्यसैले सरकारको विरोध गर्न खुल्लमखुल्ला छूट प्रदान गरिनेछ । तर, त्यसको लागि कर तिर्नु पर्नेछ । प्रति विरोध रु पाँच हजार कर तिरेर जसले जहाँ जसरी र जुनै बेला पनि सरकारको हरेक जायज नाजायज कुराको विरोध गर्न पाउनेछ ।
महापरिनिर्वाण करः
माथि प्रस्तावित करहरु बाहेक सबैभन्दा पहिले र अनिवार्य लगाउनु पर्ने कर हो, मृत्यु कर । अब उप्रान्त कुनै पनि नेपालीले कर नतिरी मर्न पनि पाउने छैन । यस अन्तर्गत स्वाभाविक र कालगतिले हुने मृत्युमा रु दश हजार, प्राकृतिक प्रकोप तथा दुर्घटनामा परेर मर्नुपर्दा रु पन्ध्र हजार र आत्महत्या गरेर मर्नुपर्दा रु बीस हजार कर नतिरी प्राण त्याग गर्न पाइने छैन ।

यी नयाँ करका प्रस्तावहरु लिएर फाफुरा अर्थमन्त्रीज्यूलाई भेट्न गइरहेको बेला अचानक उसको आँखा खुल्यो । सदा झैं ऊ त रत्नपार्कमा टोपीले मुख छोपेर सुतिरहेको रहेछ र उसलाई सपनामै यो दिव्यज्ञान प्राप्त भएको रहेछ फाफुराले आँखा चिम्चिम् गर्दै हे¥यो । उसको छेउमै एउटा मान्छे एकोहोरो उसलाई हेरेर मुसुमुसु हाँसिरहेको रहेछ । उसले मीठो स्वरमा भन्यो,
“के छ फाइँफुट्टीराज ? धेरै पछि पो रत्नपार्कमा देखियौ ।”
फाफुरालाई पनि त्यो मानिस कताकता देखेको जस्तो लाग्यो । उसले सोध्यो,
“तपाईँ को हो रे ? चिनेचिने जस्तो लाग्यो ।”
त्यो आकृतिले हाँस्दै भन्यो,
“हो, म सरकार हूँ ।”
फाफुरा दंग प¥यो र सरकारलाई प्रणम ग¥यो । सरकारले उसलाई सोध्यो,
“तिमी त निदाइरहेको थियौ क्यारे हैन ?”
“हो सरकार ।”
“सपना पनि देख्यौ ?”
“देखें सरकार ।”
सरकार प्रसन्न भयो र भन्यो,
“गूड् । अब तिमीले सपना देखेको कर तिर्नु पर्छ ।”
अनि सरकारले कोटको गोजीबाट एउटा प्याड झिकेर फाफुराको नाममा कर तिरेको रसीद काट्न थाल्यो ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment