Translate

Saturday, September 21, 2019

चिर्कटोदेखि चिर्कटोसम्म

३२ (सिजन २ भाग १)

मोबाइल फोनमा आएको एउटा सन्देशको उत्तर देखेर फाइँफुट्टीराज चार हात उफ्रियो र तारसप्तकमा करायो,
‘यस्........यस् यस् यस्......’
यति खुशी त ऊ यस अघि देशमा प्रजातन्त्र आउँदामात्रै भएको थियो । उसलाई आफ्नो भाग्यमाथि विश्वासै भएन । उसको श्वासप्रश्वास तेज भयो । अत्याधिक प्रसन्नताका कारण मुटुले तारानाथ पारामा जोडले हल्लिन थाल्योे,
‘¥याटाट्याटा¥याट्याट्याट........’
उत्तेजनाले उसका गोडाहरु लुगलुग कामे । कतै आँखाले धोका दिएका त हैनन् भनेर उसले फेरि त्यो सन्देश हे¥यो । सही नै थियो । अनि फाफुरा आफ्नो डेराको आठ बाइ आठको विशाल कोष्ठमा फन्फनी घुम्दै नाच्न थाल्यो । उसको चिच्याहट सुनेर उतापट्टि भान्छामा केही गरिरहेकी फाफुरी हस्याङफस्याङ गर्दै आइपुगी । उसले आत्तिंदै भनी,
‘के भयो तिमीलाई ? किन यसरी चिच्याएको ? करेन्ट लाग्यो ?’
फाफुरा केही नबोली उसको हात समातेर उसलाई पनि आफूसंगै बलजफ्ती नचाउँदै अशोक दर्जीको सुरभन्दा माथि गाउन थाल्यो,
‘तिमी जस्ती सुपर ब्यूटी क्वै छैन संसारमा ।’

हो, मोबाइलमा आएको सन्देश नै यति गज्जबको थियो, फाफुरालाई संसारै सुन्दर लागिरहेको थियो । फाफुरीलाई समेत उसले सुपर ब्यूटी देखिरहेको थियो भनेपछि बाँकी कुरा त के गराइ भयो र । केही बेरमै थाकेर ऊ थचक्क बस्यो र स्याँस्याँ गर्न थाल्यो ।  फाफुरीले उसलाई अचम्म मान्दै हेरेर सोधी,
‘अब त भन के भयो ? भाइवरमा लाख डलरको चिठ्ठा परेको मान्छे जसरी दंगदास भएका छौ त ।’
फाफुरा आफ्नो कुकुरदन्त देखाउँदै हाँस्यो र भन्यो,
‘त्यो भन्दा कम कुरा होइन प्रिय फाफुरी । यी हेर ३१००१ बाट आएको सन्देश ।’
उसले मोबाइल फाफुरीको आँखा अगाडि तेस्र्याइदियो । फाफुरीले चिम्सा आँखा लगाएर त्यो पढी । उसको आँखामा पनि हर्ष र विस्मयका भावहरु आए । उसले सोधी,
‘साँच्चै ?’
अनि उसले आकाशतिर हेरेर हात जोड्दै भनी,
‘हे पशुपतिनाथ, पछिल्लो एक वर्षदेखि हरेक शनिवार मैले तिम्रो दर्शन गर्दा मागेको कुरा तिमीले पूरा गरिदियौ । जय होस् महादेव ।’
फाफुराको श्वासप्रश्वास केही मत्थर भइसकेको थियो । उसले भन्यो,
‘आज बेलुका त सेलेब्रेट गर्नुपर्छ है ?’
फाफुरीले पनि निकै समयपछि मस्किंदै भनी,
‘त्यो त भन्नै परेन नि । घर आउँदा वाइन र वियर ल्याउनू । म टोलको पसलबाट कुखुरो ल्याएर काटकूट पारिरहन्छु ।’
नेपालीले सेलेब्रेट गर्ने भनेको टुच्च टिन्चुपानी हान्ने र ब्रोइलर कुखुरो चपाउने नै हो । दुबैजनाले फेरि एकपटक मोबाइलमा आएको त्यो अद्भूत र अविश्वसनीय खुशीको सन्देशमा आँखा गाडे ।

त्यो यातायात व्यवस्था विभागको ३१००१बाट आएको सन्देश थियो । त्यसमा भनिएको थियो,
‘तपाईँको लाइसेन्स ‘फलानो’ मितिमा छापिएको छ । त्यसको ‘एक महीनापछि’ सम्बन्धित यातायात कार्यालयमा सम्पर्क राख्नुहोला ।’
फाफुराको स्मार्ट लाइसेन्स छापिइसकेको रहेछ । उसलाई आफ्नो भाग्यमा विश्वास गर्न गाह्रो भएको थियो । आँखाबाट हर्षका आँशुहरु मेलम्चीको पाइपबाट पानी झरेजसरी झरिरहेका थिए । मानिसका लागि कुनै पनि कुरा जति अप्राप्य र दुर्लभ भयो, त्यति नै महत्वपूर्ण हुन्छ । अचेल नेपालीको लागि स्मार्ट लाइसेन्स त्यस्तै भएको छ । नयाँ लाइसेन्स लिन लिखित, मौखिक र व्यावहारिक परीक्षा पास गरेपछि होस्, वा पुरानो नवीकरणका लागि दिएपछि होस्, स्मार्ट लाइसेन्स पाउनु भनेको ठूलो उपलव्धि मानिन्छ । एक वर्ष भित्रमा पाउनेहरुले आफूलाई भाग्यमानी ठान्दछन् । त्यो नपाउन्जेल निवेदनको चिर्कटो खल्तीमा बोकेर हिंड्नु पर्छ । आफू स्मार्ट बनेको वा नबनेको पत्ता लगाउन एसएमएस गर्न सकिने अत्याधुनिक र गज्जबको सुविधा पनि दिइएको हुन्छ ।

फाफुराले निवेदन दिएको ६ महीना बितेको बेला देखि हरेक तीन चार दिनमा त्यसमा सन्देश पठाउँदा त्यो सफल हुँदैनथ्यो । कहिले ‘केही समयपछि फेरि प्रयास गर्नुहोला’ भन्ने उत्तर आउँथ्यो त कहिले ‘तपाईँको लाइसेन्स बनेको छैन’ भन्थ्यो । फाफुरालाई आफू स्मार्ट हुनै नपाइ अनन्त यात्रामा हिंडिन्छ कि भन्ने पीर लाग्न थालिसकेको थियो । अधूरो इच्छा लिएर मरेका मानिसहरुको आत्माले मुक्ति पाउँदैन रे । उनीहरु प्रेत बनेर घुमिरहन्छन् भन्ने सुनेर हुर्केको पाफुरालाई लाग्थ्यो, त्यसो भएमा फाफुराको भूत यातायात व्यवस्था विभागका कार्यालयहरुमा रातिराति भौंतारिन्छ । जीवित मानिस दिउँसै जाँदा पनि हैरान हुने त्यस्ता कार्यालयहरुमा मरिसकेर आत्मा पनि भौंतारिनुपर्ने भयावह कल्पनाले मात्र पनि फाफुरा आतंकित हुन्थ्यो ।

पछिल्लो तीन महीनादेखि भने फाफुराले आजित भएर ३१००१मा सन्देश पठाउनै छोडेको थियो । तर त्यस दिन बिहानै पत्रिकामा दैनिक राशिफलमा उसलाई अकल्पनीय उपलव्धि र प्रसन्नता हुन सक्ने भनिएको थियो । के हुन सक्ला त्यस्तो भनेर साृच्दासोच्दै फाफुरालाई आफ्नो अधूरो स्मार्ट लाइसेन्स सम्झना भएको थियो । त्यो भन्दा बढी खुशीको कुरा अरु केही हुनै सक्दैनथ्यो । त्यसैले ज्योतिषि महाराजलाई एकपटक जाँच गरेर हेरौं न भनेर फाफुराले एकपटक फेरि प्रयास ३१००१मा सन्देश पठाएको थियो । कहिलेकहीं संसारमा मानिसका तर्क, विज्ञान, अनुभव, सिकाइ र अरु कुराले व्याख्या गर्न नसक्ने चमत्कारहरु पनि हुन्छन् । त्यो पनि त्यस्तै एउटा दुर्लभ चमत्कार थियो । आशै मारिसकेको अवस्थामा नौ महीनापछि अचानक लाइसेन्स बनेको समाचार आउनु निकै ठूलो कुरो थियो । उसको लाइसेन्स छापिएको एक महीना नाघिसकेको रहेछ ।

फाफुरा स्मार्टमा परिणत हुन आफ्नो सबैभन्दा राम्रो लुगा पहिरिएर तयार भयो । फाफुरीले अबीरको टीका लगाइदिएर, सगुनको दही खुवाएर र डेराको ढोकामा कलस राखेर फाफुरालाई विदा गरी । अफीस समयको जाममा फाफुरीको स्कूटर लिएर फाफुरा एकान्तकुनामा रहेको यातायात कार्यालय पुग्यो । लाइसेन्स लिनका लागि निवेदन दिंदा, स्मार्ट लाइसेन्समा राख्ने फोटो खिचाउँदा र सम्पूर्ण प्रकृया पु¥याउन अघिल्लो वर्ष उसले खाएका हण्डरहरु सम्झँदै ऊ कार्यालय भित्र छि¥यो । त्यहाँ पुगेर एउटा अर्को रहस्योद्घाटन भयो । स्मार्ट लाइसेन्स लिन त मीनभवनको यातायात कार्यालयमा पो जानुपर्ने रहेछ । उसले त्यहाँका कर्मचारीलाई सोध्यो,
‘यो जानकारी निवेदन दिने बेलामा वा ३१००१मा सन्देशको उत्तरमै किन नदिनुभएको ? काम छोडेर कहाँ–कहाँ देखि आउने मानिसहरुलाई किन यस्तो दुख ?’
कर्मचारी महोदयले उसलाई तलदेखि माथिसम्म हेर्दै भन्यो,
‘तपाईँलाई ‘क्लासिफाइड इन्फर्मेसन’ भनेको के हो भन्ने कुरा थाहा छैन ?’
फाफुराले जिल्ल पर्दै भन्यो,
‘अहँ.......’
कर्मचारी गजक्क फुल्यो र गर्धन अह्ररो पा¥यो । विशिष्ट शैलीमा कुम उचाल्दै भन्यो,
‘हामीले जस्तो लोक सेवा पास गरेको भए पो थाहा हुन्थ्यो । ‘क्लासिफाइड इन्फर्मेसन’ भनेको राज्यको लागि महत्वपूर्ण, सम्वेदनशील र गुह्य जानकारी हो । त्यो सही समयमा सही मानिसलाई मात्र दिइन्छ ।’

फाफुरा लोकसेवा पास गरेको विद्वान कर्मचारीबाट नयाँ ज्ञानको कुरा सिकेर त्यहाँबाट फेरि मीनभवन तिर लाग्यो । कार्यालयको मूलद्वारमै लाइसेन्स लिनका लागि पछाडिको टहरोमा जानुहोला भन्ने सूचना टाँसिएको थियो । फाफुरा त्यतै लाग्यो । तर, भवनको मोड काटेर टहरोको दर्शन हुनासाथ फाफुरा झसंग भएर रोकियो । चर्को घाममा असीनपसीन भएर वीर गोर्खालीहरु कुनै अदृश्य शत्रुसंग युद्ध गर्दै थिए । त्यहाँ भएका चारवटा अव्यवस्थित लाइनहरु देखेर उसको सातो उड्यो । हरेक लाइनमा नेपालको जनसंख्याको दश–दश प्रतिशत जनता ठेलम्ठेल गर्दै गरेको देखेपछि त उसको बाँकी रहेको पुत्लो पनि उड्यो । यस्तो लाग्थ्यो त्यहाँ लाइसेन्स होइन, बालुवाटारको चारचार आना जग्गाको लालपूर्जा निःशुल्क वितरण भइरहेको छ ।

आफ्नो चिर्कटोको क्रमसंख्या अनुसार लाइनमा लाग्नुपर्ने रहेछ । अभागी फाफुराको संख्या तिनमा पनि सबैभन्दा लामो लाइनमा परेको रहेछ । मिश्रको नाइल नदी घुमेजसरी घुमेको त्यो लाइनको पुछारमा लुसुक्क परेर फाफुरा उभियो । उसले देख्यो, लाइन अघि बढ्ने गतिले त देशको विकासको गतिलाई पनि माथ खुवाउने रहेछ । साधारणतया एउटा चिर्कटो लिएर नम्बर अनुसारको स्मार्ट लाइसेन्स छानेर हस्तान्तरण गर्ने प्रकृयामा धेरै भए दुई वा तीन मिनेट लाग्नुपर्ने हो । तर त्यहाँ त राजनैतिक पार्टीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न जति नै समय लागिरहेको थियो । खलखली पसीना चुहाएका नरनारीहरु खुइय्य गर्दै असीम धैर्यको प्रदर्शन गरिरहेका थिए । कसैलाई अफीस पुग्न नपाइने भयो–गयलमा परिने भयो भन्ने पीर, कसैलाई बच्चा स्कूलबाट फर्किने बेला पुग्न नभ्याइएला भन्ने सुर्ता थियो । कोही त हिजो कुर्दाकुर्दा नभ्याएर आज फेरि आएको भन्ने गुनासो पनि गर्दै थिए । लाइन भने दुइ तिहाइको सरकारभन्दा ज्याद्रो थियो । एक इन्ची पनि टेसमटेस नहुने ।

फाफुरा आफ्नो कमजोर हिसाब लगाउँदै सोच्न थाल्यो, यही तालले हो भने लाइसेन्स दिने झ्यालको छेउछाउमा पुग्न कति प्रकाशवर्ष लाग्छ होला ? त्यही बेला उसको आँखा अर्को आततायी सूचनामा प¥यो । लाइसेन्स वितरण त चार बजेसम्म मात्र हुने रहेछ । फाफुराले घडी हे¥यो, पौने एक बजिसकेको थियो । के उसको पालो आउला ? जसरी भए पनि आज त लाइसेन्स लिएरै जानुपर्छ । उता फाफुरी कुखुरामा मसला मोलेर बसिरहेकी हुन्छे । फाफुरा लाइनमा लागेको सत्रौं मिनेटमा लाइन अलिकति अघि स¥यो । त्रेता युगको अन्त्यतिर लाइनमा लागेको एकजना बल्ल झ्यालमा पुगेको थियो, ऊ लाइनबाट हटेको रहेछ । लाइनबाट बाहिर आएर ऊ रौद्र्र रुपमा कुर्लन थाल्यो,
‘फलान्थोक्हरु । लाइसेन्स नै छैन रे । दुइ हप्तापछि आउनु भन्छन् । छैन भने किन बन्यो भनेर बोलाएर याँ लाइन्मा लगाएको त ? हाम्रो कामै छैन ?’

फाफुरालाई अर्को दिव्य ज्ञान प्राप्त भयो । झ्यालमा पुगेपछि पनि लाइसेन्स पाइन्छ भन्ने कुनै ग्यारेण्टी नहुने रहेछ । तीनमा एकका दरले मानिसहरु टिकट नटाँसेको चिठ्ठीजसरी वैरङ्ग फर्किनुपर्ने सम्भावना हुँदो रहेछ । ठ्याक्कै एक बजे अचानक झ्याल बन्द भयो र लाइन फेरि अडकियो । अगाडिपट्टि हल्लाखल्ला हुन थाल्यो । अब दुई बजेसम्म मौसूफ कर्मचारी महोदयहरुको खाजा ज्यूनार गर्ने बेला भएको रहेछ । अरु बेलामा नेपाली टाइम भने पनि खाजा खान र घर जान कर्मचारीहरु कहिल्यै एक सेकेण्ड ढिलासुस्ती गर्दैनन् । अब साढे दुई वा पौने तीन बजे फर्किएर कतिवटा लाइसेन्स बाँड्ने होलान् त ? लाइनमा बसेकाहरु भुईमै थचक्कथचक्क बस्न थाले । फाफुरालाई पनि भाउन्न भएर आयो । एक घण्टा न घाममा सेकुवा भएर बस्नु, न छोडेर हिंड्नु । सेवाग्राहीलाई मान्छे नगनेको हो भन्ने निक्र्यौलमा फाफुरा पुग्यो । नकुरेर कहाँ मुन्टिन्छन् र, भेडाबाख्रा न हुन् । बस्छन् नि । ए बाबा, आलोपालो प्रधानमन्त्री बनेर देशै खान हुने, यी अगस्तिका वंशजहरुले आलोपालो गरेर चनाच्यूरा खान नहुने ? हूल बाँधेर जन्ती गएजसरी सबै एकैपटक ज्यूनार गर्न जानु पर्ने ? अचानक ऊ भित्रको क्रान्तिकारी जुर्मुराएर उठ्यो । उसले आफ्नो पछाडिको मानिसलाई भन्यो,
‘एकछिन मेरो ठाउँ याद राख्नुहोला । म यहाँका हाकिमलाई भेटेर कुरा गर्न जान्छु ।’

अर्को एकजना शूरवीर पनि होमा हो मिलाउँदै पनि फाफुराको पछि लाग्यो । कोलम्बसले अमेरिका पत्ता लगाएजसरी फाफुराले त्यहाँका एक निर्देशकज्यूको कार्यकक्ष फेला पारेरै छोड्यो । उसले निर्देशकज्यूलाई आफू र आफूजस्ता अरु दुखीहरुको पीडाको वर्णन ग¥यो । निर्देशकज्यू फाफुराभन्दा बढी दुखी रहेछन् । उनले लामो उच्छवास फ्याल्दै भने,
‘यो कलियुगमा ‘राम्रो गर्ने प्रयास–पिछवाडामा बाँस’ हुन्छ हेर्नुस् । खासमा यो लाइसेन्स बाँड्ने हाम्रो कामै हैन । बाहिरबाट छपाएर ल्याउन भ्याएन भनेर हामीले त यहीं छापेर सहयोगै गर्न खोजेका हौं । एकान्तकुनाले बाँड्न पनि भ्याएन भनेर हामीले त्यो पनि लौ न त भनेर शुरु गरेका हौं । यो कामको लागि दरबन्दी पनि छैन । प्रदेशको काम केन्द्रले गर्न परिरहेको छ । सकेको मान्छे खटाएका छौं । हाम्रो मर्का कसmे बुझ्ने ?’
फाफुराले उनलाई सदाशयताको लागि आभार व्यक्त गर्दै भन्यो,
‘तपाईँको कुरो मैले बुझें निर्देशकज्यू । तर यति कल्याण गरि नै सक्नुभएको रहेछ, खाजा खान सबै एकैजना नगएर आलोपालो गरिदिए हामी पुर्पुरो सेक्नेहरुलाई अलि राहत हुन्थ्यो ।’
निर्देशकज्यू अलि सुरै मान्छे रहेछन् । उनले फाफुराको बोलीको मान राखिदिए । तत्काल एक जनालाई बोलाएर थप कसैलाई खटाउन र वितरण चालु राख्न अह्राए । तल लाइनमा सेवा सुचारु भयो । फाफुरासंग गएको मानिसले आफूहरुले हाकिमलाई थर्काएर काम शुरु गराएको क्रेडिट लियो । त्यही मौकाको फाइदा उठाउँदै उसले आफूलाई झ्यालभन्दा आठजनामात्र पछि लगेर उभ्यायो ।
‘मेरो ठाउँ यहीं हो नि हैन र ?’ उसले फाफुरालाई पनि त्यतै बोलायो, ‘तपाईँ पनि त मभन्दा अगाडि हो नि । आउनुस् ।’
फाफुरा कसैले घोक्रो त समाउने हैन भनेर डराउँदै लाइनमा अघि गएर बस्यो । तर वार्ता टोली सबैको आँखामा हिरो बनेकोले होला, कसैले केही भनेन । त्यस चलाख मानिसका कारण फाफुराको पनि लाइनमा लामो समय बच्यो । त्यसैले कामीरिता शेर्पा आधार शिविरबाट हिलारी स्टेपमा पुग्ने जति नै छोटो समयमा ऊ झ्यालको छेउमा पुग्न सफल भयो । उसभन्दा अगाडिका आठमा तीनजना लाइसेन्स फेला नपरेर फर्किसकेको थिए । अब फाफुराको तनाव एउटै थियो, कतै उसको नियति पनि त्यस्तै नहोस् । यसै पनि चिठ्ठासिठ्ठा पर्ने कुरामा फाफुरा कहिले भाग्यमानी भएको छैन ।

कर्मचारीले असरल्ल फैलिएका लाइसेन्सका चाङहरुमा नम्बर खोजून्जेल फाफुराले जाने र सम्झे जति भगवानको नाम गुहा¥यो । हनुमान चालीसाको अन्तिम दोहा पाठ गरिरहेको बेला कर्मचारी महोदयले भुसको गोदामबाट सियो निकाले जसरी फुत्त एउटा लाइसेन्स निकाले । फाफुरा दंग प¥यो । लाइसेन्स लिएर लामबाट बाहिर निस्कँदा कैसको हातमा लाइसेन्स देखे भने पछाडि लाममा भएका सबैले करतल ध्वनिमा थपडी बजाएर बधाइ दिने चलन हुँदो रहेछ । यति ठूलो काम फत्ते भएकोमा फाफुरा आफ्नो अठ्ठाइस इन्चको छातिलाई तनक्क फुलाएर बत्तीस बनाएर हिंड्यो । अलि पर आएर उसले नियालेर त्यो दुर्लभ जिनिसलाई हे¥यो । छपाइको स्तरले गर्दा उसको आफ्नै फोटो उसले चिन्न सकेन । त्यो फाफुरामात्र हैन, जुँगा पालेको अरु कुुनै पनि नेपाली हुन सक्थ्यो । ट्राफिक प्रहरीलाई पनि हाइसञ्चो हुने भयो । जुँगा भएको, नभएको लोग्ने मानिस वा स्वास्नीमानिस बाहेक अरु केही कुरामा ध्यान दिनै नपर्ने भयो । अक्षरहरु यति लतपतिएका थिए, नाम पनि म्याग्निफाइंग ग्लासले हेरे मात्र चिनिन्थ्यो । छपाइको मसीको त के कुरा गराई भयो र, औंलाले छोइयो मात्र भने ती मेटिन्छन् । जेसुकै होस्, स्मार्ट त हुन पाइयो भनेर फाफुरा दंग प¥यो ।  उसले फोन गरेर फाफुरीलाई आफ्नो ‘मिसन इम्पोसिवल पोसिवल’ भएको जानकारी दियो । फाफुरी दंग पर्दै कुखुरा भुट्न गई । बाटोमा एक बोतल वाइन र दुइ बोतल वियर किनेर फाफुरा पनि स्कूटरको कान निमोठ्दै डेरा तिर हुँइकियो ।

खुशीको अत्याधिकतामा उसले गौंडा ढुकेर बसेको ट्राफिक प्रहरीलाई देखेन । स्यालले कुखुरोको चल्लालाई छोपेको जसरी उसले फाफुराको स्कूटरको ह्याण्डल च्याप्प समात्यो ।
‘लाइसेन्स छ हजूर ?’
ट्राफिक प्रहरीले हत्केला तेस्र्यायो । फाफुराले पनि गर्वका साथ भन्यो,
‘छ, चानचुने हैन स्मार्ट छ अझ ।’
अनि भ्रष्टाचार लागेको सरकारी कर्मचारी वा कालो सूचिमा परेको ठेकेदारले राष्ट्रपतिको हातबाट पाएको प्रवल जनसेवाश्री पदक टोल छिमेकलाई देखाए जसरी स्वदेशमै उत्पादित, नयाँ, ताजा, बलियो, भरपर्दो र मगमगाउँदो भर्खर प्राप्त गरेको तातो तातो स्मार्ट लाइसेन्स उसको हातमा राखिदियो । फाफुराले दिनभर लगाएर हात पारेको लाइसेन्स ट्राफिक प्रहरीले लाजै नमानी खल्तीमा हाल्यो र फाफुराको हातमा एउटा चिर्कटो थमायो । लेन अनुशासन भंग गरेको भन्ने कोष्ठमा चिह्न लगाएर । देब्रे पट्टिबाट पेलेर जाने गाडीबाट आफूलाई बचाउन उसले एक निमेषको लागि बाटोको बीचमा भएको चिन्हभन्दा पारी स्कूटर लग्नुपरेको थियो । फाफुराले हुनसक्ने जति निरिह अनुहार लगाएर आँखाभरि आँशु गरेर दुई हात जोडेर ट्राफिक प्रहरीसंग अनुनय विनय ग¥यो । बल्लबल्ल वर्षदिन लगाएर पाएको स्मार्ट लाइसेन्स त्यसरी निर्दयतापूर्वक नखोस्न अनुरोध ग¥यो । डिएसपी चिनेका छु भनेर थर्काउन खोज्यो, मानवताको दुहाई दिएर द्रविभूत बनाउन खोज्यो, केही शीप लागेन । फाफुराले आँशुले धमिलिएका आँखाले उसको छातिमा टाँसिएको नाम र थर पढ्यो र अन्तिम अस्त्र प्रहार गर्दै भन्यो,
‘बराल थरि हुनुहुँदो रहेछ । सर हेर्नुस् तपाईँ र म सहगोत्री रहेछौं । अनजानमा आफूलाई बचाउन हल्का लेन मिचिंदा सहगोत्रीको लाइसेन्स खोस्यो भने कहिले प्रमोसन हुँदैन भनेर शास्त्रमै लेखेको छ । कृपया मेरो लाइसेन्स आज एक दिन नखोस्नुस् । भोलि बरु म आफै आएर यहाँ तपाईकै अघि पूरै रंग साइडमा गएर जानीजानी मज्जाले लेन मिच्छु । अनि खोस्नुहोला । आजलाई छाडिदिनुस् ।’

तर पाषाणहृदयी प्रहरी पग्लिएन । नवबिवाहित दुलही लिएर सुहागरातको मधुर कल्पनामा घर गइरहेको बेला बाटोमा डाँकाले बेहुली अपहरण गरेर लगेको बेहुलाजस्तो रुन्चे अनुहार लगाएर फाफुराले हेरिरह्यो । बल्लबल्ल हात परेको स्मार्ट लाइसेन्स घर पुग्नु अघि नै फन्दामा परेको थियो । फाफुरा घरबाट निस्कँदा पनि इडियट थियो, घर फर्कनेबेला पनि इडियटै रह्यो । एउटा चिर्कटो लिएर दिनभर कुश्ती खेलेर दिनको अन्त्यमा फाफुराको हातमा अर्को चिर्कटो परेको थियो ।
उता बिचरी फाफुरी स्मार्ट लाइसेन्स सेलेब्रेट गर्न कुखुरा भुटेर बसिरहेकी थिई ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment